scheduleबुधवार जेष्ठ १४ गते, २०७७

सेना फिर्ता गर्ने विषयमा ह्वाइट हाउस र इराकस्थित अमेरिकी कमाण्डरबीच मतभेद

एजेन्सी, २२ पुस । इराकबाट अमेरिका सेना फिर्ता गर्ने वा नगर्ने भन्नेबारे ह्वाइट हाउस र इराकस्थित अमेरिकी कमाण्डरबीच मतभेद देखिएको छ ।

इराकस्थित अमेरिकी सेनाका प्रमुख ब्रिगेडिअर जनरल विलियम सीलीले इराकका जोइन्ट अपरेशन कमाण्डका प्रमुखलाई अमेरिकी सेना इराकबाट फिर्ता हुँदैछ भन्दै एक पत्र पठाएपछि ह्वाइट हाउस र फिल्डमा कार्यरत सेनाबीच मतभेद देखिएको हो ।

Dish_Home

अमेरिकी रक्षामन्त्रालयले जनरल सीलीको पत्रलाई खण्डन गरेको छ । रक्षामन्त्रालयले इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछ भन्ने कुरालाई अस्वीकार गरेको हो ।

ब्रिगेडिअर जनरल सीलीको पत्रलाई अस्वीकार गर्दै अमेरिकी रक्षामन्त्री मार्क एस्परले इराकबाट आफ्ना सेना फिर्ता हुने कुनै योजना नभएको प्रष्ट पारेका छन् ।

‘सेनाले इराक छोड्नेबारे कुनै निर्णय भएको छैन’, एस्परले भने । फिल्डमा रहेका कमाण्डरले पेश गरेको पत्रको आशय बुझ्ने प्रयास गरिरहेको समेत उनले बताए ।

त्यस्तै एकजना अमेरिकी सैन्य जनरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् इराकबाट फौज फिर्ता गर्ने बेला नभएको स्पष्ट पारेका छन्।

जनरल विलियम सीली

जोइन्ट चिफस् अफ स्टाफका अध्यक्ष जनरल मार्क मिलेले सञ्चारकर्मीसँग कुरा गर्दै इराकबाट अमेरिकी सेना फिर्ता गर्ने समय आई नसकेको बताएका हुन् । सीलीले पेश गरेको पत्र ड्राफ्ट मात्रै भएको, पत्रको भाषा नमिलेको र गल्तीले पठाइएको जनरल मार्कको भनाइ छ । ‘यो एउटा गल्ती हो, पत्रमा हस्ताक्षर गरिएको छैन र यसलाई सार्वजनिक गर्नु हुँदैन्थ्यो’, उनले भने ।

कमाण्डर सीलीले लेखेको पत्रमा अमेरिकाले “आगामी दिन र साताहरूमा फौजलाई स्थानान्तरण गर्ने” उल्लेख गरिएको छ। उनले इराकी संसदले इराकबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने भनी संकल्प प्रस्ताव पारित गरेपछि उक्त पत्र लेखेका थिए ।

अमेरिकी रक्षामन्त्री एस्परले भने उक्त पत्र ‘हालको अमेरिकी अडानसँग नमिल्ने” बताएका छन्।

फिल्डमा खटिएका कमाण्डर र रक्षामन्त्रालयबीच मतभेद देखिएपछि इराकस्थित अमेरिकी सेना फिर्ता हुने वा नहुने भन्नेबारे थप अन्यौलता सिर्जना भएको छ ।

अमेरिकी हवाइ हमलामा वरिष्ठ इरानी जनरल कासिम सुलेमानीमा मारिएपछि इराकमा रहेका अमेरिकी सेनामाथि समेत खतरा उत्पन्न भएको छ । सुलेमानीको हत्यापश्चात् मध्यपूर्व क्षेत्रमा तनाव चुलिएको छ ।

इरानले अमेरिकासँग जनरल सुलेमानीको हत्याको कडा बदला दिने बताएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय