scheduleबिहिवारफाल्गुन २० गते, २०७७

मन्त्री ज्यू, देशको सीमा पनि झारपात जस्तो कुरा हो र ?

सरोज बराल

हामी नेपालीहरुको मानसिकतामा एउटा शब्द वा भावनाले घर गरेको छ । नेपालीको दिमागमा जरा गाडेर बसेको शब्द हो, राष्ट्रवाद ।

हो, देशमा बस्ने सबै नागरिकसँग देशप्रेमको भावना हुनुपर्छ । हो, देशका सबै जनताहरु राष्ट्रवादी हुनैपर्छ । यही भावनाले हरेक नागरिकलाई आफ्नो देशप्रति समर्पित र इमान्दार बन्न ऊर्जा दिन्छ ।

तर नेपालमा राष्ट्रवाद वा देशभक्तिलाई विचित्र तरिकाले व्याख्या गर्ने र बुझ्ने गरिन्छ । नेपालमा राष्ट्रवादी हुनुको अर्थ भारत विरोधी हुनु हो । अर्थात् जो भारतविरोधी छ ऊ राष्ट्रवादी हो । जो राष्ट्रवादी छ, ऊ भारत विरोधी हो । यदि कुनै राष्ट्रवादी र देशभक्तसँग भारत विरोधी भावना छैन भने ऊ राष्ट्रवादी हुनै सक्दैन ।

आफूलाई अब्बल राष्ट्रवादी पार्टी भन्ने हरेक नेपाली दलले आफ्ना कार्यकर्ताहरुलाई यही सिकाएका हुन्छन् । नेता/कार्यकर्तालाई यसरी प्रशिक्षण गर्नेमा सत्तारुढ, प्रतिपक्ष सबै अगाडि नै देखिन्छन् ।

आफ्ना नेताले मुलुक र जनताका लागि ठिक गरुन कि बेठिक ? यसप्रति कार्यकर्ताको गहिरो सरोकार त्यति देखिदैँन । तर आफ्ना नेताहरु नम्बर १ राष्ट्रवादी हुन् भनेर डम्फू बजाउन भने कार्यकर्ताले कहिल्यै छोड्दैनन् । यसरी आफ्नाहरुको दुन्दुभि बजाई रहनुलाई अन्धराष्ट्रवाद पनि भनिन्छ । यो प्रवृत्तिलाई अतिराष्ट्रवाद पनि भन्ने गरिन्छ।

पञ्चायतकालमा यस्तै खाले राष्ट्रवादको कुरा उठान हुँदा ‍हालका सत्ताधारीले ‘मण्डले राष्ट्रवाद’ भन्ने गर्थे ।‍

नेपालमा भारतविरोधी मानसिकताबारे पुनः चर्चा गर्न चाहेँ । तथ्यसत्य बुझ्दै नबुझी बन्द, हड्ताल र तोडफोड गर्ने हामी नेपालीको बानी नै परेको छ । कुनै समय ऋतिक रोशनले ‘नेपाली मन पर्दैन’ भने भनेर मुलुकभर बन्द, हड्ताल र तोडफोड भएको थियो । रोशनले साच्चै ‘नेपाली मन पर्दैन’ भनेका थिए कि थिएन भन्नेतर्फ हामी कोही लागेनौं । रोशनले कहाँ के भने भनेर हामीले खोज्दै खोजेनौं । भावनामा बग्यौं ।

रोशनले नेपाली मन पराउने वा नपराउने उनको कुरा हो । कसैलाई नेपाल र नेपाली मन नपर्न सक्छ । हामीमध्ये कतिलाई भारत र भारतीय मन नपर्न सक्छ । मन पराउने/नपराउने कुरा व्यक्तिगत चाहना र पूर्वाग्रहको परिणाम पनि हो । तर यसैलाई लिएर हामी उग्र बनिहाल्छौं ।


हामीले ऋतिक रोशन काण्डमा कसको सम्पत्ति तोडफोड गर्‍यौं ? त्यस बापत के पायौं ? यस्ता कुराहरु हाम्रो मतलब भित्र पर्दैनन् । किनकि हामीलाई आफू जबरजस्ती राष्ट्रवादी बन्नुछ । आफैंलाई दुःख दिएर हामीलाई राष्ट्रवादी बन्नुछ ।

यतिबेला फेरि यही राष्ट्रवादको तरङ्गले नेपाली मन र मस्तिष्क हल्लाइदिएको छ । नेपालको लिपुलेक र कालापानीलाई भारतले आफ्नो नयाँ नक्सामा पारेपछि मुलुकभर राष्ट्रवादी बन्ने होडबाजी नै चलेको देखिन्छ । राष्ट्रवाद बन्ने होडमा अहिले मुलुक आन्दोलनमय छ ।

अवश्य पनि नेपाली भूमि कसैले मिच्यो वा आफ्नो नक्सामा पार्‍यो भने विरोध गर्नु पर्छ । भारतले जारी गरेको नक्सामा लिपुलेक र कालापानी भारतभित्र पारिएको छ । यो निकै संवेदनशील विषय पनि हो । ‘जे सुकै होस्’ भनेर यो यत्तिकै छोड्ने विषय हुँदै होइन । यो सामान्य विषय होइन । तर जनताहरु आन्दोलन गर्दैछन् । अनि जनताका प्रतिनिधि भनिने मन्त्री गोकुल बाँस्कोटा चाहिँ “यस्ता झारपात विषयमा सरकार अल्मलिएर बस्दैन ।’ अल्मलिनु त हुँदै हुँदैन । तर गोकुल बाँस्कोटा ज्यु, सीमासम्बन्धी विषय पनि झारपातको विषय हो र ?

यता अर्का क्रान्तिकारी युवा मन्त्री योगेश भट्टराई भन्छन्, ‘भारत जस्तो छिमेकीसँग हामीले निहुँ खोज्नु हुँदैन ।’

वाह ! रे राष्ट्रवादी नेताज्यु, मेरो जमीन मिच्न पाउँदैनौं भन्नू निहुँ खोजेको हो र ? सायद यस्तै कारणले गर्दा होला, अनेरास्ववियुको झण्डा गीत ‘बिहानीको घाम जस्तै रातो… मा भएको “भारतेली विस्तारवादको नेपाल खाने दाउ, त्यो दाउलाई उल्टाइ दिन जुटौं सबै आउ’ लाई तपाईं आफैं अध्यक्ष भएको बखत संशोधन गर्नु भएको । झन्डा गीतबाट “भारतेली विस्तारवाद” शब्द हट्नुको अर्थ अहिले विस्तारै खुल्दैछ ।

अझ कतिपयले कालापानीमा भारतीय सेना राख्न दिएको नेकपा सरकारले हो र ? त्यो त अर्कैले गरेको पो हो त भनेको सुनिन्छ । त्यो अर्कै सरकार चीनको, भुटान वा कहाँको थियो ? त्यो पनि नेपालकै सरकार थियो नि । पहिलेको सरकारले गरेको गलत काम सुधार गर्ने र ठिक कामको निरन्तरता दिने काम कसको हो ? ओली सरकारको होइन ? जसरी बाउको धन अंश लगाएर छोराछोरीले लिन्छन् भने ऋण चाहिँ बाउकै अंश मात्रै हुन्छ र ? ऋणसमेत अंश लाग्छ नि । त्यसकारण पहिले भएको गलत कामको समेत जिम्मेवारी अहिलेको सरकारले लिनै पर्दछ नि, होइन र ?

अब कुरा गरौं आन्दोलनको । नेपाली जनताहरु कस्ता छन् भन्ने जानकारी हाम्रा दलहरुलाई राम्ररी थाहा छ । जनताको यही भावनालाई कसले भजाउन सक्ने भन्ने प्रतिस्पर्धा बेला-बेला चल्छ । उपनिर्वाचन पनि नजिकिँदै छ । नेताहरुलाई राम्ररी थाहा छ- जनताहरु सडकमा उफ्रेर केही फरक पर्दैन, यो कुरा भारत सरकारको कानमा पर्दैन ।

सरकारले पनि जनता समक्ष साखुल्ले हुनलाई मन्त्री परिषदको बैठक गरेर “सरकारले यो समस्यालाई कुटनीतिक तबरमा समाधान गर्ने” भन्ने निर्णय गरिसक्यो। त्यो कुटनीतिक पहल, कुराकानी जे भनेपनि कहिलेसम्ममा गर्ने भन्ने उल्लेख गरिएको छैन र कुनै पहल गरिएको कुरा पनि नेपाली जनताले थाहा पाएका छैनन् । र कुटनीतिक पहल भएपनि के हुँदैछ भनेर सर्वसाधारणले थाहै पाउँदैनन् ।

यदी कुटनीतिक तबरले कुराकानी गर्नु नै थियो भने त्यही बैठक बसेको ठाउँबाट भारतस्थित नेपाली राजदूतलाई ‘तुरुन्तै परराष्ट्र मन्त्री स्तरको मिटिङको लागि समय मिलाउन आदेश’ दिन सकिन्थ्यो । त्यसैगरी नेपालस्थित भारतीय राजदूतलाई पनि त्यस्तै आदेश दिन सकिन्थ्यो । यसबाट सरकारले साँचो अर्थमा कुटनीतिक पहल नै गरेको छैन भन्ने प्रस्ट हुन्छ । सरकारले कुटनीतिक पहल हुँदैछ भनेर सीमा विवादलाई टार्ने काम गरिरहेको त छैन ? भनेर प्रश्न समेत उठ्न थालेको छ ।

भारतको नयाँ नक्सालाई लिएर सडकमा उत्रिएका सर्वसाधारणले भनिरहेका छन्- ‘हाम्रो कालापानी र लिपुलेक भारतले आफ्नो नक्सामा किन पार्‍यो ? तर नेपालले आफ्नो नक्सामा कालापानी र लिपुलेक अनि लिम्पियाधुरालाई नेपालभित्र पारेर नक्सा किन जारी गरेन ? हामीले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालमा परेको नक्सा किन कहिल्यै हेर्न पाएनौं ?

नेपाल सरकारले नै आफ्नो मुलुकभित्र नपारेको त्यो ठाउँ भारतले आफ्नो नक्सामा पार्नु कुनै अचम्मको कुरा पनि होइन । यो आज भएको होइन । नेपालले आफ्नो तर्फ नपारेर छोड्नु भनेको भारतलाई सुम्पिएको होइन र ? अनि यसको दोषी को ?

भारतसँग नेपालको सीमा विवाद एक दुई ठाउँमा होइन, धेरै ठाउँमा छ । अनि यसबारेमा कुटनीतिक तबरले केही कुराकानी नहुनुको जिम्मेवारी कसले लिने ?

सुनसरी जिल्लामा रहेको श्रीपुर गाउँ पंचायतको चुनाव जितेर ३ पटक प्रधानपञ्च भएका अवधनारायण मरवैताको नेपालतर्फ बनाएको घर कसरी भारततर्फ पर्‍यो ? किन पारियो ? यसबारे सोधखोज गर्ने जिम्मेवारी सरकारको हो कि होइन, मन्त्री बाँस्कोटा ज्यू ?

सबैलाई थाहा छ- मरवैताले ४६ सालपछि सिडिओ कार्यालय मार्फत त्यतिबेलाको सरकारलाई “आफू नेपाली भएको र नेपाली नै भएर मर्न पाउँ” भन्दै निवेदन गरेका थिए । उनले आफ्नो भूमि भारतमा पर्दा भारतको राशन कार्ड केही लिएनन् । अवधनारायण र उनका भाइ नेवालालले भूमि फिर्ता हुने आशैमा संसार छोडे । उनको घरखेत नेपालको हुनुपर्छ भनेर कहिल्यै हाम्रो सरकार बोल्दैन, किन ? यस्ता धेरै उदाहरण छन् ।

नेपाली जनताको छातीमा देश दुख्छ तर हाम्रा नेताहरुको छातीभित्र देश दुख्दैन । उनीहरुलाई नेपाल भन्ने एउटा सानो टुक्रा बाँकी रहे पुग्छ । किनकि त्यही सानो टुक्रामा बसेर सरकार चलाउने र विदेशी प्रभुहरुको अघिल्तिर लम्पसार परेर भिख माग्नु जो छ !

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay