scheduleमगलवार माघ ७ गते, २०७६

प्रधानमन्त्री बन्न पाउने अवस्थामा मात्र राष्ट्रियसभामा जाने गौतमको संकेत

काठमाडौं, २१ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले प्रधानमन्त्री बन्न पाउनसक्ने अवस्थामा मात्र आफू राष्ट्रियसभामा जाने संकेत गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नै आफूलाई राष्ट्रियसभामा जान प्रस्ताव गरेको जानकारी दिँदै उक्त संकेत गरेका हुन् ।

गौतमले शनिबार राससलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘तर मैले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्नुपर्ने बताएको छु,’ उनले सुनाए ।

तपाईं राष्ट्रियसभामा जाने भन्ने पनि पछिल्लो समय सुनिएको छ, खास कुरा के हो ?

एकदिन प्रधानमन्त्रीले ‘तपाईंलाई मैले तुरुन्तै संसद्मा लैजान्छु’ भनेर भन्नुभएको हो । मैले कहाँ लैजानुहुन्छ भनेर सोधेँ । उहाँले ‘राष्ट्रिय सभामा लैजान्छु’ भन्नुभयो । त्यसपछि मैले उहाँलाई भने राष्ट्रियसभामा म त्यसबेला जान्छु, जब नेपालको संविधान संशोधन गरेर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउँछन् । म प्रधानमन्त्री हुनुपर्छ, तपाईं होइन वा प्रचण्ड हुनुहुन्न भनेको होइन । तर म त्यस्तो संस्थामा सदस्य हुँदैन, जहाँ संसद्मा एउटा संसद् भाग्यशाली र अर्को संसद् चाहिँ दुर्भाग्यशाली भएको होस् । म जहाँ रहेपछि कार्यकारीसहितको शक्तिशाली संस्थामा रहन चाहन्छु ।

राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यबीचको हैसियतमा असमानता छ भन्ने बुझाइ हो तपाई‌को ?

हो, यो असमानता हटाउनुपर्छ । म शक्तिशाली संस्थामा रहन चाहन्छु । मेरो स्वभाव पनि त्यस्तै खालको छ ।

वामदेव गौतमले प्रधानमन्त्री बन्न हतार गरेको भनेर बुझ्दा के हुन्छ ?

के फरक पर्‍यो त । वामदेव प्रधानमन्त्री बन्न हुन्न ? मैले खोजेकै हो । म प्रधानमन्त्री बन्नुपर्छ भन्ने कुरा त गएकै निर्वाचमना भनिएको हो । २०७० को निर्वाचनमा प्यूठान र बर्दियामा भावी प्रधानमन्त्री भनेर लगिएको हो, मलाई । विसं २०७४ को निर्वाचनमा अध्यक्ष ओली र प्रचण्ड तथा सबैले भनेको कुरा के हो भने तपाईंका समकक्षी हामी प्रधानमन्त्री भइसक्यौँ । अब पहिलो पटक प्रधानमन्त्री हुने तपाइँ नै हो, तपाईं नै लाग्नुस् । उहाँहरुले नै भनेको हो । चुनावमा गइयो, हारियो ।

तपाइँलाई धोका भयो उसो भए…?

के धोका हुनु । चुनावमा गइयो, हारियो ।

जितेको भए बनाउँथे होला त ?

त्यो त सांसद्ले बनाउने हो ।

पार्टीले निर्णय गर्नुपर्दैन र ?

पार्टीमा म कुनै कमजोर छैन । पार्टीमा कमजोर भएको भएदेखि मलाई यहाँबाट धोतीटोपी समाप्त गरेर देश निकाला गरिसक्ने थिए । त्यस भएर म अहिले पनि नेकपाको अपरिहार्य व्यक्ति हुँ । म हुनै पर्छ, यो पार्टीमा । उहाँहरुले मलाई बनाउनुहुन्थ्यो वा हुनथ्यो । त्यो उहाँको कुरा हो ।

संविधान संशोधन गर्ने हुँदा मात्र राष्ट्रियसभामा जान्छुभन्दा प्रधानमन्त्रीले के भन्नुभयो त ?

उहाँहरु (प्रधानमन्त्री र अध्यक्ष प्रचण्ड)ले के सोच्नुभएको छ । उहाँहरुलाई नै थाहा होला । मिडियामा अनेक अनेक कुरा आएका छन् । तर त्यस्तो होइन ।

त्यो सम्भावना छ ?

मेरो लाग्यो, पुग्यो भने वा केही गरी म फेरि निर्वाचनमा गएर जितेर म प्रधानमन्त्री भएर आए भने सबभन्दा पहिले मैले राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री हुने व्यवस्था गराउँछु । राष्ट्रियसभा र प्रतिनिधिसभाको त्यो भिन्नता किन ? एउटा माथिल्लो र अर्को तल्लो गरी जुन व्यवस्था छ । त्यसलाई संशोधनबाट समाप्त गर्नेछु । राष्ट्रियसभाबाट उपप्रधानमन्त्री र मन्त्री हुन पाउँछन् तर प्रधानमन्त्री हुन नपाउने व्यवस्थाको अन्त्य गरिनुपर्छ । राष्ट्रियसभाले निर्णय गर्‍यो तर तलकोले उल्टाइदिन्छ । तलको निर्णय गर्यो माथिल्लोले उल्टाइदिन्छ । यस्तो हुनु हुन्न ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय