scheduleसोमवार आषाढ़ २२ गते, २०७७

आउनुहोस्- राष्ट्र र राष्ट्रियताका लागि लडौं

श्यामबाबु गौतम

‘अब लड्नुपर्छ, लड्दालड्दै बलिदान दिनेहरुको याद जिउँदो राख्न मात्र भए पनि लड्नुपर्छ ।’ मैले एकजना फरक पार्टीका साथीलाई भनेँ ।

साथीले पूरै झोक्किएर जवाफ दिन थाले, ‘लड्यौ कहीँ नपाएर, खाली लड्ने कुरा गर्छौ, १० वर्ष लडेर १७ हजार मान्छे मरे देशले के पायो ? खाली लड्ने, लड्ने केकाे लागि लड्ने ?’

मलाई पनि कडा स्वरमा जवाफ दिन मन थियो, ‘देशले गणतन्त्र, संघीयता, धर्म, निरपेक्षता, समावेशी-समानुपातिक व्यवस्था अनि संविधानको कागजमै भए पनि मौलिक अधिकारको रुपमा शिक्षा, स्वास्थ्य, रोजगार पायौं भनेर, तर यी जवाफहरु मनभित्रै लुकाएँ किनकी एउटा राजा हटाएर धेरै छोटेराजाहरु अनि बडे महारानीको कार्यशैली देखेर मलाई गणतन्त्रप्रति गौरव महसुस भइरहेको थिएन ।

नीतिगतरुपमा संघीयता पाए पनि पहिचानको पाँच अनि सामर्थ्यको चार आधार नभएको संघीयताको कुनै औचित्य महसुस भइरहेको थिएन ।

श्यामबाबु गौतम

समावेशिता र समानुपातिक एजेण्डाको कार्यान्वयनको लागि अझै सडक सेलाएको देखिनँ । शिक्षा र स्वास्थ्य क्षेत्रमा क्रोनी क्यापिटलिस्टहरुको बिगबिगी र कागजको खोस्टोमा शिक्षा, स्वास्थ्य, रोजगार मौलिक अधिकार भनेर लेखिनु पूरै हास्यास्पद लागिरहेको थियो । यी सबै विषयलाई मनभित्रै लुकाएर मैले पनि साथीलाई टेढो जवाफ दिएँ, ‘ए साथी १० वर्ष लडेर १७ हजार मान्छे मरे । अब किन लड्ने भन्ने हो भने पछिल्लो १९ वर्षमा सवारी साधन दुर्घटनामा झण्डै २२ हजार मान्छे मरे । के अब सवारी साधन चलाउनै छोड्ने त ?’

यति भनेपछि साथीले जवाफ दिए, ‘नेताजीसँग कुरा गरेर नसिकने भइयो !’

हुन त म पनि लडौं भनेर कसैसँग पनि अपिल गर्न चाहन्नँ । किनकी मलाई थाहा छ- लडाई चलिरहेकै छ । डा. गोविन्द केसीहरु अनशनमार्फत् लडिरहेका छन् । रवि लामिछानेजस्ता युवाहरु मिडियाको सदुपयोग गर्दै लडिरहेका छन् । महावीर पुनहरु अभावका बावजुद पनि आविस्कारको क्षेत्रमा नयाँ योगदान दिन लडिरहेका छन् । अभावैअभावको घेरलाई तोडेर जीवन शर्माहरु संगीतमार्फत् लडिरहेका छन् । धुर्मुस-सुन्तलीहरु निर्माणको निम्ति लडिरहेका छन् र थुप्रै खगेन्द्र संग्रौलाहरु कलममार्फत् लडिरहेकै छन् ।

आज लडिरहेका साथीहरुको मात्र कुरा भएन । हिजो लडेर आएका योद्धाहरु पनि निरन्तर लडिरहेकै छन् ।

साथीहरुलाई बेला-बेला प्रश्न गर्छु-

कालापानी, लिपुलेक, लिम्पियाधुरा वा भारतले कब्जा गर्‍यो । आफ्नो सेना राख्यो र भारतको भूमि भनेर नक्सा सार्वजनिक गर्‍यो । ठिक भो त ?

एनसेल प्रकरण, बालुवाटार जग्गा काण्डदेखि यति प्रकरणसम्मका लेखिसाध्य नभएका भ्रष्टचाचार हुनु ठिक हो त ?

निर्मला पन्तलगायत दर्जनौं बलात्कार र हत्याकाण्डका दोषीहरु पत्ता नलाग्नु र राज्यद्वारा संरक्षित हुनु ठिक हो त ?

शिक्षा, स्वास्थ्य क्षेत्रका व्यापारीकरण, माफियाकरण, विश्वविद्यालयमा दलीय भागवण्डा लगायतका लाखौं समस्या हुनु ठिक हो त ?

थारु अधिकार प्राप्तिको लागि लडेको योद्धा रेशम चौधरी जेल बस्नुपर्ने, फरक राजनीतिक आस्था बोकेकै कारण विप्लव नेतृत्वको नेकपा प्रतिबन्धित हुनुपर्ने र लोकतन्त्रको व्याख्या गरेर कहिल्यै नथाक्ने राज्य सञ्चालकहरुले फरक विचार राखेकै कारणले हत्या र धरपकड गर्नु ठिक हो त ?

चुनाव जित्न करोडौं खर्चनुपर्ने, न्यायालय/ब्युरोक्रेसी सबै सेटिङमा चल्ने, खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसलले जस्तो प्रधानमन्त्री छाने पनि तीबाट शासित हुनुपर्ने, रेमिट्यान्सको भरमा देश चल्नुपर्ने युवाहरु जेलमा विमानमा गएर बाक्सामा फर्किनुपर्ने अनि सुन साइली ४० कटेसी रमाउँला भनेर गीत गाउँदै बस्नुपर्ने ! यस्तै यस्तै लेखिसाध्य नभएका हजारौं अन्याय सहेर बस्नु ठिक हो त ?

यी सबै प्रश्न सुनेपछि साथीहरु भन्छन्- यो त ठिक छैन ।

अरे यार ठिक छैन पनि भन्ने अनि हामी सडकमा आगो बाल्छौं भन्दा यिनीहरुले कहाँ आगो बाल्छन्, जाडोमा आगो ताप्न आउनुपर्‍यो भनेर व्यङ्ग्य गर्ने ?

‘फुटाउ र शासन गर’ मान्ने शासकहरु अहिले ‘डाइभर्ट एण्ड रुल’ को बाटोमा लागेर आफ्नो शासनसत्ता टिकाउने दिवा सपना बोकेर हिंडेका छन् । ठूलठूला शब्दको सपना बाँढ्ने अनि जनताको आधारभूत जीवनसँग खेलवाड गर्ने इदि अमिनको जस्तो बर्बर मुहार बोकेका वर्तमान शासकहरु लाखौं आर्मी-पुलिस, बम-बारुद, भ्रष्टाचार गरी कमाएका अर्बौं सम्पत्ति भएर पनि यिनीहरु हामी युवासँग डराउँछन् । यिनीहरु यसकारणले डराउँछन् कि एकदिन सम्पूर्ण युवाहरु यिनीहरुसँग डराउन छाड्नेछन् भनेर डराउँछन् । त्यसकारण हाम्रो दायित्त्व हो- आउनुहोस् राष्ट्र र राष्ट्रियताका लागि लडौं ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय