scheduleमगलवार माघ ७ गते, २०७६

‘द लिडर’ले नेता जन्माउला ?

काठमाडौं, २७ मंसिर । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सञ्चालक रहने नयाँ टिभी रियालिटी शो ‘द लिडर’को विहीबार एक कार्यक्रमका बीच घोषणा गरियो । कार्यक्रम यसकारण पनि चर्चामा छ कि उक्त कार्यक्रममा नेता छान्ने भूमिकामा सहभागी भएका छन् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशिला कार्की र पूर्वपत्रकार तथा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र ।

कतिपयले चुनावी प्रक्रियामा सफल हुन नसकेपछि मिश्र र भट्टराईहरु रियालिटी शोतिर नेता खोज्न गएको भन्दै आलोचना गरिरहेका छन् । खासगरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु कार्यक्रमकै विरोधमा उत्रिएका छन् । कतिपयले चेतावनीमुलक ढंगले भने कतिपयले खिस्युट्युरी गर्ने ढंगले आलोचना गरिरहेका छन् ।

सामाजिक सञ्जाल कार्यक्रमको पक्ष र विपक्षमा बाँढिएको छ । कतिपयले पक्षमा, कतिपयले विपक्षमा र कतिपय तटस्थ रहेर प्रतिक्रिया दिइरहेका छन् ।

खिरको स्वाद हेरेर हैन, खाएर मात्र थाहा हुन्छ
-पूर्वसचिव भीमप्रसाद उपाध्याय

रबि लामिछानेको टिमले संचालन गर्न लागेको ‘द लिडर रियासिटी शो’ बाट नेता त जन्माउने छैन, तर भरपूर नौलो मनोरञ्जनको प्रस्तुति पस्किनुका साथै आधुनिक तीब्र विकसित विश्व प्रतिष्पर्धामाझ अब राजनीतिक नेता के कस्तो गुणका क्षमता भएको हुनुपर्छ ? जनताले कस्ता नेता छान्नुपर्छ ? कस्तालाई सच्चा नेता मान्नुपर्छ ? भन्ने राजनीतिक जनचेतना जगाउने र जनजागरण भने अवश्य ल्याउने छ ।

पैसा पनि कमाईने, व्यावसाय पनि हुने, मनोरञ्जन पनि हुने, माध्यमबाट राजनीतिक नवजागरण ल्याउने प्रयास प्रशंसायोग्य छ । तर खिरको स्वाद हेरेर हैन, खाएर मात्र थाहा लाग्छ ।

हल्ला नगरौं
-टिआर सापकोटा

बुझि-नबुझी हल्ला गरेर तिल लाई पहाड बनाउने नेपालीको बानी हो । द लिडर कार्यक्रम पनि नेपाल आइडल वा को बन्छ करोडपती जस्तै एउटा रियलिटी टिभी कार्यक्रम हो, जसमा सम्बन्धित क्षेत्रमा प्रतिभा भएकाहरुले आफ्नो प्रस्तुति दिनेछन् र प्रतिस्पर्धा जित्ने विजयी हुनेछन् । मन परे र फुर्सद भए कार्यक्रम हेरौंला, नत्र यसमा यतिधेरै टीकाटिप्पणी गर्न आवश्यक नै छैन ।

जन्मि पो हाल्छन् कि ?

प्रविन धिताल

टाउको गिडेर राजनीतिमा छिरेकाले देश चलाउन हुन्छ भने रियालिटि-शो बाट किन नहुने !!! के थाहा कोहि राजनेता जन्मि पो हाल्छन् कि !!!

दलबहादुर नबनी बाँच्नै नसकिने त होइन नि !

  • नारायण गाउँले

रवि लामिछानेले ‘नेतृत्व’ खोज्ने एउटा रियालिटी शो चलाउने भएछन् । अरिङ्गालको गोलो त्यतै खनिन शुरू भएछ ।

तर्क छ, नेता ‘आन्दोलन’ले जन्माउने हो, रियालिटी शो’ले होइन । उसो त सुन्दरी जन्मिने पनि सुन्दरी प्रतोयोगिताबाट होइन, आमाबाट हो । गायक जन्मिने साधनाबाट हो ‘नेपाल आइडल’ या ‘सारेगमप’बाट होइन ।

तिनलाई लाग्दो रहेछ, नेता जन्मिने ढोका सधैँ एउटै हुन्छ र त्यसको चाबी तिनीहरूसँग मात्रै छ । रविहरूले ‘नेता’ खोज्नु अपराध हो ।
आन्दोलनको अर्थ पनि तिनको दिमागले हत्या, हिंसा र विनाशबाहेक अर्को लगाएजस्तो लागेन । विश्वविद्यालयबाट, खेल मैदानबाट, समाजसेवाबाट, कृषिबाट, कलाबाट, टेलिभिजनबाट या समाजका अन्य कुनै पनि अङ्गबाट नेता जन्मिन सक्छन् भन्ने बुझ्न तिनलाई अझै केही समय लाग्दो हो । रियालिटी शोहरू पनि एउटा आन्दोलन बन्न नसक्ने ग्यारेन्टी तिनले कसरी गर्न सक्छन् ?

तिनलाई विश्वास त छैन तर डर त लाग्दो हो नै कतै यस्ता कार्यक्रमले साँच्चिकै एक दुई नेता जन्मिए भने आफ्ना नेताको ठाउँ खोसिने त होइन ? ती आफै भने नेता होइनन् ।

रियालिटी शो अनेक विषयमा हुन सक्छन् । ‘नेतृत्व’मा हुन नसक्ने कुरो भएन । त्यहाँ केही प्रतिभाशाली युवाहरूले भाग लेलान्, देश र समाजका विकृति र समस्याबारे बोल्लान् र समाधानका प्ऱ्याक़्टिकल उपायहरू बताउलान् । देशका युवाहरूमा देश र समाज बनाउने कस्तो भिजन रहेछ भन्ने दर्शकले थाहा पाउलान् र मन पर्नेलाई भोट गरेर प्रतियोगिता जिताउलान् । पार्टीका हनुमानहरू त विरोधमैं भएकाले पक्कै भाग लिन नजालान् । नेतृत्व विकास ढुङ्गा बोकेर मात्रै हुँदैन भन्ने बुझ्ने अवसर पनि बन्न सक्ला यो । आज अक्सफोर्डदेखि हार्वर्डजस्ता विश्वविद्यालयमा ‘नेतृत्व विकास’का शैक्षिक कार्यक्रमहरू चल्छन् । तिनले नेता जन्माउन सकिन्छ भन्ने सोच्छन् ।

दलबहादुरहरूको ठोकुवा के छ भने ती विजयीहरू सामाजिक सञ्जालमा नेता बन्लान् तर चुनाबमा पक्का फेल हुन्छन् ।
रविले चलाउने शोले सांसद या प्रधानमन्त्री जन्माइहाल्छ भन्ने होइन । यस्ता शो जित्नेहरू हराएर जान पनि सक्छन् । तर लिडर बन्ने भनेको संसदको चुनाब जित्ने भन्ने मात्रै होइन । तिनको आत्मविश्वास, ज्ञान र उत्साह बढ्यो भने तिनले समाजका विभिन्न क्षेत्रमा नेतृत्व गर्न सक्छन् । दलहरूले तिनलाई नेतृत्वमा ल्याए सबैलाई राम्रै हुन्छ ।

आजको विश्व एउटा गाउँजस्तो छ । हामीलाई ढुङ्गा हान्ने र जेल बस्ने मात्रै नेता चाहिएला, त्यसमा केही समस्या छैन । विश्वले यस्ता प्रतिभाशाली नेतालाई सजिलै एडप्ट गर्न सक्छन् । यस्ता प्रतिभालाई ‘म्यानेजर’का रूपमा हेरिन्छ र धेरै देशले यस्ता म्यानेजर हायर गर्छन् । ब्याङ्क अफ इंग्ल्याण्डले क्यानेडियन म्यानेजर हायर गर्न सक्छ, गुगलले इण्डियन म्यानेजर नियुक्त गर्न सक्छ भने भोलि यस्ता केही नेपाली प्रतिभा विश्वका अन्य कुनै क्षेत्रमा नबिक्लान् भन्ने के ग्यारेन्टी छ र ? नबिक्लान् रे, यस्तो कार्यक्रममा प्रतिभा देखाएर र माझेर कसैको केही बिग्रिने त होइन । राज्यलाई दुई रुपियाँ भए पनि ट्याक्स आउँछ र दुईचार जना युवाले प्रतिभा देखाउन पाउँछन् भने अरूको टाउको दुख्नुपर्ने एकमात्र कारण अवचेतन मनको डर नै हो ।

आफै चुनाब हारेकाहरू निर्णायक छन्, तिनले जन्माउने नेता कसरी सफल हुन्छ भन्ने तर्क अलि बच्चा खालको छ । रवीन्द्र मिश्र होऊन् या बाबुराम, आफ्नो क्षेत्रमा हामीभन्दा अब्बल र सक्षम व्यक्ति हुन् । हामी ती जत्तिको बन्न सके पनि सफल हुन्छौं । एउटा सफल पत्रकार हुन्, अन्तर्राष्ट्रिय मिडिया समूहको सफल नेतृत्व गरेका हुन् र अर्का अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसम्म बन्न सफल भएका नेता हुन् । तेस्रो त पूर्वप्रधान न्यायाधीश नै रहिछन् । के केपी ओली र शेरबहादुरलाई निर्णायक बनाउने ? रवि लामिछाने आफैमा लोकप्रिय र सफल पत्रकार हुन् । नेता हुन् । कुनै झण्डाबिना चितवनमा लाखौं व्यक्ति समर्थनमा उत्रिएको बिर्सिनुभो ?

रेफ्रीले खेल खेलाउने र विजयी छान्ने हो । रेफ्री आफै खेलेर गोल गर्ने होइन । रेफ्रीहरू सफल फुटबलर हुनै पर्ने भन्ने पनि छैन । सुन्दरी प्रतियोगिताका निर्णायकहरू प्रतियोगी भन्दा सुन्दर हुनुपर्ने नियम हुन्छ र ? रवीन्द्र या बाबुरामले नेता जन्माउने होइन । प्रतिभाशाली व्यक्ति छान्ने हो । नेतृत्वका गुण भएका व्यक्ति छान्ने हो । त्यसका लागि चाहिने जति क्षमता तिनमा छ । छैनजस्तो लाग्छ भने नहेर्ने र भोट नगर्ने हाम्रो अधिकार सुरक्षित छँदै छ ।

दलबहादुर नबनी बाँच्नै नसकिने त होइन नि !

मञ्च कसरी गलत हुन्छ ?

महेश पौडेल

‘THE LEADER (यो राष्ट्रको सेवक)’
घोषणाक‌ै क्षणबाट हिट भयो यो रियालिटी शो। Rabi Lamichhane जी र यहाँको ‘दि लिडर’ टिमलाई हार्दिक बधाई अनि शुभकामना !
राजनीति तपस्या हो। राजनीति कला पनि हो। कला देखाउने र तपस्याको बाटो सम्झाउने मञ्च कसरी गलत हुन्छ?

नेतृत्व लिने अवसर कसरी पाउँछन् ?

रामचन्द्र कार्की

रवि लामिछानेको कार्यक्रम (द लिडर)
यस कार्यक्रमका विजेताले पाउने पुरस्कार …..
१.काठमाडौँमा एक सुविधा सम्पन्न अपार्टमेन्ट
२.कार
३. २० लाख नगद
४. राजनीतिमा नेतृत्व लिने अवसर पाउने छन।
मैले नबुझेको कुरा : अरु त पाउलान तर ४ नम्बरको पुरस्कार चैं के वर्तमान नेपालका राजनीतिक पार्टी -नेकपा, कांग्रेस लगाएतले विजेतालाई अध्यक्ष बनाउन रविलाई स्वीकृत दिई सकेछ्न र ?

प्रयोग गर्न दिऊँ

सुदीप छत्कुली

हिजो मेरो छोरी माथी टाईफाईडको भ्याक्सिन परिक्षण प्रयोग गर्दा चुइक्क नबोल्नेहरु : रबी लामिछानेले नेता रियालिटी सो मार्फत खोज्दा खुब चिच्याईरा’ छ्न त ! प्रयोग हो, गर्न देउ न आंखिर प्रयोगशाला न हो ! फेरि तिमीले भोट नहाली संसद हुने होइन क्यारे ! आफ्नै इजार खुस्काइदेलान झैं किन डराउनुपर्‍यो ?

नेता आवश्यकताले जन्माउँछ

गोविन्दराज केसी

नेता आवश्यकताले जसरी पनि जन्माउँछ। कहिले सशस्त्र आन्दोलनले, कहिले शान्तिपुर्ण त कहिले टिभिको रियालिटी शो ले। त्यसका आ-आफ्नै मुल्य-मान्यताहरु होलान। हामी सँधै विरोधको राजनीतिबाट हुर्कियौं र जसले केहि गर्छु भन्छ त्यसलाई आक्रमण गरिहाल्ने, डसिहाल्ने र अराजक र अस्थिरको ट्याग भिराईहाल्ने। रवि लामिछाने, ज्ञानेन्द्र शाही, धुर्मुस सुन्तली, रमेश सिलवाल, डा. गोविन्द के.सी. हरुको कुनै पनि कामलाई पनि हामीले सहजतापुर्वक लिएनौं । खालि विरोध मात्र। तर जब यिनका काम र नामको गतिले व्यापकता पाउँदै गयो अनि बल्ल हामी बाध्य भएर ए ठिकै रैछ भन्नेमा पुग्छौं।

हामीलाई यस्तो महारोगले गलाएको छ कि स्थापित नेता र मान्छेले बाहेक अरुले केहि गर्नसक्दैन। अहिले नेता आन्दोलनले, आवश्यकताले जन्माउँछ भनेर चर्को कराउने हरु भोलि रवि लामिछानेको कार्यक्रममा सवैभन्दा पहिले पुग्नेछन। यसर्थ हरेक नविनतम योजनालाई गर्वका साथ स्वागत गरौं र त्यसको कामका आधारमा मुल्याङकन गरौं।

थुनिँदै र चुनिँदै आएका छौं

आरसी लामिछाने

मेकअप गरी, क्यामरामा हेरि, सुटिङमा भुक्ने आदत परेकै छैन । हामी त सडकको धुलोमा लडेर अँध्यारो दुलोमा थुनिदै, जनताबाट चुनिदै आएका छौं ।

 

‘द लिडर’को विरोध गर्ने अधिकांश सत्तारुढ दलका कार्यकर्ताहरुको तर्क यो कार्यक्रम सरकारविरोधी कार्यक्रमको रुपमा डिजाइन गरिएको भन्ने छ । सामाजिक सञ्जालमा अधिकांश मानिसहरुले आफ्नो आवद्धता र बुझाईअनुसार तर्क गरेका छन् ।

हिजो एकसमय नेता बन्न जेल जानुपर्ने, बन्दुक पड्काउनु पर्ने, सडकमा टायर बाल्नुपर्ने क्षमता चाहिन्थ्यो । लोकतन्त्र स्थापनाको उक्त प्रक्रियाहरुमा राजनीतिक नेता वर्गसंघर्षको भट्टीबाट जन्मिन्छन् भन्ने मान्यता स्थापित थियो ।

तर, मुलुक समृद्धिकरणको युगमा प्रवेश गरेर स्वीकारिसक्दा पनि अधिकांश नेता कार्यकर्ताले हिजैको क्षमता र योगदानलाई देखाएर राजनीतिक सत्ता कब्जा गर्दा जनतामा निराशा व्याप्त बनेको छ ।  किनकी नेताहरुले आफ्नो प्रतिवद्धताअनुसार काम गर्न सकिरहेका छैनन् । व्यापक निराशा र आक्रोश बढिरहेको छ ।

व्यवस्था परिवर्तन गर्ने क्षमताले देश विकास गर्न सक्छ ? अबका जमानामा नेता बन्न चाहिने क्षमता के हो ? यसमा नयाँ ढंगले छलफल सुरु गर्न आवश्यक छ । द लिडरले नेता जन्माओस्/नजन्माओस् । सफल होस् वा नहोस् तर नयाँ जमानामा कस्तो नेता चाहिन्छ भनेर बहस गर्ने र आम जनमानसमा नयाँ कौतुहलता पैदा गर्ने काम गर्न सकेमा कार्यक्रमलाई सफल मान्न सकिने आधार सिर्जना हुनेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय