scheduleबिहिवार माघ ९ गते, २०७६

‘आमाको बोलीले बच्चाको सामाजिक विकासमै प्रभाव पार्दछ’

Image by Andreas Wohlfahrt from Pixabay

के तपाईले आफ्ना बच्चाहरुसँग बोल्दा ख्याल गर्नुभएको छ ? यदि गर्नुभएको छैन भने अब उनीहरुसँग बोल्दा ख्याल गर्नुहोला । किनभने हालैको एउटा अनुसन्धानबाट आमाले बालबालिका सानो हुँदा प्रयोग गरेको शब्दको प्रभाव पाँच वर्षपछि बच्चाले अरुलाई बुझ्दछन् भन्ने कुरा पत्ता लागेको छ ।

यदि आमाले बालबालिका सानो हुँदा दिमागसँग सम्बन्धित शब्द वा वाक्य प्रयोग गर्ने हो भने तीनै शब्द वा वाक्यको सहयोगमा पाँच वर्ष भएपछि बालबालिकाहरुले अरुको विचार र भावनालाई बुझ्न सक्दछन् ।

शिशु अवस्थामा आमा र बच्चाबीच हुने कुराकानीले बच्चाको सामाजिक सीप विकासमा महत्वपूर्ण भूमिका खेल्ने कुरा उक्त अध्ययनले बताएको छ । अध्ययन अनुसार बच्चा सामाजिक छ/छैन भन्ने कुरा उसले सानोमा आमाबाट के सिक्यो भन्नेमा भर पर्दछ ।

आमाबाबुले उनीहरुका बच्चासँग बोल्ने शैलीले उनीहरुको सामाजिक सीप विकासलाई निकै प्रभाव पार्ने तथ्यबारेको लेख मनोविज्ञानसम्बन्धि बेलायतको एउटा जर्नलमा प्रकाशित भएको थियो ।

डेलीमेलका अनुसार योर्क विश्वविद्यालयका मनोवैज्ञानिकले गरेको अध्ययनमा आधारित उक्त लेखमा बाल्यकालमा सिकिएका निश्चित वाक्य वा शब्दले पछि गएर अरुका भावनालाई बुझ्न बच्चालाई सहयोग गर्ने कुरा उल्लेख गरेको छ ।

बच्चाको बानीलाई हेरेर जुन आमा आफ्नो बच्चाले महसुस गरेको कठिनाईबारे बुझ्ने र त्यही अनुरुपका शब्द प्रयोग गरी उनीहरुका समस्याबारे सोध्ने गर्दछिन् त्यस्ता आमाका बच्चाहरुले पाँच वर्ष पुगेपछि अरुको भावनालाई सहजै बुझ्न सक्ने कुरा मनोवैज्ञानिकहरुले पत्ता लगाएका छन् । यो कुरा पत्ता लगाउन उनीहरुले १०, १२ र २० महिनाका बच्चाका ४० जना आमाको अध्ययन गरेका थिए । आफ्नो बच्चासँग खेल्दा उनीहरुले प्रयोग गर्ने दिमाग सम्बन्धि शब्द वा वाक्यहरुलाई अनुसन्धानकाक्रममा संकलन गरिएको थियो । ती बच्चाहरु ५/६ वर्षका भएपछि उनीहरुको मूल्याङ्कन गरिएको थियो ।

उनीहरुको मूल्याङकन गर्दा मनोवैज्ञानिकहरुले झूट, गाली वा असमझदारीले भरिएका कथाहरु बच्चालाई सुनाउने गरेका थिए । अनि बुझे कि बुझेनन् भनेर प्रमाणित गर्न परीक्षा लिएका थिए । १०, १२ र २० महिनाको उमेरमा आमाले प्रयोग गरेका वाक्य वा शब्द र परीक्षामा बच्चाले प्राप्त गरेको अंकबीच सह–सम्बन्ध रहेको तथ्य उनीहरुले पत्ता लगाए ।

‘आमाले आफना बच्चाको दिमागमा सानो हुँदा सिकाइदिएको विचार र भावनाले पछि गएर उक्त बच्चालाई अरुका भावना र विचारहरु बुझ्न सहयोग गर्दछ भन्ने अध्ययनको निष्कर्ष हो’, डा. एलिजाबेथ कर्कले भनिन् । आमाले सिकाउने विचार र भावनाले बच्चाको सामाजिक विकासमा उल्लेखनीय भूमिका खेलेको हुन्छ जसले गर्दा अरु मानिसहरुले कसरी सोच्ने गर्दछन् र उनीहरुको भावना कस्तो छ भन्ने कुरा बुझ्न  पछि सक्षम हुने कुरा उनले बताइन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय