scheduleशुक्रवार आश्विन ९ गते, २०७७

मानवअधिकार आयोगका अध्यक्षको प्रश्नः ‘यो कस्तो गणतन्त्र हो ?’ (भिडियोसहित)

काठमाडौं, २४ मंसीर । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले प्रश्न गरेका छन्ः ‘यो कस्तो गणतन्त्र हो ?’ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आयोजित प्रभातफेरिपछि भएको कोणसभामा आयोगका अध्यक्ष शर्माले आफू आजकल रनभुल्लमा परेको बताए ।

‘गणतन्त्र भनिएको छ । यो गन वा बन्दुकको तन्त्र हो कि ? नेवारी भाषामा गन भनेको कता ? भन्ने हुन्छ । त्यसैले ‘गन तन्त्र’ वा कता गयो तन्त्र हो कि ? या त गणतन्त्र भनेको महादेवका उच्छृङ्खल गणहरुको तन्त्र पो हो कि ?’, उनले प्रश्न गरेका थिए – ‘याे हँसिठट्टा गर्ने बेला हैन, गम्भीरतापूर्वक यसलाई लिनुपर्दछ ।’

केही दिन अघि राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश गरेको उल्लेख गर्दै उनले सबै तथ्यांक हेर्दा नेपालमा दण्डहिनता र अपराध बढेको बताए । ‘मलाई आश्चर्य लाग्छ कहिलेकाहिँ कि लोकतान्त्रिक संविधान पनि बन्यो, त्यस अन्तरगत निर्वाचन पनि भयो, हामीले नै चुनेको सरकार आयो, तर सरकार किन निस्पृह भएर बसेको छ ?’, उनले प्रश्न गरे ।

संसदमा विचाराधीन विधेयकमध्ये मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयोगको संशोधन विधेयक पनि रहेको बताउँदै अध्यक्ष शर्माले मानवअधिकार आयोगलाई असर गर्ने विधेयकका बारेमा मानवअधिकार आयोगसँग पनि छलफल नगरेकोमा असन्तुष्टी व्यक्त गरे ।

‘मानवअधिकार आयोगसँग पनि छलफल छैन, अधिकारकर्मीसँग पनि छलफल छैन । हामीले कस्तो संस्कार बसाल्यौं ?’, उनले भने – ‘लोकतान्त्रिक पद्धतिमा त ऐनको सरोकारवाला, सम्बन्धित र लाभग्राहीसँग व्यापक छलफल गर्नुपर्दछ । संविधानले सहभागितामूलक भन्छ । तर सरकारले विधेयकहरु ल्याउँदा कहिल्यै पनि छलफल र कुनै किसिमको सम्वाद गरेको छैन ।’

सरकारले सम्वाद र छलफल बढाउनुपर्ने उनले बताए । अधिकारकर्मीले कहिल्यै पनि हतियार लिएर नलड्ने बताउँदै उनले भने – ‘अधिकारकर्मी विचारको लडाइँ लड्दछ । मानवअधिकारको लागि समर्पित समुदायले कहिल्यै पनि मानवअधिकारप्रतिको आफ्नो लक्ष्य चाहिँ त्याग्नु हुँदैन ।’

मानवअधिकार आयोगका अध्यक्ष शर्माको भनाइ भिडियोमा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय