scheduleमगलवार माघ १४ गते, २०७६

‘सभापति देउवा पार्टी फुटाउन चाहनुहुन्न भन्ने विश्वास छ’

जगदीश्वर नरसिंह केसी

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसको संस्थापन पक्षले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट पक्षले सोमबार काठमाडौंमा जिल्ला सभापतिहरुको परामर्श बैठक बोलाएको छ । ५१ जिल्लाका सभापतिहरु सहभागी परामर्श बैठक मंगलबारसम्म चल्नेछ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र कृष्ण सिटौला लगायत अहिले सभापति शेरबहादुर देउवा समूहविरुद्ध एकीकृत भएका छन् । सोमबार बोल्ने सबै सभापतिहरुले ११ गते देउवा समूहले गरेको एकलौटी निर्णय खारेज हुनुपर्ने धारणा राखेका छन् ।

सोही परामर्श बैठकमा सहभागी हुन काठमाडौं आएका नुवाकोट सभापति जगदीश्वर नरसिंह केसीले राखेको विचारको सम्पादित अंश प्रस्तुत गरेका छौं-

 
नेपाली कांग्रेसमा बितेको दुई हप्तामा पार्टीभित्र विकसित नयाँ परिस्थितिबारे वरिष्ठ नेता रामचन्द्र पौडेले विस्तृतमा विषय राख्नुभयो । अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भयो । पार्टी सभापतिले पार्टीको विधानको पाँच/छ वटा दफा/धाराहरुलाई निलम्बन गरिदिनुभएको छ । यो निलम्बन गर्नु विधानअनुसार आफैंमा अवैधानिक र अलोकतान्त्रिक छ । फेरि हामी १४औं महाधिवेशनको संघारमा छौं । १४औं महाधिवेशनको संघारमा प्रवेश गर्ने पार्टीले पार्टीभित्रका हरेक निर्णयहरु पारदर्शी हुनुपर्छ, विश्वसनीय हुनुपर्छ । एकताका साथ जानुपर्छ । सबैको सहमतिका साथ पार्टीको महाधिवेशनमा प्रवेश गर्ने हो ।

तर पार्टीको केन्द्रीय समितिबाट जसरी एकलौटी हिसाबले एउटा गुटका हिसाबले केन्द्रीय समितिले कार्यतालिका समेत ल्यायो र विधानका केही धाराहरु निलम्बित गर्‍यो, यसले पार्टीमा भयंकर ठूलो आशंका पैदा भएको छ । पार्टीमा एकथरी पार्टीका नेताहरुलाई समाप्त गर्ने र पार्टीलाई कब्जा गर्ने मात्रै षड्यन्त्र र नियत हो कि भन्ने देखिन थालेको छ ।

यो विषयमा वरिष्ठ नेताज्यूले आफ्नो विषय राख्नुभएको छ । महामन्त्रीज्यूले राख्नुभयो र वार्ता टोलीको संयोजकको नाताले प्रकाशमान सिंहज्यूले वार्ताका लामो विषयहरु राख्नुभयो । यी सबै विषयवस्तु पछि अहिले सभापतिहरुको बोल्ने क्रम जारी छ ।

आजै बैठकले केही निर्णय गर्दैन । भोलि पनि सभापतिहरुको परामर्श बैठकले निरन्तर छ । हामी भोलिको बैठकले केही सुझावहरु अहिलेको सन्दर्भमा अबको दिनमा नेपाली कांग्रेस कसरी जानुपर्छ ? पार्टी एक कसरी बनाउनुपर्छ ? पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्छ । त्यसको लागि हाम्रो पार्टीको सभापतिज्यूलाई हामी सुझाव दिन्छौं ।

कुनै पनि पार्टीका नेता र नेतृत्वले पार्टीको विधानलाई कहीँपनि उल्लंघन गर्ने, मिच्ने, कुल्चने, किच्ने काम नगरोस् । विधानलाई अक्षरशः पालना गरोस् भन्ने हाम्रो पहिलो निचोड हुन्छ । किनभने यही थलोमा हामीले महासमितिको बैठक बस्यौं । त्यो महासमितिको बैठकबाट भएका निर्णयलाई यही केन्द्रीय समितिको बैठकले लत्याउने काम भयो । र, त्यही केन्द्रीय समितिको बैठकको निर्णयको मसी सुक्न नपाउँदै यही केन्द्रीय समितिले विधानहरुको धारा निलम्बित भए ।

यी सबै कारणहरु एकातिर छन् भने नेपाल विद्यार्थी संघको विधानको बारे हामीले पहिलो चोटि नेविसंघले दिएको विधानलाई पार्टीले संशोधन गरेको पहिलोचोटि हो । नत्र नेविसंघले जे विधान दिन्थ्यो, त्यसलाई पार्टीले अनुमोदन गर्ने काम गर्थ्यो तर, यसपटक पार्टीको ३२ वर्षको दायरा उल्लंघन गर्‍यो । हामी ३२ वर्षको दायरा मानेर ३० जिल्लाको अधिवेशन सम्पन्न गर्ने, केन्द्रीय समितिको गठन गर्न चाहिँ ५० वर्षको केन्द्रीय समितिमा ल्याउने काम गर्‍यौं भने त विधानलाई मिच्ने काम त्यहीबाट सुरु भइसक्यो । त्यसकारण, पार्टीले आफैंले गरेको निर्णय र विधानलाई मिचेर अगाडि नबढोस् भन्ने कुरामा सबै सभापतिहरुको जोड छ ।

११ गतेको केन्द्रीय समितिको निर्णयहरु फिर्ता हुनुपर्छ । पार्टीभित्र वार्ता, सहमति र एकताका साथ १४औं महाधिवेशनको कार्यतालिका सहमतिका साथ प्रस्तुत हुनुपर्छ । त्यो कार्यतालिकाले अर्को वर्षको फागुन महिना जानुपर्दैन ।

हामीले सभापतिलाई आग्रह गर्ने हो । अनुरोध गर्ने हो । विनम्रताका साथ । किनकी उहाँ हाम्रो पनि नेतृत्व हो, सभापति हो । अहिले जुन निर्णय भयो त्यो कुन आवेगका आएर उहाँलाई कसको दबावमा परेर गर्नुभयो थाहा छैन । उहाँलाई पनि यो पार्टीलाई बिगार्न, यो पार्टीलाई फुटाउन, यो पार्टीलाई टुटाउने रहर त छैन । यति ठूलो कांग्रेस पार्टीको सभापतिलाई यस्तो चाहना छैन । नहुँदानहुँदै उहाँ कोबाट प्रभावित हुनुभयो, उहाँका केही चंगुलबाट प्रभावित हुनुभयो । उहाँ यो फिर्ता लिनको लागि आतुर हुनुहुन्छ । यहाँ ५१ जिल्लाका सभापतिहरुको बैठक बसिरहेको छ । उहाँहरुको कुरालाई पनि उहाँले नसुने कसको कुरा सुन्ने त ?

त्यसकारण मलाई लाग्छ, यो परामर्श बैठकको सुझावपछि केन्द्रीय समितिको ११ गतेको बैठकका निर्णयहरु उहाँले फिर्ता लिएर सहमतिका साथ वार्ताबाट समस्याको हल गर्दै अगाडि बढ्नुहुन्छ भन्ने कुरामा म पूर्णरुपले विश्वस्त छु ।

 

यो पनि-

पौडेल निकट जिल्ला सभापतिहरुको देउवा समूहसँग ४ बुँदे ध्यानाकर्षण (पत्रसहित)
पौडेल समूहको कब्जामा कांग्रेस मुख्यालय, जिल्ला सभापति भेला जारी
default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय