scheduleसोमवार माघ १३ गते, २०७६

द्रूत मार्गको २८ दशमलव ९ किलोमिटर सडकको काम शतप्रतिशतः नेपाली सेना

काठमाडौंं, २३ मंसीर । काठमाडौं—निजगढ (काठमाडौं—तराई ) द्रूतमार्ग को करिब २८ दशमलव ९ किलोमिटर सडकको काम शतप्रतिशत भएको नेपाली सेनाले जनाएको छ ।

सेनाले सोमबार पत्रकार सम्मेलन गरी सडक निर्माणका लागि आवश्यक जग हाल्ने काम २८ दशमलव ९ किलोमिटर सडकमा शत प्रतिशत भएको जनाएको हो । ११ दशमलव ३५ किलोमिटर सडकको ८० प्रतिशत र बाँकी रहेको र १५ दशमलव ३ किलोमिटर सडकको काम ८० प्रतिशत भन्दा कम भएको सेनाले जनाएको छ ।

कूल ७२ दशमलव ५ किलोमिटर लम्बाइको द्रूतमार्गमा ५५ दशमलव ५ किलोमिटर सडक, ६ दशमलव ४१ किलोमिटर सुरुङ र १० दशमलव ५९६ किलोमिटरमा पुल बन्ने नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख शरदलाल श्रेष्ठले बताए ।

द्रूतमार्गमा तीन वटा सुरुङ मार्ग र ८७ वटा पूलहरु निर्माण हुनेछन् । विशेष प्रकारका १६ र अन्य ७१ वटा पुलहरु निर्माण हुनेछन् । त्यसैगरी तीन ठाउँमा सुरुङमार्ग निर्माण गरिनेछ । महादेवडाँडामा ३ दशमलव ३५५, धेद्रेमा १ दशमलव ६३० र लेनडाँडामा १ दशमलव ४३० किलोमिटर सुरुङ मार्ग निर्माण हुने आयोजना प्रमुख श्रेष्ठले बताए ।

द्रूतमार्ग निर्माण सम्पन्न भएपछि खोकनादेखि निजगढसम्म पुग्न १ घण्टाको समय लाग्नेछ । ४ लेनमा बन्ने सडकको पहाडी खण्डमा २५ मिटर र तराईको क्षेत्रमा २७ मिटर चौडाई हुनेछ । भौगोलिक अवस्था, कार्य जटिलता लगायतका विषयलाई मध्यनजर गरेर निर्माण कार्यलाई प्राथमिकता दिइएको सेनाले जनाएको छ । सेनाले अबको ४ वर्षभित्रमा द्रूतमार्ग निर्माणको काम सम्पन्न हुने जनाएको छ । वि.सं. २०८१ बैशाखसम्ममा द्रूतमार्ग निर्माणको काम सम्पन्न हुने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

नेपाली सेनाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न विभिन्न कार्यक्रम आयोजना गर्ने पनि जनाएको छ । पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेयले भ्रमण वर्षको अवसरमा जंगल सफारी र लामो पदयात्रा गरिने बताए । त्यसैगरी बहुराष्ट्रिय संयुक्त सैनिकबाट सगरमाथा आरोहण, उच्च तथा समथल भूभागमा साहसिक खेल, संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यसम्बन्धी सेमिनार र दौड, एकीकरण पदयात्रा, गोरखाको ऐतिहासिक लिगलिगे दौड प्रतियोगिता आदि गरिने प्रवक्ता पाण्डेले बताए । त्यस्तै प्याराग्लाइडिङ र खेलकुदका माध्यमबाट मित्रराष्ट्रका सेना तथा उनीहरुका आफन्तहरुलाई आकर्षित गर्न विभिन्न किसिमका कार्ययोजना पनि नेपाली सेनाले बनाएको छ ।

सेनाले सैनिक विज्ञान तथा प्रविधि मेलाको आयोजना गर्ने पनि जनाएको छ । पहिलो पटक २०७० सालमा मेलाको आयोजना गरिएको थियो । यसपटकको मेलामा विज्ञान र प्रविधिको क्षेत्रमा दीर्घकालसम्म लागिरहने वातावरण सिर्जना गर्न सैनिक विज्ञान तथा प्रविधि मेलाले सहयोग पुग्ने बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय