राष्ट्रियसभा उम्मेदवार र सभामुख टुङ्ग्याउन नेकपा सचिवालय बैठक बस्दै
काठमाडाैं, १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर पछि
बैठक बस्नेछ । बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार र सभामुख पदको उम्मेदवार छनोटका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
यस विषयमा बिहिबारको सचिवालय बैठकमा पनि छलफल भएको थियो । तर कुनै निष्कर्ष निस्कन नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवारको टुङ्गो लगाउनु पर्नेछ ।
बिहिबारको बैठकमा सभामुख पदको उम्मेदवार छनोट गर्ने विषयमा छलफल नभएकाले आजको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । तत्कालिन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेपछि सभामुख पद रिक्त छ । सभामुख छनोट गर्न नसक्दा संसदको हिउँदे अधिवेशनसमेत प्रभावित भएको छ ।
सभामुख पदका लागि पूर्वएमालेबाट सुवास नेम्वाङ र पूर्वमाओवादीबाट अग्नि सापकोटाको नाम चर्चामा रहेको छ । उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले पनि आफू सभामुख बन्नुपर्ने दाबी गरिरहेकी छन् ।