scheduleमगलवार माघ ७ गते, २०७६

ओलीले दिपशिखासँग जस्तै प्रचण्डले सूर्य थापासँग स्पष्टीकरण लिने हैसियत राख्छन् ?

साझापोस्ट टिप्पणी/काठमाडौं, २५ मंसिर । तत्कालीन माओवादी र एमालेमा रहँदा केपी ओली र प्रचण्डले एकअर्काविरुद्ध गरेका टिप्पणीहरु सुन्दा अहिले पनि असहज लाग्छ । ती टिप्पणीहरुको सन्दर्भ सकिएको छ । किनकी अहिले दुवै पार्टी एकीकरण भएर नेकपा बनेको पनि धेरै समय बितिसकेको छ ।

तर, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीका प्रेस सल्लाहकारको भूमिकामा रहेका सूर्य थापाका अभिव्यक्तिले एउटा पुरानो प्रसंग सम्झाइदिएको छ ।

दुवै पार्टीहरु एकीकरण हुनुअघि एमाले र माओवादीबीच अराजनीतिक हदसम्म बहस र विवाद हुने गर्थे । त्यतिबेला वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले एउटा लेख नै लेखेका थिए । लेखको शीर्षक थियो- ओली राष्ट्रवाद र मुकुन्दे गफ एउटै हो ।

त्यसो त, तत्कालीन एमालेको ओली समूहका युवा नेताहरुले पनि माओवादी र उक्त पार्टीका अध्यक्षविरुद्ध पनि कटु आलोचना गरिरहेकै हुन्थे । पार्टी एकतापछि दिपशिखाप्रति रुष्ट बनेका ओलीले प्रचण्डसँग एउटा शर्त राखेको खबर बाहिरिएको थियो । शर्त थियो- दिपशिखालाई युवा संघको नेतृत्व दिने हो भने उनले नेतृत्वविरुद्ध सार्वजनिक टिप्पणी नगर्ने कागज गर्नुपर्छ ।

ओलीको शर्त प्रचण्डले सहजै माने र दिपशिखालाई बालुवाटार झिकाइयो । उनले सामाजिक सञ्जालमा सरकारको नेतृत्वको आलोचना गरेको र ओलीप्रति नकारात्मक रहेको सन्दर्भमा दुवै अध्यक्षको उपस्थितिमा कतिपय कमजोरी विगतमा भएको भन्दै आत्मालोचना गरेको त्यतिबेला बैठकमा रहेका एमालेनिकट नेताहरु दावी गर्छन् ।


दुवै अध्यक्षको उपस्थितिमा सापकोटाले लिखितरुपमै भविष्यमा पार्टी र नेतृत्वको विपक्षमा सार्वजनिक रुपमा टिकाटिप्पणी नगर्ने प्रतिबद्धता जनाएपछि युवा संघको नेतृत्व पाएको बताइएपनि दिपशिखाले आफूले लिखित भने नगरेको स्पष्ट पारेका थिए ।

यता, पार्टी एकता भइसके पछि पनि नेकपाका प्रचार विभाग उपप्रमुख समेत रहेका सूर्य थापा बेलाबेला पूर्वमाओवादी र खासगरी प्रचण्डप्रति असहिष्णुपूर्ण टिप्पणी गर्दै आएका छन् । उनको अभिव्यक्ति र टिप्पणीले सिंगो पार्टी एकतालाई नै असर पार्न थालेको चर्चा नेकपाभित्र चल्न थालेको छ । कतिपय पूर्व एमालेका कार्यकर्ताहरुले थापाले मनको कुरा गरेको भन्दै आफूहरु माओवादीसँग एकताको पक्षमा नरहेको बताउन थालेका छन् ।

पटकपटक नेतृत्वविरुद्ध कटु आलोचना गर्ने क्रमलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएपछि पनि दोहोर्‍याएपछि सूर्य थापाको क्रियाकलापलाई व्यक्तिगत भन्दा नेकपाभित्र पूर्व ओली समूहको सुनियोजित योजनाको रुपमा चर्चा गर्न थालिएको छ ।

बृहद् शान्ति सम्झौताको बेला प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरिरहँदा तत्कालीन एमाले नेता माधव नेपाल पहिलो पंक्तिमा थिए भने केपी ओली दोस्रो पंक्तिमा बसिरहेका थिए । उनी त्यतिबेला दर्शकको भूमिकामा मात्र थिए भन्दा अत्युक्ति नहोला । तर, शान्ति प्रक्रियामा आएपछि माओवादी नेतृत्वमा आएको विचलन र कमिकमजोरीप्रति आक्रामक बनेको ओली समूहले ‘एन्टी-माओइस्ट’ सेन्टिमेन्टलाई समातेर पार्टी सत्तामा उक्लन सफल भयो ।

माओवादी शक्तिशाली भएको बेला शक्तिविरुद्ध मत अभिव्यक्त गर्दै शक्ति आर्जन गरेको ओली समूहमा प्रतिवद्ध नेता कार्यकर्तालाई ओलीले अहिलेसम्म पनि संरक्षण गरिरहेका छन् । एमालेको आन्तरिक पार्टी सत्ता हुँदै उक्त समूह अहिले प्रधानमन्त्री र राष्ट्रपतिको कुर्सीसम्म विराजमान हुन सफल भएको छ ।

कुनै बेला प्रचण्डविरुद्ध र नेकपाको घोषित सिद्धान्तविरुद्ध बोल्ने उपप्रधानमन्त्री ईश्वर पोखरेल हुन् वा सूर्य थापा, उनीहरु सबै पूर्वमाओवादीविरुद्ध योजनावद्ध रुपमा खनिन्छन् र नेकपाभित्र पनि ‘एन्टी माओइस्ट’ शक्तिशाली गुट खडा गर्न चाहन्छन् भन्ने अड्कल काट्ने प्रशस्त आधार उनीहरुले नै बनाइदिएका छन् ।

तर, अहिलेको सवाल नेकपाभित्र कुन कुन गुटहरु कसरी फस्टाइरहेका छन् भन्नुभन्दा सूर्य थापाको श्रृंखलावद्ध माओवादीविरोधी अभिव्यक्तिको हो । दिपशिखाले त ओलीलाई मुकुन्देसँग तुलना गरेर मान्छेकै हैसियत दिएका थिए तर, सूर्य थापाले त माओवादीलाई बाँदरको श्रेणीमा खसालिदिएका छन् ।

कुनैबेला ओलीको आलोचना गर्न ओलीले बालुवाटार बोलाएर दिपशिखासँग स्पष्टीकरण लिएजस्तै प्रचण्डले पनि सूर्य थापालाई धुम्वाराही बोलाएर स्पष्टीकरण सोध्ने हैसियत राख्लान् ? राखेनन् भने प्रचण्डको ‘कार्यकारी फिलिङ’ फगत मृगतृष्णा बाहेक केही हुनेछैन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय