scheduleमगलवार फाल्गुन १३ गते, २०७६

बुद्धको पैतालाको त्यो निसान, जसले ज्योतिषीलाई अचम्मित बनायो

असारको महिना गर्मी निकै थियो । यसै क्रममा भगवान गौतम बुद्ध आफ्ना शिष्यहरुको साथमा भ्रमणमा निस्किएका थिए । मरभूमि जस्तो भू-भागको सो बाटोमा बोट-विरुवा केही थिएन, थियो त केवल बालुवा नै बालुवा । त्यहाँ बुद्ध र उनका शिष्यहरु हिँड्दा पैतालाको निसान बालुवामा प्रस्टैसँग बसेको थियो ।

यसैक्रममा एक शिष्यले पर एउटा ठूलो रुख देखे । लामो समय खाली खुट्टाले बालुवामा हिँडेका उनीहरु विश्रामका लागि त्यही रुखको छहारीमा पुगे । बुद्धसहित सबै शिष्यहरु छहारीमा आराम गरिरहेका थिए । त्यसैक्रममा उनीहरुको पछि-पछि एक ज्योतिषी आउँदै रहेछन्, जो सोही बाटो हुँदै आफ्नो घर जाँदै थिए ।

यसैक्रममा उनले बालुवामा मानिसको पैतालाको एउटा निसान देखेछन् । ज्योतिष विज्ञानमा निकै पोख्त ति ज्योतिषी सो निसान देखेर अचम्मित भए । यसौँ वर्षमा यस्तो निसान उनले कसैको देखेका थिएनन्, यसबारे पढेका मात्र थिए । सोही कारण पनि उनी त्यही पैतालाको निसानलाई पछ्याउँदै बाटो नै छाडेर रुखको छहारीमा आइपुगेका रहेछन् ।

उनले सोचेका थिए यो चिन्ह कुनै चक्रवर्ती सम्राटको हुनुपर्छ । तर, आफ्नो अघि सन्यासी र उनका शिष्यहरुको एक हुल देखेर उनी अचम्ममा परे । उनलाई विश्वास नै लागेन कि पैँतालामा त्यस्तो निसान भएको व्यक्ति पनि सन्यासी हुनसक्छ ।

उनले बुद्धलाई अझै नजिकबाट नियाले । अनुहारमा दिव्य कान्ति थियो । ति ज्योतिषीले हात जोडेर निवेदन गरे, ‘तपाइँको पैतालामा जुन पद्म चिह्न छ, यो निकै दुर्लभ छ । सदियौँमा कुनै भाग्यशाली व्यक्तिमा मात्रै यस्तो चिन्ह हुन्छ । हाम्रो ज्योतिष विद्याले भन्छ, यस्तो चिन्ह भएको व्यक्ति त चक्रवर्ती सम्राट नै हुनुपर्छ । तर तपाइँ त सन्यासी पो ….. !’

त्यसपछि बुद्धले हँसिलो मुद्रामा जवाफ दिए, ‘कुनै समय तपाइँको यो ज्योतिष विद्याले काम गर्थ्यो । अहिले म यी सबै बन्धनबाट मुक्त भइसकेको छु ।’

यसबाट हामीले के सिक्न सक्छौँ भने जब मानिस सबै बन्धनहरुबाट मुक्त हुन्छ, तब त्यहाँ न त कुनै विद्या, न त ज्योतिष विज्ञानले नै काम गर्छ । यी कुराहरुलाई मानिसले गर्ने कर्मले नै निर्धारण गर्छ ।

 

(यो प्रसंग भारत वर्षमा निकै प्रचलित किम्बदन्तीमा आधारित छ । यसबाट शिक्षा लिन सकिने भएकाले प्रकाशित गरिएको हो – सम्पादक)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय