scheduleमगलवार चैत्र २५ गते, २०७६

आखिर कति नै जमिन चाहिन्छ र ! (कथा)

लियो टोल्सटोय

एक

दुई दिदी बहिनी थिए । जेठीको विवाह शहरको व्यापारीसँग भएको थियो, कान्छीको गाउँको किसानसँग । एक दिन जेठी चाहीं भेट्न भनेर कान्छीकहाँ आईन् । दिदी बहिनीको भेट, आपसी कुरा हुने नै भयो । चिया पिउँदै भलाकुसारी गर्न थाले ।

जेठी दिदीले कुरो सुरु गरिन्, शहरिया जीवनको बढाईचढाई गरेर, ‘हामीहरु शहरमा बडो मस्तीका साथ बसेका छौं । चिटिच्याट्ट छौं, हाम्रा केटाकेटीहरु खातापिता छन् । तिनले कम्ता मीठा खानेकुरा खान पा’का छन्’र ?! आफु त छानी छानी कहिले नाँचघर गइन्छ, कहिले घुमफिर गरिन्छ त कहिले धित मरुन्जेल मोजमस्ती गरिन्छ ।’

Dish_Home

कान्छीको मन कटक्क काटियो । उनले ओठ लेप्र्याउँदै आफुलाई त व्यापारीको जिन्दगानी राम्रो नलाग्ने बताइन्, बरु त किसानको जिन्दगी कति राम्रो राम्रो ।

‘मलाई त तिम्रो जस्तो दिनचर्या चाहिएन,’ उनी भन्दै गईन्, ‘हामी झुत्रेझाम्रे हौंला तर हामीलाई न शोक न सुर्ता, न भोक न भकारी । हो, तिमेरु हामीभन्दा बढ्ता सुखसयलमा बसेका छौं, र कमाईधमाई पनि राम्रै छ तर के गर्नु छिनमै स्वाह हुन सक्छ । तिमीलाई त्यो लोकोक्ति थाहा होला नि – ‘नाफा घाटा भनेका जम्ल्याहा दाजुभाइ हुन् । अकसर गरेर के हुने गरेको छ भने, हिजोको करोडपति आज खाकपति भएर सडकमा हिडेको छ । त्यस हिसाबले त हामी कता हो कता सुरक्षित छौं । किसानको जिन्दगी त्यस्तो तडकभडक छैन त के भो ?! उमेर लामै छ क्यारे ! हामी त्यत्रो धनि त नहुँला, तर हातमुख राम्रै जोडेका छौं, मनग्गे नै छ ।’

जेठीले ओठ लेप्राउँदै खिसिट्युरीको शैलीमा भनि, ‘मनग्गे छ रे ?! पेटै भर्न त गाई भैंसी र कुकुर बिरालाले पनि भरेका हुन्छन् । त्यो पनि जिन्दगी हो ?! तिमेरलाई खानदानी के हो, शिष्टता के हो, भुट्टिभाङ्ग आउँदैन । तिम्रो खसमले जतिसुकै पसिना बगाउन् न, तिम्रो जिन्दगी हिलो, गोबर मै बित्ने हो । तिम्रा छोराछोरीको पनि उहीं गति हो ।’

कान्छीले भनिन्, ‘तब के फरक पर्छ ?! हो, हाम्रो कामधन्दा त्यति सफासुग्घर छैन, तर अर्को पाटो भने पाको छ । हामीले कसैको अगाडी शिर झुकाउनु भने परेको छैन । जबकि शहरमा तिमेरु नाना भाँतीका लालचले घेरिएका हुन्छौ । आज त ठीकै चलेको छ भोलि के होला ? कुनै ढुक्क हुने स्थिति हुन्छ र ? तिम्रो लोग्नेको मति बिग्रेर जुवा, तास र रण्डीबाजीमा पल्के भने सारा जहाज डुब्दैन ? के यस्ता घटना अक्सर भ’का छैनन् र ?’

घरधनी गजाधर मतानमा ढल्केर यी दुइटीको कचहरी सुनी राखेका थिए । ‘कुरो त क्या धीत मर्ने खालको छ,’ उनि सोचमग्न थिए । ‘हो त नि, कलिलै उमेरदेखि जमिन खोस्रेको छ, छ । हामी किसानको दिमागमा अन्टसन्ट कुरै घुस्दैन । हाम्रो एउटै दुर्भाग्य के हो भने हामीसँग यथेष्ट जमिन नै हुँदैन । मसँग मनग्गे जग्गा-जमिन हुँदो हो त शैतानले पनि मेरो दाल गलाउने थिएन ।’

दिदी बहिनीले चिया पिउने काम सिध्याए, थोरै समय लवाईका विषयमा चर्चा गरे । अन्ततः -भात भान्सा गरे, भाँडाकुँडा माझे, थान्को-मान्को लगाए र सुत्ने तरखर गरे । नजिकै कुनामा शैतान लुकेर बसेको ‘थ्यो । उसले त्यहाँ गरिएका एक एक कुरा सुन्न भ्यायो । उ दिलखुश थियो । किसानकी श्रीमती गाउँको बारेमा हर्ष बड्याई गर्दै आफ्नो लोग्नेको खुब तारिफ गर्दै थिइन् । लोग्ने चाहीं जग्गा जमिन मनग्गे हुने हो भने शैतान नै आए पनि उसलाई मतलव छैन भनेर फुइँ लाउथ्यो ।

शैतानले मनमनै सोच्यो, ‘ठीक छ न त हजुर, यहीं फैसला सही । तिमीलाई म मनग्गे जग्गा जमिन दिने भएँ । अनि त्यसैले गर्दा तिमि मेरो चंगुलमा आउँदा रहेछौ कि रहेनछौ पछि हेरौंला ।’

दुई

गाउँको बगलमा एउटी सानी जमिन्दार्नी बस्थिन् । तिनको तीन सय एकड जतिको कामत थियो । तिनको मोहीसंग राम्रै हिमचिम रहदै आएको थियो । तिनले एउटा कारिन्दा राखिन् । ऊ पहिला सिपाही थियो । ऊ अब मोहीकहाँ गएर जरिमाना गर्दै सास्ती दिन थाल्यो ।

गजाधर होसियार त हुन् नै । तर जतिसुकै कोशिस गरे पनि उनी यति हैरान थिए कि कहिले उनको घोडा जमिन्दारनीको बारीमा चर्न पुग्थ्यो, कहिले गाई तिनको बगैंचामा त कहिले बाछा बाछी गएर पालेको घाँसबारी नै स्वाहा बनाई दिने । अनि उनले जरिमाना तिरिरहनु पर्ने ।

जरिमाना त उनी तिर्थे तर खुब मुरमुरिन्थे । उदास हुँदै घर फर्किन्थे र आफ्नो चिडचिडाहट जहान परिवारसँग उतार्थे ।

त्यो वर्षको गर्मी यामभरि जमिन्दारनीको कारिन्दाले गर्दा उनले भएभरका हैरानी बेहोर्नु पर्‍यो । हिउँदमा भने उनलाई बडो राहत मिल्यो किनभने त्यतिबेला सारा वस्तुभाउ गोठैमा बाँधिए । बाहिर चरनमा न जाने हुँदा घाँस परालको दुःख त हुन्थ्यो तर जरिमाना तिर्नु पर्ने चिन्ताबाट त मुक्ति ।

अघिल्लो हिउदमा हल्ला फिजियो कि जमिन्दारनी जग्गा बेच्दैछिन् । कामतको मुन्सी भाउमा मोलमोलाई गर्दैछ । यो खवर सुन्नसाथै सबका सब किसान झसंग भए । ‘ठीकै छ,’ तिनले विचार गरे, ‘कथं मुन्सीले यो जमिन खरिद गर्‍यो भने त्यसले जमिन्दारनीको कारिन्दा भन्दा बढी सताउने छ । हाम्रो प्राण नै त्यस कामतमा अडेको छ ।’

यसर्थ, किसानहरु सामूहिकरुपमा फिराद गर्न भनेर जमिन्दारनी कहाँ गए र बिन्ति बिसाए, ‘हजुर त्यस मुन्सीलाई जमिन न बेच्नु होस् ।’ तिनले यो पनि भने, ‘बेच्नै पर्ने हो भने हामी उसले दिनेभन्दा बढी मूल्य दिन तैयार छौं ।’

जमिन्दारनीले भनिन्, ‘लु, भैगो त्यसो भए तिमेरु नै लेओ ।’ तब किसानहरुले सामूहिकरुपमा कामतको सम्पूर्ण जग्गा खरिद गर्ने भनेर दुईपटक बैठक बसे । तर साझा निर्णयमा आउन सकेनन् । त्यसो हुनुमा शैतानको भित्रभित्रै ठूलो हात थियो । अन्ततः निर्णय चाहीं के लिए भने ‘सामूहिक रुपमा त नलिने भईयो, वैयक्तिकरुपमा भने आ-आफ्नो औकात अनुसार खरिद गर्न सकिन्छ ।’ जमिन्दारनी पनि किसानहरुको यो प्रस्तावमा पहिला जस्तै राजी भईन् ।

हालसालै गजाधरले के हल्ला सुने भने आफ्नो नजिकैको एक छिमेकीले पचास एकड जमिन खरिद गर्ने भाको छ । जमिन्दारनी के कुरामा पनि राजी भएकी छिन् भने तत्काललाई कुल मूल्यको आधि चुक्ता गर्ने र बाँकी रकम वर्षको अन्त्यमा तिर्दा हुने । गजाधरलाई भित्रभित्रै ठुलो औडाह भयो ।

‘हे भगवान, त्यतिका जमिन आफ्नै आँखाका सामुन्ने बिक्री हुँदैछ, कस्तो मेरो नियति ?! मैले चाहीं टुलुटुलु हेरेर बस्नु पर्ने ?! यो त भएन बा !’ त्यसैले उनले आफ्नी श्रीमतीसंग कुरा गरे, ‘हेर न, छर छिमेकीहरू हारालुछ गर्दै जमिन खरिद गर्दै छन् ।’ उनी भन्दै गए, ‘हामीले पनि बीस एकड जति त किन्नै पर्छ । जिउन झन् झन् कठिन हुँदै छ । त्यसमाथि त्यो कारिन्दाले जरिमानाका जरिमाना थपेर हाम्रो कन्त विजोग बनाउने भो ।’

अब जमिन खरिद गर्न कसरी पैसाको बन्दोबस्त गर्ने भनेर उनले आफ्नो भएभरको बुद्धि लगाए । हजार रुपैयाँ त जसोतसो बचाएर राखेका थिए । एउटा घोडाको बछेडा बेचे, केही सामान जाकटी राखेर अलिकति उदारो लिए, एउटा छोरालाई मजदुरी गर्न पठा’र तलबको अग्रिम भुक्तानी लिए । अलिकति सालासँग सापट लिए । यसरी तिनले जेनतेन खरिद मूल्यको आधाउधि जम्मा गरे ।

यति गरी सकेपछि गजाधरले चालिस एकड जतिको जमिनको एउटा टुक्रा हेरे, त्यसको एक छेउमा सानो वन पनि थियो । जमिन्दारनीकहाँ गएर मोलमोलाई गरे । सहमतिमा पनि आए । बैना पनि गरे । माल अड्डा गएर कागज पत्रमा सही छाप पनि गरे । मन्जुरी नामा अनुसार आधी रकम उनले तुरुन्तै भुक्तानी गरे र बाँकी रकम दुई वर्षभित्र बुझाउनुपर्ने भयो ।

अब गजाधर जग्गाको मालिक आफै भए । बिऊ बिजन उनले उधारो ल्याए र आफ्नो जग्गामा रोपे पनि । बाली राम्रै लाग्यो । वर्ष दिन भित्रै जमिन्दारनी र सालाको पैसा पनि चुक्ता गरे । अब भने उनी पनि जमिन्दार भए । क्या मज्जा ! आफ्नो जमिन आफैं जोत्न, आफैं रोप्न, आफ्नैमा घाँस पराल गर्न, दाउरा काट्न र आफ्नै चरनमा वस्तुभाउ चराउन पाउने भए । जमिन जोत्न जाँदा होस् या लहलह उम्रेको मकै बारी होस्, या ढकमक्क ढाकेको घाँसे मैदान होस् हेरेर फुरुङ्ग हुन्थे । उनलाई आफ्नो बारीमा उम्रेको घाँस होस् या फूल अन्यत्र हुनै सक्दैन जस्तो लाग्थ्यो । त्यहीं जमिन पहिला पहिला सामान्य लाग्थ्यो, तर अहिले उनलाई त्यो विलकुलै भिन्न लाग्न थालेको छ ।

तीन

गजाधर दिलखुस थिए । उनको मकै बारी या घाँस बारीमा छरछिमेकका वस्तुभाऊ आएर सुटुक्क न चरी दिने मात्रै हो भने उनी जति विन्दास को हुन्थ्यो होला र ?

जबजब त्यस्तो घटना घट्थ्यो उनी सकेसम्म विनयशील भएर शिकायत गर्थे । तर भोलिपल्ट जस्ताको तस्तै । हुँदा हुँदा गोठालाहरु दिनदहाडै उनको घाँसबारीमा गाईवस्तु ल्याएर छोडी दिने या राति घोडालाई मकै बारीमा छोडी दिने गर्न पो थाले ।

गजाधरले बारम्बार धपाउने काम गरे । उनले भईगो न त पनि भने । हदैसम्म सहेर उनले कसैलाई दण्ड जरिवाना पनि गरेनन् । हुँदा हुँदा आजित भएर उनले जिल्ला प्रशासनमा उजुरी गरे । उनलाई थाहा थियो, यो सब किसानहरुको आफ्नो जमिन न भएर भएको हो । आफैंमा बिचराहरुले जानाजान गरेका पनि होइनन् । तैपनि उनि सोच्न बाध्य भए, ‘यसरी मैले कहिलेसम्म अनदेखा गर्ने ?! उनीहरुको यहीं पारा हुने हो भने म त बरबादै हुन्छु ! होइन, तिनलाई सबक त सिकाउनै पर्छ ।’

त्यसरी उनले तिनलाई सबक सिकाउने अठोट गरे । एक पछि अर्को गर्दै आफ्ना वस्तु छाडा छोड्ने गाउँलेलाई जरिमाना पनि गराउँदै गए । उता छिमेकीहरु भित्रभित्रै रिसले आगो हुन थाले । अब के थियो, जानाजान उनको खेतमा आफ्ना वस्तुभाउ छोडी दिन थाले । एउटा किसानले त मध्य रातमा उनको खेतमा घुसेर छपाछप पाँच ओटा हुर्किदै गरेका सिसौका रुख ढाल्यो । एक दिन खेतमा निरीक्षण गर्दै गर्दा गजाधर डङ्ग्रङ्ग ढलेका रुख पो देख्न पुग्छन्, ठुट्टै । उनी रिसले रातोपिरो भए ।

गजाधरले मनमनै गमे, ‘दुष्टले यहाँ अलिपर अर्को काटेको भए पनि त्यति धेरै नोक्सान हुँदैनथ्यो । भैगो, त्यसलाई गनिमत नै मानिन्थ्यो होला । हेर्नु त चण्डालले ल ड्याम कि ड्याम काटेको ! जसले यो कर्तुत गरेको हो, मैले त्यसको सुईको मात्रै थाहा पाएँ भने त्यसका बाउको बिहे देखाई दिन्छु ।’

 

लियो टोल्सट्वाय

यो कसले गरेको होला ? उनको त मथिंगल नै खायो । अन्ततः उनि के निर्णयमा पुगे भने, ‘ पक्कै पनि यो बिर्खेको काम हुनु पर्दछ । अरु कसको साहस हुने ?!’ यसैले उनि सरासर बिर्खेको घर गए, केही सवुत मिल्छ कि भनेर । तर त्यस्तो कुनै लक्षण त्यहाँ देखिएन । खिस्रिक्क परे । तैपनि भित्र ब्रम्हले भन्थ्यो कि यो सब यसैको करामत हो । उनले प्रशासनमा उजुरी दर्ता गरे । बिर्खेलाई प्रशासनमा हाजिर गराइयो । मुद्दा चलाइयो । जिल्ला प्रशासन, अञ्चल प्रशासन हुँदै गयो । अन्ततः बिर्खेलाई सवुत नपुगेको भनेर सफाई दिइयो । यसले गजाधरको रिसको पारो झन् बढेर गयो । उनले आफ्नो रिस प्रशासकमाथि पोख्न थाले । ‘तिमीहरुले चोरलाई चौतारो बनाई दियौ । तिमीहरु इमान्दार भई दिएको भए यसरी चोरलाई सफाई दिने थिएनौ ।’

गजाधरले प्रशासकसंग त झगडा गरे नै, गाउँमा आएर छिमेकीसंग पनि भ्याए । प्रतिक्रियामा गाउँलेले उनको घर जलाउने धम्की पनि दिए । यसरी अरुकोभन्दा धेरै जमिनको मालिक भएर पनि गजाधरमाथि वेचैनी झन् थपियो ।

यहीं नै बेला के अफवाह फैलियो भने वरिपरिका थुप्रै छिमेकी बसाई सर्दै छन् ।
‘तिनीहरु सर्ने भए भन्दैमा मैले किन सर्नु नी ?’ गजाधरले अठोट गरे, ‘ केहीले छोडे भने के बिग्र्यो त ? हामीलाई नै खुदो पल्टिन्छ । तिनको जमिन मै खरिद गर्छु । मेरो मौजा झन् ठुलो हुन्छ । अनि भने मलाई क्या हाई सन्चो हुन्छ ! अहिले त मलाई यसै पनि साँगुरो छ ।’

एक दिनको कुरो हो, गजाधर आफ्नै घरमा बसी रहेका थिए । त्यहीं गाउँ हुँदै एउटा किसान साँझपाख उनको घरमा टुप्लुक्क आई पुग्यो । उसले भातभान्सा त्यही गर्‍यो । त्यो रात त्यहीं बस्यो । तिनले खुब भलाकुसारी गरे । गजाधरले उसलाई सोधे, ‘तिमी कुन ठाउँबाट आएका हौ ?,’ पाहुनाले भन्यो, ‘म कोशी किनारबाट आएको हुँ । म त्यहीं काम गर्छु ।’

एक पछि अर्को गर्दै उनीहरु खुब गफिए । पाहुनाले यो पनि बतायो कि अहिले त्यस क्षेत्रमा मानिसहरुको बसोबासको घुईंचो लाग्न थालेको छ । उनीहरु त्यहाँ कम्युन बना’र बसेका छन् । त्यहाँ हरेक व्यक्तिलाई मफ्फत्मा पच्चीस एकड जमिन मिलेको छ । जमिन यति मलिलो छ कि त्यहाँ हलक्क सप्रेको गहुँ हुन्छ, घोडा जत्तिकै अग्लो । ति यति गठिला हुन्छन् कि गोडा पाचेक काट्दा मुठो भई हाल्छ । एउटा किसान त त्यहाँ रित्तै हात आएको थियो, तर उसंग अहिले तीन हल गोरु र दुइटा लैना गाई छन् ।

यो सब सुनेर गजाधरको भित्र भित्रै आशक्तिको र्‍याल काढिन थाल्यो । उनि सोचमग्न भए, ‘म यस निस्सासिदो ठाउँमा के खान बसेको हुँला ? हेर त मानिसहरु बाहिर कति ठाँटले बसेका छन् ! म पनि अब आफ्नो भए भारको जायजेथा बेचेर नयाँ कारोबार सुरु गर्छु । यस निस्सासिदो ठाउँमा झमेला बाहेक के नै छ र ! तर त्यहाँ पनि के कसो हुने हो, म आफै गएर हेरविचार न गरी त हुन्न ।’

गृष्म याममा उनी परिवारसहित झिटीगुन्टा बोकेर त्यतातिर लागे । यात्रा लामो थियो । कोशी गर्तिरै गर्तिर जानु थियो । कहीं नाउ तर्नुपर्ने । थोरै हिंड्नु परेको हो र !

कोशौं कोश । अन्ततः गन्तव्यमा आई नै पुगे । न भन्दै ठाउँ त त्यै पाहुनाले भनेजस्तै रहेछ । किसानहरुलाई छेलोखेलो जमिन । हरेक व्यक्तिलाई गरिखान भनेर पञ्चायतले पच्चीस एकड जमिन दिएको रहेछ । पैसा हुनेले प्रति एकड पचास रुपैयाँका दरले छानी छानी थप जमिन किन्न पाउने पनि ।

आफुले चाहे जति सबै जानकारी बटुलेर गजाधर घर फर्किए । शरद ऋतु आउन लागेको थियो । अब उनी आफ्नो भएभरको जायजेथा बेच्न थाले । आफुले किनेको भन्दा अलि बढी मूल्यमै आफ्नो घर, जग्गा बेचे । वस्तुभाउ पनि बेचे । आफ्नो पञ्चायतबाट बिदा पनि लिए । अब उनले खाली बसन्त ऋतुसम्म मात्रै पर्खनु थियो । ऋतु सुरु हुनासाथै बसाई सरे पनि ।

चार

नयाँ बस्तीमा आउनसाथै गजाधरले गाउँको पञ्चायतमा प्रवेशको निम्ति दरखास्त हाले । यो गाउँ आफै भने विशाल गाउँ थियो । उनले त्यहाँका गन्यमान्यहरुलाई विनित भावले अभिवादन गरे र आवश्यक कागजात हात पनि पारे ।

उनी र उनका छोराहरुको भोगचलनका निम्ति भनेर उनलाई पाँच कित्ता सामुदायिक जमिन उपलब्ध गराइयो । त्यो सबै मिलाएर एक सय पच्चीस एकड जमिन हुन्थ्यो । तर त्यो एकै ठाउँमा भने होइन, अलग अलग ठाउँको मिलाएर । यसका अतिरिक्त उनलाई सामुदायिक चरन क्षेत्र पनि उपयोग गर्न सक्ने सुविधा दिइयो । गजाधराले आफ्नो सुविधाको घर पनि खडा गरे । आवश्यक वस्तुभाउ पनि खरिद गरे । पहिलेको भन्दा अहिलेको सामुदायिक जमिन तीन गुणा ठुलो थियो । झन् मलिलो पनि । दश गुणा बढी उब्जाउ हुने । उनीसँग अब छेलोखेलो जमिन थियो, बाली लाउन र चरन दुवैको निम्ति । जत्रो गोठ पाले पनि हुने भो ।

सुरु सुरुमामा त गजाधरलाई यहाँ बस्ने र घर टहरा बनाउन नै समय खर्चिनु पर्‍यो । उनलाई यो सब मजै लागेको थियो । उनी भित्रभित्रै गजक्क फुल्थे पनि । जसै समय बित्दै गयो उनी सोच्न थाले, ‘होइन भाइ, जमिन त अझै अपूरो भो !’

पहिलो वर्ष त उनले कम्युनले उपलब्ध गराएको सामुदायिक जमिनमा घुँडा धसेर काम गरे । राम्रै फलिफाप भयो पनि । उनलाई गहुँ पनि रोपूँ रोपूँ लागेको हो, तर जमिन अपुरो थियो । भएको जमिनमा अरु नै बाली लगाई सकिएको थियो । फेरि त्यस भेगमा गहुँ लगाउन पहिला अरु कुनै बाली न लगाको नयाँ पर्ति जमिन चाहिन्थ्यो । यहाँको चलन चाहीं नयाँ पर्ति जमिनमा एक दुई बाली गहुँ लागाउने अनि केही वर्षको निम्ति बाँझै छोडेर राख्ने र फेरि गहुँ लगाउने थियो ।

यहाँ गहुँ बाली लगाउन चाहने त थुप्रै थिए, तर के गर्नु त्यसको निम्ति मनग्गे जमिन नै थिएन । यसैले गर्दा स्थानीय बासिन्दाबीच यदाकदा खटपट भई रहन्थ्यो । जो पुगिसरिका थिए उनीहरु गहुँ लगाउने जमिनको ध्याउन्नमा हुन्थे र जो गरिब निमुखा हुन्थे ति भने जसोतसो बाली लागाएर आफूलाई गुजारा गर्न पुगोस् र तिरो तिर्न पनि पुगोस् भन्ने चाहन्थे । गजाधर भने बढी नै गहुँ फलाउन चाहन्थे । त्यसैले उनले स्थानीय महाजनसंग एक वर्षको निम्ति भनेर जमिन कुतमा लिए । त्यो वर्ष राम्रो बाली उठाए पनि । तर त्यो जमिन बस्तीबाट अलिक टाढा थियो । बाली उठाएर लिएर आउन नै दश माइल भन्दा बढी पार गर्नु पर्थ्यो । केही दिन पछि गजाधरलाई थाहा भयो कि कुनै कुनै महाजन त उति टाढा डेराडन्डै जमाएर बाली लगाउने र भरपुर फाइदा लुटी रहेका छन् ।

अब भने गजाधर सोच्न थाले- ‘कास, म केही रैकर जमिन खरिद गर्न सक्दो हुँ र त्यसमा घर टहरा पनि बनाउन सक्दो हुँ त मेरो क्या भाग्य चम्किन्थ्यो !’

त्यस्तो जमिन खरिद गर्ने विचारले गजाधरलाई घरिघरि सताई रहन्थ्यो । तीन वर्षसम्म त कुतमा जमिन लिएर उनले गहुँ बाली लगाई नै रहे । मौसमले पनि राम्रो साथ दियो र बाली पनि राम्रो भित्र्याए । अब भने उनी अरुलाई कर्जा दिने हैसियतमा पनि पुगे । उनलाई छेलोखेलो थियो । तर अब भने अर्काको जमिन कमाउँदा कमाउँदा र त्यसको निम्ति दौडधुप गर्दागर्दा उनी हैरान भएका थिए । जहाँको जमिन उर्वर र मलिलो हुन्थ्यो त्यस्तो जमिनको निम्ति सबैको हारालुछ त चल्थ्यो नै । थोरै मात्र तलबितल हुँदा जमिन अर्कैले उडाई सक्थ्यो । सञ्चले बस्न कहाँ पाइन्थ्यो र ! तेस्रो वर्ष त उनी र एकजना दलाल मिलेर केही किसानहरुबाट एउटा चरन क्षेत्र कुतमा लिएर खनजोत गर्न थाले । बीचमा यस विषयलाई लिएर विवाद भयो र मुद्दा अदालतमा पुग्यो । अदालतमा झन् ग्याजेमाजे भयो । यसले गर्दा यो बीचमा भएको सारा श्रम बेकार भयो । ‘कास, यो मेरो आफ्नै जमिन हुन्थ्यो त !’ गजाधर मनमनै सोच्थे, ‘यो सारा झन्झट केही पनि हुनेवाला थिएन ।’

त्यहीं दिनदेखि उनी आफै खरिद गर्ने गरी जमिनको खोजीमा लागे । यस क्रममा उनले एउटा किसानसँग एक हजार तीन सय एकड जमिन भएको सुईको पाए । तर त्यो किसान आर्थिक कठिनाईमा भएको हुँदा ऊ सस्तोमा भए पनि बेच्न चाही रहेको रहेछ । गजाधर उसकहाँ गएर मोलमोलाई गरे । आफु कठिनाईमा भएको हुँदा सस्तैमा दिन ऊ राजी पनि भयो । जमिनको मोल १५ हजार रुपैयाँमा तय पनि भयो ।

शर्तअनुसार केही तत्काल बैनाको रुपमा नगद दिनुपर्ने, बाँकी भाका राखेर दिनुपर्नेमा मन्जुरी पनि भयो । यतिकैमा एक दिन एउटा बटुवा आफ्नो घोडालाई दाना ख्वाउन भनेर गजाधरको आँगनमा टुप्लुक्क आई पुग्यो । कुरामा कुरा चल्दै गर्दा बटुवाले भन्यो ऊ त्यहाँभन्दा अलिक पर कोशी किनारबाट सिधै यहाँ आई पुगेको हो । उसले त्यहाँ मात्र दश हजार रुपैयाँमा तेह्र हजार एकड जमिन खरिद गरेको छ । जमिन पनि उम्दा छ ।

गजाधरको उत्सुकता झन् बढेर गयो । उनी कुरा धुत्न थाले । बटुवाले फ़ुई लायो, ‘हाकिमसँग मेलजोल गर्न मात्रै जान्नु पर्दछ, मालामाल भइन्छ । आफ्नो काम पट्याउन मैले त हाकिमलाई एक सय रुपैयाँ, एकजोर दौरा सुरुवाल, एउटा गलैंचा र एक कार्टुन चिया नै टक्र्याएँ । त्यति मात्रै कहाँ र, तलका कर्मचारीलाई पनि एक एक बोतल रक्सी दिएँ । त्यसो गरेर मैले कौडीको मोलमा त्यो जमिन खरिद गरें ।’

यति भनेर उसले गजाधरको सामुन्ने लालपुर्जा देखाउँदै भन्यो, ‘जमिन कोशी नदीको बगलमै छ । फेरि सारा कित्ता एकै ठाउँका छन् । अवल र उर्वर ।’ गजाधरले धित मरुन्जेल जिज्ञाशा राखे । उसै गरी बटुवाले एक एक गर्दै जवाफ दिए ।’ जमिन त कति विशाल छ भनेर भनी साध्यै छैन । दिनभरी हिंड्दा पनि एउटा कुनाबाट अर्को कुना छिचोलिदैन । त्यहाँका बासिन्दाहरु गौप्राणी छन् । जमिनको मूल्य यति सस्तो छ कि तृण बराबर ।

गजाधरको होश खुल्यो, ‘ अँ, जमिन त यो पो ठीक छ त । यता दश हजार रुपैयाँमा जम्माजम्मी तेह्र सय एकड जमिन । त्यै पैसा उता खर्च गर्ने हो भने दश गुणा बढी खरिद गर्न सकिन्छ ।’

पाँच

गजाधरले बटुवालाई सोधे, ‘त्यो ठाउँ पुग्ने कसरी नि ?’ बनियाले बेलिबिस्तार लगायो । अनि भने उनले पनि त्यो ठाउँ जाने तरखर सुरु गरी हाले । घरको कामकाज श्रीमतीलाई जिम्मा लगाएर एउटा मानिसको साथ लागेर यात्रामा निस्के पनि । जाँदै गर्दा बजारमा तिनले उपहारको निम्ति भनेर चियाका केही प्याकेट, रक्सिका एकाध बोतल र अरु केही खुद्रा मसिना चीजहरु किने । हिंड्दा हिड्दा तिनीहरु तीन सय माइल भन्दा बढी पार गरी सकेका थिए । सातौँ दिन तिनीहरु गन्तव्यमा आई पुगे ।

ठाउँ त बनियाले भने जस्तै दुरुस्त । कोशी पारी, समतल जमिन, अनन्तसम्म । थोरै माथि जमिनमा चौधरीहरु झुप्राझुप्री हालेर बसेका । ती त खेतिपाति पनि न गर्दा रछन् । तिनको खान्कीको बान्की नै अर्को । घाँसे मैदान । पर्याप्त वस्तुभाउ । दुध र दहीको छेलोखेलो । धार्निका धार्नी घिऊ । चिज र छुर्पी पनि बनाउँदा रहेछन् । यी सब काम महिलाहरुको भागमा पर्दोरहेछ । लोग्ने मान्छेहरु बडो शोख्यानका ! कति खान सकेको खसीको मासु !

भर्खरै दुध खा’का छन्, एकैछिनमा चिया । हुक्का ट्वार ट्वार पारेका छन् । बडो मोजमस्तीका । वर्षैभरि सिन्को नभाँच्ने । तिनलाई कालो अक्षर भैंसी बराबर । मातृ भाषा बाहेक अन्य भाषीहरुसंग बोल्नु पर्‍यो भने फसाद ! किनभने तिनलाई सम्पर्क भाषै थाहा छैन । तैपनि बहुत शिष्ट र शालीन ।

गजाधरलाई देख्नासाथै गाउँलेहरु आआफ्नो झुपडीबाट बाहिर निस्के र उनलाई घेरे । नभन्दै एउटा दोभाषे पनि पाईयो । उपस्थित गाउँलेहरुलाई गजाधरले आफु जमिनको खोजीमा आएको बताए । गाउँलेहरु दिलखुश देखिन्थे । तिनले गजाधरलाई उनीहरुसंग भएको सुन्दरतम झुपडीमा लिएर गए । गलैंचा माथि चिटिक्क चकटी थियो, त्यहीं उनलाई बस्न भनेर भने । उनीहरु चाहीं उनकै वरिपरि घेरिएर बसे । चिया र किसमिस पनि टक्र्याए । खसी काटेर मासु भात पनि ख्वाए ।

गजाधराले पनि बग्गीबाट चिया लगायतका उपहार झिके सबैलाई बाँडे । गाउँलेहरु फ़ुरुङ्ग देखिन्थे । तिनले गर्नु भलाकुसारी गरे । दोभाषेलाई अनुवाद गर्न भनियो ।

‘यिनीहरुको भनाई छ कि,’ दोभाषे भन्दै गयो, ‘हामीले तपाईलाई खुब मन पराएका छौं । यो हाम्रो संस्कार हो कि हामीले पाहुनालाई गच्छे अनुसार सत्कार गर्नु पर्दछ र उपहारको बदला उपहार दिनु पर्दछ । तपाईले हामीलाई मनग्गे उपहार दिनु भएको छ । अब तपाई नै भनि दिनो’स् कि हामीसंग भएको कुन चीज तपाईलाई मन पर्छ ?
‘मलाई औधि मन पर्ने तपाईहरुसंग भएको चीज भनेको तपाईहरुको जमिन हो,’ उनी भन्दै गए, ‘हामीकहाँ जमिन ज्यादै सीमित छ । त्यो उर्वर पनि छैन । तर तपाईहरुसंग भने आफलताफल रहेछ । फेरि उस्तै उर्वर पनि । यस्तो जमिन त मैले कही कतै देखेको पनि छैन ।’

दोभाषेले अनुवादको काम सिध्यायो । गाउँलेले आपसमा खस्याक खुसुक गरे । उनीहरुले के कुरा गरे त्यो त गजाधरल बुझेनन् । तर तिनीहरु भित्र भित्रै मजा मानिरहेको उनले लख काटे । किनभने तिनीहरु गलल्ल हाँसीरहेका थिए ।

एकैछिनमा तिनीहरु शान्त भएर गजाधरलाई ट्वाल्ल के हेर्दै थिए, दोभाषेले अर्थ्यायो, ‘यिनिहरु मलाई यो भनि देउ भन्दै छन् कि तपाईले दिएको उपहारको बदलामा यिनीहरु तपाईलाई खुशीसाथ तपाईले चाहे जति जमिन दिन मन्जुर छन् । तपाई यति जति जमिन चाहियो भनेर मात्रै देखाई दिनोस्, त्यो जमिन तपाईको भयो ।’
गाउँलेले एकैछिन खासखुस गरे र हेर्दा हेर्दै झगडा जस्तो हुन थाल्यो । गजाधरले सोधे, ‘केको गलफद्दी हो यो ?’ दोभाषेले जवाफ दियो, ‘यि मध्ये केहीको विचार छ कि जमिनको बारेमा मुखियाको राय लिनु जरुरी हुन्छ । अन्यको विचार चाहीं न लिंदा पनि हुन्छ भन्ने छ ।’

गाउँलेहरु गलफद्दी गर्दै थिए । यत्तिकैमा ठुलो भुत्ले टोपी लगा’को मानिस टुप्लुक्क आई पुग्यो । सबै जर्‍याकजुरुक उठे र उसलाई आदरपूर्वक अभिवादन गरे ।

दोभाषेले गजाधरलाई खुसुक्क भन्यो, ‘ वहाँ नै हो चौधरीका मुखिया ।’ जुरुक्क उठेर गएर गजाधरले उम्दा कमेज सुरुवाल ल्याए अनि मुखियालाई उपहार दिए । उपहार ग्रहण गरेर उनी पनि आफ्नो आसनमा बसे । गाउँलेले उनीसंग खस्याक खुसुक गरे । उनीहरुको कुरा सुनेर सबैलाई एकछिन चुप लागेर बस्न अनुरोध गर्दै मुखियाले गजाधरलाई सम्वोधन गर्दै भने, ‘ ठीकै छ नी त ! तपाई आफै रोज्नोस् र चाहे जति जमिन लिन सक्नु हुन्छ । हामीसंग मनग्गे जमिन छ ।’

‘चाहे जति त म कसरी लिन सकुँला र ?!’ गजाधर मनमनै सोच्न थाले । ‘तर मैले जमिन लिंदा भने पक्का गरे लिनु पर्दछ । अन्यथा पछि यिनले हामीले फिर्ता लियौं भने मेरो त बिल्लीबाठ हुन्छ ।’ अनि भने बाठो गजाधरले भने, ‘तपाईहरुको उदार दिल देखेर म त नतमस्तक छु । तपाईहरुसँग यत्रो धेरै जमिन छ । मलाई थोरै मात्र चाहिएको हो । तर मेरो भागको जमिनको बारेमा म ढुक्क त हुनु पर्‍यो नि ! जग्गा नापेर, कित्ताकाट गरेर मलाई दिंदा हुँदैन र ?! जीवन र मरणको कुरा त ईस्वरको मर्जीको कुरा भो । तपाईहरु त मप्रति बडो दिलदार हुनुहुन्छ । तर पछि कथं तपाईहरुका सन्तानले फिर्ता लिन चाहे भने मेरो र मेरा सन्तानको त कन्त बिजोग भई हाल्छ नि !’

‘तपाईको कुरा मनासिव छ,’ मुखियाले भने । ‘तपाईले चाहे जस्तै बन्दोबस्त मिलाउँला ।’

‘मैले सुनेसम्म यहाँ कुनै एकजना बिचौलिया आ’का थिए रे,’ गजाधर कुरो कोट्याउन थाले । ‘उसलाई त तपाईहरुले अलिक थोरै जमिन दिएर पनि तमसुक गर्नु भो अरे । मिल्छ भने मलाई पनि त्यसरी नै तमसुक गरेर दिनु भए हुन्छ ।’

मुखियाले कुरो बुझी हाले ।

‘त्यो त के ठुलो कुरा भो र!,’ उनले जवाफ दिए, ‘हामी कहाँ लेखनदास छँदै छ, उसलाई लेखापढी गर्न लगा’र शहरमा जाउँला र माल अड्डामा पास गरौंला ।’
‘मूल्य चाहीं कति हो कुन्नि ?!,’ गजाधरले घुमाउरो पाराले सोधे ।

‘हाम्रो मूल्य त उहीं त हो नी, दिनको दश हजार ।’

गजाधर अक्क न बक्क भए ।

‘एक दिनको ?! कति जमिनको ? कति एकड जमिनको मूल्य हो त्यो ?’

‘हामीलाई त्यस्तो नापको हिसाब किताब त आउंदैन । हामी त दिनको हिसाब मात्रै जान्दछौं । एक दिन भरिमा हिडेर तपाई जति जमिनमा चक्कर लगाउनु हुन्छ त्यसको हामी एक दिनको दश हजार लिन्छौं ।’

गजाधर तीन चित परे । ‘एक दिनमा त थुप्रै पो जमिन चक्कर लगाइन्छ त !’
मुखिया गलल्ल हाँसे ।

‘जति चक्कर लगाउन सक्नुहुन्छ, लगाउनु होस् । त्यो जमिन तपाईको भो,’ उनले भने । ‘तर त्यसमा एउटा शर्त छ । त्यो के भने तपाईले जहाँबाट चक्कर लगाउन प्रारम्भ गर्नुहुन्छ त्यही दिन त्यहीं ठाउँमा आई पुग्नु भएन भने तपाईको पैसा चाहीं भुस हुन्छ नी ।’

‘म चक्कर त लगाउँला तर त्यसको चिनो चाहीँ कसरी थाहा पाउने नी ?’

‘ त्यो पनि कुनै ठुलो कुरा हो र ?! तपाई जहाँबाट सुरु गर्ने भन्नुहुन्छ हामी त्यहाँ जाउँला र त्यहीं तपाईलाई रुघौंला । तपाईले भने त्यस ठाउँबाट चक्कर लाउन सुरु गर्नु पर्दछ । तपाईलाई एउटा खन्ती दिईने छ । हिड्दै गर्दा तपाईले जहाँ जहाँ मन लाग्छ त्यहाँ त्यहाँ चिनो लाउनु पर्दछ । प्रत्येक मोडमा खन्तिले खोस्रेर सेउलाको थुप्रो लगाउनु, पछि हामी गएर त्यसलाई पक्का गरौंला । तपाईले जति सक्नु हुन्छ त्यत्रो घेरा बनाउनु होला । तर घाम अस्ताउनु भन्दा अघि नै तपाईले जहाँबाट सुरु गरेको हो त्यहाँ भने आई सक्नुपर्दछ । त्यसरी तपाईले घेरा हालेको जति जमिन तपाईको भो ।’

खुशीले गजाधरका खुट्टा भुईंमा थिएनन् । अर्को दिन बिहान यो काम गर्ने भनेर टुङ्गो गरियो । एकछिन यत्तिकै भलाकुसारी गरेर बडो मेजमानका साथ खानपिन भयो । हुँदाहुँदा रात निक्कै छिप्पि सकेको थियो । सुत्न भनेर गजाधरलाई गद्दादार मुलायम बिछ्यौना बन्दोबस्त गराइयो । अनि भने गाउँलेहरु भोलिपल्ट झिसमिसेमा निर्धारित ठाउँमा बेला हुने भन्दै आ-आफ्नो दर्गादिशा लागे ।

सात

गजाधर गद्दादार मुलायम बिछ्यौनामा सुत्न त सुते तर उनलाई पटक्कै निद्रा लागेन ।
यसो उसो गर्‍यो दिमागमा जमिनकै तराना आई रहने । ‘आमम… ! मैले कति धेरै जमिनमा चिनो लगाको नि !’ उनी सोच्न पुग्थे । ‘दिनको पैतिस माइल त म यसै पनि हिंडेको छु । त्यसमाथि अहिले त झन् लामा दिन छन् । पैतिस माइलको परिधिले ढाक्ने जमिन कत्रो होला ?! पछि गएर अब्बल अब्बल चाहीं छानी छानी आफु राखौंला । बाँकी रुखो पाखो चाहीं बेची दिउँला, के भो त ? होइन, केही चाहीं गरिबगुरवालाई दिउँला । म दुई हल गोरु किनौंला, दुइटा हली पनि खोजौंला । एक सय पचास एकड जति जमिनमा बाली लाउँला, बाँकीलाई चरन क्षेत्र बना’र वस्तुभाऊ चराउँला ।’

गजाधर रातभर जाग्राम रहे । बिहानपख मात्रै यसो झकाए । झपक्क निदा’का मात्रै के थिए उनले एउटा सपना देखे । हुन त उनी उहीं झुपडीमै सुतेका थिए । उनले बाहिरपट्टि कसैले खासखुस गर्दै गरेको सुने । दैलो खोलेर हेर्छन् त मुखिया स्वयम् ढोकामा खडा छन् र पेट मिचिमिची हाँस्दै छन् । नजिकै गएर उनले सोध्न चाहे, ‘ किन हो यत्रो हाँसो ?’ तर सोध्न नपाउदै झट्ट देख्छन् त त्यहाँ त मुखिया नभएर अलिक अघि आफ्नै घरमा बास बस्न पुगेको यहाँको जमिनको बारेमा बेलीबिस्तार लगाउने बिचौलिया पो छ । अचम्भ मानेर गजाधरले उसलाई सोध्न चाहे, ‘तिमी पो ! कहिले आयौ ?!’ तर आँखा झिमिक्क गरेर खोल्न पाउँदा नपाउदै यो मान्छे त्यो बिचौलिया नभएर अर्कै पो रहेछ, उ त धेरै अघि आफ्नो पुरानो घरमा कोशीबाट आएको किसान पो छ ।

अचम्म मान्दै गजाधर आँखा मिचेर खोल्छन् । देख्छन् त ऊ त त्यो किसान पनि होइन रहेछ । आफ्नो अघिल्तिर साक्षात दैत्य पो उपस्थित छ, सिङ्ग र खुट्टामा खुर भएको । ऊ त त्यहाँ गजधम्म बसेर ठट्टामा हाँसो गर्दै छ । उसको अघिल्तिर एक निमुखा मानिस छ, खाली खुट्टा, बदनमा बस् एक जिर्ण भोटो छ । गजाधर सपना देख्दै जान्छन्, त्यो निमुखा अरु कोही नभएर आफु स्वयम् हो । उनको होशहवाश नै उड्यो । झसंग हुँदै जाग्न पुग्छन् ।

‘ मान्छेले कस्ता कस्ता सपना देख्न पुग्छन् ?,’ गजाधर झट्ट सोच्न पुगे । वर्तिर पर्तिर पल्याकपुलुक्क गर्छन् र देख्छन् त प्रभातको किरण ढोकाबाट भित्र छिरेको छ ।
‘अब त तिनलाई पनि जगाउनु पर्दछ,’ उनी सोच्न पुगे, ‘अब ढिलो गर्नु उचित हुँदैन ।’
उनीजर्‍यक जुरुक उठे र पटुका कसे । बग्गीमा सुतेको आफ्नो कारिन्दालाई उठाए र बग्गी तैयार गर्न अह्राए । आफु भने चौधरीहरूलाई बोलाउन गए ।

चौधरीहरु हस्याङ्ग फस्यांग गर्दै उठे र मुखियाकहाँ भेला भए । तिनले चियापान गरे र गजाधरलाई पनि चिया अघि सारे । तर गजधरलाई भने जमिन नाप्न भित्रभित्रै हतारो भई रहेको थियो । ‘जाने हो भने त गई हालौं न ! किन ढिलो गर्ने नी ?!,’ उनले मुख फोरी हाले ।

आठ

चौधरीहरु तम्तयार भई हाले र जमिन नाप्न हिडी पनि हाले । गजाधर कारिन्दालाई लिएर आफ्नै सानो बग्गीमा चढे । अरु कोही घोडामा, कोही गाडामा । उनले खन्ती पनि बोकी हाले । उनीहरु मैदानमा के पुगेका थिए, प्रभातको लालीमा जमिनमा ओर्लिन थालिसकेको थियो । तिनीहरु एउटा डाडो जस्तो अलिक उँचो ठाउँमा पुगे र सबै आ-आफ्ना वाहनबाट उत्रिए । मुखियाले गजाधर कहाँ आएर तल विस्तृत मैदानलाई हातले ईसारा गर्दै भने, ‘ लु हेर, यो तलको जमिन ! तपाईको आँखाले भ्याएसम्मको सबै जमिन हाम्रै हो । चाहे जति तपाई लान सक्नु हुन्छ ।’

गजाधरका आँखा धपक्क बले । जमिन सब अब्बल छ, हत्केलाजस्तै सम्म छ । माटो मलिलो न मलिलो छ । यत्र तत्र हलक्क उम्रेका घाँसपात छन् ।

मुखियाले लगा’को भुत्ले टोपी फुकाले र यसो छेउमा राख्दै भने, ‘लु यो भो चिनो, यहाँबाट सुरु गरेर तपाई यहीं आई पुग्नु पर्दछ । जति जमिन हिडेर तपाई भ्याउनु हुन्छ त्यो सब तपाईको भो ।’

गजाधरले गोजीको पैसा निकालेर टोपीमा राखे । दौराको बाहुला र सुरुवाल माथि सुर्के । पटुका कसे । खोपिलामा रोटी राखे । कम्मरमा तुम्लेट झुण्ड्याए । जुत्ताका तुना कसे । कारिन्दाबाट खन्ती लिए । प्रस्थान गर्ने सुरसार कसे । ‘कुन बाटो जाँदा राम्रो होला ?!,’ एकसरो विचार गरे । जता हेर्‍यो उतै लोभ लाग्ने ! ‘जे पर्ला पर्ला, घाम झुल्के तिरै जानुपर्ला ।’ उनले निश्चय गरे ।

उनले घाम झुल्केतिर नजर लगाए । आङ ताने । धर्तीमा घामको झुल्को कहिले पर्ला भन्दै व्यग्रतापूर्व प्रतिक्षा गर्न थाले ।

‘समय खेर फाल्नु हुन्न,’ उनी गम्न थाले, ‘ प्रभातको चिसो मै हिंड्नु सजिलो हुन्छ ।’

गगनमा घामको लालीमा फैलिएको मात्रै के थियो गजाधरले काँधमा खन्ती बोकेर तल मैदातिर ओरालो लागे । सुरुमा उनको चाल न छिटो थियो न ढिलो नै । सय गज टाढा गए पछि उनी रोकिए अनि एउटा सानो खाल्डो खने र त्यसमाथि देखिन जजिलो होस् भनेर सेउला राखे । त्यसपछि उनी फेरि अघि बढे । अब भने उनले आफ्ना कदम अलिक तीव्र पारे । एकै छिनमा उनले अर्को खाल्टो खने ।

गजाधरले फर्केर पछिल्तिर नजर लगाए । अघि छोडेको डाडोमा झलमल्ल घाम लागेको छ । चौधरीहरु सल्याङ्ग बल्याङ्ग गर्दै छन् । बग्गिका पाङ्ग्रा टिलिक्क टल्केका छन् । अनुमान नै लगाउने हो भने गजाधरले तीन मिलको यात्रा पार गरिसकेका छन् । गर्मी बढ्दै गएको छ । त्यसैले उनले गन्जी फुकाले र काँधमा झुण्ड्याए । अनि बाटो तताए । गर्मिले पसिना छुटे । उनले गगनमा नजर लगाए । डाडाबाट तीन जुवा जति माथि घाम आई सके छन् । विहानको खाजा खाने बेला भइसकेछ ।

पहिलो प्रहरको काम त सिद्धियो । तर क्यै छैन, दिनमा चार प्रहर हुन्छन् । मोडिनु पर्ने बेला त अझै भ’को छैन । जुत्ता भने फुकाल्नु पर्ला ।’ गजाधर मनमनै गम्न थाले । थचक्क बसे, जुत्ता फुकाले, पटुकामा झुन्ड्याए र बाटो तताए । हिड्नलाई अलिक सजिलो भयो पनि ।

‘अझै तीन माईल अगाडि जान्छु र त्यसपछि देब्रे मोडिन्छु । त्यो ठाउँ त यस्तो गजबको छ त्यसलाई गुमाउनु भनेको दुर्भाग्य हुन्छ । जति जति अघि गयो जमिन त झन् झन् राम्रो ।’ केही बेर त उनी सोझै अगाडी हाकिए । अनि भने उनले वरिपरि चारै तिर एकसरो नजर लगाए । अघि छोडेको डाडो त धमिलो मात्रै देखिन्छ । त्यहाँ रहेका चौधरीहरु त कमिला जस्ता देखिन्छन् । धुपमा पर न जाने के के हलचल गरे जस्तो लाग्थ्यो ।

‘ओहो, म त धेरै टाढा आईछु,’ गजाधर सोच्न पुगे । ‘अब त मोडिनु पर्दछ । त्यसो त पसिनाले निथ्रुक्कै भईएको छ, तिर्खाले घाँटी पनि उत्तिकै सुकेको छ ।’

उनी रोकिए र सानो खाल्डो खने । त्यस माथि सेउला हाले । तुम्लेट खोले र पानी पिए । अनि भने उनी सोझै देब्रे हानिए । उनी अगाडी बढ्दै गए, बढ्दै गए । छिचोली न सक्नु घाँस, उसमाथि टन्टलापुर घाम- गजाधरलाई कम सकस परेको होइन ।

गजाधरका नौ नारी गलेर आए । गगनमा सूर्य माथि झलक्क एकसरो नजर लगाए । मध्यान्ह भएको रहेछ ।

‘आछ्या, एकै छिन विश्राम गर्दा के नै फरक पर्ला र ?!,’ उनी सोच्न पुगे ।
थचक्क भुईंमा बसे । खोकिलाबाट रोटी निकाले, नुन खोर्सानी दलेर खाए । तुम्लेटको बिर्को खोले, पानी पिए । तर एक झपक यसो उघौँ न त गरेनन्, किनभने त्यसो गर्‍यो भने सुतेको सुतेकै हुन बेर छैन । क छिन विश्राम गरेर उनले फेरि आफ्नो पूर्ववत बाटो तताए । सुरुमा त उनी सहजै हिडे । रोटीले उर्जा दिएको पनि हुन सक्छ । तर प्रचण्ड गर्मी थियो, हिड्दा हिड्दै झपक्क झपक्क उङ्ग आउन थाल्यो । तैपनि उनी हिड्दै रहे । मनमनै सोच्थे, ‘दुःख त क्षणभरको न हो, अनि त सुख जीवन भरको ।’

यस दिशामा पनि उनले निकै लामो चक्कर लगाए । उनी फेरि दाहिने मोडिने नै वाला थिए, अघिल्तिर मलिलो जमिन देखे । ‘यो गुमाईयो भने त मुर्खता नै हुनेछ,’ मनमनै सोच्न पुगे, ‘यहाँ सनपाटको खेति लगाए गज्जब हुनेछ ।’ यसर्थ, उनले यस जमिनलाई पनि ओगट्ने गरी चक्कर लगाए र अर्कातिर मोडिनु अघि त्यहाँ कुनामा चिनो लगाए । उनले सुरुमा प्रस्थान गरेको डाडालाई पुलुक्क हेरे । प्रचण्ड धुपले गर्दा वस्तुको आकृति पनि तलवितल भई रहन्थ्यो । डाडाका मानिस त मुस्किलले भुसुना जस्ता देखिन्थे ।

‘अहो, म त यता तिर यतिका टाढा पो आईछु त । अब भने छोट्याउनै पर्छ ।’ उनी तेस्रो दिशा लागे, हसिन-फसिन गर्दै । उनले पुलुक्क घाम हेरे । घामले त्यस्तै दुई तिहाई बाटो काटी सकेका । उनले चक्कर लगाएको जमिनको तेस्रो घेराको दुई माइल पनि पार गरेका छैनन् । उनी लक्ष्यबाट अझै दश माइल टाढा छन् ।

‘होस न त, एकातिरको मेरो जमिन अलिक टेढो भएर के नै फरक पर्छ र ? अब ढिलो न गरी सिधै हानिनु पर्दछ । यतिको जमिन ओगटिने वाला छ, थोरै यो कम हो र ?,’ गजाधर मनमनै सोच्न पुगे । छेउमा खाल्डो खने र चिनो लगाए । अनि सिधै डाडातिर हानिए ।

नौ

गजाधर हानिन त सोझैँ डाडातिर हानिए । तर अब भने उनलाई हिड्न निकै सकस हुन थालेको थियो । उनी गर्मीले चुर चुर भई सकेका थिए । उनका खाली खुट्टा यतै कोत्रिएका उतै कोत्रिएका थिए । पिडुला बाउठेका र खुटा थरथरी काम्न थालेका थिए । विश्रामको जरुरत थियो । तर उनलाई त्यसो गर्ने सुविधा नै कहाँ थियो र ! घाम अस्ताउनु अघि नै उनलाई डाडामा पुगिसक्नु थियो । घामले त कसैलाई पनि पर्खने होइन । घाम पर क्षितिजमा झन् झन् तल ओर्लंदै थिए ।

गजाधर झसंग भए, ‘अहो ! मैले त ठुलो भूल गरें । यति धेरै ओगट्न किन मरिहत्ते गरेको नि ?! कथं म समयमा त्यहाँ पुगिन भने कम्ता हुनुहार हुन्छ र ?’

उनले पर डाडालाई र माथि घामलाई एकसरो नजर लगाए । उनी आफ्नो लक्ष्यबाट अझै टाढा थिए । घाम अस्ताञ्चलमा पुग्नै लागेका थिए । उनी हस्याङ्ग फस्याङ्ग गर्दै कुद्न थाले । अझै कुदे । तैपनि उनी लक्ष्यभन्दा टाढै थिए । उनले गन्जी फ्याँके, लु जा त जुत्ता फ्याके, तुम्लेट फ्याके र हुँदा हुँदा टोपी पनि फ्याकिदिए । बाँकी उनीसंग खन्ती मात्रै रह्यो, त्यो पनि लौरोको रुपमा ।

‘हे भगवान अब म के गरौँ ! मैले यतिका ओगट्ने धृष्टता गरें ।’ उनी पश्चताप गर्न थाले, ‘सारा सपना धुलोपिठो भयो । घाम अस्ताउनु अघि अब म त्यहाँ मरी गए पुग्दिनँ ।’

यस भयले उनको सास झन् रोकिन पुग्यो । बिचरा झन् जोड जोडले दगुर्न थाले । उनका दौरा सुरुवाल पसिनाले भिजेर लछ्याप्रै भए । उनको मुख सुकेर आयो । उनको छाती लोहारको आरन जस्तो पोलेर आउन थाल्यो । उनको हृदय घनले हाने झैँ धड्किन थाल्यो । खुट्टा यस्तो हुन् थाले, मानौं ति आफ्ना हुँदै होइनन् ।

गजाधरलाई अब डर लाग्न थाल्यो कि कतै उनको यहीं नै ईह लिला समाप्त नहोस् ।
मृत्युको भय भएर पनि उनी रोकिन सक्दैनथे । ‘ म यसरी रोकिने हो भने त अरुले मलाई के भन्लान्, हात्ती छिर्‍यो पुच्छर अड्क्यो ! कस्तो मुर्ख र’छ !,’ उनी सोच्न पुगे । उनी दगुरा दगुर गर्न थाले । हुँदाहुँदा चौधरीहरु बसेको डाडो नजिकै पुगे पनि ।

तिनको कल्याङ कुलुङ सुने पनि । उनीहरु उनलाई चिच्याई चिच्याई बोलाई रहेका थिए । तिनको त्यो आवाजले उनको हृदय भने झन् झन् पोल्न थाल्यो । भए भरको साहस बटुलेर उनी दगुर्न थाले ।

घाम अस्ताञ्चलमा टुप्लुक्क पुगे । तेर्छा किरणले गर्दा घाम बडेमाको मात्रै होइनन् रगत जस्ता रातो पनि देखिन्थे । अँ, अब भने घाम अस्ताउनै लागेका थिए । गजाधर पनि लक्ष्य भेदन गर्ने नै वाला थिए, नजिकै आई पुगेका थिए । डाडाबाट चौधरीहरु ‘छिट छिटो गर !’ भन्दै हात हल्लाई रहेका थिए । उनी जमिनमाथि रहेको भुत्ले टोपी र त्यसमा आफुले राखेको पैसा झल-झल्ति देख्दै थिए । नजिकै बसेका मुखिया पेट मिची मिची हास्दै थिए । गजाधरले आफ्नो सपना स्मरण गरे ।

‘जमिन त मनग्गे ओगटियो तर के दैवले त्यसलाई भोग्न देलान् र !,’ उनी सोच्न थाले, ‘मेरो त हुनुहार भो, हुनुहार । म त्यो ठाउँमा मरी काट्टे पुग्न सक्दिन ।’


गजाधरले पुलुक्क घाम तिर हेरे । आधा घाम डुबी सकेका । भए भरको बर्गत लगाएर कम्मर झुकाउदै दगुर्न थाले । उनी डाडाको फेदीमा पुगेका मात्रै के थिए, अँध्यारो भयो । घाम टुप्लुक्क अस्ताई सकेका थिए । गजाधर रुँदै बिलौना गर्न थाले, ‘मेरा सारा पसिना बेकार भए ।’ उनी रोकिनै लागेका थिए, तर चौधरीहरु अझै जोड जोडले कराई रहेका थिए, ‘आई पुग्नै लाग्यौ, बल गर बल !’ गजाधरको निम्ति तल घाम अस्ता’का भए पनि माथि डाडामा चौधरीहरुको निम्ति अझै बाँकी थिए ।

गजाधरले लामो सास फेरे र डाडा तिर कुद्न थाले । घामका पहेला किरण त्यहाँ अझै बिस्कुन झैँ छरिएका थिए । उनी डाडाको शिरमा पुगे । सामुन्ने आफुले राखेको टोपी देखे । उता मुखिया भने पेट मिची मिची हाँस्दै थिए । गजाधरलाई फेरि सपनाको याद आयो । उनको सुस्केरा बाहिर निस्कियो । उनका नौ नारी फतक्कै भए । डङरङ्ग भुईंमा लडे । हातले टोपी स्पर्श गरे ।

‘बहुतै कमाल गरे यिनले, बहुतै कमाल,’ मुखिया हर्ष बढ्याई गर्दै थिए । ‘यिनले त्यत्रो जमिन ओगट्न पुगे । उस्तैले कसरी सक्थ्यो र ?!’

गजाधरको कारिन्दा दगुर्दै सामुन्ने आयो । उसले गजाधरलाई उठाउन चाह्यो । तर, अफसोच, उनको मुखबाट रगत आई रहेको थियो । गजाधर परमधाम गई सकेका थिए ।

चौधरीहरूले आफ्नो ओठ टोके । तिनिहरुलाई सारै नरमाइलो लाग्यो ।

उनको कारिन्दाले खन्ती उठायो र गजाधर अट्ने गरी चिहान खन्यो । त्यसैमा उनलाई सुताएर पुरपार गर्‍यो । आखिर शिरदेखि पाउसम्म ढाक्न उनलाई जम्मा जम्मी छ फिट जमिन नै पर्याप्त भयो ।

(पाठकहरुको सहजताको निम्ति मूल रचनाका निम्न नाम निम्न अनुसार परिवर्तन गरिएको छ- पाखोम = गजाधर, बाश्किर = चौधरी, भोल्गा = कोशी, सिमोन = बिर्खे)
भावानुवाद: टंक कार्की
(तस्बिरः गुगलबाट)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय