मह जोडीद्वारा ‘नेपालको लागि सय दिन’ अभियान सुरु, यस्तो छ सन्देश

साझापोस्ट

काठमाडौं, १ पुस । चर्चित हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी ‘मह जोडी’ले ‘नेपालको लागि सय दिन’ नामक नागरिक अभियान सुरु गरेका छन् ।

मंगलबार साँझ हरिवंश आचार्यले केही सन्देशहरुसहित उक्त अभियानको घोषणा गरेका हुन् । आचार्यले मह जोडीको तस्बिरसहित केही महत्वपूर्ण सन्देशहरु सार्वजनिक गर्दै यसलाई कम्तिमा सय दिनका लागि पछ्याउन आह्वा नगरेका छन् ।

‘आजैदेखि न्यूनतम सय दिनको लागि यो अभियानमा सहभागी बनौँ । सोच बदलौँ । देश बदलौँ,’ उनले लेखेका छन्, ‘गरिब होईन धनी बनौँ । कमजोर होईन शक्तिशाली बनौँ । किनकि याद गरौँ- हामी गरिब छौँ लाचार हौईनौं । कमजोर छौँ तर, कायर होइनौं ।’

यस्तो छ मह जोडीको सन्देश-


याद गरौँ – हामी गरिब छौँ । तर लाचार होईनौँ । हामी कमजोर छौँ । तर कायर होईनौँ । जसरी ५१ स्वर्ण जित्दा हाम्रो छाती गर्वले फुल्छ, सुस्ता र कालापानीमा हाम्रो सीमा मिचिँदा हाम्रो छाती कुँडिनु पर्छ । विदेशको हेपाहा प्रवृतिविरुध्द हामी सामान्य नागरिक सीमामा गएर उभिन नसकौँला तर, यो आक्रोशलाई शक्तिमा बदल्दै हामीले आत्मसम्मानको लडाँई लड्नुपर्छ ।

१. आजैदेखि इन्डक्सन चुल्हो, इलेक्ट्रिक केट्लि र इलेक्ट्रिक गिजरको प्रयोग विस्तारै बढाऔँ । विद्युतमा आत्मनिर्भर हुँदै पेट्रोलियम पदार्थमा भारतमाथि निर्भर हुन छाडौँ । विद्युतीय उपकरणको प्रयोग फाईदाजनक पनि छ ।
२. विदेशी चलचित्रहरु पैसा र समय खर्च गरी गरी नहेरौँ । त्यसले तपाईको वा तपाईको सन्तानको व्यक्तित्व विकास हुने पनि होईन । सोहि रकम जोहो गरी आफ्नो शहर बजार वरिपरिका रमणीय स्थलमा वनभोज जाऔँ । आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ । वा खेलकूद प्रतियोगिताहरु (शहिद स्मारक लिग, पोखरा प्रीमियर लिग आदि) अवलोकन गरी नेपाली खेलाडीहरुको हौसला बढाऔँ । ‘सलमान खान’हरुसँग होईन आफ्नाे परिवार र प्रियजनहरुसँग समय बिताऔँ । खुशी साटौँ ।

३. विदेशी उत्पादनहरुको खपत घटाऔँ । ‘पार्ली जी’ को सट्टा ‘नेबिको’, ‘म्यागी’ को सट्टा ‘रारा’ र स्याम्पु, दन्त मञ्जन्लगायत विलासी सामग्री सकेसम्म स्वदेशी, नभए अन्य मित्र राष्ट्रका प्रयोग गरौँ । महंगो भए मितव्ययी होऔँ । लहराँउदो केश, टल्किएको दाँत र बासना आउने शरीर- निहुरिएको शीरभन्दा महत्वपूर्ण हुँदैन ।
४. आफ्नो आँगन वा कौशीहरुमा सानै परिमाणमा भएपनि तरकारीजन्य खेती गरौँ । लाखौँ घर परिवार यो अभियानमा जोडियौँ भने करोडौँ रुपैयाँ जोगिन्छ । तरकारी खेतीले तपाईको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पनि पार्नेछ ।

हामीले घर बसेरै गर्न सक्ने यी कुराहरु गर्‍यौं भने हाम्रै अर्थतन्त्रमा सकारात्मक योगदान गर्न सक्नेछौँ । विदेशीलाई सोच्न बाध्य बनाउन सक्नेछौँ । हामीले दुःख गरी कमाएको पैसा वा हाम्रा आफन्तजनले विदेशमा रगत पसिना बगाई नेपाल पठाएको पैसा पुनः विदेशमै जान रोक्न सक्नेछौँ । बिदेशिएका लाखौँ आफन्तजन र आफ्ना दुःखहरु सम्झिऔँ । कफिनमा फर्किएका लाशहरुप्रति बफादार होऔँ ।

आजैदेखि न्यूनतम सय दिनको लागि यो अभियानमा सहभागी बनौँ । सोच बदलौँ । देश बदलौँ । गरिब होईन धनी बनौँ । कमजोर होईन शक्तिशाली बनौँ । किनकि याद गरौँ- हामी गरीब छौँ लाचार हौईनौं । कमजोर छौँ तर, कायर होइनौं ।

#नेपालकोलागिसयदिन
#100DaysForNepal
#CitizensMovement