scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

कस्तो, खलासी जस्तो !

माधव प्याकुरेल

कसैले भविष्यमा तिमी के बन्ने भनेर सोध्यो भने प्रायःको जवाफ हुन्छ- डाक्टर बन्ने, इन्जिनियर बन्ने, नर्स बन्ने, पाइलट बन्ने र यस्तै यस्तै ।

बचपनमा कहिलेकाँही असफल भएको बेला गुरुमाले व्यङ्ग्य गर्दै भन्नुभएको कुरा सम्झिन्छु- खलासी बन्ने मान्छे पनि चाहियो नि ! सबैले ठूलो मान्छे बन्छु भनेर हुन्छ ?

लाग्छ- जोसुकैको लागि पनि खलासी बनेर हिड्नु उसको रहर नभई बाध्यता हो । आफन्तवाद, दलवाद, नातावादमा रुमल्लिएको हाम्रो देशको राजनीति, रोजगारको अवसर सिर्जना नै गर्न नसक्ने सरकारी संयन्त्र । यी सबैका कारण रोजीरोटीकै लागि धेरैजसो खलासी बनेका हुन् भनेर बुझ्न ढिलो भएन र ?

प्रत्येक व्यक्तिका आ-आफ्ना इच्छा, आकांक्षा र चाहनाहरु हुन्छन् । उक्त चाहनाहरु पूरा गर्न मानिस निरन्तर जीन्दगीको गोरेटोमा हिंडिरहेछ । सुख-दुःखका साथ लम्किरहेछ । कोहि पैदल त कोहि भू-मार्ग, कोहि हवाईमार्ग त कोहि जलमार्ग । माध्यम फरक हुन सक्छन् । गन्तव्य उस्तै उस्तै । आफ्नो सुख- शान्ति र अमनचयन खोजिरहेछन् मानिसहरु यो पृथ्वीमा ।

हो, ती मध्ये भू-मार्गमा गुड्ने मोटर/गाडीको ढोकामा ठिङरिङ उभिएर कयौं यात्रीहरुलाई उनीहरुको निर्धारित गन्तव्यमा पुर्‍याउने, गाडीमा चडाउने/ओराल्ने र भाडा उठाउने व्यक्तिको रुपमा लिईने एक मनुष्य हो खलासी !

मानिसका असीमित चाहनाहरु पूरा गर्न ऊ सेतु बनेर खडा हुन तयार त छँदैछ, अझै ऊ हरेक सुखदुःखमा आफ्नो ज्यानको बाजी थापेर हमेसा यात्रुलाई सुरक्षा दिन तत्पर छ । मानौं, ऊ एक तुइन चालक हो जसले त्यो सुसाएको कर्णालीबाट सकुशल ज्यानलाई वारपार गर्न मद्दत गरिरहेछ ।

कर्णालीको पानीको बेगझैँ बहने जिन्दगीका अनेकौं असीमित सपनाहरु पूरा गर्ने क्रममा उसले कतिपयलाई डाक्टर बनाइसकेको छ त कतिलाई इन्जिनियर । उसले कतिपयलाई पाइलटको सपना पूरा गर्ने माध्यम बनाइसकेको छ त कतिलाई नर्स । कतिपयलाई सिकर्मी त कतिलाई कलाकार, कतिपयलाई शिक्षक त कतिपयलाई खेलाडी आदि !

उसँगै यात्रा गरेका कयौं व्यक्तिहरु समाजका प्रतिष्ठित व्यक्ति कहलिए पनि उसको अवस्था जस्ताको त्यस्तै छ । ऊ उभिएको धरातल फेरिएको छैन । हातका नशानै फुट्ने गरी गाडीमा हिर्काएका हातमा उसले लगाउने मलम पाएको छैन । सिटैसिटको गाडीको जिन्दगीभर हेरचाह गर्दा पनि उसले आफू बस्ने आरामदायी सिट भेटेको छैन । अझै यसलाई यसरी भनौं कि उसको स्थिति दिनानुदिन नाजुक बन्दै छ र पनि ऊ मुस्कुराउन बिर्सेको छैन ।

किनकि उसले आफ्नो ‘औकात’ अनुसारको मात्र अपेक्षा राख्दछ । सानोतिनो खुसीमा पनि रमाउन सक्छ । हरेक दुःखलाई सुखमा परिणत गर्ने चेष्टा राख्दछ ।

प्राय खलासी अर्थात् सार्वजनिक यातायातका सहचालकले प्रयोग गर्ने भाषा हो अलि पर सर्नुस् न, पछाडि त्यत्रो ठाउँ छ, अलि मिलेर बस्नुस् न ।

खलासीले जतिसुकै मिठास स्वरमा यि शब्द बोले पनि यात्रुलाई चिढ्याई हाल्छ । त्यहीं सुरु हुन्छ किचलो । कहाँ छ ठाउँ, नजिकै झर्ने हो, कति कराउँछ जस्ता शब्द बर्सिन थालिहाल्छन् । हाम्रो देशको सार्वजनिक यातायात भद्रगोल छ, गुन्द्रकझैं कोचिएर यात्रा गर्नुपर्छ । उभिएरै यात्रा गर्नुपर्छ । यो सुधार हुनैपर्छ । तर, सुधार नहुञ्जेल त यात्रु केही सजग भईदिए ती खलासीको मुख निकै कम सुक्थ्यो होला नि ।

बसभित्र पस्नासाथ लाईन मिलेर उभिन यात्रुलाई केले छेक्छ र ? तर गाली गरिन्छ उही खलासीलाई । भाडा तिर्ने बेलामा खलासीसँग रीस उठिहाल्छ । हुन त केहीले बढी भाडा पनि असुल्छन्, त्यस्तालाई कारबाही गर्नुपर्छ । तर, बसभित्र झुण्ड्याइएको भाडादरमा उल्लेख गरिएको भाडा माग्दा पनि खलासीले गाली खान्छन्, त्यो पनि सूचनामा उल्लेख शब्द पढ्न सक्नेबाट नै । यात्रुको व्यवहार देख्दा लाग्छ खलासीले बसमा चढेबापतको भाडा असुलेको हैन, कचौरा लिएर माग्न बसेको छ ।

खलासीलाई धेरैजसो भाइ भनेर सम्बोधन गरिन्छ । चाहे कपाल फुलेकै किन नहोस् । खलासीभन्दा दशक कान्छा देखिनेहरुले पनि भाइ भन्दा खलासीको मन कस्तो हुँदो हो । उमेरले दाजु वा काका नै भए पनि भाइ भन्दै हेपिनुपर्दाको पीडा खलासीले लुकाईरहेकै हुन्छन् ।

माधव प्याकुरेल

कसैले त खलासीजस्तो अशिक्षित प्राणी कहीँ देखेकै हुँदैनन् । कस्तो खलासीजस्तो । नपढेपछि खलासी बन्लास्, खलासी बन्ने मति झिक्यो जस्ता गालीका शब्द हामी यत्रतत्र सुन्छौं । तर धेरैले सोचेकै हुँदैनन् कि स्नातक गरिसकेकाहरु पनि गाडीमा झुण्डिएर यात्रु चढाईरहेका हुन्छन् । फोहोर लुगा लगाएको देख्नासाथ खलासी भनेर गाली गरिन्छ । तर खलासीले बिहान घरबाट लगाएर निस्किएको सफा कपडा बेलुकी उही अबस्थामा घर पुग्ला ? हाम्रा सडकको धुलो त्यही हो ।

हामी सडक धुलाम्मे बनाउनेलाई भोट दिएर नेता बनाउँछौं । गाली खलासीलाई गर्छौं । आफ्नै पहिरन ‘खलासीको जस्तो’ भइसकेको हामी भेउ पाउँदैनौं । नाबालक बच्चादेखि वृद्धासम्मले यही धूलाम्य श्वास फेर्दा आयु छोट्याइरहेको भुल्छौं ।

गाडी मर्मत गर्न घिस्रिएर गाडीको पाङ्ग्रामुनि पस्नै पर्छ । कपडा मात्रै हो र उसको कपालदेखि आँखीभौं समेत धुलाम्मे हुन्छन् त उसको के दोष ।

जतिसुकै सफा हुँ भन्नेहरु पनि एक दिन खलासी बनेर हेरौं नतिजा आईहाल्छ ।

खलासीले राम्रो बोली वचन गर्दैनन् भन्ने सबैजसोको बुझाई छ । आखिर हजुर तपाईं भन्दै राम्रो बोल्यो भने कसले पूरा भाडा दिन्छ ? अनि को ढोका छेउबाट एक पाइला पछाडि जान्छ ? राम्रो बोलीकै कारण त्यहाँ खलासी आफ्नो काममा असफल सावित हुन्छ । भोलिपल्टै जागिर गुमाउन को राम्रो बोल्छ ? खलासीको रुखो शब्द र मैलो कपडा परिस्थितिको उपज हो । उसलाई खिसिट्यूरीको विषय बनाईनु हुँदैन ।

बोली, व्यक्तित्व भनेको कामअनुसार हुने हो । सबै किसिमका कामलाई सम्मान गर्ने वातावारण नहुञ्जेल सुधार कठिन छ । जसका लागि सोच परिवर्तन आवश्यक छ र त्यो पनि शिक्षित भनेर चिनिएका र राम्रो पेसा गर्छु भन्नेहरुबाट नै । खलासी विना सार्वजनिक यातायात चल्दैन । कि त स्वचालित यातायात सेवा हुनुपर्‍यो । विकसित राष्ट्रमा खोइ खलासी ?

तपाई हामी, हाम्रै सन्तान वा अरु जो कोही त्यहाँ भएपनि कमसेकम खलासीको सम्मान गर्न सिकौं । कहिलेकाहीँ मनमनै गम्छु, ‘हामी अरूलाई खराब देख्छौँ, यो हाम्रो मान्छे हुनुको प्रमाण हो । अरूले तपाईंलाई कस्तो व्यवहार गर्छन्, त्यो तपाईंले अरूलाई गर्ने व्यवहारले निर्धारण गर्छ ।’ तर सुनाउने कसलाई ? खलासी पेसा त कुरै छोडौँ खलासी शब्द सुन्न नचाहने प्रशस्तै भेटिन्छन् ।

सिंहदरबारको दक्षिण गेटस्थित हनुमानस्थानबाट नेपाल यातायातमा छिर्छु ! सधैजस्तो यो पटक पनि गाडीमा यात्रुको घुइँचो तछाडमछाड नै थियो । गाडीमा छिरेर लामो सास लिन नपाउदै सहचालक एकोहोरो कराइरहेको सुन्छु, ‘परिचयपत्र छ भने देखाउनु नि ? सरकारी अफिसको कार्ड देखाएर छुट माग्छन यार !’

अनि कुरो के रैछ भनेर थोरै बुझ्न खोज्दा एकजना यात्रुले सुनाए, जहाँबाट तपाई चढ्नु भयो, त्यहीबाट एकजना आफुलाई सरकारी कर्मचारी भनेर दाबी गर्ने व्यक्ति खलासीलाई झपार्दै/थर्काउदै आर्लिएका थिए ।

समाजले हेर्ने दृष्टिकोण मात्र होइन, यात्राका क्रममा गाडीमा चढ्ने ओर्लने सबै चाहे कवि होस् चाहे इन्जिनियर होस् चाहे यो समाजको प्रतिष्ठित जो सुकै व्यक्ति नै किन नहोस् सबैका दृष्टिकोणमा ऊ अलि होच्याउने प्रकारको व्यक्तिको रुपमा परिचित छ ।

बचपनमा पढ्दा खेरि पास हुन थोरै अंक नपुगेपनि अब यो खलासी बन्ने भो भनेर आंकलन गर्ने आमा-बा होस्, कक्षाकोठामा आफुले भनेजस्तै अलि भई नहालेपछि खलासीको उपमा दिनुहुने गुरु/गुरुमा होस्, त्यति मात्रै कहाँ हो र कसैलाई होच्याउन/झपार्न र थर्काउन पर्दा आफ्नो बोलीको अन्त्यमा कस्तो खलासी जस्तो हो र’छ भन्न हतारिने जुनसुकै पद र प्रतिष्ठामा बस्ने व्यक्तिहरु नै किन नहोस्, सबैले दिनानुदिन खलासीको खिल्ली उडाईरहेकै छन् ।

के खलासी शब्द आफैंमा होच्याउनै पर्ने शब्द हो त ? के खलासीलाई अरु पेशामा काम गर्ने व्यक्तिसँग तुलना गर्न सकिँदैन र ? के खलासी हुनु उसको अभिशाप हो र ? जस्ता यावत कुराहरुको बारेमा समाजमा मानव जातिको असल भार थामेका भनिएका अन्य व्यक्तिहरुले विचार गर्नुपर्ने टड्कारो आवश्यक छ ।

मान्छेको बोली कस्तो हुनुपर्ने ? खलासी अन्तरिक्षबाट झर्ने होइन । ऊ/उनी यही समाजको प्रतिनिधिपात्र हो । यही परिवेशको उत्पादन हो । हामी जस्तो छौं, त्यस्तै हुन्छन् खलासीहरु । जसरी मतदाताको स्तरअनुसार नेता छानिन्छन्, त्यसैगरी यात्रुको स्तरअनुसारका खलासीहरु जन्मिन्छन् ।

न त उसलाई सडकमा गाडीको टावरबाट निस्किने धुलो धुँवाको नै मतलब छ न त त्यो हिउँदे मौसममा बहने चिसो हावाको नत गर्मीयामको तापक्रमको ! न त उसलाई सरकारी बिदाको मतलब नै छ न त शनिबार न राति न दिन न उकाली न ओराली न घुम्ती न मोड न सजिलो न अप्ठ्यारो न सन्चो न बिसन्चो न सुख न दुःख ।

जिन्दगीका यी विभिन्न क्षणहरुमा ऊ त्यो सिट विनाको ढोकामा उभिएर एकोहोरो कराइरहन्छ कहिले कोटेश्वर, बानेश्वर, बबरमहल, माइतीघर, सहिदगेट, सुन्धारा, आरएनएसी, रत्नपार्क! कहिले बालकुमारी, कोटेश्वर, बानेश्वर, अनामनगर, पुतलीसडक, बालुवाटार, टिचिङ!

यतिमात्र कहाँ हो र गाडी रोक्दा र अगाडी बढाउँदा उसले आफ्ना हातका नसा नै फुट्ने गरि गाडीमा हिर्काउँदै यात्राको क्रममा कुनै नयाँ ठाउको आगमनसँगै उ गतिमा गुडिरहेको गाडीबाट ज्यानको बाजी राखेर हामफाल्न हतारिन्छ र सकेजति यात्रुलाई गाडीमा चढाउन कराइरहन्छ । तर यसरी ज्यानको बाजी राखेर ओर्लिँदा र चड्दा अलि मेसो मिलेन भने गाडी चालकले उसलाई अपशब्द प्रयोग गरेर हपार्छ/थर्काउछ तर पनि उ एकोहोरो मुस्कुराइरहन्छ ।

नमुस्कुराओस् पनि कसरी, जसरी सैनिक शासनमा माथिको आदेश भन्ने चलन छ त्यसरी नै उसले गाडीको साहु र चालकको आदेश चाहे ठिक होस् या गलत नै किन नहोस्, त्यो माथिको आदेश नसम्झी सुखी छैन ।

यसका अलावा कर्मचारीले पनि अफिसको परिचयपत्र अनि विद्यार्थीले छ्या खलासीलाई केहि पनि आउँदैन भनेर नक्कली कार्डहरु बनाउने कारखाना/छापाखानामा सम्पर्क राखी आफुले चिनेजानेका सबैलाई परिचयपत्र बनाउन सल्लाह दिन्छन् । घरि एटिएम कार्ड, घरि नक्कली कार्ड देखाएर छुट माग्छन् । कहिले म्याद नाघिसकेका कार्डहरुबाट छुट माग्न खलासीलाई हपारेर बस्छन् । अनि कोहि गाडीबाट ओर्लिसकेपछि गनगन कराउँदै निस्किन्छन् । यो सबै रामायण सुन्न भोग्न पर्ने सहनशील व्यक्ति हो खलासी !

यति हुँदाहुँदै पनि उसको झिनो मसिनो प्रशंसा भने नहुने होइन, चिया पसलमा होस्, चौतारीमा होस् र अन्य कुनै ठाउँको जमघटमा नै किन नहोस, हिजो आज देशको वर्तमान राजनीतिक अवस्था/परिस्थितिसँग जोडेर उसको प्रशंसा गर्न भने थालिएको छ । सबै पक्षलाई मिलाएर अगाडि बढ्न नसकेका देशका नेतृत्व पंक्तिले खलासीबाट पाठ सिक्नुपर्ने कतिपय व्यङ्ग्यकार बताउँछन् ।

अन्तमा समाजमा विभिन्न थरिका मानिसहरु हुन्छन कोहि असल त कोहि खराब त्यस्तै समाजमा खलासीहरु पनि कोहि अत्यन्तै असल स्वभावका छन् त कोहि खराब । म मान्छु- सबै सहचालकहरू असल छैनन्, उसो त हाम्रा हातका सबै औँलाहरू पनि समान कहाँ छन् र ? यो कुरा बुझ्ने कसले ?

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage