scheduleमगलवार माघ ७ गते, २०७६

प्याजले करोडपति बनाइदिएपछि ….


काठमाडौं, २९ मङ्सिर । सरसर्ती पढ्दा कुनै फिल्मको पटकथा जस्तो लाग्ने विषय वास्तविकतामा बदलिएको छ एक किसानका लागि । ती किसानले ठूलो जोखिम उठाउँदै ५ लाख रुपैयाँ ऋण लिएर प्याजको खेती गरेका थिए । सामान्य तलमाथि पर्दा उनी सडकमा पुग्थे वा सम्हालिन गाह्रो हुन्थ्यो ।

तर समय उनको लागि अनुकूल बनेर आयो र उनी करोडपतिमा बदलिए ।

घटना हो छिमेकी राष्ट्र भारतको बैंगलोर नजिकैका एक प्याजको खेती गर्ने किसानको । बेंग्लौर भन्दा करीब दुई सय किलोमिटर टाढा चित्रदुर्गा जिल्लाका ४२ वर्षीय किसान मल्लिकार्जून प्याजका कारण महिना दिनभित्रै करोडपति बनेका हुन् ।

उनले सुरुमा पाँच लाख ऋण लिएर प्याजको बिऊ छरेका थिए । ‘मैले जिवनकै सबैभन्दा ठूलो जोखिम लिएँ, मूल्यमा गिरावट आएको भए वा बालीमा मौसमी प्रकोपले असर गरेको भए मलाई कारोबारमा टिक्न गाह्रो हुन्थ्यो । तर प्याजले मेरो परिवारको भाग्य बदलेको छ,’ उनी आफ्नो सफलताको कथा यसरी सुनाउँछन् ।

टाइम्स अफ इन्डियामा प्रकाशित खबरका अनुसार मल्लिकार्जूनले जारी सिजनमा २४० टन प्याज उत्पादन गरेका छन् । उनको अनुमान थियो- यति खेतीबाट मैले करिब पाँचदेखि १० लाख रुपैयाँ कमाउँछु । तर प्याजको मूल्य एकसय पचास रुपियाँसम्म पुग्दा उनी महिना दिनमै करोडपतिमा बदलिए । चलनचल्तीको मूल्य बमोजिम उनले एक सिजनमै करीब तीन करोड ५० लाख रुपियाँ आम्दानी गरेका छन् ।

गत वर्ष उत्तिकै मात्रामा खेती गर्दा केवल पाँच लाख कमाएका उनी भन्छन्, ‘मैले बिगत्सँगै यसपटक लिएको ऋण चुक्ता गरेको छु । एउटा राम्रो घर बनाउने सोचमा छु, त्यसपछि खेती बिस्तार गर्ने लक्ष्य राखेको छु ।’

अब उनी यसअघि पाँच विघा जग्गामा प्याज खेती गरेकोमा बढाएर १० विघामा खेती गर्ने योजनामा छन् । उनको अहिले पनि नियमितरुपमा ५० जना मजदुरले काम गर्छन् ।

त्यसो त गत असोजसम्म प्याज मूल्य सामान्य नै थियो । अचानक कात्तिक दोस्रो साता प्याजको मूल्य ७० रुपैयाँ प्रतिकिलो पुग्यो । लगत्तै एक सय बीस भारु प्रतिकिलोमा कारोबार हुनथाल्यो ।

मूल्य बढ्दैजाँदा उनलाई समस्या पनि थपियो । खेतबाटै प्याज चोरी हुने सम्भावनालाई मध्यनजर गर्दै उनको परिवार रातदिन खेत रुँघेर बस्नुपर्ने अवस्था सिर्जना भयो ।

स्मरणी छ, नेपालमा पनि प्याजको मूल्य बढेर उत्कर्षमा पुगे पनि केही दिनयता बिस्तारै मूल्यमा गिरावट आइरहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय