scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

बोलिभियामा राजनीतिक संकट गहिरिँदै, वार्तामार्फत् समाधान गर्न राष्ट्रसंघको अपिल

एजेन्सी, २ मंसिर । पछिल्लो समय दक्षिण अमेरिकी मुलुक बोलिभियामा राजनीतिक संकट गहिरिँदै गएको छ । राजनीतिक संकटसँगै सिर्जित हिंसामा ज्यान गुमाउनेको संख्या लगातार बढ्न थालेपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

राष्ट्रसंघले संकट समाधानका लागि सबै पक्षलाई वार्ता गर्न अपिल गरेको छ । बोलिभियास्थित संयुक्त राष्ट्रसंघका प्रतिनिधिले सबै मिलेर राजनीतिक संकट समाधान गर्न अपिल गरेको एकजना बोलिभियाली अधिकारले जानकारी दिएका हुन् ।

एकहप्ता अघि इभो मोरालेसले राष्ट्रपति पदबाट राजीनामा दिएर मेक्सिकोमा शरण लिएपछि राजनीतिक संकट थप गहिरिएको हो । मोरालेसका समर्थकले समेत प्रदर्शन गर्न थालेपछि बोलिभियामा राजनीतिक अस्थिरता उत्पन्न हुने चिन्ता व्यक्त गर्न थालिएको छ ।

शुक्रबार सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा झण्डै एक दर्जनले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेहरु सबै मोरालेसका समर्थक रहेको समाचारमा बताइएको छ ।

त्यस्तै उक्त झडपमा अन्य १ सय ३२ जना घाइते भएको सरकारी स्रोतले पुष्टि गरेको छ । घाइतेहरुमध्ये अधिकांशलाई गोली लागेको बताइएको छ ।

केही समयअघि सुरु भएको प्रदर्शनका क्रममा हालसम्म २३ जना बोलिभियाली नागरिकले ज्यान गुमाइसकेका छन् । त्यस्तै देशभर भइरहेको विरोध प्रदर्शनका कारण जनजीवन प्रभावित भएको छ भने खाद्यान्नको अभाव हुँदै गइरहेको छ ।

यता संकट चुलिँदै गएपछि राष्ट्रसंघले अग्रसरता देखाएको छ । सबै पक्षबीच वार्ता गरी तत्काल संकट समाधान गर्नुपर्ने राष्ट्रसंघको भनाइ छ ।

यसै क्रममा बोलिभियास्थित संयुक्त राष्ट्रसंघका प्रतिनिधिले त्यहाँका अन्तरिम राष्ट्रपति एनाइन एनेस र निवर्तमान राष्ट्रपति इभो मोरालेसका समर्थकलाई मिलेर संकट समाधान गर्न अपिल गरेका छन् ।

आइतबार बोलिभियाका लागि संयुक्त राष्ट्संघका पूर्व विशेष दूत इन आर्नल्टले संकट समाधानका लागि एउटा शान्ति प्रस्ताव अधि सारेका छन् । आर्नल्टद्वारा अघि सारिएको प्रस्तावमा मोरालेसका सांसद, प्रदर्शनकारी र अन्तरिम राष्ट्रपतिका प्रतिनिधिबीच वार्ता हुनुपर्ने बताइएको छ । उक्त वार्तालाई संयुक्त राष्ट्रसंघ र रोमन क्याथोलिक चर्चले मध्यस्थता गर्ने समेत प्रस्तावमा उल्लेख छ ।

किन भइरहेको छ प्रदर्शन ?

विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजीनामा गरेका थिए । सेनाले समर्थन नगर्ने घोषणापछि मोरालेसले नोभेम्बर १० मा राजीनामाको घोषणा गरेका हुन्। त्यसपछि मेक्सिकोतर्फ लागेका र मेक्सिकोले उनलाई राजनीतिक शरण दिने प्रस्ताव गरेको बताइएको छ ।

राष्ट्रपति मोरालेसको राजीनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । मोरालेसका समर्थकहरूले मंगलबारदेखि बोलिभियाका विभिन्न क्षेत्रहरुमा भेला भएका थिए । विपक्षीले समर्थन गरेको अन्तरिम सरकारका नेता एनाइन एनेसको राजीनामा, मोरालेसको फिर्तीको माग गर्दै समर्थकहरु विरोध प्रदर्शन जारी राखेका थिए ।

बामपन्थी राजनीतिज्ञ एवं राष्ट्रपति मोरालेसले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । लामो समयदेखि सत्तामा रहेका मोरालेसका मन्त्री एवं वरिष्ठ अधिकारीहरुले पनि एकाएक राजिनामा दिएपछि उनी थप संकटमा परेका थिए ।

त्यही चुनावमा पराजित भएका पूर्वराष्ट्रपति एवं मुख्य विपक्षी दलका नेता कार्लोस मेसाले बोलिभियाली जनताले विश्वलाई नै नयाँ सन्देश दिएको बताए । उनले बोलिभियालाई नयाँ र समृद्ध देशमा रुपान्तरण गर्न पछिल्लो कदमले मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।

राष्ट्रपतिबाट राजिनामा गरेको अवस्थामा मुलुकको राष्ट्रपति को हुने भन्ने अन्यौलकै बीच कम्तीमा २० जना सांसद र वरिष्ठ सरकारी अधिकारीहरुले बोलिभियास्थित मेक्सिकोको राजदूतावासमा शरण लिएका थिए । मेक्सिकोले राष्ट्रपति मोरालेसलाई पनि शरण दिन तयार रहेको घोषणा गरेको छ ।

यहीबीच मोरालेसले ट्वीट गर्दै आफूलाई गिरफ्तार गर्न सुरक्षाकर्मी पक्राउपूर्जी सहित आएको बताएका छन् तर प्रहरी प्रमुख भ्लादिमिर युरी काल्डेरोनले भने मोरालेसको भनाइमा सत्यता नरहेको दाबी गरे । मोरालेसले आफ्नो घरमा पनि आक्रमणकारी समूहले ढुंगामुडा गरेको बताएका छन् । प्रहरीले आइतबार राति निर्वाचन अदालतका प्रमुख मारिया युजेनिया चोकलाई गिरफ्तार गरेको जनाएको छ । विपक्षीहरुले यही अदालतको आडमा मोरालेसले चुनाव जितेको आरोप लगाउँदै आएका थिए ।

आयमारा आदिवासी समुदायको प्रतिनिधित्व गर्ने मोरालेस विगतमा कृषक रहेका थिए । उनी सन् २००६ मा आदिवासी समुदायबाट बोलिभियाको पहिलो राष्ट्रपति बनेका थिए । राजीनामा गर्नेक्रममा मोरालेसले आफ्नो राष्ट्रपतीयकालमा भोकमरी र गरिबी कम गर्न ठूलो सफलता प्राप्त गरेको दाबी गरेका थिए ।

मोरालेसले बोलिभियाको राष्ट्रपतिका रुपमा करिब १४ वर्ष शासन सञ्चालन गरेका थिए । तर यसै वर्षको अक्टोबर २० मा सम्पन्न चुनावमा भने उनी झिनो मतान्तरले चौथो कार्यकालका लागि विजयी भएका थिए, जसलाई मोरालेसले धाँधली गरेर चुनाव जितेको भन्दै विपक्षीहरुले चुनावी परिणाम अस्वीकार गरेका थिए ।

मोरालेसको विजयलाई अस्वीकार गर्दै भएको तीन सातादेखिको प्रदर्शनमा तीन जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए ।विरोध प्रदर्शन जारी रहेकै अवस्थामा ६० वर्षीय मोरालेसले नयाँ चुनावका लागि पनि प्रस्ताव गरेका थिए । तर सडक राष्ट्रपतिको यस्तो आग्रह सुन्ने अवस्थामा थिएन । बरु मुलुकका सशस्त्र फौज र प्रहरी दुबैले राष्ट्रपतिलाई राजीनामा गर्न सुझाएका थिए ।

सशस्त्र फौजका प्रमुख एवं सेनापति विलियम्स कलिम्यानले संवाददाताहरुसँग कुरा गर्दै मुलुकको स्थायित्व, विकास र सडक प्रदर्शन मत्थर पार्न मोरालेसलाई राजीनामा गर्न आफूले सुझाव दिएको बताएका थिए ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage