scheduleमगलवार आषाढ़ २३ गते, २०७७

हङकङका प्रदर्शनकारीद्वारा प्रहरीमाथि पेट्रोल बम र बाण प्रहार

एजेन्सी, २ मंसिर । हङकङमा जारी प्रदर्शनका क्रममा प्रहरीमाथि पेट्रोल बम र बाण प्रहार भएको छ ।

सोमबार भएको झडपमा प्रदर्शनकारीले प्रहरीमाथि बाण र पेट्रोल बम प्रहार गरेका छन् । प्रदर्शनकारीले प्रहार गरेको बाण खुट्टामा लागेर एक प्रहरी अधिकारी घाइते भएका छन्।

आइतवार फेसबुकमार्फत् प्रहरी प्रवक्ता लुई लाऊले आन्दोलनकारीहरूलाई सुरक्षाकर्मीमाथि पेट्रोल बम, बाण वा अन्य घातक हतियार प्रयोग नगर्न चेतावनी दिएका थिए।

महिनौँदेखि चलिरहेको सरकारविरोधी आन्दोलनका कारण हङ्‌कङ अस्तव्यस्त भएको छ। चीनको अर्धस्वशासित भूभागका रूपमा रहेको हङ्‌कङमा आन्दोलन सुरु भएयता अहिले प्रदर्शनले सबैभन्दा उग्र रूप लिएको छ।

अत्यधिक बल प्रयोग गरेको भनेर हङकङ प्रहरीमाथि आरोप लागेको छ । यता उग्र प्रदर्शनकारीहरूले प्रहरीलाई तारो बनाउने गरेका छन्। प्रदर्शनकारीहरू केही दिनदेखि हङकङ पोलिटेक्निक विश्वविद्यालय कब्जा जमाएर बसेका छन्।

विश्वविद्यालय कब्जा गरेर बसेका प्रदर्शनकारीहरूलाई तत्काल सो स्थान छोड्न प्रहरीले आइतवार राति आग्रह गरेको थियो। विश्वविद्यालय प्रशासनले पनि उनीहरूलाई बाहिर जान आग्रह गरेको छ।

तर सयौँको सङ्ख्यामा रहेका प्रदर्शनकारी बाहिर निस्किन मानेका छैनन् । आइतबार रातभर प्रहरी र प्रदर्शनकारीबीच फाट्टफुट्ट झडप भएको थियो। प्रहरीले स्थानीय समयानुसार बिहान ५:३० बजेतिर पुन: विश्वविद्यालय परिसरलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गरेको थियो। तर उनीहरूमाथि पेट्रोल बमहरू प्रहार गरिएको थियो। बमबाट आगो फैलिएको थियो।

पछि केही प्रदर्शनकारीहरू बाहिर निस्किन खोजेका थिए। तर प्रहरीले अश्रुग्यास प्रहार गरेपछि उनीहरू भित्रै फर्किए। त्यसअघि विश्वविद्यालयनजिकै एउटा कार सुरक्षाकर्मीहरूतिर जोतिएर आएकाले गोली हानिएको प्रहरीले जनाएको छ।

सरकारले मुख्यभूमि चीनलाई हङ्‍कङका नागरिक सुपुर्दगी गर्न सकिने प्रावधान भएको एउटा कानुन ल्याउने योजनाको विरोधमा गत जुन महिनामा हङ्‌कङ आन्दोलित भएको थियो।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय