scheduleबिहिवार माघ ९ गते, २०७६

प्रधानमन्त्री अदिल महदीः जसले इराकी मात्रै होइन, विदेशी सेनाको पनि ज्यान जोगाए

एजेन्सी, २३ पुस । इरानले इराकस्थित २ वटा अमेरिकी सैन्य अखडामा शक्तिशाली मिसाइल हमला गरेको छ ।

पछिल्लो विवरण अनुसार उक्त हमलामा परी हालसम्म मानवीय क्षति भएको छैन । तर इर्बिल र अल असदमा रहेका अमेरिकी हवाइ अखडामा भने ठूलो क्षति भएको छ ।

अमेरिकी समाचार संस्था सिएनएनले पनि इरानी मिसाइल हमलामा कुनै मानवीय क्षति नभएको जनाएको छ । सिएनएनले अमेरिकी तथा इराकी स्रोतलाई उदृत गर्दै कुनै मानवीय क्षति नभएको बताएको हो ।

इरानले हमलाबारे इराकलाई पूर्व सूचना दिएकाले पनि मानवीय क्षति नभएको हो ।  इराकी प्रधानमन्त्रीले मिसाइल हमलाबारे इरानले आफूलाई पूर्व जानकारी गराएको बताइसकेका छन् ।

प्रधानमन्त्री अदिल अब्दुल महदीले इरानबाट आफूले मिसाइल हमलाबारे मौखिम सूचना पाएको बताएका हुन् । जनरल सुलेमानीको हत्याको बदलामा केही समयमा नै कारबाही सुरु गर्न लागेको भनेर इरानले आफूलाई भनेको महदीले एक विज्ञप्ति मार्फत् जानकारी गराएका छन् ।

त्यस्तै इरानले अमेरिकी सेनामाथि मात्रै हमला गर्ने भनेर सूचना दिएको समेत इराकी प्रधानमन्त्रीको भनाइ छ । तर हमला गर्ने स्थानबारे इरानले नबताएको पनि महदीले प्रस्ट पारे ।

इरानबाट हमला हुने सूचना पाएलगत्तै महदीले इराकी सुरक्षाबललाई सतर्क हुन भनेका थिए । इरानबाट प्राप्त सूचना अमेरिकी सेनालाई समेत बेलैमा पुगेको र उनीहरु जमिनमुनिका बंकरमा गएर आफूलाई सुरक्षित पारेको बताइएको छ ।

प्रधानमन्त्री महदीले हाल मध्यपूर्वमा खतरनाक अवस्था सिर्जना भएको र यसले उक्त क्षेत्रसहित विश्वभर युद्ध निम्त्याउने समेत चेतावनी दिएका छन् ।

तर मिसाइल हमलामा परी कम्तिमा पनि ८० अमेरिकी मारिएको इरानी समाचार माध्यमले जनाएका छन् । इरानको सरकारी टेलिभिजनले कम्तिमा पनि ‘८० जना अमेरिकी आतंककारी’ मारिएको जनाएको छ । १५ वटा मिसाइल हमलाबाट अमेरिकी हेलिकप्टरसहित महत्वपूर्ण उपकरणमा गम्भीर क्षति भएको समेत समाचारमा बताइएको छ ।

यद्यपि, इरानबाट प्राप्त उक्त समाचारलाई अन्य स्रोतले भने अझै पुष्टि गर्न सकेको छैन ।

इरानले आफ्ना वरिष्ठ जनरल कासिम सुलेमानीको हत्याको बदला लिने घोषणा गरेसँगै इरानले इराकमा रहेको अमेरिकाकाे सैनिकको बेसक्याम्पमा कैयौं ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो ।

अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

गएको शुक्रबार इराकको राजधानी बग्दाद स्थित विमानस्थलबाट बाहिरिने क्रममा अमेरिकाले गरेको हवाई आक्रमणमा सुलेमानीको मृत्यु भएको थियो । इरानले सुलेमानीको हत्याको बदला लिने चेतावनी दिइसकेको छ ।

साथै इरानको सैन्य बल इस्लामिक रिभोलुस्नरी गार्ड कर्पले इरानमाथि पुनः हमला भए युएईको दुबई र इजरायलले हाइबामाथि हमला गर्ने बताएको छ ।

‘अमेरिकाले गरेका अपराधमा इजरायली सत्ता पृथक छैन’, इरानको सैन्य बललाई उदृत गर्दै तास्निमले लेखेको छ, ‘अमेरिकाको रक्तपिपासु र दम्भी सत्ता अर्थात सबैभन्दा ठूलो शैतानलाई चेतावनी दिन चाहन्छौं- यदि इरानमाथि थप हमला वा दुष्ट कारबाही भएमा हामीले पीडादायी र सशक्त जवाफ दिनेछौं ।’

यता इरानका सर्वोच्च नेता खोमिनीले बुधबार इराकस्थित २ वटा अमेरिकी सैन्य अखडामा हमला भएको मिसाइल हमलालाई ‘अमेरिकाका लागि झापड’ भएको बताएका छ्न् ।

इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खोमिनीले मिसाइल हमलालाई ‘अमेरिकाका लागि झापड’ भएको बताएका हुन् ।

बुधबार टेलिभिजनबाट सम्बोधन गर्दै खोमिनीले भने, ‘हिजो राति हामीले उनीहरुलाई झापड हान्यौं ।’ ‘यो क्षेत्रबाट भ्रष्ट अमेरिकी उपस्थितिको अन्त्य हुनुपर्छ’, सैन्य प्रतिकार मात्रै पर्याप्त नभएको भन्दै उनले थपे ।

अमेरिकी राष्ट्रपति ट्रम्पले हमलालगत्तै गरेको ट्विटले समेत कुनै मानवीय क्षति नभएको संकेत गरेको जस्तो देखिन्थ्यो । ‘अल इज वेल, इरानी आक्रमणले भएको हताहती र नोक्सानीको मूल्यांकन भइरहेको छ । हामीसँग संसारकै शक्तिशाली र उन्नत हातहतियार भएको सेना छ । भोलि बिहानसम्म मैले कुनै महत्वपूर्ण विज्ञप्ति दिने छु’, ट्रम्पले आफ्नो ट्विटमा लेखेका छन् ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय