scheduleबिहिवार माघ ९ गते, २०७६

चुनावको मुखमा बोरिस जोनसन गर्लफ्रेन्डसहित मन्दिरमा, चर्चामा क्यारीको सारी

लन्डन, २२ मंसिर । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सत्तारुढ कन्जरभेटिभ्स पार्टीले बेलायती संसदका लागि डिसेम्बर १२ गते हुने निर्वाचनमा बहुमत ल्याउने चुनावी मतसर्वेक्षणले देखाएको छ ।

पछिल्लो मत सर्वेक्षण अनुसार लेबर पार्टीभन्दा कन्जरभेटिभ पार्टी ११ अंकले अघि रहेको देखिन्छ । मत सर्वेक्षणले कन्जरभेटिभको पक्षमा ४४ प्रतिशत, लेबर पार्टीको पक्षमा ३३, लिबरल डेमोक्रेटको पक्षमा ११ प्रतिशत समर्थन देखाउँछ ।

प्रधानमन्त्री जोनसोनले बेलायतमा बिहीबार हुने संसदीय निर्वाचनलाई लक्षित गरी चुनावी अभियान समेत तीव्र पारेका छन् । जोनसनकी प्रेमिका (गर्ल फ्रेन्ड) क्यारी साइमण्ड समेत उनको चुनावी अभियानमा सँगै सहभागी भएकी छन् ।

चुनावी अभियानमा निस्केका जोनसन र क्यारीले बेलायतमा रहेको एक हिन्दू मन्दिरको दर्शन समेत गरेका छन् ।

जोनसन र उनकी प्रेमिका क्यारीले लण्डनस्थित एक हिन्दू मन्दिरको दर्शन गरेका हुन् । लण्डनको निआसडनस्थित स्वामी नारायणको मन्दिरमा दुबैजनाले विष्णु भगवानको पूजा गरेका थिए । साथै मन्दिरमा रहेका अन्य दर्शनार्थीसँग तस्बिर समेत खिचाएका थिए ।

मन्दिरको दर्शन गर्न पुगेका जोनसन र क्यारी निकै खुसी देखिन्थे ।  यता हिन्दू मन्दिरमा साइमण्डले सारी लगाएर प्रवेश गरेकी थिइन् । उनी सारीमा ‘टिपिकल हिन्दू’ महिला देखिन्थिन् ।

यसअघि २ पटक विहे गरिसकेका जोनसन पछिल्लो समय क्यारी साइमण्डसँग बस्दै आएको बताइन्छ । विपक्षीहरुले क्यारीसँगको सम्बन्धलाई लिएर बेलाबेला जोनसनको आलोचना समेत गर्दै आइरहेका छन् । जोनसनले क्यारीसँगको आफ्नो सम्बन्धबारे प्रस्ट पार्नु पर्ने उनका आलोचकको माग छ ।

तर चुनावी अभियानका क्रममा साइमण्डसँगै देखिएर जोनसनले आफ्ना आलोचकहरुलाई जवाफ दिन खोजेको जस्तो समेत देखिन्छ ।

पछिल्लो पटक नोभेम्बर ६ मा सुरु भएको चुनावी अभियानमा जोनसन र क्यारी सँगै देखिएका थिए । लगत्तै दुबै जनाको सम्बन्धबारे व्यापक चर्चा भएको थियो ।

संवाददाताले जोनसनलाई ३१ वर्षीया क्यारीसँगको सम्बन्धबारे प्रस्ट गर्न भनेर बेला बेला प्रश्न सोध्दै आएका छन् । तर जोनसनले क्यारीसँगको सम्बन्धबारे खुलेर अहिलेसम्म कुरा गरेका छैनन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय