scheduleबिहिवार माघ ९ गते, २०७६

‘डोनाल्ड ट्रम्प सुट लगाएर हिड्ने आतंककारी हुन्’

एजेन्सी, २० पुस । इरानले अमेरिकी राष्ट्रपतिलाई ‘टेरोरिष्ट इन अ सुट’ अर्थात् सुट लगाएर हिड्ने आतंककारी भनेको छ । इरानका एक वरिष्ठ मन्त्रीले ट्रम्पलाई सुटधारी आतंककारी भएको आरोप लगाएका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ स्थान अमेरिकी निसानामा रहेको बताएपछि इरानका सूचना तथा सञ्चारमन्त्रीले उनलाई ‘सुट लगाएका आतंककारी’ भनेका छन् ।

‘आईएसआईएस, हिटलर, जेगिज सबैले संस्कृतिलाई घृणा गर्थे । ट्रम्प पनि त्यस्तै खाले मानिस हुन्, उनी सुट लगाएका आतंककारी हुन् । उनले केही समयमा नै महान इरानी नागरिक र संस्कृतिलाई कसैले पनि पराजित गर्न सक्दैन भन्ने बुझ्नेछन्’, सञ्चारमन्त्री मोहम्मद जाभाद अजेरी जहरोमीले भने ।

यता शनिबार राति इराकस्थित अमेरिकी दूताबासमा भएको रकेट हमलापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ वटा स्थानमा हमला गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाले इरानका ५२ वटा ठेगाना पहिचान गरेको र अमेरिकी सम्पत्ति वा नागरिकमाथि कुनै हमला भए ती ठेगानामा हमला गर्ने चेतावनी दिएका हुन् ।

शुक्रबार अमेरिकी हवाइ कारबाहीमा इरानका वरिष्ठ जनरल कासिम सुलेमानीको ज्यान गएपछि शनिबार राति बगदादस्थित अमेरिकी दूताबास तथा अमेरिकी सेनाको बलाद एयर बेसमा इरान समर्थित मिलिसियाले रकेट हमला गरेका थिए ।

शनिबार राति बगदादस्थित उच्च सुरक्षा घेरामा रहेको ग्रिन जोनमा भएको रकेट हमलामा अमेरिकी सेनातर्फ कुनै हताहती भएको छैन । इरान समर्थित मिलिसियाले प्रहार गरेका रकेट ग्रिन जोनको सेलिब्रेशन क्षेत्रमा खसेका थिए ।

तर केही इराकीहरु घाइते भएको बताइएको छ । दूताबास नजिकै रकेट हमला भएपछि ट्रम्पले ५२ वटा इरानी ठेगानामा हमला गर्ने चेतावनी दिएका हुन् ।

फ्लोरिडामा विदा मनाइरहेका ट्रम्पले ट्विटरमार्फत् चेतावनी दिँदै भनेका छन्- ‘५२ वटा इरानी ठेगाना (धेरै वर्ष पहिला इरानले बन्दी बनाएका ५२ जना अमेरिकीको प्रतिनिधित्व गर्ने) जसमध्ये केही निकै उच्च स्तरका र इरान तथा इरानी संस्कृतिका लागि महत्वपूर्ण मानिएका ठेगानामा निकै कडा र तीव्र हमला हुनेछ । अमेरिकाले थप धम्की चाहँदैन ।’

त्यस्तै कासिम सुलेमानीलाई मारेर अमेरिकाले संसारलाई आतंकवादी नेताबाट मुक्त गरेको समेत बताएका छन् ।

पछिल्लो समय बगदादस्थित अमेरिकी दूताबास तथा इराकमा रहेका ५ हजार २ सय अमेरिकी सेनामाथि रकेट हमला हुँदै आएको छ । रकेट हमलामा इरान र इरान समर्थित मिलिसियाको हात रहेको अमेरिकाको आरोप छ ।

गत महिना उत्तरी इराकमा भएको रकेट हमलामा परी एकजना अमेरिकी ठेकदारको ज्यान गएको थियो भने कैयौं अमेरिकी सैनिक घाइते भएका थिए ।

लगत्तै अमेरिकाले इरान निकट शिया मिलिसियाको एक अखडामा हमला गरेको थियो । उक्त हमलामा २५ जना लडाकु मारिएपछि मिलिसियाहरुले इराकस्थित अमेरिकी दूताबासमा आक्रमण र तोडफोड गरेका थिए ।

दूताबासमा तोडफोड भएपछि अमेरिकी सेनाले शुक्रबार इरानी कुद्स फोर्सेसका कमाण्डर कासिम सुलेमानी र इराकी अर्धसैन्य बलमा प्रमुख अबु महदी अल मुहान्दिस चढेको सवारी लस्करमाथि ड्रोन हमला गरेको थियो ।

अमेरिकी ड्रोन हमलामा सुलेमानी र मुहान्दिससहित ५ जनाको ज्यान गएपछि इरान र अमेरिकाबीचको तनाव थप उत्कर्षमा पुगेको छ । इरानले अमेरिकासँग सुलेमानीको हत्याको बदला दिने चेतावनी दिइसकेको छ ।

यता बेलायत, युरोपेली युनियन र ओमनले दुबै पक्षलाई संयमित हुन आग्रह गरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय