scheduleमगलवार श्रावण २० गते, २०७७

भारतले ओलीपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछः बिजुक्छे


भक्तपुर, २० मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अबको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्ने दाबी गरेका छन् । उनले भारतले ओलीपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने तयारीमा जुटेको जिकिर गरेका हुन् ।

शुक्रबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीले केही गर्न सक्नु भएन भने प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ ।’ प्रधानमन्त्री बन्न प्रचण्डले लिम्पियाधुरा तथा कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्न हुन्न भनेर ‘प्रभु भक्ति’ गरिसकेको उनको तर्क थियो ।

पछिल्लो समय प्रचण्डले सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्दा झन समस्या बल्झने भन्दै राजनीतिक र कुटनीतिक तहबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएका छन् । प्रचण्डको यस्तो तर्कले उनी प्रधानमन्त्रीको लाइनमा रहेको पुष्टि गर्ने धारणा राखे ।

उनले सुस्तामा आधा भूभाग गुमाएको उदाहरण प्रस्तुत गर्दै प्रचण्ड प्रधानमन्त्री बने लिम्पियाधुरा र कालापानी पनि नेपालले आधा मात्रै पाउने सम्भावना रहेको औंल्याए ।

भारतले भनेजस्तो गरे देश सकिने र नगरे प्रचण्ड सकिनेबारे आफूले माओवादी नेताहरुलाई सचेत गराईसकेको उनले जिकिर गरे ।

अध्यक्ष बिजुक्छले सीमा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजान ढिलाइ भइरहेको तर्क गरे । उनले सरकारको आलोचना गर्दै भने, ‘सीमा अतिक्रमण मुद्दामा कुटनीतिक वार्ता भन्न नै हुँदैन । सीमा अतिक्रमणको विवाद हाम्रो भूमिबाट फिर्ता जा, सैनिक फिर्ता लैजाऊ भन्न सक्नुपर्छ । अन्तर्राष्ट्रिय अदालत जान ढिला गर्न नहुनेमा उनको जोड थियो ।

‘कूटनैतिक काम भनेको अन्तर्राष्ट्रिय अदालत नजाऔं भनेको हो,’ उनले भने, ‘ठूलो देशलाई हामीले तर्साउन पनि सक्दैनौं। हाम्रा प्रम उतैबाट नियुक्त हुन्छन् ।’

एक फरक प्रसंगमा अध्यक्ष बिजुक्छेले नेपाली नेताहरु को कहिले मर्छन् र कति बाँच्छन् भन्ने भारतको हातमा हुने तर्क गरे । ‘सरकारमा बस्ने हरेक नेताहरुको स्वास्थ्यसम्बन्धी रेकर्ड अमेरिका छ, भारत पनि छ’, उनले भने, ‘हाम्रा नेताहरु को कहिले मर्ने र को कति बाँच्छन् सबै उनीहरुको हातमा छ। त्यसैले दुई पार्टी एक गरेर दुई अध्यक्ष बनाइएको हो ।’

उनले माओवादी भारतको संरक्षणमा भारतकै दानापानि खाएर हुर्किएको आरोप लगाउँदै प्रचण्डले जनयुद्धको क्रममा जंगलमा बसेको हल्ला चलाउँदै भारतको तारे होटेलमा बसेको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय