scheduleसोमवार फाल्गुन १२ गते, २०७६

एक योगी जसले विश्वविजेता सिकन्दरलाई झुकाए (प्रेरक प्रसंगसहित)

विश्वविजेत अलेक्जेन्डर द ग्रेट सिकन्दर जब भारत आइपुगे, उनको भेट एउटा योगीसँग भयो । उनीहरुको भेट बडो रमाइलो र विचित्रको बन्यो । जब योगीले सिकन्दरलाई देखे, उनी जोडतोडले हाँस्न थाले ।

आफूलाई हेरेर योगी जोडतोडले हाँसेको देखेर सिकन्दरलाई अनौठो लाग्यो । उनले आफ्नो अपमान भएको सम्झिए । उनले आँखा तरेर योगीलाई हेरे । यस्तो देखेर योगी त झन जोडले हाँस्न थाले ।

सिकन्दरको रिसले सीमा नाघ्न लाग्यो । तर उनले आफूमाथि नियन्त्रण गरे किनकी अगाडि एउटा योगी थिए । उनले योगीलाई भने, ‘सायद तिमीले मलाई चिन्दैनौ वा तिम्रो मृत्यू नजिक आएको हो । तिमीलाई थाहा छैन, म विश्वविजेता सिकन्दर हुँ ।’

सिकन्दरको यस्तो कुरा सुनेर योगी झन जोडले हाँस्न थाले । उनले भने, ‘मैले त  तिमीमा त्यस्तो केही महानता देखिनँ । मैले त तिमीलाई एकदमै दुःखी र दरिद्र देखिरहेको छु ।’ सिकन्दरले तत्काल भने, ‘तिमी बौलायौ कि के हो ? मैले संसार जितिसकेको छु । यस्तो कोही छैन, जो मेरो अगाडि आएर नझुकी रहन सकोस् ।’

योगीले ढिलो नगरी शान्त भएर भने, ‘यस्तो केही होइन । म तिमीलाई राम्रोसँग चिन्दछु । तिमी अहिले पनि एक जनसाधारण नै हौ । तर पनि तिमी भन्छौ नै भने म मानिदिउँला । तर अनुमति दिन्छौ भने म तिमीलाई एउटा प्रश्न गर्न चाहन्छु ।’

सिकन्दरले शान्त भएर भने, ‘ठीक छ, भन ।’ योगीले भने, ‘मानौं कि तिमी कुनै मरुभूमिमा हराइरहेका छौ । महिनौं घुम्दा पनि तिमीले न निकास भेटेका छौ न पानीको थोपा । न हरियाली छ न कतै अरु मान्छे । त्यतिबेला तिमीलाई कसैले एक गिलास पानी दियो भने तिमी उसलाई के दिन्छौ ?’

सिकन्दरले केही समय सोचेर भने, ‘म आफ्नो आधा राज्य दिन्छु ।’ योगीले पुनः सोधे, ‘यदि उसले आधा राज्यले मानेन भने के गर्छौ ?’

सिकन्दरले भने, ‘त्यस्तो खराब अवस्थामा त म उसलाई आफ्नो पूरै राज्य नै दिनेछु ।’ योगीले हाँस्दै भने, ‘तिम्रो राज्यको मूल्य त एक गिला पानी मात्रै रहेछ । तर तिमी त्यही राज्यको लागि यतिसाह्रो घमन्ड गर्दछौ । सिकन्दर तत्काल योगीको पाउमा झुके ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय