scheduleशुक्रवार मंसिर २० गते, २०७६
Bajaj
Global IME Bank

‘रुञ्चे कमरेड र चालू पत्रकारका कुरा’

सुनिल बराल

दुई-चारवटा तीखा गाली प्रहार गरेपछि खतरा भइने रहेछ । गाली गर्न जानेपछि सबैले चिन्ने पनि रहेछन् ।

नेताले गाली गर्न जानेनन् भने राजनीति नै चल्दैन । भाषणमा गाली मिसिएन भने ताली पनि खासै बज्दैन । पत्रकारले त गाली गर्न जानेकै हुनुपर्छ । नत्र दालभात खाने थाली खाली हुन सक्छ ।

भर्खरै पत्रकारितामा हाम फालेको भएर होला, मैले पनि गाली गर्न सिक्दैछु । । मलाई गाली गर्न खासै आउँदैन । मन नपरेका मानिसबारे पछाडि कुरा काट्न भने संगत र संस्कृतिले नै सिकाएको हो । झोंक चलेका बेला भने फलानाका झै ‘च…चा… चि…चि… म…मा… मि…मि’ मुखबाट फुत्की हाल्छ ।

गाली एउटा कला पनि हो । यसलाई अश्लील, श्लील, भद्र, अभद्र, शब्द, अपशब्दको कसीमा राखेर मापन नै गर्नु हुन्न जस्तो लाग्छ । गीतमा गाली छ, कवितामा गाली छ, नाटकमा गाली छ । गालीबिना संसार नै टिक्दैन भन्दा फरक नपर्ला ?

दालभातकै जोहो गर्नका लागि गाली गर्नुपरेपछि के साना-तिना मान्छेलाई गाली गर्नु ? ठूलै मान्छेलाई गाली गर्ने नि !

ठूलाठालालाई गाली गर्न जानेपछि थैली पनि रित्तो नहुने ! दालभातको थाली पनि भरिने ! हामी जस्ता भुँइफुट्टा पत्रकारले ‘मै हुँ भनेर आकाशकै तारा टिप्न खोज्ने नेता/मन्त्रीलाई’ गाली गरेपछि त्यसै पनि भाइरल भइने !

त्यसो भने सत्ताधारीबाटै सुरु गर्छु ।

मुलुकको तालाचाबी लिएका कम्युनिष्टले मलाई राजनीति मात्रै सिकाएनन् । गाली गर्न पनि जान्नुपर्छ भनेर सिकाए । त्यसैले पनि यिनीहरुप्रति आभारी छु ।

कम्युनिष्टहरु रुन्चे प्राणी पनि हुन् । यिनीहरुलाई ‘रुन्चे कमरेड’ भनेर सम्बोधन गर्दा अझ राम्रो होला ? जीवन र यौवन नै बलिदान गर्दा पनि ‘हात लाग्यो शून्य’ भएपछि कतिपय कमरेड मेरै सामु रोएका पनि छन् । मेरासामु धरधरी रुनेहरु कोठामा एक्लै हुँदा कति रुँदा हुन् ? विचराहरुको अवस्था देखेर कहिलेकाहीं मेरा पनि आँखा रसाएर आउँछन् ।


कहिलकाहीं यिनै रुन्चे कमरेडहरुको आँसुले सामाजिक सञ्जाल भिजेको देख्छु । यी रुन्चेहरु प्रति मेरो मनमा विशेष प्रेम र श्रद्धाभाव पनि छ । सोचे जस्तो संस्कार र संस्कृति बनाउन नसकेपछि एक्लै कोठामा रुनु स्वास्थ्यका लागि राम्रै हो । तर जगै रुवाउने गरी फेसबुक, ट्विटरमा आँसु झार्दै हिड्न चाहीं भएन नि ! बेला न कुबेला आँसु झारेको देख्दा झोंक चलेर पनि आउँछ । अनि शब्दकोष पल्टाएर सबै गाली यिनीहरुलाई गरुँ जस्तो नि लाग्छ ।

साम्यवादीहरु ‘रुन्चे प्राणी’ मात्रै होइनन् । अरिङ्गाल पनि हुन् । वादको पीरले रुनेहरुबाट त्यति खतरा छैन् । तर वादले मात्तिएर अरिङ्गाल बनेकाहरु भने ज्यानमारा हुन सक्छन् । यिनलाई कतिले ‘दामरेड’ भनेर पनि उडाउँछन् । यिनीहरु अरिङ्गाल झैं एउटै गोलोमा बस्छन् । त्यसैले पनि यिनीहरुलाई जिस्क्याउनु मुर्खता हुन्छ । वादले बिग्रिएर मान्छेबाट किरा बनेका यिनलाई गाली गर्दा नि मुटु थरर काँप्छ । गुरिल्ला किराको नयाँ अवतार लिएका यिनीहरुबारे धेरै नबोल्दा नै यो ज्यानलाई फाइदा होला ।

सत्ता र शक्तिले मात्तिएकाहरुलाई गाली गरेपछि सत्तामा जान नपाएर आत्तिएकालाई बाँकी राख्ने कुरै भएन ।

सत्ताबाट बाहिर रहँदा रन्थनिएका कांग्रेसीजन देखेर मनमा दया पनि जाग्छ । सत्ताबाहिर रहँदाको पीडा भोगिरहेका बिचराहरुलाई गाली गरेर ‘घाउमा नून छर्किनु’ त्यति राम्रो होइन । त्यसैले गालीभन्दा पनि कांग्रेसीजनको एउटा राम्रो कुराको चर्चा गर्न मन लाग्यो ।

कांग्रेसीजनसँग गाली सहन सक्ने विशेष खुबी हुन्छ । गाली गरेकै भरमा अरिङ्गाल झैं टोक्न आउँदैनन् । गालीलाई एउटा कानले सुन्ने अर्को कानले उठाउने कला यिनीहरुबाटै सिकेको हुँ । ‘काला कांग्रेस’ भनेर गाली गर्दा पनि हाँसी- हाँसी उडाइदिने यिनीहरुको खुबी अदभुतै लाग्छ । यिनले पालेका केही बछ्यु देखेर पहिला-पहिला अहिलेका राता/काला अरिङ्गालको सातो जान्थ्यो रे ।

यता एकखाले मानिसहरु कम्युनिष्टहरु अरिङ्गाल भए, काग्रेसहरु बछ्यु भए भनेर चिच्याएको पनि सुन्छु । मान्छेलाई ‘अरिङ्गाल र बछ्यु’ बनाउने होइन । ‘माहुरी’ बनाउने हो भनेर यिनीहरुलाई भूत नै चढेको छ । मान्छेलाई ‘माहुरी’ बनाउने कुरा सुन्दा ठीकै पनि लाग्छ । तर यिनीहरु भित्र नयाँ मसिहा बन्ने भयङ्कर दम्भ छ । अहंकारी किसानले माहुरी पाल्न सक्दैन । कहिल्यै माहुरी पालेको भए पो थाहा होस् !

मान्छे बन्न नसकेर पाजी बनेकालाई गाली गरेपछि धूर्त काजीहरुको पनि कुरा गर्न मन लाग्यो ।

केही काजीहरु धार्मिक मन्त्र जपेर राजनीतिमा आउने दाउमा छन् । धर्मलाई राजनीतिसँग जोड्ने यी अतिवादी देखेर शब्दकोषले नै टाउको फुट्ने गरी हिर्काइदिऊ जस्तो लाग्छ । ए बाबा, धर्मलाई राजनीतिसँग जोड्दा हिन्दू, इस्लाम र इसाइ धर्मभित्र अभिवाद जन्मेको यिनीहरुले देख्दैनन् क्या हो ?

धार्मिक काजीहरु मन्दिर, मूर्ति र मन्त्र सबैको व्यापार गर्न निकै सिपालु पनि छन् । कुनै बेला मूर्ति बेचेरै रातारात धनी बनेका काजीहरु पनि छन् । यिनै काजीहरुले ‘Mahadev Was Born in Nepal’ भनेर भारतकै सातो लान बेर छैन ।

ठूलाठालुलाई गाली प्रहार गरेपछि जाबा पत्रकारलाई किन बाँकी छोड्नु ?

पत्रकार भन्यो कि जगै थरर हुन्छ । त्यसैले म पनि पत्रकार बनेको हुँ । तर पत्रकार पनि भिन्नभिन्न नियत र रंगका हुँदार’चन । असल नियत भएकालाई गाली गर्दा पाप लाग्ला ! पत्रुकारलाई गाली गर्दा केही धर्म नि कमाइएला कि ?

नेता र पत्रकारलाई गाली गर्नमा कसैले जित्न सक्दैन । पहिला पत्रकार बनेका एकजना त ‘फूल मन्त्री’ नै बनेका छन् यतिबेला । पत्रकारिता गरेकाले यिनले ‘पत्रकार’ र ‘पत्रुकार’ दुबैको नाडी राम्रैसँग छामेका रहेछन् । यिनैले हो क्या हो- ‘पत्रकारका लागि नेपालमा साम्यवाद आउँदै छ’ भनेको ? तर ठाउँ पायो कि पत्रकारमाथि जाइलागी हाल्छन् । बेला-बेला थर्काउन पनि पछि पर्दैनन् । यिनै महाशयलाई हेर्दा हुन्छ- पत्रकारले गाली मात्रै गर्दैनन्, ठाउँ पाए भने धम्की पनि दिन्छन् ।

बाहिर पत्रकार हुँ भन्दै हिड्ने भित्रभित्र मालामाल हुने पनि उत्तिकै छन् । यिनको धम्की, ब्ल्याकमेलिङले कति जनाले त आत्महत्या नै गर्नुपरेको थियो ।

पत्रकारहरु चियोचर्चो गर्न पनि खप्पिस हुन्छन् । उस्तै पर्‍यो भने सिआईए, रअ, आईएसआईका जासुसलाई पनि थाउनमा सुताउने खुबी छ, पत्रकारसँग । कहिलेकाहीं यिनको चिचोचर्चोले मुलुकलाई राम्रै फाइदा गर्छ ।

तर चियो चर्चो गर्दागर्दै अरुको सुत्ने कोठामा गएको थाहै पाउँदैनन् । फलानी श्रेष्ठ हिजोराति कोसँग सुती ? ढिस्कानी मगर पोखरामा कसरी नाची ? फलानी कार्कीले किन पोइ छोडी ? कोही कोही पत्रकारको दिमागमा यत्ति मात्रै भरिएको छ जस्तो लाग्छ । अनि अरुको गोप्य कुरा थाहा नपाइन्जेल कतिलाई खाएकै पच्दैन । त्यसैले, कृपया यिनीहरुलाई केही नभन्नु होला । नत्र ‘पत्रकार भनेर हेप्नी ?’ भन्दै डाँडो खोलो हल्लाउँछन् ।

पत्रकारहरु ‘चोरमाथिका चण्डाल’ पनि हुन् । त्यसमा पनि समाचार चोर्नमा यति सिपालु छन् कि- नयाँ शब्द भरेर समाचारलाई निबन्ध बनाइदिन्छन् । तर आफूले कनिकुथी बनाएको ‘ओरिजिनल न्यूज’ कसैले चोर्‍यो भने दुनियाँ नै हल्लाउने गरी ‘कपि राइट’ को कुरा गर्छन् । यिनीहरुको दृष्टि क्षमता पनि विशेष छ । अरुको आङको भुसुनो फ्याट्टै देखी हाल्छन् । आफ्नो आङको भैसी भने पटक्कै देख्दैनन् ।

एकजना मेयर सा’पले त्यसै भनेका होइनन् नि- ‘पत्रकारको नाक भाँच्छु’ भनेर ।

कृपया, मेरा गालीलाई अन्यथा नदिनुहोला । केबल दालभातका लागि यत्ति सारो गिर्न परेको हो । त्यसैले मेरा गाली सुनेर न गुरिल्लाहरु तात्न जरुरी छ, न अरिङ्गाल भुनभुनाउन नै । न बछ्यु नै । कुरो बुझ्नु भयो नि !

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage