scheduleसोमवार माघ १३ गते, २०७६

नेपालमा लगानीको वातावरण निकै राम्रो बनेको छः अध्यक्ष ढकाल

सिड्नी, २३ मंसिर । नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमई बैंंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन् ।

सिड्नीमा आयोजित एक अन्तर्क्रियामा बोल्दै ढकालले यस्तो बताएका हुन् । अष्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई आफ्नो बैंंक उपर्युक्त सहजकर्ता हुन सक्ने प्रतिष्ठित व्यापारिक घराना आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालको भनाइ छ ।

ढकालले गैरआवासीय नेपालीहरुको समेत लगानीमा निर्माण हुँदै गरेको दोर्दी जलविद्युत आयोजना छिट्टै संचालनमा आउने पनि बताए ।
उनले हाल अष्ट्रेलिया लगायत भारत, बेलायत र जापानमा सम्पर्क कार्यालय रहेको आफ्नो बैंकको अष्ट्रेलियामा शाखा खोल्ने तयारी सुरु भएको पनि बताए ।

नेपालमा प्रदेश/प्रदेशहरु र स्थानीय सरकारहरुबीच विकासमा प्रतिस्पर्धा पनि सुरु भएकाले लगानीका सम्भावनाहरु झन बढेर गएको ढकालले बताए । आफ्नो समूहले चन्द्रागिरी केवलकार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात प्रदेशमा पनि निर्माण गर्न लागेको उनले जानकारी दिए ।

अन्तरक्रियामा गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष मन केसीले आफ्नो संस्था १० अर्ब बराबरको गैर आवासीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए । उक्त कोष निर्माणसँगै नेपालमा गैर आवासीय नेपालीहरुको ठूलो तथा संयुक्त लगानी सुरु हुने केसीको भनाइ थियो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गैर आवासीय नेपालीहरुमा लगानीको आत्मविश्वास अझै पैदा नभएको गुनासो गरेका थिए ।

नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाँबाट पुँजी लगानी गर्न पाइने वातावरण बनेमा गैर आवासीय नेपाली लगायत वैदेशिक पुँजी नेपालमा भित्रन सक्ने कटवालको भनाइ छ ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका पूर्व अध्यक्ष डिला खरेलले गैर आवासीय नेपालीहरुले ठूलो मात्रामा संयुक्त पुँजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफूलाई विश्वास भएको भन्दै पुँजी संकलनमै जोड दिनुपर्ने बताए ।

कार्यक्रममा सिड्नीका दुइ दर्जनभन्दा बढी व्यवसायी तथा गैर आवासीय नेपाली अगुवाहरु उपस्थित थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय