झापामा अन्तर्राष्ट्रिय स्तरको औद्योगिक व्यापार महोत्सव हुने
झापा, २७ कात्तिक । झापाको धुलाबारीमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक महोत्सव हुने भएको छ । मेची उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय औधोगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव आगामी पुष ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने भएको हो ।
महोत्सवका बारेमा जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था मेची उद्योग वाणिज्यका संघका अध्यक्ष ऋषिराज तिम्सिनाले यस क्षेत्रको व्यापार प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय उत्पादन स्थानीयस्तरमा नै उपलब्ध गराउन महोत्सव आयोजना गरिएको बताए ।
संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष तिम्सिनाले महोत्सवमा नेपाल सहित भारत, भुटान, पाकिस्तान र बंगलादेशका उत्पादनहरु समेत रहने बताए । २ सय वटा स्टलहरु रहने महोत्सव एकलाख हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष तिम्सिनाले बताए ।
महोत्सव सञ्चालनका लागि ६० लाख रकम खर्च हुने र महोत्सवबाट संघले ८० लाख उठाउने लक्ष्य लिएको महोत्सव आयोजक समितिका संयोजक भुमि पौडेलले जानकारी दिए । ५ करोडको कारोबार हुने लक्ष्य लिइएको महोत्सवमा प्रवेशका लागि प्रति व्यक्ति ५० रुपैयाँ शुल्क तिर्नु पर्ने व्यवस्था गरिएको संयोजक पौडेलले बताए ।