scheduleशुक्रवार जेष्ठ २३ गते, २०७७

बन्दीगृहमा रहेका १० हजार आईएस लडाकुलाई मृत्युदण्ड दिइने

एजेन्सी, १२ मंसिर । सिरियाली सरकारले बन्दीगृहमा रहेका इस्लामिक स्टेट (आईएस) का लडाकुहरुलाई  मृत्युदण्डको सजाय दिने गरी विशेष अदालत गठन गर्न लागेको छ ।

सिरियाली राष्ट्रपति बसर अल असदले विशेष अदालत गठन गरेर बन्दीगृहमा रहेका सबै जिहादीलाई कठधरामा उभ्याउने बताएका छन् ।असदले पेरिस म्याच  पत्रिकालाई दिएको एक अन्तर्वातामा जिहादीसम्बन्धी मुद्दा हेर्नका लागि विशेष अदालत गठन गरिने र सबै जिहादीलाई सजाय दिने बताएका हुन् ।

Dish_Home

‘सिरियामा रहेका सबै जिहादी बन्दीहरुले सिरियाली कानुन अनुसार ‍सजाय पाउने छन्’, असदले भने, ‘आतंववादसम्बन्धी मुद्दामा हामी प्रस्ट छौं । सबै आतंककारीलाई विशेष अदालतसामु उभ्याइने छ ।’

सिरियालीमा आईएसको सदस्य बन्नु गम्भीर अपराध मानिन्छ । त्यही भएर सरकारले आईएसको सदस्य बनेका हरेक व्यक्तिलाई  सिधैं मृत्युदण्ड दिने गर्छ ।

यसअघि पनि सरकारले बन्दीगृहमा रहेका जिहादी लडाकुहरुलाई गोप्य रुपमा मृत्युदण्ड दिइरहेको समाचार बाहिर आएको थियो ।

एमनेस्टी इन्टरनेशनलले राजधानी दमास्कस नजिकै रहेको सायदनाया बन्दीगृहभित्र हजारौं कैदीहरुलाई गोप्य रुपमा मृत्युदण्ड दिइरहेको बताइसकेको छ । यातनाका कारण र खान नपाएर हजारौं बन्दीहरुको जीवन जोखिममा रहेको एमनेस्टीले बताएको छ ।

बन्दीगृहमा रहेका कैदीलाई भोकै राखेर नियमित रुपमा यातना दिइने गरेको एमनेस्टीको भनाइ छ । उनीहरुलाई टायरभित्र राखेर कस्ने, करेन्ट लगाउने र यौन दुर्व्यवहार गरिने एमनेस्टीले बताएको छ ।

हाल सिरियाका विभिन्न बन्दीगृहमा झण्डै १० हजारभन्दा बढी आईएस लडाकु रहेका छन् ।

आईएसलाई पराजित गरेको कुर्दिश सेनाले सञ्चालन गरेका उत्तरी सिरियाका बन्दी गृहमा १० हजार जिहादी लडाकु रहेका छन् । यसमध्ये २ हजार विदेशी लडाकु रहेको बताइएको छ । कुर्दिश सेनाले अमेरिकी सहयोगमा आईएसलाई परास्त गरेको थियो ।

तर अमेरिकाले सैन्य सहयोग बन्द गरेपछि कुर्दिश लडाकु र सिरियाली सेनाबीच एक सहमति भएको छ । टर्कीले उत्तरी सिरियामा कुर्दिश लडाकुलाई लक्षित गरी सैन्य कारबाही गरेपछि सरकारसँग सहमति भएको थियो ।

उक्त सहमति अनुसार कुर्दिश नियन्त्रणमा रहेको क्षेत्र सरकारी सेनाको नियन्त्रणमा हुने उल्लेख गरिएको छ । सहमतिपछि आईएस लडाकुहरु समेत सरकारी सेनाको नियन्त्रणमा आउने छन् । योसँगै बन्दीगृहमा रहेका सबै लडाकुलाई आवश्यक जाँचबुझ नै नगरी मृत्युदण्ड दिने संभावना बढेको छ ।

गोप्य बन्दीगृहको भिडियो हेर्न तल क्लिक गर्नुहोस्ः

(फोटो र भिडियोः डेलीमेलबाट)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय