scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

किन पतन भए मोरालेज ?

साझापोष्ट टिप्पणी/ काठमाडौं, ३ मंसीर । विश्व राजनीतिमा एक समयका क्रान्तिकारी अर्को समय प्रतिगामी, एक समयका असल शासक अर्को समय तानाशाह, एक समयका लोकप्रिय राजनेता अर्को समय जनविरोधी बनेका दर्जनौं उदाहरण छन् । जिम्बाबेका रवर्ट मुगाबे राजनीतिक जीवनको प्रारम्भमा लोकप्रिय क्रान्तिकारी थिए । जीवनको उत्तरार्धमा एक बदनाम तानाशाहका रुपमा बिते ।

इराकका सद्दाम हुसेन वा लिवियाका कर्णेल गद्दाफी जोखिमपूर्ण क्रान्तिबाट सत्तामा आए, खुंखार तानाशाहका रुपमा पतन भए । रुसका स्टालिन बोल्शेभिक क्रान्तिका सबैभन्दा क्रियाशील संगठक थिए, आजीवन सत्तामा रहे पनि एक निर्दयी कम्युनिष्ट शासकका रुपमा उनको विश्व परिचय निर्माण भयो । यही श्रृंखलामा एउटा अर्को नाम थपिएको छ– बोलिभियाका इभो मोरालेज ।

बोलिभियाका अपदस्त राष्ट्रपति इभो मोरालेज केही बर्ष अघिसम्म विश्वका सर्वाधिक लोकप्रिय राजनेता मध्ये एक मानिन्थे । कोका कृषकहरुको अधिकार आन्दोलनबाट राजनीतिक जीवन शुरुवात गरेका मोरालेज आमारो आदिवासीका सन्तान थिए । अमेरिका लागूऔषध नियन्त्रणको नाममा कोका खेतीको विरुद्धमा थियो । बोलिभिया सरकारसँग अमेरिकाको कोका खेती नष्ट गर्ने सम्झौतासँगै कोका किसानको जीवनमा ठूलो असर पर्‍यो । मोरालेजले कोका खेती आदिवासीहरुको मौलिक अर्थतन्त्र र अधिकारका रुपमा ब्याख्या गरे । उनले ग्रामीण क्षेत्रमा कृषि श्रमिकहरुको संसारकै बलियो र लोकप्रिय ट्रेड युनियन बोलिभियामा बनाए ।

बोलिभियामा आदिवासी जनजातिको बहुमत जनसंख्या थियो । तर सत्तामा युरोपियन मूलका आप्रवासी जातिहरुको बर्चश्व थियो । त्यसको विरुद्ध उनले आदिवासी जनजाति आन्दोलनको समेत नेतृत्व गरे । यी दुबै आन्दोलनबाट उनले चरम लोकप्रियता हासिल गरे । ग्रामीण क्षेत्रमा लोकप्रियता हासिल गरेसँगै शहरी जनमत उनको पक्षमा झुकाव राख्न थाल्यो । खानी, विशेषतः ग्यास कम्पनीका, मजदुरहरुले उनलाई साथ दिन थाले ।

बोलिभियाको सरकार ग्यास कुवा र कम्पनीहरुको निजीकरण गर्दै थियो । त्यसो गर्दा ग्याँसको भाउ बढ्ने वा ग्यास सिधै बढी मूल्य भएको विश्व बजारमा जाने हुँदा बोलिभियामा अभाव हुने तर्क मजदुर युनियनको थियो । ग्यास बोलिभियाली जनताको मौलिक अधिकार हो भन्ने नारा लोकप्रिय भयो । ग्यास मजदुरहरुको आन्दोलन भयानाक ढंगले भट्कियो । कोका किसान र ग्यास मजदुरहरुको ऐक्यबद्धताले सन् १९९५ मा नयाँ राजनीतिक शक्ति अस्तित्वमा आयो– मुभमेन्ट फर सोसलिज्म । मोरालेज यसको नेताका रुपमा उदित भए ।

कोका कृषक, आदिवासी जनजाति आन्दोलन र ग्यास मजदुर युनियनहरुको समर्थनमा मोरालेजको पार्टी निक्कै शक्तिशाली भयो । सन् १९९७ को एसेम्ब्ली निर्वाचनमा यो पार्टीले ४ सीट जित्यो । त्यसमध्ये एक मोरालेज आफै थिए । सन् २००६ को निर्वाचनमा मोरालेज पहिलोपटक राष्ट्रपति निर्वाचित भए । उनको लोकप्रियतालाई भेनेजुवेलाका ह्युगो चाभेज र ब्राजिलका लुला डि शिल्भासँग तुलना गरिन्थ्यो । बोलिभोरियन समाजवादी विचारबाट प्रभावित मोरालेजको उदयलाई अमेरिकी महादेशमा ‘नववामपन्थको उदय’ को प्रमुख घटनामध्ये एक मानियो ।

समाजवादी वा वामपन्थी आन्दोलनमा मात्र हैन, उदारवादी विश्वले समेत उनको प्रसंशा गरेको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषले उनलाई बोलिभियामा उल्लेखनीय रुपमा गरिबी घटाएको, सीमान्तकृत जनसमुदायलाई सशक्तीकरण गरेको, कोका किसानहरुको स्थितिमा आमूल परिवर्तन ल्याएको, जातीय अल्पसंख्यकहरुको भूमिका बृद्धि गरेको, महिला सहभागिता आश्चर्यजनक ढंगले बढाएको तथा शान्ति र स्थायित्वलाई टेवा पुर्‍याएको जस दिएको थियो ।

मोरालेज ‘बहुल–राष्ट्रियतावाद’ का विश्वप्रतिक नै बनेका थिए । बोलिभियाको परम्परागत राजनीतिक बर्चश्वको अन्त्य गर्दै उनले बहुल राष्ट्रियता र समान अधिकारमा आधारित नयाँ संविधान बनाए । उनी बोलिभियाका राष्ट्रपति मात्र हैन, विश्वकै आदिवासी जनजाति, महिला, किसान, मजदुर, सीमान्कृत समुदायबीच ‘पुलुरी–नेशन नेशनालिज्म’ को प्रणेता सरह सम्मानयोग्य भएका थिए । उनले राष्ट्रपतीय जिम्मेवारी सम्हाल्दै गर्दा बोलिभिया संसारकै गरीबमध्ये एक र अमेरिकी महादेशकोे सबैभन्दा कमजोर अर्थतन्त्र भएको देश मानिन्थ्यो । उनको प्रथम राष्ट्रपतीय कार्यकालमा अर्थतन्त्रको सुधार मात्र भएन, सँगसँगै उनले सामाजिक न्याय र सुधारका कार्यक्रमलाई पनि तीव्रता दिए ।

तर कतिपय मिडियाले अज्ञानता वा पूर्वाग्रहवश भनेजस्तो उनी कम्युनिष्ट भने थिएनन् । क्युवाली राष्ट्रपति फिदेल क्यास्त्रोसँगको निकट व्यक्तिगत सम्बन्धका कारण मानिस उनी कम्युनिष्ट भएको शंका गर्थे । मोरालेजले घोषित रुपमा आफूलाई कम्युनिष्ट कहिल्यै भनेनन् न त उनको पार्टीले मार्क्सवाद–लेनिनवादलाई औपचारिक सिद्धान्त नै मान्यो । यो सवालमा मोरालेज सधैं मौन रहे । उनले पुँजीवादको विरोध गरे तर त्यसको विकल्प साम्यवाद ठानेनन् बरु लोकतन्त्रको सहभागितामूलक, समावेशी र समानुपातिक पद्धति विकासमा योगदान गरे ।

सन् २००६–२०१० बीचको आर्थिक विकास योजना बोलिभियाली अर्थतन्त्रको जग थियो । यो योजना अवधिमा बोलिभियाको गरीबी उल्लेखनीय रुपमा घट्यो । असाक्षरता दक्षिण अमेरिकाकै सबैभन्दा बढी १६% थियो ५% मा झर्यो । उनले गरीब परिवारका लागि जीवन निर्वाह अनुदान लागू गरेका थिए, जो असाध्यै लोकप्रिय कार्यक्रम थियो । सन् २००९ को निर्वाचनमा उनले दोस्रोपटक राष्ट्रपति जिते । त्यसपछि उनी आफैले संविधान संशोधन गरी एक व्यक्ति २ पटक भन्दा बढी राष्ट्रपति हुन नपाउने प्रावधान राखे । उनले यो प्रावधानको व्यवस्थापछि दुई कार्यकालमा हिसाब हुने हुँदा आफ्नो पहिलो कार्यकालमा गणना नहुने ब्याख्या समेत गरे । तर, यो ब्याख्यापछि मोरालेजको नैतिक पक्ष कमजोर देखिन थाल्यो । सन् २०१४ मा तेस्रो कार्यकालका लागि पनि उनले राष्ट्रपतिमा जिते ।

संवैधानिक प्रावधान अनुसार अब मोरालेज राजनीतिक जीवनबाट निवृत्त हुनु पर्दथ्यो । नैतिक दृष्टिकोणले पनि उनका लागि त्यही बाटो श्रेयष्कर थियो । तर मोरालेजमा शक्तिको अतिसय चाह र लोभ पलाइसकेको थियो । उनको पार्टीमा उनका अन्धसमर्थकहरुको ठूलो जत्था तयार भएको थियो जसले उनको व्यक्तित्वको पुजा गर्न थालेको थियो । उनलाई स्टालिन, क्यास्त्रो, ह्युगो चाभेजसँग तुलना गर्न र सत्ता नछोड्न उक्साउन थालियो । मोरालेज यस्तो प्रवृत्तिबाट प्रभावित हुँदै गए । मोरालेज विना बोलिभियाको कुनै भविष्य छैन भन्ने प्रकारको प्रचार तीव्र पारियो ।

सन् २०१९ को निर्वाचनमा उनी चौथोपटक राष्ट्रपतिको निर्वाचनमा उम्मेद्वार भए । पहिलो चरणमा करिब ४७% मत मात्र पाए । यस अघिका निर्वाचनमा उनले पहिलो चरणमै बहुमत अर्थात् ५०% बढी मत पाउने गरेका थिए । उनका प्रतिद्वन्द्वी कार्लोस मोसाले करिब ३५% मत पाए । दोस्रो चरणको निर्वाचन हुन नपाउँदै निर्वाचनमा व्यापक धाँधली गरेको आरोप मोरालेजमाथि लाग्यो । हिंसात्मक जनप्रदर्शनहरु व्यापक हुँदै गए । अन्ततः प्रहरी र सेनाले प्रदर्शनकारीहरुलाई नियन्त्रण र दमन गर्न अस्वीकार गर्‍यो । मोरालेज मेक्सिको पलायन हुन बाध्य भए ।

यी घटनाहरु भइरहँदा मोरालेजले नैतिक दायित्व बहन गरेनन् । उनको लामो शासनबाट परिवर्तन चाहेका जनताको भावनाको कदर गर्नुको साटो उनले ती प्रदर्शनहरु साम्राज्यवादीहरुको षड्यन्त्र भएको आरोप लगाए । फलतः विरोधी राजनीतिक शक्तिहरु झन क्रुद्ध र उत्तेजित भए । चौथो पटक पनि राष्ट्रपति हुने उनको चाहना उनकै लागि प्रतिउत्पादक सावित भयो । एक क्रान्तिकारी तथा लोकप्रिय राजनेता रातारात देश छोडेर भाग्नु पर्ने अवस्था सिर्जना भयो ।

यो अवस्था मोरालेजको व्यक्तिगत राजनीतिक जीवनका लागि मात्र हैन, संसारभरिका उनलाई आदर्श मान्ने समर्थकहरुका लागि पनि उत्तिकै दूर्भाग्यपूर्ण सावित भएको छ । सबैभन्दा ठूलो त्रासदी स्वयं बोलिभियामा सिर्जना भएको छ । मोरालेजको पलायनपछि उनका समर्थक र विरोधीहरुबीच हिंसात्मक भीडन्त चर्किँदै गएको छ र सयौंको मृत्यु भइसकेको छ । मोरालेजको पतन र पलायनपछिको सत्ता रिक्तता कसरी व्यवस्थापन हुन्छ, कसैले भन्न नसक्ने अबस्था छ ।

मोरालेजले यी सबै घटनालाई नाटकीय र सैनिक कू भनेका छन् । आफूलाई देश फिर्ता आउन दिन माग गरेका छन् । बोलिभियाको राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ, त्यो त भबिष्यले नै बताउला तर मोरालेजले निर्माण गर्न खोजेका आदर्शहरु भने ठूलो संकटमा परेका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage