scheduleमगलवार माघ ७ गते, २०७६

प्रगतिशील पूँजीवादले जन्माएको स्वर्गः कान्छी प्रधानमन्त्रीको देश फिनल्याण्डको कथा

अनु पार्टानेन/ट्रेभर कोर्सन

हामीहरु दुई वर्षअघि ब्रुकलिनको एउटा रमणीय ठाउँमा बस्ने गर्थ्यौं । अनुभवी पेशाकर्मी भएकाले पनि एउटा विशेषाधिकारयुक्त जीवनयापन गरेका थियौं । पहिलो सन्तान छोरी होस् भन्ने हामी दुबैको ठूलो चाहना थियो। ब्रुकलिनमा नै छोरी जन्माउँदा दुबै जना निकै खुसी भयौं । किनकी हामी संयुक्त राज्य अमेरिकाका नागरिक थियौं । त्यसैले हाम्रो भविष्य उज्वल छ भन्ने धेरैलाई लाग्थ्यो । तर हामीहरु भित्रभित्रै अति असुरक्षित र चिन्तित बनेका थियौं ।

स्वतन्त्र ठेकेदारको अस्थायी रोजगारीबाट हुने आम्दानी विस्तारै कम हुँदै थियो । हरेक वर्ष निजी रोजगारदाताको योजना अनुसार चल्नुपर्ने, फ्रिल्यान्सरका लागि अति महंगो योजना र जटिल तथा महंगो ओबामा केयरले गर्दा स्वास्थ्य बिमासम्मको पहुँच हाम्रो लागि निरन्तर चिन्ताको विषय बन्दै थियो । छोरी जन्मिएपछि स्याहार सुसारको खर्च थपिएपछि नयाँ कुराको सामना गर्नुपर्‍यो । शिक्षाका लागि हुने खर्च र बिलले जीवन नै टाट पल्टिन सक्छ भनेर हामीले कहिल्यै चिन्ता गरेनौं । गुणस्तरीय सरकारी विद्यालय भएको जिल्ला वा निजी विद्यालय भएको जिल्ला जहाँ बसे पनि कुरा एउटै थियो । त्यसपछि उच्च शिक्षाको कुरा थियो । अर्थात् अधिकांश अमेरिकी र विशेषाधिकारयुक्त अमेरिकीलाई झैं विभिन्न खालका चिन्ताले हामीलाई पनि सताएको थियो ।

हामीले यस्ता कुरा सोचिरहेका बेला अनुलाई उनको गृह नगर हेलसिन्की (फिनल्याण्डको राजधानी) मा एउटा काम मिल्यो ।

‘अदिगो र दमनकारी नर्डिक मुलुकमा फिनल्याण्ड पनि पर्छ,’ भनेर राष्ट्रपति ट्रम्पसहित केही अमेरिकीले भनेको सुनेका थियौं । उनीहरुको नजरमा फिनल्याण्डजस्ता नर्डिक मुलुकहरु ‘सुसारे समाजवादी राज्य’ थिए र उनीहरुले पटक-पटक यही भनेको सुनेका थियौं । हामीले फिनल्याण्डमा बसाइँसराइँ गर्ने भनेर सोचिरहँदा आर्लिङटनमा हुर्किएका ट्रेभरको परिवार र अन्य अमेरिकी साथीसँग यसबारे सहयोग र सल्लाह लिएका थियौं । उनीहरु कसैले पनि हामीहरु सोभियतकालीन तानाशाही शासन रहेको मुलुकमा जाँदैछौं भनेर सोचे जस्तो लागेन । वास्तवमा उनीहरु सबैले हामीलाई फिनल्याण्ड जान भने । सिलिकन भ्यालीमा ३ जना सन्तानसहित बस्ने एकजना लगानीकर्ताले समेत ‘पाए त म पनि फिनल्याण्ड गइहाल्थेँ नि’ भने ।

त्यसैले सबैको कुरा सुनेपछि हामी फिनल्याण्डतिर लाग्यौं ।

हामी फिनल्याण्डमा आएर बसेको पनि एक वर्षभन्दा बढी भइसक्यो । अमेरिकामा हामीले बिताएको जीवन र यहाँ हामीले बिताएको जीवनमा निकै अन्तर छ । तर यस्तो अन्तर अधिकांश अमेरिकीले सोचेभन्दा फरक छ । यहाँ आएपछि हामीले थप निजी स्वतन्तत्राको अनुभव गरेका छौं । हामीलाई आफ्नो जीवन व्यवस्थपान गर्न थप सहज भएको छ । छोरी हुर्काउनु पर्ने, बुढा भएका बाआमाको हेरचाह गर्नुपर्ने र दैनिक जीवनको काम र व्यवस्थापनलाई सन्तुलन गर्नुपर्ने जस्ता विभिन्न चुनौती भने हाम्रा सामु छन् ।

तर फिनल्याण्डमा करदाताले तिरेको कोषबाट सञ्चालित सर्वव्यापी स्वास्थ्य सेवा (युनिभर्सल हेल्थ केयर) अमेरिकाको स्वास्थ्य सेवा जत्तिकै स्तरीय छ । यसका लागि ठूलो रकम वा कागजातको थुप्रो जम्मा गर्नुपर्दैन । यसमा हामी स्वतः समावेश भएका छौं । हामीले हाम्री छोरीलाई अति सुन्दर, स्तरीय र जातीय रुपमा विविधतायुक्त सरकारी बाल स्याहार केन्द्र (पब्लिक डे केयर सेन्टर) मा भर्ना गरेका छौं । बालविकासका लागि केन्द्रमा सञ्चालन हुने गुणस्तरीय/व्यावसायिक क्रियाकलापबाट हामी निकै चकित भएका छौं । अनि शुल्क महिनाको ३ सय डलर मात्रै ! उक्त शुल्क पब्लिक डे केयरका लागि तिर्नुपर्ने अधिकतम शुल्क हो किनभने यहाँको सरकारले डे केयरका लागि सबै परिवारलाई अनुदानको व्यवस्था गरेको छ ।

र, हामी यही बस्यौं भने हाम्री छोरीले सामान्य खर्चमा नै किन्डरगार्टेनदेखि कक्षा १२ सम्म विश्वकै उत्कृष्ट शिक्षा पाउने छिन् । फिनल्याण्डको जुन ठाउँमा बसे पनि उनले यस्तो शिक्षा पाउन सक्छिन् । कलेजमा समेत कुनै शैक्षिक शुल्क तिर्नुपर्दैन । यदि हामीले अर्को सन्तान जन्मायौं भने स्वतः सन्तान स्याहार विदा (प्यारेन्टल लिभ) पाउँछौं । १ वर्षसम्म पाइने यो विदा बाबुआमाले पालैपालो लिन सक्छन् र करबाट नै विदाबापतको तलब भुक्तान गरिन्छ । त्यस्तै यहाँ वर्षमा ४ देखि ६ हप्तासम्म तलबी विदा पाइन्छ ।

अमेरिकामा हामीले बिताएको जीवनसँग तुलना गर्ने हो भने यहाँको जीवन निकै रमाइलो छ । केही अमेरिकीहरुले फिनिश प्रणाली अस्तव्यस्त र निरंकुश भएको अनुमान गर्छन् । तर, फिनिश नागरिकले जीवनमा अस्वभाविक रुपमा सन्तुष्ट रहेको बताउँछन् । आर्थिक सहयोग तथा विकास संगठन (ओईसिडी) का अनुसार फिनल्याण्डका नागरिक विश्व कै सन्तुष्ट नागरिकमा पर्छन् । त्यसपछि नर्वे, डेनमार्क, स्विट्जरल्याण्ड र आइसल्याण्डका मानिस आउँछन् । यो वर्षको विश्व खुसी प्रतिवेदनमा समेत फिनल्याण्ड विश्व कै खुसी मुलुक बन्न सफल भएको छ । योसँगै फिनल्याण्ड २ वर्षसम्म लगातार विश्वकै खुसी मुलुक बन्न सफल भएको छ ।

तर संयुक्त राज्य अमेरिकामा बस्नेहरुले भने फिनिश नागरिक र व्यवसायीले स्वतन्त्रता, अवसर र सम्पत्तिका लागि ठूलो मूल्य चुकाएको निष्कर्ष निकाल्छन् । पक्कै पनि फिनल्याण्डसँग आफ्नै आर्थिक चुनौतीहरु छन् र कुनै कुरा खराब भयो भने यहाँका मानिसहरुले तत्काल गुनासो गरिहाल्छन् । तर विद्यमान प्रणाली अन्तर्गत विश्वकै एउटा धनी मुलुक बनिरहेको छ, फिनल्याण्ड । अन्य नर्डिक मुलुकमा झैं विश्वका सफल कम्पनीहरु यहीं छन् ।

केही समयअघि जेपि मोर्गन एसेट म्यानेजमेन्टको बजार तथा लगानी हेर्ने अध्यक्षले तयार गरेको एक प्रतिवेदनमा सबैलाई चकित पार्ने निष्कर्ष निकालिएको छ । उक्त प्रतिवेदनमा ‘नर्डिक क्षेत्र अमेरिका जस्तै व्यवसायी मैत्री मात्रै छैन’, ‘स्वतन्त्र बजारसम्बन्धी महत्वपूर्ण सूचक समेत अमेरिकामा भन्दा राम्रो भएको’ उल्लेख छ । साथै निजी सम्पत्तिको राम्रो सुरक्षा, सरकारी नियन्त्रणका कारण प्रतिस्पर्धामा कम प्रभाव र पूँजी प्रवाह तथा व्यापारमा थप खुलापन रहेको उल्लेख छ । त्यस्तै विश्व बैंकले ‘डेनमार्क र नर्वेमा व्यापार/व्यवसाय गर्न संयुक्त राज्य अमेरिकामा भन्दा सजिलो रहेको’ बताएको छ ।

साथै फिनल्याण्डमा विभिन्न पुस्ताबीचको आर्थिक गतिशीलता समेत उच्च छ । सन् २०१८ को विश्व बैंकको एक प्रतिवेदन अनुसार फिनल्याण्डका बालबालिकाहरुको अवस्था आफ्ना बाबुआमाको भन्दा राम्रो हुने र आफ्नै परिश्रमबाट उनीहरु सफल हुने संभावना अमेरिकी बालबालिकाभन्दा बढी रहेको देखाउँछ ।

फ्रिडम हाउस नामक गैरराजनीतिक अनुगमन समूहले अमेरिकी नागरिकभन्दा फिनल्याण्डका नागरिकहरुले व्यक्तिगत र राजनीतिक स्वतन्त्रता बढी उपभोग गरेको, यहाँ राजनीतिक अधिकार अमेरिकामा भन्दा सुरक्षित रहेको बताएको छ ।

यी सबै कुराले के अर्थ राख्छ त ?

यी सबै विशेषतालाई झट्ट हेर्दा अमेरिकी राजनीतिज्ञले नर्डिक मुलुकलाई ‘समाजवादी’ भन्नुपूर्व दुईपटक सोच्न सक्लान् । तर हाम्रो आँखाबाट हेर्दा यो शब्दले अमेरिकाका लागि थप महत्व राख्छ जस्तो लाग्छ ।

अमेरिकामा सिनेटर बर्नी स्यान्डर्स र सांसद अलेक्जान्ड्रिया ओकासिओ कोर्जेटलाई खतरनाक उग्रपन्थी भनेर दानवीकरण गरिन्छ । तर फिनल्याण्डमा भने उनीहरुको विचारलाई सामान्यरुपमा लिने गरिन्छ र उनीहरुलाई समाजवादी पनि ठानिँदैन ।

सन् २०१६ मा बर्नी स्यान्डर्स राष्ट्रपति चुनावमा उठ्दा हाम्रा फिनिश साथीहरु आश्चर्यमा परेका थिए । अमेरिकाजस्तो धनी मुलुक र पूँजीवादी व्यवसाय सफलरुपमा फस्टाएको मुलुकमा अझै पनि सर्वसुलभ सरकारी स्वास्थ्य सेवा र निःशुल्क उच्च शिक्षा उपलब्ध नभएको सुन्दा कतिलाई विश्वास नै लागेको थिएन । जबकी २१ औं शताब्दीमा व्यवसायमैत्री हरेक मुलुकले प्रतिस्पर्धा गर्न निःशुल्क स्वास्थ्य र शिक्षा आवश्यक पर्छ भनेर नर्डिक मानिसहरुले सोच्ने गर्छन् ।

अझ अनौठो के छ भने (दक्षिण) अमेरिकामा जस्तो समाजवादी आन्दोलन फिनल्याण्डमा अस्तित्वमा छैन । ल्याटिन अमेरिकामा लोकप्रिय बन्दै गरेका बजारलाई सीमित पार्नुपर्ने र उत्पादन साधनलाई राष्ट्रियकरण गर्नुपर्ने जस्ता मुद्दा यहाँ छैनन् । यदि फिनल्याण्डको जस्तो समाजवाद विकास गर्ने हो भने चुनौती पनि कम हुन्छन् । यो कुरा सुन्दा आफैंमा अनौठो लाग्छ ।

कतै यसले समाजवादी मानिएको फिनल्याण्डमा भन्दा पूँजीवादी अमेरिकामा समाजवाद बढी लोकप्रिय छ भन्ने देखाउँदैन त ?

एकपटक फिनल्याण्डमा समाजवादी क्रान्तिको प्रयास गरिएको थियो । झण्डै १ सय वर्ष पहिला यस्तो प्रयास भएको थियो । त्यतिबेला रुसी साम्राज्यको पतनपछि स्वतन्त्र भएको फिनल्याण्डमा ओद्योगीकरणको प्रक्रिया सुरु भइरहेको थियो । त्यतिबेला आफ्नो दयनीय कार्यगत अवस्थाबाट वाक्क भएका शहर र गाउँका फिनिश मजदूर र मोहियानी किसानहरुले विद्रोह गरेका थिए । फिनल्याण्डका पूँजीपति, भूस्वामि र मध्यम वर्ग तथा उच्च वर्गको प्रतिक्रिया निकै तीव्र र निर्मम थियो । फलस्वरुप, गृहयुद्ध सुरु भयो । आम नरसंहारका घटना घटे । केही महिनापछि पूँजीपति र पुरातनवादीहरुले समाजवादी विद्रोहलाई दबाए । महिनौं चलेको गृहयुद्धमा ३५ हजारभन्दा बढी मानिसको ज्यान गयो। गृह युद्धका कारण उत्पन्न आघात र गरिब बनेका फिनिशहरुले तङ्ग्रिन र मुलुकको निर्माण गर्न कैयौं दशक खर्च गरे ।

त्यसपछि फिनल्याण्डमा समाजवादका लागि के गरियो/फिनल्याण्डमा समाजवादमाथि के भयो ? फिनल्याण्डका चर्चित राजनीतिक इतिहासकार तथा हेल्सिन्की विश्वविद्यालयका प्राध्यापक पाउली केटुनेनले गृहयुद्धपछि फिनल्याण्डका रोजगारदाताले ‘किसानलाई लालपूर्जा दिएर स्वतन्त्र रुपमा कृषि कर्म दिनुपर्ने’ अवधारणा लागू गरेको बताउँछन् । वीरतापूर्ण व्यक्तिवादको यो अवधारणाबाट उनीहरुले मजदूर युनियनलाई कमजोर बनाउन खोजेको केटुनेनले बताए । बिसौं शताब्दीको पूर्वार्द्धमा समाजवादीहरुले फिनल्याण्डको राजनीतिमा भूमिकासहित फर्किएका थिए । तर फिनल्याण्डमा पनि समाजवादी धारको क्रान्तिकारी शक्तिको रुपमा उदाउन सकेन, अमेरिकामा झैं यो धारलाई क्रान्तिकारी शक्तिको रुपमा उदाउनबाट रोकियो ।

फेरि फिनल्याण्ड अर्को रक्तपातपूर्ण युद्धमा फस्यो । दोस्रो विश्वयुद्धमा नाकैमा रहेको साम्यवादी रुससँग ठूलो मूल्य चुकाएर लड्यो । युद्धपछि फिनल्याण्डमा औद्योगिक युगले थप गति लियो, अन्तर्राष्ट्रिय मञ्जमा देखिन थाल्यो । मजदूर युनियनको शक्ति बढ्यो, समाजवादप्रति पुनः समर्थन/सहानुभूति देखियो । यही क्षणमा नै फिनल्याण्डको इतिहासले अभूतपूर्व दिशा लिएको थियो ।

फिनल्याण्डका पूँजीपति/रोजगारदाताहरु पूँजीवादमाथि समाजवादले उत्पन्न गर्न सक्ने खतराबारे निकै सचेत र गम्भीर थिए । उनीहरुले मजदूरका आवश्यकताबारे बोल्ने राजनीतिज्ञहरुको निरन्तर दबाबमा पर्न थालेको महसुस गरे । फिनल्याण्डका पूँजीपतिले देशमा हुन सक्ने सम्भावित समाजवाद रोक्न, आफ्नो निजी सम्पत्ति र उद्योगको सुरक्षा गर्न आफ्नो कार्यनीति फेरे । दोस्रो विश्वयुद्धपछि उनीहरुले शोषण गरेर मजदूरको अवस्था थप दयनीय गर्नुको साटो सरकारसँग सहकार्य गर्न थाले । उनीहरुले दीर्घकालीन रणनीति तर्जुमा गर्ने र यस्तो रणनीतिमा मजदूर युनियनमार्फत् मजदूरलाई सहभागी गराउने भन्दै सरकारसँग सहकार्य गरेका थिए ।

अचम्मको कुरा के छ भने फिनल्याण्डका पूँजीपतिहरु दीर्घकालीनरुपमा आफूलाई नै फाइदा हुने सोचेर नै उच्च दरको प्रगतिशील करप्रति सहमत भएका थिए । करमार्फत् सरकारी कार्यक्रमको खर्च व्यहोर्न सकिने, मजदूरहरु स्वस्थ र उत्पादनशील बन्ने र श्रमबजारले लाभ उपलब्ध गर्न सक्ने भएको थियो । यिनै कार्यक्रम नै आज करदाताद्वारा सञ्चालित सर्वव्यापी सामाजिक सुरक्षा सेवा बनेका छन् । जसमा सार्वजनिक स्वास्थ्य सेवा, सार्वजनिक दिवा हेरचाह तथा शिक्षा, तलबी शिशु स्याहार विदा, बेरोजगार बिमा जस्ता कार्यक्रम पर्छन् ।

तर, अमेरिकीहरुलाई फिनल्याण्डका पूँजीपतिले चालेका यी कदम अकल्पनीय लाग्न सक्छ किनभने अमेरिकामा यसखाले सर्वव्यापी सरकारी कार्यक्रम र नाफामुखी निजी व्यवसाय तथा मजबुत आर्थिक वृद्धिसँगै अघि बढ्न सक्दैन भन्ने मिथ्या कुरा सिकाइएको छ । यस्तो सहकार्य असम्भव भएको देखाउन गत वर्ष ट्रम्प प्रशासनले ‘समाजवादले नर्डिक मुलुकको जीवन स्तरलाई नकरात्मक असर पारेको’ भन्दै एउटा अनौठो प्रतिवेदन सार्वजनिक गरेको थियो ।

तर, सन् २००६ मा फिनिश अनुसन्धानकर्ता मार्कस एन्टी, युहो सारी र युहाना भार्टिआनेनले गरेको एक अध्ययनले यसको ठीकविपरीत निष्कर्ष निकालेको थियो । उक्त प्रतिवेदनको पहिलो निष्कर्ष छ- बिसौं शताब्दीभर र अहिले पनि फिनल्याण्ड र यहाँको अर्थतन्त्र खुला बजार, निजी व्यवसाय र पूँजीवादप्रति प्रतिबद्ध रहेको छ ।

अझ अचम्मको कुरा के छ भने उक्त अध्ययनबाट फिनल्याण्डको पूँजीवादी विकास र गतिशीलताले मानव समृद्धिका लागि उदार र सर्वव्यापी सरकारी सेवा उपलब्ध गराउने सरकारको प्रतिबद्धतालाई थप सहयोग गरेको देखाउँछ, हानी गरेको देखाउँदैन । फिनल्याण्डमा यिनै सेवाका कारण नै पूँजीवादले पैदा गर्ने जोखिम र अव्यवस्थाहरु निरुत्साहित र न्यूनीकरण हुँदै गएको हो ।

वृद्धि र क्रमभंगताका लागि फिनल्याण्डको स्थिर आधारशीलासँगै मुलुकको सानो तर गतिशील खुला बजार अर्थतन्त्र आफ्नो भारभन्दा निकै माथि उठेको छ । फिनल्याण्डका सबैभन्दा चर्चित व्यवसायमा विश्वकै ठूलो मोबाइल कम्पनी, विश्वकै ठूलो लिफ्ट उत्पादन कम्पनी र विश्वकै ठूला दुई मोबाइल गेमिङ कम्पनी पर्छन् । यदि फिनल्याण्डको भ्रमण गर्नुभयो भने वृद्धि भइरहेका सपिङ मल, मनमोहक कार र अन्तर्राष्ट्रिय रुपमा नै निकै प्रतिस्पर्धी निजी कम्पनीसँगै अति नै अपेक्षा गरिएको गुणस्तरीय जीवन फैलिरहेको पाउनुहुन्छ ।

अन्य नर्डिक मुलुकले पूँजीवादको यो स्वरुप फिनल्याण्डमा भन्दा पहिला नै लागू गरिरहेका छन् । ती मुलुकमा यो प्रणाली थप सफल भएको पाइन्छ । पाउली केटुनेनका अनुसार सन् १९३० को दशकमा नै नर्डिक क्षेत्रका रोजगारदाताले महामन्दीसँगै प्रकट भइरहेको संकट देखेका थिए । उनीहरुमध्ये अधिकांशले सिकेको एउटा महत्वपूर्ण पाठ थियो- सबैभन्दा उत्तम विकल्प भनेको पूँजीवादको नर्डिक विधिप्रति सहमति जनाउनुपर्छ र यसलाई अनुशरण गर्नुपर्छ ।

प्रत्येक नर्डिक मुलुकका आ-आफ्नै विशिष्टता/भिन्नता छन् । सबै मुलुकभित्र आ-आफ्नै त्रुटि र कमजोरी छन्, विशिष्ट खालको इतिहास र नागरिक असहमति कायम छ । सशक्त युनियन र रोजगारदाताबीच देखिने निरन्तर विवाद/द्वन्द्वले यहाँको प्रणालीलाई सन्तुलनमा राख्न सहयोग गरेको छ । कहिलेकाहीं यस्तो विवाद निकै भद्रगोल समेत हुने गर्छ । यही हप्ता नै मजदूर विवादका कारण फिनल्याण्डका प्रधानमन्त्रीले राजीनामा दिनुपरेको छ ।

तर समग्रमा हेर्दा सबै नर्डिक मुलुकहरु र यहाँका व्यवसायिक घरानाहरु एउटा सामान्य सुत्रप्रति सहमत देखिन्छन् । अर्थात् यदि कामदारलाई राम्रो पारिश्रमिक दिने हो र उनीहरुको जीवन गुणस्तरीय बनाउने, सबै नागरिक र उनीहरुका सन्ततिले स्वस्थ जीवनयापन गर्ने खालको र सबैले मर्यादित जीवनयापन बिताउन सक्ने, सबैले समान अवसर उपयोग गर्न सक्ने लोकतान्त्रिक र जवाफदेही सार्वजनिक सेवा उपलब्ध हुने हो भने पूँजीवादले राम्रोसँग काम गर्न सक्छ भन्नेमा आम सहमति देखिन्छ । हाम्रा लागि यसले एउटै अर्थ राख्छ- योसँगै हाम्रा लागि व्यक्तिगत स्वतन्त्रता र राजनीतिक अधिकार वृद्धि भएको छ ।

तर यसका लागि पूँजीपति र व्यवसायीहरुले अमेरिकी पूँजीपति र व्यवसायीले दिनेभन्दा राम्रो र स्तरीय पारिश्रमित दिनुपर्छ, उनीहरुले थप कर तिर्नुपर्छ । नर्डिक नागरिकले सामान्यतया बढी नै कर तिर्छन् । तर बढी कर तिर्ने कार्य अमेरिकामा भने कलंकपूर्ण सुनिन सक्छ जहाँ व्यवसायिक नेता र अर्थशास्त्रीले कर बढाउने कार्यले वृद्धि सुस्त हुने र लगानीलाई निरुत्साहित गर्ने भनेर निरन्तर चेतावनी दिइरहेका छन् ।

यद्यपि, एउटा कुरा भने निकै रमाइलो छ । क्रेडिट सुइसको एक तथ्याङ्कले बिगत ५० वर्षमा नर्डिक इक्विटीमा लगानी गर्नुभएको छ भने यसको अर्थ तपाईंको वार्षिक लाभांश सोही अवधिमा अमेरिकी धितो बजारबाट प्राप्त हुने लाभांसभन्दा उच्च हुन्छ भन्ने देखाउँछ ।

नर्डिक पूँजीपतिहरु मुर्ख छैनन् । कर तिरेपछि राम्रो वित्तीय लाभांश प्राप्त गर्न सकिन्छ भनेर उनीहरुलाई राम्रोसँग थाहा छ । उनीहरुले विलासीपूर्ण जीवन बिताउन, प्रभाव जमाउन र सामाजिक हैसियत प्राप्त गर्नका लागि आफूले कमाएको नाफा सुरक्षित साथ राखेका हुन्छन् । नर्डिक मुलुकमा दर्जनौं अर्बपति छन् । त्यस्तै नर्डिक नागरिक समेत चलाख छन् । यदि तपाईं फिनल्याण्डको सम्पन्नशाली मध्यम वर्गीय नागरिक हुनुहुन्छ भने कम झण्झटमा नै सोही हैसियतका अमेरिकीभन्दा तपाईंले सामान्यता आफूले तिरेको कर र व्यक्तिगत खर्चको संयोजनसँगै राम्रो अवसर समेत पाउनुहुन्छ, राम्रो प्रतिफल पाउनुहुन्छ ।

नर्डिक मुलुकका धनाढ्य वर्ग किन यही प्रणली अनुसार चलिरहेका छन् त ? नर्डिक मुलुकका केही पूँजीपतिहरुले वास्तवमै समान अवसरमा विश्वास गर्छन् र समाजका सबै नागरिकलाई केन्द्रमा राखेर गरिने लगानीको महत्व उनीहरुलाई राम्रोसँग थाहा छ । तर यसको अलि निरस कारण पनि छ । अर्थात् पूँजीपतिले कर तिरेर मजदूरलाई स्वस्थ र शिक्षित राख्ने जिम्मेवारी सरकारलाई दिन चाहन्छन्, यो उनीहरुका लागि सहज उपाय पनि हो ।

संयुक्त राज्य अमेरिकाका कम्पनीले स्वास्थ्य योजना कार्यान्वयन गर्न र कम्पनीका लागि योग्य र शिक्षित कामदार खोज्नका लागि संघर्ष गरिरहेका छन् भने नर्डिक मुलुकमा भने सबै नागरिकलाई सरकारले नै गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनुपर्छ भन्ने माग उठिरहेको छ । यसले गर्दा व्यवसायीहरुलाई सर्वोत्कृष्ट व्यवसायिक प्रतिफल निकाल्नेप्रति केन्द्रित हुन सहज भएको छ । यसले सबैलाई सहज बनाइदिएको छ । फिनल्याण्डका विद्यार्थी, श्रमिक/मजदूर, वैध आप्रवासी, उच्च पारिश्रमिक पाउने व्यवस्थापक, सम्पन्न परिवार सबैले यहाँको करमा आधारित स्वास्थ्य सेवा र विश्वकै उत्कृष्ट सरकारी विद्यालयबाट लाभान्वित भएका छन् ।

यसबाट एउटा महत्वपूर्ण पाठ सिक्न सकिन्छ- जब पूँजीपतिले सरकारलाई वैचारिक शत्रुको साटो व्यवस्थापकीय सहयोगीको रुपमा लिन्छन्, जब सबै नागरिकले उच्च गुणस्तरका सार्वजनिक संस्थाहरुमा आफ्नो पनि हिस्सा भएको महसुस गर्छन् तब सरकारले आश्चर्यजनक र प्रभावकारी रुपमा काम गर्न सक्छ ।

यदि हामीले नर्डिक मुलुकको प्रणालीलाई ‘समाजवाद’ को बिल्ला लगाइदियौं भने दुर्भाग्य हुन जान्छ । यसो गर्दा यहाँ के भइरहेको भन्ने वास्तविकता देख्न सक्दैनौं । हामीले नर्डिक क्षेत्र एउटा प्रयोगशाला हो जहाँ पूँजीपतिले स्वस्थ तबरले नाफा पनि कमाउँछन् र दीर्घकालीन स्थिरता तथा मानव विकासमा लगानी पनि गरिरहेका छन् भन्ने बुझ्दैनौं ।

अमेरिकाका पूँजीपतिले यहाँको भन्दा पृथक बाटो अपनाएका छन् । उनीहरुले करमा कटौती गरेका छन् । उनीहरुले सरकारलाई कमजोर बनाएका छन् । उनीहरुले युनियनलाई दबाएर राखेका छन् । उनीहरुले अत्याधिक नाफा कमाउने धुनमा अत्यावश्यक सेवालाई निजीकरण गरिरहेका छन् । यस्ता कार्यले मजदूरहरु पूँजीवादले निम्त्याउने अस्तव्यस्तताको जोखिममा नराम्रोसँग फँस्छन् । राम्रो अवस्थामा रहेका अमेरिकीहरु समेत घातक पूँजीवादी दबाबमाझ संघर्ष गरिरहेका छन् । फलस्वरुप, अमेरिकामा गरिबी, सुकुम्बासी, टाट पल्टाउने मेडिकल खर्च, दुर्व्यसन, कारागार जस्ता दुर्दशा देखा पर्न थालेका छन् ।

अमेरिकीहरुलाई ‘यही नै स्वतन्त्रता हो’ र ‘यसरी नै उत्कृष्ट जीवनयापन गर्न सकिन्छ’ भनेर पठाइएको छ । र, एक शताब्दी अघि फिनल्याण्डमा पनि यस्तै अवस्था थियो ।

पूँजीपतिका लागि अमेरिकामा व्यवसाय गरी सबैभन्दा प्रभावकारी बन्ने वा नाफा कमाउने सबैभन्दा उत्तम विधि यही नै हो त ? हाल अमेरिकामा आक्रोश र डर व्याप्त हुँदै गइरहेको छ । विश्वव्यापीकरणलाई पछाडि धकेल्ने भनेर नै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका हुन् । यो कुनै नौलो कुरा होइन् । त्यस्तै अमेरिकी मजदूरले प्रतिरोध गरिरहेका छन् । गत वर्ष अमेरिकामा सन् १९८० को दशकपछि कै ठूलो संख्यामा मजदूरहरु बन्द/हड्तालमा सहभागी भएका थिए । यसै वर्ष जनरल मोटर्सका मजदूरले गरेको हड्ताल ५० वर्षमै सबैभन्दा ठूलो थियो । यो कुनै आश्चर्यको कुरा होइन । त्यस्तै गलअपले गरेको एक सर्वेक्षण अनुसार १८ देखि २९ वर्ष उमेर समूहका अमेरिकीमध्ये ५० प्रतिशत अमेरिकीले समाजवादप्रति सकरात्मक सोंच राख्छन् । यो पनि कुनै अचम्मको विषय होइन ।

भविष्यमा समाजवादीको वर्चश्व हुन सक्नेप्रति अमेरिकी पूँजीपति र व्यवसायीको ध्यान जान थालेको छ । केही वर्षदेखि अमेरिकी पूँजीपति निक हानाउरले आफ्ना अति धनाढ्य साथीहरुलाई ‘हामीलाई घोच्न पिचफोर्क (एकखालको चुच्चो औजार) तयारी अवस्थामा राखिएको छ’ भनेर चेतावनी दिँदै आएका छन् । वारेन बफेटले धनीका लागि कर बढाउनुपर्ने आवाज उठाइरहेका छन् । यसै वर्ष अर्बपति लगानीकर्ता रे डालियोले ‘आधारभूत रुपमा नै पूँजीवादले अधिकांश मानिसको पक्षमा काम नगरेको’ स्विकारेका छन् । योङ एण्ड रुबिक्यामका मानार्थ अध्यक्ष (चेयरमेन एमेरिटस) पिटर जर्जेस्कुले अझ प्रस्ट रुपमा पूँजीवादबारे टिप्पणी गरेका छन् । जर्जेस्कुले ‘पूँजीवादले विस्तारै आत्महत्या गर्दैछ’ भन्ने ठान्छन् । पछिल्लो समय पूँजीवादी वृत्तमा यस खाले चिन्ता व्यापक रुपमा फैलिएको पाइन्छ । द फाइनान्सिअल टाइम्सले आफ्ना व्यवसाय मैत्री पाठकसामु ‘पूँजीवाद संकटमा परेको’ र वास्तविक स्वतन्त्र बजार र अवसरलाई पुनर्स्थापना गर्न ‘पूँजीवादको पुनर्संरचा गर्नुपर्ने’ भनेर एउटा उच्च स्तरीय संस्करण/श्रृङ्खला नै सुरु गरेको थियो । अमेरिकाका मुख्य वित्तीय तथा औद्योगिक अगुवाहरुले एउटा आर्थिक गोलमेच सम्मेलन गरी ‘अबदेखि आफूहरुले नाफालाई मात्रै होइन, कर्मचारी/मजदूर, ग्राहक, शेयरधनी र समुदायलाई पनि प्राथमिकतामा राख्ने’ घोषणा गरेर आर्थिक वृत्तमा सनसनी नै फैलाएका थिए । उनीहरुले यो नयाँ अवधारणालाई ‘सरोकारवाला पूँजीवाद’ भनेर नामाकरण गरेका छन् ।

यदि धनाढ्य उद्योगपतिले दीर्घकालीन उपायबारे गम्भीर रुपमा सोचेका हुन् भने पूँजीवादको चक्रलाई पुनः आविष्कार गर्नुपर्ने आवश्यकता छैन । उनीहरुले नर्डिक पूँजीपतिहरुसँग परामर्श लिन सक्छन् । यदि नर्डिक पूँजीपतिसँग उनीहरुले परामर्श गरे भने समुदायलाई सहयोग गरेका कारण पूँजीवाद सफल बनेको होइन भनेर थाहा पाउने छन् । यसको ठीक विपरीत अर्थात् नर्डिक पूँजीपतिले समुदायलाई कम सहयोग गरेका छन् भन्ने थाहा पाउने छन् । नर्डिक मुलुकका पूँजीपतिले असल नियत राखेर युनियनहरुसँग वार्ता गर्दै व्यवसायलाई जोड दिन्छन्, अर्कोतिर नागरिकलाई स्वतन्त्र रुपमा राजनीतिज्ञलाई भोट हाल्ने अवसर प्रदान गर्छन् र राजनीतिज्ञहरुले सरकारमार्फत् सर्वव्यापी सरकारी सेवाहरु प्रभावकारी रुपमा प्रवाह गर्छन् भनेर अमेरिकी पुँजीपतिले बुझ्नेछन् ।

यो कुरा पिउ रिसर्च सेन्टरको एक सर्वेक्षणले देखाएको र अधिकांश अमेरिकीहरुले मनैदेखि चाहेको कुरासँग मिल्न जान्छ । उक्त सर्वेक्षणमा सहभागी उत्तरदाताले भावी पुस्ताको जीवन स्तर सुधार्नका लागि अमेरिकी सरकारले स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा बढी लगानी गर्नुपर्ने बताएका थिए ।

तर सर्वेक्षणले मुलुकको भविष्यबारे अमेरिकीहरु त्यति उत्साहित देखिँदैनन् र शीघ्र नै अमेरिकामा अस्वस्थ/खराब राजनीतिक द्वन्द्व सुरु हुन लागेको देखाउँछ । केही सैन्य विज्ञ र इतिहासकारहरु यसमा सहमत देखिन्छन् । अमेरिकामा गृहयुद्ध भड्किन सक्ने सम्भावना निकै रहेको उनीहरुको विश्लेषण छ ।

अमेरिकी पूँजीपतिले ‘लागत-लाभको कुन प्रणाली/नीति अपनाउँदा सबैभन्दा विवेकपूर्ण हुन्छ ?’ भनेर गम्भीर भएर आफैलाईं सोध्नुपर्ने बेला आएको छ । फिनल्याण्डमा गएर नबुझ्ने तर कसरी मुनाफा कमाउन सकिन्छ भनेर मात्रै सोचे भने यो झन घातक हुन सक्छ ।

यतिबेला हामीले हेल्सिन्कीमा दोस्रो पटक हिउँद र हिउँदसँगै आउने निरसता सामना गरिरहेका छौं । हामीलाई हाम्रा फिनिश साथीहरुले ‘पहिलो हिउँदलाई कसरी सामना गर्नुभयो र यो हिउँदमा पनि यही बस्न सक्नुहुन्छ त ?’ भनेर सोधिरहनु हुन्छ । र हामीले सधैँ एउटै जवाफ दिने गर्छौं- ‘हिउँदल आउँदैमा हामीहरु डराउनु पर्दैन, वास्तवमा यसले तपाईंलाई खुसी बनाउँछ ।’ अधिकांश मानिसले गुणस्तरीय जीवनयापन गरिरहेको फिनल्याण्डको कार्यक्षेत्रमा जानुपूर्व खिन्न पार्ने र हिउँले भरिएको सडक हुँदै दुई वर्षीया छोरीलाई स्ट्रोलरमा राखेर रमाइलो डे केयर सेन्टरमा लैजाँदा होस् वा उनलाई मैत्रीपूर्ण, गुणस्तरीय र पूर्ण निशुल्क बाल स्वास्थ्य केन्द्रमा लैजाँदा होस्, हिउँदसँग हामी डराएका छैनौं । हिउँद आएपछि हामीहरु झन खुसी भएका छौं ।

(अनु पार्टानेन ‘द नर्डिक थ्यौरी अफ एभ्रीथिङः इन सर्च अफ अ बेटर लाइफ’ की लेखिका हुन् । उनी हेल्सिन्कीस्थित  परामर्शदाता संस्था नर्डिक वेस्ट अफिसकी वरिष्ठ सल्लाहकार समेत हुन् । ट्रेभर कोर्सनले केही समयअघि कोलम्बिया विश्वविद्यालयमा अमेरिकीन स्टडिज एण्ड राइटिङ विषय अध्यापन गरेका थिए । उनका २ वटा किताब प्रकाशित छन् ।)

*न्यूयोर्क टाइम्समा प्रकाशित आलेख साझापोस्टका लागि सुनिल बरालद्वारा अनुदित

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय