scheduleमगलवार श्रावण २० गते, २०७७

यसरी भयो महाराष्ट्र राजनीतिमा ठाकरे परिवारको उदय

साझापोष्ट/ काठमाडौं, २५ मंसीर । महाराष्ट्र – भारतको ठूलो, धनी र शक्तिशालीमध्ये एक प्रदेश । यसको राजधानी शहर मुम्बई विश्वकै ठूला महानगर मध्ये एक हो । महाराष्ट्र भारतको दोस्रो ठूलो जनसंख्या र तेस्रो ठूलो क्षेत्रफल भएको प्रदेश हो । महाराष्ट्रको जनसंख्या करिब १२ करोड छ । मुम्बईको जनसंख्या मात्र करिब २ करोड छ । भारतीय अर्थतन्त्रको कूल गार्हस्थ उत्पादनमा महाराष्ट्रको योगदान सबै प्रदेशको भन्दा धेरै १५% छ ।

मुम्बई भारतीय सिने उद्योग बलिउडको मुख्य शहर । साथै भारतको मुख्य पुँजीबजार । अधिकांश युरोपेलीहरु मुम्बई विमानस्थल हुँदै भारत प्रवेश गर्दछन् । ‘गेट बे अफ इन्डिया’ शताब्दीऔं देखि जलमार्गको मुख्य प्रस्थान विन्दू रहेको छ । भारतीय स्वतन्त्रतापछि अंग्रेज सेनाको अन्तिम टुकडी यहीँबाट बेलायत प्रस्थान गरेको थियो । अमेरिका जाने पहिलो भारतीय स्वामी विवेकानन्द यहीँबाट पानीजहाज चढेका थिए ।

विश्वसम्पर्क र आधुनिकताको केन्द्र मानिने महाराष्ट्रको राजनीतिमा भने चरम दक्षिणपन्थी दल ‘शिव सेना’ को दबदबा अझै कायम छ । भर्खरै सम्पन्न विधानसभा निर्वाचनपछि महाराष्ट्रको १९ औं मुख्यमन्त्री बनेका छन् – उद्धव ठाकरे । उनको दल ५६ सीट सहित विधानसभामा दोस्रो भएको छ । भारतीय राष्ट्रिय कांग्रेस र राष्ट्रवादी कांग्रेसजस्ता विपक्षी दलहरुको समर्थनमा ठाकरेले प्रदेश सरकार गठन गरेका हुन् ।

उद्धव ठाकरे ‘शिव सेना’का संस्थापक नेता बाल ठाकरेका छोरा हुन् । महाराष्ट्र राजनीतिमा ठाकरे परिवारको उदयको कथा रोचक छ । बाल ठाकरे सन् १९२६ मा पुणेको सामान्य परिवारमा जन्मिएका थिए । ठाकरेका पिता केशब ठाकरे पेशाले पत्रकार थिए र संयुक्त महाराष्ट्र आन्दोलनका सक्रिय कार्यकर्ता थिए । बाल ठाकरेले मुम्बईमा आफ्नो क्यारियर कार्टुनिष्टिबाट शुरुवात गरे । सन् १९६० मा उनले भिन्नै कार्टुन पत्रिका चलाए – मार्मिक । उनको कार्टुन पत्रिका खुबै चल्यो ।

सन् १९६६ मा उनले ‘शिव सेना’ स्थापना गरे । यो राजनीतिक दल थिएन । मराठा भाषा, संस्कृतिको पैरवी गर्ने संगठन थियो । मुम्बई र महाराष्ट्रका अन्य शहर नासिक, नागपुर, पुणे आदिमा भारतभरिका श्रमिकहरु रोजगारीको खोजीमा पुग्थे । स्थानीय मराठीहरु बेरोजगार हुन थाले । शिवसेनाले रोजगारीमा मराठीहरुको अग्राधिकारको पैरवी गर्न थाल्यो ।

‘शिव सेना’ को अर्थ हो – शिवाजी महाराजको जस्तो सेना । छत्रपती बालाजी शिवाजी १७ औं शताब्दीका महान योद्धा तथा मराठा राष्ट्रवादका प्रवर्तक थिए । मराठा साम्राज्यको रक्षाका लागि उनको सेनाले कैयौं वीरतापूर्ण युद्ध लडेको थियो । बाल ठाकरेले मराठी जनसमुदायको राष्ट्रवादी भावनालाई पुनर्जाग्रित गर्न ‘शिव सेना’ बनाएका थिए । शिवसेनाले बाहिरिया, गैरहिन्दू र कम्युनिष्ट समर्थक ट्रेड युनियनहरुमाथि आक्रामक हमला शुरुवात गर्‍यो । शिवसेनाले एकीकृत महाराष्ट्रको नारा दियो । कनवार, बेलगाउँ, निपानीक्षेत्रलाई महाराष्ट्रमा गाम्नुपर्ने माग गर्‍यो । यी क्षेत्रहरु कर्नाटकाका हुन् । शिवसेनाले महाराष्ट्र राजनीति र अर्थतन्त्रमा कन्नडहरुको बर्चश्व बढेको र मराठी कमजोर हुन थालेको तर्क अगाडि सार्‍यो ।

सन् १९८८ मा बाल ठाकरेले मराठी भाषाको दैनिक पत्रिका शुरुवात गरे – सामना । सामनाले मराठी राष्ट्रवादको भावनालाई प्रवर्द्धन गर्ने सामग्री प्रकाशन गर्दथ्यो । धार्मिक सहिष्णुता बिगारेको आरोपमा पत्रिकामाथि बारम्बार बन्देज लाग्थ्यो र बाल ठाकरे जेल परिरहन्थे । सन् २०१२ मा मृत्यु हुनुअघिसम्म बाल ठाकरे सामनाको प्रधान सम्पादक आफै रहे । त्यसपछि यसको प्रधानसम्पादक उनका छोरा उद्धब ठाकरे बने । मुख्यमन्त्री भएपछि उद्धबले सामनाको प्रधान सम्पादकबाट राजिनामा दिएका छन् ।

सन् १९८९ देखि शिवसेनाले बिजेपीसँगको गठबन्धनमा चुनाव लड्न थाल्यो । यही अबधिमा शिव सेनाको संगठन तीव्र विस्तार हुन थाल्यो । सन् १९९५ मा मनोहर जोशी शिवसेनाको तर्फबाट महाराष्ट्रको पहिलो मुख्यमन्त्री बने । सन् १९९६ को लोकसभा निर्वाचनमा शिवसेनाले १५ सीट हासिल गर्‍यो र एक महत्वपूर्ण राजनीतिक दलका रुपमा स्थापित भयो । अहिले शिवसेनाकोे भारतीय लोकसभामा १८ र महाराष्ट्र विधानसभामा ५६ सीट छ ।

शिव सेनाको उदय हुनुअघि प्रदेश राजनीतिमा भारतीय कांग्रेस र भारतीय कम्युनिष्ट पार्टी वलिया थिए । बिजेपीको संगठन कमजोर थियो । प्रायः सबैजसो निर्वाचनमा बिजेपी शिवसेनाको गठबन्धनमा रहन्थ्यो । स्थिति अहिले उल्टो भएको छ । बिजेपी ठूलो पार्टी बनेको छ र शिव सेनालाई उसको साझेदार पार्टी मानिन्छ ।

बाल ठाकरेका ३ छोरा थिए । बेणुमाधब, जयदेव र उद्धब । जेठा बेणुमाधबको एक कार दुर्घटनामा मृत्य भयो । माइला राजनीतिमा आएनन् । बाल ठाकरेले कान्छा छोरा उद्धब र भतिजा राज ठाकरेलाई आफ्ना सहयोगीका रुपमा राजनीतिमा होमे । शिवसेनाको स्थापनादेखि मृत्युसम्म ४६ वर्ष बाल ठाकरे शिवसेना अध्यक्ष रहे । तर कहिल्यै चुनाव लडेनन् र कुनै राजकीय पद धारण गरेनन् ।

बाल ठाकरेको यो परम्परालाई छोरा उद्धब र भतिजा राज ठाकरेले पनि कायम राखे । दुबै अहिलेसम्म चुनाव लडेका छैनन् । तर उद्धबका छोरा आदित्य भने ठाकरे परिवारको पहिलो सांसद भएका छन । आदित्यले मुम्बईबाट विधानसभा निर्वाचन जितेका छन् । मुख्यमन्त्री भएसँगै उद्धबले अब चुनाव लड्नु पर्नेछ । भारतीय संविधान अनुसार मुख्यमन्त्री ६ महिनाभित्र विधानसभा सदस्य हुनु पर्दछ । अन्यथा पद छोड्नुपर्ने हुन्छ ।

सन् २००६ को राज ठाकरेको बिद्रोह शिवसेना राजनीतिको दुःखान्त क्षण थियो । राज ठाकरेको राजनीतिक व्यक्तित्व, सक्रियता र लोकप्रियता उद्धब ठाकरेको भन्दा माथि थियो । तर जब पार्टीमा नेतृत्व उत्तराधिकारको बिषय उठ्यो उनले भतिजा राज ठाकरेको साटो छोरा उद्धब ठाकरेलाई अगाडि बढाए । राज ठाकरेले शिवसेना परित्याग गरी ‘महाराष्ट्र नवनिर्माण सेना’ नामक भिन्नै पार्टी बनाए । राज ठाकरेको नयाँ पार्टीको होहल्ला र माहौल राम्रो थियो । पार्टी विभाजनपछिको पहिलो विधानसभा निर्वाचनमा त्यसले ११ सीट जित्योे । तर पछि खासै प्रगति गर्न सकेन ।

बाल ठाकरेका समर्थकहरुले उनलाई ‘हिन्दू हृदयका सम्राट’, ‘हिन्दू हिटलर’ वा ‘बालासाहब’ जस्ता उपनामले सम्मान व्यक्त गर्दछन् ।

यसपटक पनि शिवसेना बिजेपीसँगकै गठबन्धनमा थियो । तर बारम्बार बिजेपीलाई मुख्यमन्त्री दिँदा प्रदेशमा शिवसेनाको भूमिका घट्दै र बिजेपीको भूमिका बढ्दै गएकोमा शिवसेना चिन्तित थियो । अर्को कुरा उद्धब ठाकरे आफ्ना छोरा आदित्य ठाकरेलाई मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरी मराठी राजनीतिमा नयाँ शक्तिशाली उत्तराधिकारको सन्देश दिन चाहन्थे । तर बिजेपीले शिवसेनाको यस्तो आग्रह स्वीकार गरेन ।

चुनावमा सँगै लडेका साझेदार सरकार गठन गर्ने वेला भिन्नाभिन्नै भए । बिजेपीले शिवसेनालाई रोक्ने अधिकतम् प्रयास त गर्‍यो तर त्यो सम्भव भएन । अनि आदित्यलाई विपक्षी पार्टी र नेताले पत्याएनन् । उद्धब ठाकरे आफै मुख्यमन्त्री बन्न राजी भए । अहिले उनी शिवसेनाको तर्फबाट तेस्रो र प्रदेशकै १९ औं मुख्यमन्त्री बनेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय