scheduleसोमवार माघ १३ गते, २०७६

‘ओसाका उडान नेपाल एयरलायन्सको रहरभन्दा बाध्यता थियो’

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमबारे यतिबेला सार्वजनिक चर्चा चुलिएको छ । नेपाल भ्रमण वर्ष सुरु हुनैलाग्दा मन्त्रालयको कार्यभार सम्हालेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निगममा ठूलो अपरेशन आवश्यक रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेको बेला नेपाल एयरलायन्समा साधारण सेवा तथा सम्पत्ति व्यवस्था विभागका निर्देशकको रुपमा जिम्मेवारी वहन गरिरहेका अमृतमान श्रेष्ठसँग निगमको पछिल्लो अवस्थाबारे साझापोस्टले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौं-

अमृतमान श्रेष्ठ, निर्देशक- साधारण सेवा तथा सम्पत्ति व्यवस्था विभाग, नेपाल वायु सेवा निगम

इतिहास बोकेको नेपाल वायु सेवा निगमको जनसाधारणमा किन सकारात्मक छवि बन्न सकेन ?

नेपाल एयरलायन्सले छवि गुमाएको छ भनिन्छ । तर, त्यस्तो हो जस्तो मलाई लाग्दैन । अरुको भन्दा मार्केट शेयर हाम्रो बढी नै छ । मार्केट शेयर र सिटको अकुपेन्सी बढी भएता पनि कहिलेकाँही घाटामा जानु भनेको फेयरको वार हो । लो कस्ट एयरहरुले भाडा घटाइरहेको छ । हामी स्टान्डर्ड क्यारिअरहरुलाई नाफा कम भएको देखिन्छ । यो समस्या नेपाल एयरलायन्सको मात्र होइन कि यो देशभरीका एयरलायन्सहरुमा लो कस्ट क्यारिअर्सको कारणले गर्दा नाफा छैन ।

प्रतिस्पर्धाको नियम त बजारमा उत्रिएका हरेक खेलाडीले पालना गर्नुपर्ला नि ?

अवश्य पनि, बजार टिक्नको लागि हामीले केही न केही त गर्नुपर्छ । हामी घाटा न्यूनीकरण गर्न जोड दिइरहेका छौं । नयाँ नयाँ क्षेत्रमा काम गर्न लागिरहेका छौं । ती क्षेत्रहरुबाट हामीलाई नाफा हुनेछ भन्ने विश्वासका साथ काम गरिरहेका छौं ।

मान्छेहरुले नेपाल एयरलायन्सको कमजोरीका कुराहरु मात्र गरे । हामीसँग नेपाल एयरलायन्स छ भनेर गर्व गर्नुपर्ने कुराहरु छैनन् र ?

हामीले गर्व गर्नुपर्ने थुप्रै कुराहरु छन् । नेपाल एयरलायन्स पुगेको ठाउँमा नेपाली जनताले सस्तो मूल्यमा यात्रा गर्न पाएका छन् । नपुगेको ठाउँमा बाहिरका एयरलायन्सहरुले नेपालीहरुसँग चर्को शुल्क असुलिरहेका छन् । नेपाल एयलाइन्सले विदेशका विभिन्न स्थानमा उडान गर्न थालेपछि अन्तर्राष्ट्रिय विमान कम्पनीले पनि नेपालको भाडादर संशोधन गर्न बाध्य भएका हुन् ।

हामीले सन् १९५८ देखि जनताको सेवा गर्दै आइरहेका छौं । नेपाली समाजले यो बीचमा जति उतारचढावहरु व्यहोर्‍यो, स्वभाविकरुपमा त्यसको प्रभावबाट नेपाल एयरलायन्स टाढा हुनसक्दैन । हामी अन्तरिक्षमा बसेर काम गर्ने होइन । यही समाज र परिवेशमा यहीँका सबैखाले प्रभावहरुबाट सहेर/व्यहोरेर हामी काम गर्दै आइरहेका छौं । यो बीचमा नेपाल एयरलायन्सले नेपाललाई सजिलै विभिन्न राष्ट्रहरुसँग जोड्दै पर्यटन क्षेत्रको विकासमा योगदान दिएको छ । नेपाललाई बाँकी विश्वसँग सम्पर्क स्थापित गर्दै आर्थिक, सांस्कृतिक गतिशिलतामा योगदान दिएको छ ।

सूचना प्रविधिको जमाना हो यो । सूचना प्रविधिको दृष्टिबाट नेपाल एयरलायन्सको अवस्था कस्तो छ ?

यो मैले नै नेतृत्व गरिरहेको विभाग हो । मैले झण्डै १ वर्षदेखि यसको पनि नेतृत्व गरिरहेको छु र उल्लेख्य सुधार गरेका छौं । यो आमूल परिवर्तन त होइन तर क्रमिक सुधार भने अवश्य हो । म यहाँ आउनुअघि अनलाइन बुकिङ समेत थिएन । त्यसअघि यात्रुलाई टिकट किन्न ट्राभल्स एजेन्सी वा नेपाल एयरलायन्स नै पुग्नुपर्थ्यो । १६ जुलाई २०१७ मा अन्तर्राष्ट्रिय यात्रुका लागि अनलाइन बुकिङ सेवा सुरु गर्‍यौं । आन्तरिक यात्रुले पनि टिकट किन्न ट्राभल एजेन्सी नै जानुपर्ने अवस्था थियो । मैले उपभोक्ताले सिधै किन्न मिल्ने सफ्टवेयर लञ्च गर्‍यौं । अब क्लाइन्टले नै सिधै अन्तर्राष्ट्रिय वा आन्तरिक उडानको टिकट आफै‌ं लिन सक्छन् । म आएपछि यहाँका धेरै सफ्टवेयरहरु अद्यावधिक/अपग्रेड गरेको छु । सूचना प्रविधिसँग सम्बन्धित यस्ता कामहरुले पहिला म्यानुअल्ली गर्नुपर्ने धेरै कामहरु अटोमेटिक गर्न सक्ने भएका छौं । यसले धेरै लागत घटाएको छ ।

पहिला एप्समार्फत् नै गर्नुपर्ने कामहरु अहिले वेबसाइटमार्फत् गर्न सकिने बनाएका छौं । धेरै कुराहरु अटोमेसनमा गएका छौं । रिजर्भेसन व्यवस्थापन प्रणाली पनि छिट्टै व्यवस्थापन गर्दै छौं । विमान खाली छ तर टिकट पाइँदैन भन्ने समस्या यसबाट हल हुन्छ । डुब्लिकेट बुकिङका समस्याहरु हल गर्ने प्रणालीको पनि कार्यान्वयन गर्दैछौं । समग्रमा नेपाल एयरलायन्सलाई अत्याधुनिक प्रविधिको सहयोगमा डिजिटलाइज गर्न मेहनत गरिरहेका छौं । यी कुराहरुले हाम्रो लागत न्यूनीकरण गरिरहेको छ । बजारीकरणको लागि सामाजिक सञ्जालको प्रयोगलाई पनि व्यवस्थित र प्रभावकारी बनाइरहेका छौं । म यो विभागको नेतृत्वमा आइसकेपछि २० वर्षमा नभएका कामहरु गरेको छु

नाफाको लागि महत्वपूर्ण मानिएको कार्गो व्यवस्थापन प्रणालीमा किन पछाडि परिरहेको छ नेपाल एयरलायन्स ?

यात्रुबाट घाटा भएको अवस्थामा पनि कार्गोबाट प्रचुर कमाउन सकिन्छ । यो महत्वपूर्ण कुरा हो । यसलाई प्राथमिकतामा राखेर अगाडि बढाएँ । टेन्डरको चरणमा पुगिसकेका छौं । बढीमा तीन महिनासम्ममा हामी यसलाई सफल कार्यान्वयन गर्छौं । यसबाट संस्थालाई नाफामा लैजान धेरै योगदान पुर्‍याउन सकिन्छ ।

मन्त्रीज्यूसमक्ष पेश गरिएको एक सय ४१ बुँदे कार्यक्रममा समावेश भएको मोबाइल एप्सको काम पनि सुरु भएको छ । दुई महिनाभित्र मोबाइल एप्स पनि लञ्च गर्छौं । यसले मोबाइलबाटै फ्लाइट बुकिङ र फ्लाइट स्टाटस हेर्न मिल्छ ।

नेपाल एयरलायन्सले बजारको खोजी गर्न सकेन भन्ने आरोप छ । सूचना प्रविधिको प्रयोगमार्फत् बजारीकरणको योजना केही छन् ?

अवश्य पनि, ई-मिडियाहरुमा हाम्रो उपस्थिति कम भएको अवस्थालाई मध्यनजर गर्दै हामी यो दिशामा आक्रामक योजनाका साथ अगाडि बढिरहेका छौं । नकरात्मक सन्देश अनावश्यक फैलियो, सकारात्मक खबरहरु भित्रभित्रै हरायो । यो अवस्थाको अन्त्य गर्दै छवि सुधार्न नयाँ मिडियासँगको सहकार्य बढाउनु अत्यावश्यक महसुस गरेका छौं । यसको लागि भर्खरै डिजिटल सेल बनाएका छौं । त्यसबाट छवि सुधार्नेदेखि बजारीकरणसम्म नतिजा आउने अपेक्षा गरिएको छ ।

 

नेपाल भ्रमण वर्ष सफल बनाउन राष्ट्रिय ध्वजावाहकको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसका लागि यहाँहरुको विशेष कार्ययोजना के छ ?

भ्रमण वर्षका लागि हाम्रो विशेष कार्ययोजनासहितको तयारी छ । यसको लागि व्यापक विज्ञापन गरिरहेका छौं, स्टेशनहरुलाई भ्रमण वर्ष केन्द्रित सेवा र योगदानका लागि निर्देश गरिसकेका छौं । विशेष योजनामा एकीकृत कार्यक्रमहरु छन्, जस्तै- विदेशबाट आउने पर्यटकलाई हवाई सेवा मात्र होइन, होटेल पनि आफैं बुकिङ गरिदिने, टुरका प्याकेजहरु पनि उपलब्ध गराउने जस्तो प्याकेज नै बनाउने तयारी गरिरहेका छौं । हाम्रा स्टेशनहरुलाई पर्यटकलक्षित आकर्षक योजनाहरु ल्याउन भनेका छौं । भ्रमण वर्षलाई लक्षित गर्दै भाडा घटाउने गृहकार्यमा पनि जुटिरहेका छौं । हाम्रो ध्यान र लक्ष्य बढीभन्दा बढी पर्यटकलाई आकर्षित गरेर नेपाल भित्र्याउने कार्यमा केन्द्रित छ ।

तपाईंहरु नारिता नगएर किन ओसाका जानु भयो ? केही लुकेका स्वार्थहरु थिए कि ?

यो प्रश्न उठिरहेको छ । हामीलाई त्यतिबेला नारिताले त्यहाँ उडानको लागि अनुमति दिएको थिएन । हामीलाई जहाजको उडान सुचारु गर्नुपर्ने दबाव थियो नै । ओसाका उडायौ भने हामी नारिताको लागि छिट्टै अनुमति दिन सक्छौं भनेर जापान सरकारले भन्यो । किनकि ओसाकामा त हामीले पहिला चलाइसकेका थियौं । त्यहाँ त पुनर्संचालन गर्न सजिलो भयो । नयाँ प्रक्रियामा जानु परेन । हामी बाहिर हल्ला गरिएजस्तो नारिता पाएको अवस्थामा ओसाका गएका होइनौं । बाहिरी अप्ठेराहरु नआएको अवस्थामा मार्चसम्म हामी नारिता उडान सुरु गर्छौं ।

चीन उडानमा किन ढिलासुस्ती भइरहेको हो ? निजी एयरलायन्सले सुरु गरिसके । यससँग जोडिएका आरोपहरु पनि छन् नि ?

चीनमा पहिला हामीले सांघाई उडाइसकेको हो । चीनमा पनि गोन्जाओमा उडानको लागि धेरै कामहरु भइसकेका छन् । ग्राउण्ड ह्याण्डलिङको समझदारी पनि भइसकेको छ । अन्तिममा आएर उनीहरुको टोली नेपालमा अडिटको लागि आउनुपर्ने, आइरहेको छैन । बेइजिङमा त हिमालय एयरलायन्समा त चिनियाँ लगानीमा छ । उनीहरुलाई हामीलाई भन्दा चीन उडान सहज हुनु अस्वभाविक त्यसकारण भएन होला । बेइजिङ उडान गर्नेहरुको पनि आफ्नै कथाव्यथा छन् । यात्रु र नाफाको अवस्था, टाढाबाट हेरेर ती कुराहरु नदेखिन सक्छ । तर, गोञ्जाओ हामी चलाउँछौं । ढिलो हुनुको कारण चिनको क्यानको मानिसहरुले गरेको ढिलासुस्ती हो । बल हाम्रो कोर्टमा छैन ।

तपाईंहरुको व्यवस्थापनले बजार खोज्न नसकेको र व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन नसकेकै हो र ? तपाईंहरुले आन्तरिकरुपमा सामना गर्नुपरेका चुनौतीहरु केकस्ता छन् ?

बजार खोज्न नसक्नुमा नेपाल एयरलायन्सको मात्रै दोष छैन । किनभने यो हाम्रो हातभन्दा बाहिरको कुरा हो । पहिला उडानको लागि अनुमति पाउनु पर्‍यो । बजार मात्रै खोजेर पनि भएन । अन्तर्राष्ट्रियरुपमा बजार खोज्न सक्छौं । ३-३० को विमान १२/१३ घण्टा उपयोग भइरहेको छ । बजार छ । मलेसिया प्याक छ । दुवै प्याक छ । अन्य पनि प्याक नै छन् । थप बजार र अवसर सिर्जनाको लागि नेपाल सरकारले पनि साथ दिनुपर्छ । जस्तो- नेपाल एयरलायन्समा चढ्यो भने भिसा फ्री गर्न सक्छ । सरकारले यस्तो केही प्रावधान बनाइदिन सक्दा विदेशीले नेपाल एयरलायन्स चढ्छन् । बाहिरका दूताबासहरुले पनि नेपाल एयरलायन्समा आउन लागेको छ भन्दा भिसा फ्री गर्न सक्छन् । राष्ट्रिय ध्वजावाहकलाई प्रवर्द्धन गर्न सबैले भूमिका खेल्नुपर्छ । उदाहरणको लागि- क्याथो प्यासिफिकमा उड्नेलाई हङकङमा ट्रान्जिट फिसा फ्रि हुन्छ । यस्ता धेरै उपायहरुको हामीले सामूहिकरुपमा खोजी गर्नुपर्ने हुन्छ । हामीले जहाजहरु थप्नुपर्ने हुन्छ । जहाज पुगिरहेको छैन । गन्तव्य थप्नु परिरहेको छ ।

अधिकांशः विमानहरु ग्राउण्डेड छन् । जहाज पुगेन भन्नुहुन्छ । किन यस्तो भइरहेको छ ?

हामीले यसका लागि नीतिको तहमा काम गर्नुपर्छ । जस्तो- सिंगापुर एयरलायन्समा पाँच वर्ष पुराना जहाजहरु फेज आउट गर्छ । उनीहरुले जस्तो त हामी गर्न सक्दैनौं । आर्थिक क्षमताको कुरा पनि हो । गरिबीको दुश्चक्रमा नाफाको लागि काम गर्नु कष्टसाध्य हुन्छ । त्यसकारण उनीहरुलाई घाटा हुँदैन । पाँच वर्ष चलाएर बेच्दा धेरै घाटा हुँदैन । तीस वर्षसम्म चलाउँदा त्यसको मर्मत खर्च बढी बिक्री रकम कम हुन्छ । ७५७ को अक्सन गर्दा डेढ अर्बमा किनेको विमानको १२ करोड मात्रै आयो । हाम्रो ग्राउण्डेड जहाजहरुको अवस्था यस्तो हुन्छ । विमान भनेको ५-१० वर्ष चलाएर बेच्दै फाइदा हुन्छ । लामो समय चलाउँदा त्यसको लगानीमा पूरै घाटा हुन्छ । यसर्थ, नीतिगतरुपमा प्रष्ट भएर यस्ता कुराहरुमा छिटो निर्णय लिँदै नयाँ विमानहरु थप्नुको विकल्प छैन ।

सरकार-सरकारबीचको सहमतिमा चीनले हामीलाई दुईवटा विमान अनुदानमा दियो र चारवटा जहाजको पैसा लियो । सरकारले ल्याएको जहाज हामीले नाईं भन्न मिल्दैन । यी विमान चलाउन चिनियाँ भाषा र अंग्रेजी दुवै बोल्न सक्ने पाइलट चाहिन्छ । त्यस्तो मान्छे खोज्न गाह्रो हुन्छ । पहिला पाइलटका कारण आन्तरिक उडानमा समस्या थियो । अहिले यो समस्या छैन । उता एउटा नटबल्टुको समस्या भए पनि चीनलाई सम्पर्क गर्नुपर्छ । उसले त्यो सामान ल्याउन घटीमा एकदुई हप्ता लगाउँछ । एउटा नटबल्टुका लागि पनि जहाज ग्राउण्डेड हुनेगर्छ ।

मन्त्रीहरु फेरिरहँदा मन्त्रालय र निगमबीच तनाव बढेजस्तो देखिन्छ । तालमेल छैन र ?

त्यस्तो होइन । निगम र मन्त्रालयबीच हार्दिकतापूर्ण तालमेल छ । मन्त्रालयको निर्देशनअनुसार नै हामी चलिरहेका छौं र मन्त्रालयले पनि निगमलाई सकारात्मकरुपमै हेर्नुपर्छ । मलाई लाग्छ, हाम्रोमा नीतिगतरुपमा चल्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्छ । मलाई लाग्छ, हाम्रोमा नीतिगतरुपमा चल्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्छ । मन्त्रालयको नेतृत्व फेरिँदा नीतिहरु फेरिन्छन्, त्यही फेरिएको नीतिहरुसँग काम गर्दा कहिलेकाँही स्वभाविक अस्वभाविकताहरु देखिनसक्छन् । जब हामी नीतिगतरुपमा चल्न सिक्छौं, यस्ता समस्याहरु आफैं न्यूनीकरण हुँदै जान्छन् जस्तो मलाई लाग्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय