scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

स्वाभिमान यात्राका ८ आयाम १६ आधार

उपेन्द्रलाल कामी

स्वाभिमान मानिसभित्रको आत्मगौरवको भाव हो । स्वाभिमान हुँदैनथ्यो भने मानिस सायद उत्कृष्ट प्राणीमा गनिँदैनथ्यो । सजीव प्राणीहरुको सामान्य सूचक चाल, श्वासप्रस्वास, आवाज, भोजन, यौन, प्रजनन र निष्कासन हो । मानव प्राणीमा पनि यी सूचक हुन्छन् । तर, त्यसका अलवा भावना र विचार हुन्छ । मान्छेमा संवेदनात्मक विवेकसहितको स्वाभिमान हुन्छ । मानव संसारमा जेजति वैचारिक तथा भौतिक चमत्कार भएका छन्, ती स्वाभिमानको भाव जागृत भएर भएका परिवर्तन हुन् ।

स्वाभिमान अभिमानमा परिणत भयो भने अभिजात वर्ग र चरित्र जन्मन्छ । स्वाभिमान निदायो वा हरायो भने मानिस पशु वा दास सरह बन्न पुग्दछ । स्वाभिमान साँचो रुपमा जाग्योे भने अपार शक्ति सिर्जना हुन्छ । त्यही शक्ति आमूल परिवर्तनको आधार बन्दछ । गौरव गर्न लायक नागरिक निर्माण गर्न व्यक्तिभित्रको स्वाभिमान जाग्नु पर्दछ । हरेक व्यक्तिभित्रको स्वाभिमान ‘मेरो स्वाभिमान’ हो । अर्थात् स्वाभिमान ‘हाम्रो’ हैन, ‘मेरो’ हुन्छ । किनकी स्वाभिमान हरेक व्यक्तिभित्र जाग्नु पर्दछ ।

हरेक व्यक्तिको शारिरिक बनाबट, रुप, चाहना र प्रतिभा फरकफरक हुन्छ । आफ्नो शरीर, सोच, चाहना र सिर्जित वस्तुप्रति गौरव जाग्नु पर्दछ । ‘मेरो’ शब्द एक मेधावी रोजाइ हो, ‘हाम्रो’ समूहमा हाजिरी । आफ्नो शरीर, चाहना, रुप, विचार, प्रतिभालाई दिशानिर्देश गर्ने हुँदा स्वाभिमान ‘मेरो’ हुन्छ । मेरो स्वाभिमान हरेक व्यक्तिको हो र हरेक व्यक्तिको स्वाभिमान मेरो हो ।

स्वाभिमान जागृत भएका नागरिक असल नागरिक हुन् । असल नागरिकले असल राज्य र असल राष्ट्र बन्दछ । स्वाभिमानका आठ आयाम र सोह्र आधार हुन्छन्, त्यसलाई स्वाभिमानको आधार चक्र भन्न सकिन्छ । स्वतन्त्रता, संघर्ष, स्वाबलम्बन, सहयोग, स्वविवेक, सहनशीलता, समालोचक र सहास आठ आयाम हुन् । यी हरेक आयामका २ आधार हुन्छन् । अधिकार र अनुृशासनको योग स्वतन्त्रता हो । वैचारिक र भौतिक प्रयास संघर्ष हो । श्रम र पुँजी स्वाबलम्बनका आधार हुन् । सहकार्य र सेवा सहयोगका आधारतत्व हुन् । भावना र विचारले स्वविवेक बन्दछ । ज्ञान र धीरताबाट सहनशीलता बन्दछ । आलोचना र प्रसंशा समालोचक हुन् । आशा र विश्वासले साहस बन्दछ । यी सूचकबाट स्वाभिमानको मापन गर्न सकिन्छ ।

व्यक्तिले पहिलो मापन आफूले आफैलाई गर्नु पर्दछ । स्वाभिमान यात्रामा व्यक्तिले अरुको मापन गर्न सक्दैन । अरुको मापन गर्ने प्रयास स्वाभिमान नभएर अभिमान बन्दछ । ‘मेरोे’ नभएर ‘अरुको’ बन्न पुग्दछ । जतिखेर स्वाभिमान यात्रा तीव्र भयो, जाग्यो, राजनीतिक तथा सामाजिक परिवर्तनमा योगदानमा महत्वपूर्ण योगदान हुन सके । हाम्रो इतिहासका गौरवमय क्षण तथा गौरव गर्न योग्य अग्रजहरु जागृत स्वाभिमानहरु हुन् । ‘मेरो स्वाभिमान’ एक अभियान हो । अहिले देशलाई सुशासन, सदाचार र समृद्धिको खाँचो छ । त्यसको लागि ‘मेरो स्वाभिमान’ फेरि एकपटक जाग्रृत हुनु पर्दछ ।

यो अभियानमा ‘मेरो स्वाभिमान’ को अर्थ भित्री ज्ञान, स्वाधिनता, मानवता र नविनता हो । असलको अर्थ अनुशासित, सरल र लगनशील । ‘मेरो स्वाभिमान’ यात्रामा यसरी नै हरेक शब्दलाई नयाँ सन्दर्भमा पुनर्परिभाषित गर्नुपर्ने हुन्छ । जस्तो कि सफल भनेको ठूलो, ठालु वा समाजमा बर्चश्व जमाएको हैन । सफलको अर्थ सक्षम, फरक र अध्ययनशील हुनु हो । ‘मेरो स्वाभिमान’ यात्राका केही केही मानक मूल मन्त्र हुन सक्दछन् । जस्तो कि ‘काम गर, परिमाण र मूल्य खोज’, ‘असफतासँग नडराउ, असफताको कारण खोज, हटाउ, त्यही सफलता हो’, ‘संवेगभित्र विवेक खोज’, ‘पीडाभित्र आनन्द खोज’, ‘बोलीभित्र व्यवहार खोज’ आदि ।

‘मेरो स्वाभिमान’ यात्रा व्यक्तिलाई आफूभित्रैका आफ्नै कमजोर र भ्रामक मान्यताबाट मुक्ति दिलाउने अभियान हो । व्यक्ति जब आन्तरिक रुपमा बलियो हुन्छ, जस्तै चुनौति सामना गर्न सक्दछ । ‘मेरो स्वाभिमान’ यात्रा केवल अवधारणागत सुधार मात्र हैन, निश्चित नियामक मान्यता अनुरुप जीवनको अभ्यास पनि हो ।

स्वाभिमान यात्रामा समय व्यवस्थापन अत्यावश्यक हुन्छ । दैनिक समयलाई नित्यकर्म, भोजन, श्रम, सहयोग, आराम र मनोरन्जनमा विभक्त गर्नु पर्दछ । उपहार, चन्दा, दान लिने दिने गर्नु हुँदैन, बरु सहयोग आदानप्रदान गर्नु पर्दछ । सहयोग र दान फरक हुन् । सहयोग परस्पर हुन्छ । चन्दा वा दान एकपक्षीय हुन्छ । पारदर्शी जीवन स्वाभिमानको अर्को नियामक हो । अपारदर्शी जीवनको सार्वजनिक विश्वासनीयता हुँदैन । अपारदर्शीता सधैं लुक्दैन, जुन दिन खुल्छ, सबै चौपट हुन्छ । ‘मेरो स्वाभिमान’ यात्रा पाखण्ड हैन । भित्र हृदयदेखि नै पारदर्शी जीवन बाँच्ने संकल्प हो ।

जाग्रृत स्वाभिमानले कहिल्यै कसैलाई उपदेश दिँदैन, दिशानिर्देश मात्र गर्दछ । यसले असल कर्ममा जोड दिन्छ कुनै एकल धर्ममा हैन । यो यात्रामा अभाव सहनु पर्दछ, दबाब सहनु हुँदैन । स्वाभिमान यात्रामा परिस्थितिलाई सहज रुपमा लिनु पर्दछ तर झुक्ने र भुक्ने गर्नु हुँदैन । स्वाभिमान यात्रा स्वचालित हुन्छ सञ्चालित हैन । स्वाभिमान यात्रामा इच्छाहरु आत्मसात गर्नु पर्दछ, इच्छाहरुको अधिनस्थ हुनु हुँदैन ।

समग्रममा स्वाभिमान यात्रा गतिशील मानव मनको कम्पास हो तर ब्रेक हैन । संसार एक बहुआयामिक गतिशीलता हो । यहाँ अनेक सम्भावनाहरु छन् । भएका सम्भावनाहरु मध्ये सबैभन्दा असल र उपयोगी सम्भावनालाई समात्ने प्रयास नै स्वाभिमान यात्राको सार हो ।

(रुकुमकोटका बासिन्दा कामी ‘मेरो स्वाभिमान’ अभियानका अभियन्ता हुन् ।)

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage