scheduleबुधवार माघ १५ गते, २०७६

खास के हो रवि लामिछानेको ‘केही फरक प्रयास’ ?

काठमाडौं, २६ मंसिर । टेलिभिजन पत्रकारितामार्फत् चर्चामा रहेका रवि लामिछानेले केही समय यता केही फरक प्रयास गर्ने भने उद्घोष गर्दै आएका छन् । उनले आफूले गर्न लागेको नयाँ सुरुवात बारे एउटा भिडियो प्रोमो नै सार्वजनिक गरिसकेका छन् ।

विहीबार बिहान उनले फेसबुकमार्फत् जानकारी गराउँदै लेखेका छन्, ‘एक फरक प्रयासको शुभ-आरम्भ !
अहिले ११ बजेपछि न्यूज २४ टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फत विस्तृत जानकारी… ।’

उनको स्टाटसअनुसार छिट्टै उनले आफ्नो फरक र नयाँ प्रयासबारे केही कुरा सार्वजनिक गर्दैछन् । यता, साझापोस्टले रवि लामिछानेले सञ्चालन गर्न लागेको नयाँ कार्यक्रमबारे केही तथ्यहरु फेला पारेको छ ।

यसअघि सिधा कुरा जनतासँग कार्यक्रममार्फत् चर्चामा आएका लामिछानेले अब नयाँ टेलिभिजन कार्यक्रम सञ्चालनमा ल्याउन लागेका छन् ।

एसआरबिएन मिडियाले यसै साता सार्वजनिक गरेको तस्बिरमा लामिछाने नयाँ कार्यक्रममा आउने संकेत मिलिसकेको छ । सोही संस्थाले यसअघि चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ पनि ल्याएको थियो । पोष्टरमा एसआरबिएन मिडियाका सिइओ विपिन आचार्य, क्रियटिभ डाइरेक्टर सुरक्षा अधिकारी र रवि लामिछाने देखिएका छन् । एसआरबिएन मिडियाले सार्वजनिक गरेको पोष्टरमा ‘केहि फरक, केहि विशेष । छिट्टै घोषणा हुँदैछ ।’

भिडियोमा ‘अकल्पनीय र स्वस्फूर्त जनताको उपस्थितिले थप जिम्मेबार बनाउँछ, राजनीति अहँ, होइन । तर, आजको राजनीतिलाई यत्तिकै छाडिदिन पनि मन छैन । त्यसैले केही फरक आउँदैछ, प्रतिक्षा गर्नुहोस्,’ भनिएको छ ।

एसआरबिएन मिडिया स्रोतका अनुसार लामिछाने ‘नयाँ नेतृत्व’ जन्माउने ‘लिडरशीप’ नामक टेलिभिजन शो लिएर आउन लागेका छन्, जसको विहीबार नै घोषणा हुँदैछ ।

मुलुक इतिहासकै अप्ठेरो अवस्थामा फसेको र यसको मुख्य कारण राष्ट्रले उपयुक्त नेतृत्व जन्माउन नसक्नु रहेको आयोजकको ठहर छ । कार्यक्रमले मुलुकलाई स्थिर र समृद्ध बनाउने नेतृत्व जन्माउने आयोजकको अपेक्षा छ ।

नृत्य र गीतमा प्रतिभा खोज्नेगरी भइरहेका नेपाल आइडल र भ्वाइस अफ नेपालजस्तै लामिछानेले सञ्चालन गर्ने उक्त कार्यक्रमबाट नयाँ नेतृत्वको खोजी हुनेछ  र उक्त रियालिटी टिभी शोको नाम हुनेछ ‘द लिडर’ ।

विहीबार प्रेस मिट गरेर कार्यक्रमबारे जानकारी सार्वजनिक गरेपछि नेपालका सातै प्रदेश र प्रवासका विभिन्न स्थानमा प्रारम्भिक अडिसनहरु सञ्चालन गर्ने र कार्यक्रमका लागि एक सयजना नयाँ नेतृत्व खोजेर उनीहरुबीच प्रतिस्पर्धा गराउने कार्यक्रम डिजाइन गरिएको छ ।

एक देखि १० एपिसोडबाट १०० जना प्रतिस्पर्धी छानेपछि ११ देखि १३औं एपिसोडबाट ६५ जनालाई हटाएर ३५ जना छानिनेछन् । ती ३५ लाई पाँच/पाँच जनाको समूहमा विभाजन गरेर ७ ग्रुप बनाइने र २७औं एपिसोडबाट एउटा ग्रुप मात्र फाइनलमा पुग्नेछन् । प्रतिस्पर्धीहरुले राजनीतिक घोषणापत्र सार्वजनिक गर्नेदेखि सार्वजनिक सुनुवाई, कोष जम्मा गरेर परिवर्तन गर्न सक्ने कार्यक्रम, बजेट भाषण, व्यवसायिक परियोजना र निर्वाचनसम्मको प्रक्रियाबाट गुज्रँदै आफ्नो प्रतिभा देखाउनुपर्ने कार्यक्रमको फर्म्याट रहेको छ ।

कार्यक्रमको सेमिफाइनलसम्म जजले भूमिका खेल्नेछन् र फाइनलमा भने सार्वजनिकरुपमा भोटको लागि आह्वान गरिने र जनताको मत नै निर्णायक हुने बताइएको छ ।

विहीबार कार्यक्रमको निर्णायकको रुपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधिश सुशिला कार्की र साझा पार्टीका संयोजक रविन्द्र मिश्रको नाम सार्वजनिक गरिने बताइएको छ । बाँकी दुई निर्णायकहरु भने पछि घोषणा गरिनेछन् । यसअघि गगन थापाको नाम चर्चामा रहे पनि विहीबार उनको नाम घोषणा नहुने आयोजक निकट स्रोतले जनाएको छ ।

आयोजकले प्रतिस्पर्धीहरुमध्यबाट विजेतालाई आकर्षक पुरस्कारको पनि घोषणा गर्नेछ । स्रोतका अनुसार ‘द लिडर प्लाटिमनम’को पुरस्कार राशि २५ मिलियन अर्थात् दुई करोड ५० लाख रकम रहेको छ । स्वर्ण विजेतालाई १० मिलियन अर्थात् एक करोड, रजत विजेतालाई ७.५ मिलियन र कास्य विजेतालाई ५ मिलियन अर्थात् ५० लाख रुकम प्रदान गरिने आकर्षक पुरस्कार रकम पनि आयोजकले विहीबार नै घोषणा गर्नेछन् ।

८ करोड ४० लाख खर्च गरिने यो कार्यक्रमको लागि सञ्चालकले मात्र ६० लाख रुपैयाँ शुल्क लिनेछन् ।
कार्यक्रमका लागि सहभागी छनौट गर्न नेपालमा धनगढी, सुर्खेत, बुटवल, पोखरा, काठमाडौं, जनकपुर र विराटनगरमा अडिसन हुनेछन् भने नेपाल बाहिर अमेरिका, साउदी अरब, दुबई, दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलियामा अडिसनको आयोजना गरिनेछन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय