भारतलाई ‘काउन्टर’ गर्न कालापानीमा सुरक्षाकर्मी राख्छौंः गृहमन्त्री
काठमाडौं, २७ मंसिर । गृहमन्त्री रामबहादुर थापाले भारतलाई काउन्टर गर्ने गरी कालापानीमा नेपाली सुरक्षाकर्मी राख्ने तयारी भइरहेको बताएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार सीमा सम्बन्धी सरोकारवालासँगको छलफलमा मन्त्री थापाले यस्तो बताएका हुन् ।
‘उनीहरुले सीमा सुरक्षा बल मात्र हैन, गोर्खा बटालियन सेना पनि राखेका छन्, चार पाँच हजारको संख्यामा सुरक्षाकर्मी राखेका छन्’, थापाले भने, ‘त्यसको काउन्टरमा हामीले हाम्रा सुरक्षकर्मीलाई विन्यास गरेका छौं । त्यहाँ जान भारतबाट जानुपर्ने भएकोले हामीले सबैभन्दा अगाडि बाटो बनाउनुपर्ने छ ।
त्यस्तै छलफलमा बोल्दै मन्त्री थापाले भारतसँगको सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरी बललाई थिएको समेत जानकारी दिएका छन् ।
‘सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बललाई जिम्मा दिएको छ’, थापाले भने, ‘३७ हजार सशस्त्र प्रहरीको संख्या छ । तर सीमा सुरक्षाका लागि उक्त संख्याको बल पर्याप्त नभएको समेत थापाको भनाइ छ ।
‘सीमा सुरक्षा गर्न यो संख्या प्रर्याप्त देखिएको छैन । भारतले हरेक किमीमा सीमा सुरक्षा बल परिचालन गरेको छ । २५–३० किलोमिटरमा मात्र यो सुरक्षाकर्मी राख्न ठाउँ पुग्छ । अरु ६० ७० वटा नयाँ पोष्ट गर्ने तयारी छ । सशस्त्र प्रहरीको दरबन्दी पनि थप गर्ने योजना छ । खुला सीमानाका कारण पनि सुरक्षासम्बन्धी समस्या छ । ३ सय ७२ स्क्वाययर भूभाग मिचिएको छ’, थापाले भने ।