scheduleमगलवार श्रावण २० गते, २०७७

पत्रकारका लागि सबैभन्दा खराब मुलुक चीन, चिनियाँ जेलमा सबैभन्दा धेरै पत्रकार

एजेन्सी, २५ मंसिर । यस वर्ष पत्रकारलाई थुनामा राख्ने मुलुकको अग्रस्थानमा चीन परेको छ । सन् २०१९ मा चिनियाँ सरकारले झण्डै ४८ जना पत्रकारलाई बन्दी बनाएको एक प्रतिवेदनमा उल्लेख गरिएको हो ।

बुधबार कमिटी टु प्रोटेक्ट जर्नालिस्टस् नामक गैरसरकारी सस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा चीनमा झण्डै ४८ जना पत्रकार काराकारमा रहेको उल्लेख छ ।

योसँगै पत्रकारलाई थुनामा राख्ने मुलुकको अग्रस्थानमा चीन परेको छ । गत वर्ष पत्रकारलाई थुनामा राख्ने मुलुकको अग्रस्थानमा टर्की थियो । राष्ट्रपति सी जिङफिङले आफूमा राजनीतिक शक्ति केन्द्रित गरेपछि थुनामा पर्ने पत्रकारको संख्या बढिरहेको प्रतिवेदनमा भनिएको छ ।

‘सिनजियाङ प्रान्तमा मुस्लिम आदीवासीमाथि दमन गर्दै उनीहरुलाई शिविरमा राखिएको छ र यस क्रममा पत्रकारलाई समेत पक्राउ गरिएको छ भने केही पत्रकारलाई जेल हालिएको छ’, प्रतिवेदनमा भनिएको छ ।

तर अमेरिकामा रहेको संस्थाले तयार पारेको प्रतिवेदन गलत भएको चिनियाँ विदेशमन्त्रालयले दाबी गरेको छ । बुधबार पत्रकारसँग कुरा गर्दै विदेशमन्त्रालयकी प्रवक्ता हुआ चुनिङले प्रतिवेदनमा कुनै सत्यता नभएको टिप्पणी गरेकी छन् ।

चीनमा कानुनी शासन रहेको र कुनै पनि व्यक्ति कानुनभन्दा माथि नरहेको चुनिङले बताइन् । ‘वाशिङ्टनमा भन्दा बेइजिङमा पत्रकार भएर काम गर्नु तपाईंको सौभाग्य हो’, पत्रकारसँग कुराकानी गर्दै चुनिङले भनिन् ।

प्रतिवेदनमा यस वर्ष विश्वभर कम्तिमा पनि २ सय ५० जना पत्रकारलाई हिरासतमा राखिएको जनाइएको छ । गत वर्ष यो संख्या २ सय ५५ थियो ।

थुनामा रहेका पत्रकारको संख्या चीनपछि टर्कीमा धेरै छ । पत्रकारलाई थुनामा राख्ने मुलुकमा टर्की दोस्रो स्थानमा छ । यो वर्ष टर्कीको सरकारले ४७ जना पत्रकारलाई थुनामा राखेको छ । गत वर्ष टर्कीमा ६८ जना पत्रकारलाई थुनामा राखिएको थियो ।

त्यस्तै साउदी अरब र इजिप्टले सन् २०१९ मा २६/२६ जना पत्रकारलाई थुनामा राखेको प्रतिवेदनको ठहर छ । इरिट्रियामा १६ जना, भियतनाममा १२ जना र इरानमा ११ पत्रकारलाई कारागारमा राखिएको छ ।

मध्यपूर्वमा ‘तानाशाही शासन, अस्थिरता र विरोध प्रदर्शन’ का कारण थुनामा पर्ने पत्रकारको संख्या बढेको समेत प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदनका अनुसार राजनीतिक व्यवस्था, मानव अधिकार र भ्रष्टाचारबारे समाचार लेखेका कारण पत्रकारलाई थुनामा राख्ने गरिएको छ ।

विश्वभर थुनामा रहेका पत्रकारमध्ये ८ प्रतिशत महिला रहेका छन् । यो संख्या गत १३ प्रतिशत थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय