scheduleबुधवार माघ १५ गते, २०७६

धनुषा बम विस्फोटः प्रहरीलाई धरापमा पार्न ‘रिमोट कन्ट्रोल’को प्रयोग

काठमाडौं, २८ मंसिर । प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जाने गरी भएको बम विस्फोटमा ‘रिमोट कन्ट्रोल’ प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

प्रारम्भिक अनुसन्धानबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ मा शुक्रबार राति भएको विस्फोट ‘रिमोट कन्ट्रोल’बाट गराइएको पाइएको हो ।

प्रहरीलाई लक्षित गरी बम राखिएको हुन सक्ने समेत आशंका गरिएको छ । शंकास्पद वस्तु फेला परेको सूचना पाएलगत्तै परिचालन गरिएको प्रहरी टोली घटनास्थलमा पुग्नेबित्तिकै बम विस्फोट भएपछि धराप स्वरुप बम राखिएको आशंका गरिएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारीले समेत योजनाबद्ध रुपमा प्रहरीलाई धरापमा पार्न बम विस्फोट गराइएको घटनाको प्रकृतिले पुष्टि गरेको बताएका छन् । प्रजिअ प्रदिपकुमार कँडेलले प्रहरी टोलीले झोला चलाएपछि विस्फोट भएको कुरा गलत र भ्रामक रहेको समेत बताए ।

‘प्रहरी निरीक्षकसहित गएको टोली त्यति मूर्ख हुँदैन, योजनावद्ध धरापमा प्रहरीलाई पार्न खोजिएको घटना प्रकृतिले पुष्टि गर्छ’, कँडेलले भने ।

धनुषा प्रहरीले बम विस्फोटमा संलग्न रहेको आरोपमा विप्लव समूहका ३ जना स्थानीय नेतालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २  संयोजक ५१ वर्षिय सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन् ।

शुक्रबार राति झण्डै पौने १२ बजे धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित राजेश साहको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित औषधि व्यवसायी ४८ वर्षीय राजेश साह र उनका १६ वर्षीय छोरा आनन्द साहको मृत्यु भएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय