scheduleशुक्रवार मंसिर २० गते, २०७६
Bajaj
Global IME Bank

उपनिर्वाचनको नतिजा मुलुकको राजनीतिक धरातलको थप परीक्षणः साझा पार्टी


काठमाडौं, १६ म‌ंसिर । साझा पार्टीले उपनिर्वाचनको परिणामलाई मुलुकको राजनीतिक धरातलको थप परीक्षणको रुपमा लिएको जनाएको छ ।

साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले उपनिर्वाचनको नतिजालाई आफ्ना कमी-कमजोरीको समीक्षा गर्नु पर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको छौं ।’

उपनिर्वाचनमा विजयी सबै उम्मेदवारहरूप्रति बधाई दिँदै प्रकाशित विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोधहरू पार गर्नुपर्ने हुन्छ । नेपाल रूपान्तरणको राजनीतिक यात्रामा हामी रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्गचित्रका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।’

चुनावमा जमानत जफत हुनुलाई संगठन नहुनुको परिणामको रुपमा चित्रित गर्दै विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक पार्टीको जनतासँगको प्रत्यक्ष सम्बन्धका लागि तल्लो तहसम्मको पार्टी सङ्गठनको महत्त्वपूर्ण भूमिका हुन्छ। तर साझा पार्टीको सङ्गठन सञ्जाल बन्ने क्रममा नै छ। यसको अभावमा साझा पार्टी के हो, के होइन, यसले के गर्छ, के गर्दैन भन्ने जस्ता पार्टीबारेका आधारभूत जानकारी जनता माझ राम्रोसंग सम्प्रेषण हुन सकेको छैन ।’

पुराना दलको परम्परागत राजनीतिक अभ्यास पछिल्लो चरणमा मूलतः सत्ता-शक्ति, राज्य दोहन र भ्रष्टाचारमा निर्भर रहेको र विधिको शासन भत्काइएको उक्त पार्टीले आरोप लगाएको छ । ‘जनताले राज्यबाट पाउने आधारभूत सेवाका लागि दलका कार्यकर्ताको निगाह आवश्यक बनेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘गाउँ-टोलमा ठुला दलसँगको आबद्धता बिना सामाजिक जीवन बहिष्कृत हुने जोखिम छ।’

‘मत’ नबदले पनि ‘मन’ बदलेर हामीप्रति आशा र भरोसा राख्ने ठुलो जमातले हाम्रो गतिविधिलाई नजिकबाट नियालिरहेको हामीले महसुस गरेका भन्दै प्रवक्ता आचार्यले आफ्नो मतदातालाई धन्यवाद दिएका छन् । ‘आफ्ना गल्ती-कमजोरीबाट पाठ सिक्दै आउँदा दिनहरूमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्न हामी कटिबद्ध छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

साझा पार्टीले आगामी दिनमा देशव्यापी राजनीतिक जागरण र नागरिक संवादका लागि ‘साझा भुईंयात्रा’ अगाडि बढाउने बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘साझा पार्टीका विचार, नीति र एजेन्डा जनता समक्ष प्रस्तुत र छलफल गर्नेछौँ। जनताका आकाङ्क्षा र हामीप्रतिको अपेक्षाका बारेमा सुन्ने छौँ। साझा पार्टी नेतृत्वकर्ताहरूको खोजी गर्नुका साथै सङ्गठन विस्तार गर्नेछौँ।’

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage