scheduleबिहिवार माघ ९ गते, २०७६

सडकबाट तागत दिनुस्, संसदमा ओलीलाई घुँडा टेकाउँछौं

गगन थापा

२०६० माघ १९ गतेको दिन बिहान करिब ८/साढे ८ बजेतिर प्रदीप पौडेल लगायत केही साथीहरु गिरिजाप्रसाद कोइरालालाई के हुन्छ आज भनेर सोध्न महाराजगञ्ज गएका थियौं । गिरिजाबाबुलाई भेट्न पाउनुभन्दा पहिला नै त्यहाँ हामीले प्रहरीको ठूलो चहलपहल देख्यौं । केहीबेरमा राजाको सम्बोधन हुने भन्ने कुरा सुनियो । गिरिजाप्रसाद कोइरालाको निवासलाई प्रहरीले पूर्णरुपमा घेर्‍यो । हामी भित्र छिर्नै खोज्दा उल्टो प्रहरीले हामीलाई समात्न खोज्यो । हामी बाहिर आएर हाम्रो साथी रमेश रायमाझीको मोटरसाइकलमा चढेर प्रदीप र म दुवैजना त्यो ठाउँ छाडेर गयौं ।

सामाकोशीको एउटा कोठामा बस्यौं । घरको परिवारको सदस्य साथीहरुसँग कुराकानी गर्न खोज्यौं । केहीबेरमा टेलिफोन काटियो । हामीले कतै पनि कुरा गर्न पाएनौं । के भइरहेको छ बाहिर केही थाहा पाउन सकेनौं । नवीन्द्रराज जोशी २०४६ सालभन्दा अगाडि पञ्चायतकालमा नेपाल विद्यार्थी संघमा लामो समय काम गरेर आउनुभएको अग्रज दाई हुनुहुन्छ । यस्तो अवस्थाको अनुभव दाईलाई थियो ।

०४७ र ०४८ मा एसएलसी दिएको प्रदीप र मलाई वास्तवमै त्यस्तो अनुभव थिएन । माओवादीले बोल्न नदिएको ठाउँका साथीहरुको छुट्टै अनुभव थियो । हामी काठमाडौंमा हुर्किरहेका मानिसलाई साँच्चिकै बोल्न नपाउँदा, कुरा सुन्न नपाउँदा, आफ्नो कुरा सुनाउन नपाउँदा त्यो भनेको खासमा सोच्न नपाउँदा के हुँदो रहेछ भन्ने कुरा पहिलोपटक अनुभव भयो ।

हाम्रो मनमा त्यो कुरा यति दह्रोसँग बस्यो कि यो लडाईं लड्ने हो अब । हाम्रो अधिकारलाई पुनर्स्थापित गरेर छाड्ने हो । हामी लड्यौं पनि । हामी जित्यौं पनि ।

लामो राजनीतिक संक्रमणपछाडि आएको स्थिर सरकारले जब भटाभट एकपछि प्रारम्भ गर्‍यो ट्रमा सेन्टरबाट चिकित्सक उठाउने कामबाट । त्यसपछि गर्‍यो अर्को काम उपकुलपतिलाई विमानस्थलमा रोकेर । त्यसपछि पशुपति शर्मा गीत हटाउने गर्ने कुरादेखि लिएर प्रनेश गौतमलाई पक्रेर लिएर जाने कुरादेखि लिएर भिटेनको गीत हटाउन लगाउने कामसम्म, यी सबै कुराहरु जब आए, सरकारले गर्‍यो ।

त्यतिबेला म संसदमा बोल्न उभिँदै गर्दा म त्यही कुरा सम्झिन्थेँ । यो कुनै छुट्टै घटना होइन । यसलाई जोडेर हेर्नुपर्छ । यसलाई जोडेर हेर्‍यो भने घटना होइन, घटना पछाडिको नियत थाहा हुन्छ । त्यतिबेला मलाई लाग्थ्यो- यो घटनाले किन हामीलाई मात्रै पोलिरहेको छ ? त्यहीबीचमा सूचना प्रविधि विधेयक आयो । यो विधेयक आएपछाडि मैले समय मागेर संसदमा बोलेँ । संसदमा बोल्दा पनि समर्थन गर्ने खासै साथीहरु हुनुहुन्नथियो ।


संसदको समितिमा गएर फरक मत राखेँ । फरक मतका लागि लड्यौं हामीहरु । अल्पमत र बहुमत भयो । यत्रो लामो प्रक्रिया भयो । हामीले आज यो विषयमा लड्यौं भनेर बाहिर भन्दै गर्दा पनि खासै तिमीहरुले ठिकै कुरामा लड्यौ भन्ने साथीहरु पनि हामीले भेटेनौं । त्यो बेलामा मलाई लाग्यो, अरु नभए पनि कम्तिमा ०६० सालमा हाम्रो उमेरका विद्यार्थीमा रहेको विद्रोहको आगो पनि मरिसक्यो कि क्या हो ?

आज मैले जिउँदा विद्यार्थीहरुलाई माइतीघर मण्डलामा देख्दै गर्दा कम्तिमा कोही त रहेछ भन्ने मलाई लागेको छ । तपाईंहरु सबैलाई म सलाम गर्न चाहन्छु । तपाईहरुको आजको यहाँको उपस्थिति इतिहासमा लेखिनेछ । किन ? म यसको व्याख्या गर्छु ।

तपाईंहरु आज घरमा गएर संविधान पल्टाएर पढ्नुस् । धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउनेदेखि लिएर धारा ४६ देश निकालाविरुद्धको हकसम्म पुग्दा अधिकार नै अधिकारका कुरा लेखिएका छन् । त्यहाँ खान पाउने हक छ । त्यहाँ घरको हक छ । वातावरणको हक छ । पढ्न पाउने हक छ । स्वास्थ्यको हक छ । सबै कुरा लेखिएको छ ।

यो सबै कुरामा धारा १७ मा लेखिएको एउटा वाक्य हटाइदिनुस् । ‘विचार र अभिव्यक्ति स्वतन्त्रताको हक’ अर्थात् बोल्न पाउने हक । यो एउटा हकलाई माइनस गरेर संविधान एकपटक पढ्नुस् त ! यो संविधान र क्युबाको संविधान, यो संविधान र उत्तर कोरियाको संविधानमा तपाईंले एउटा फरक पनि पाउनुहुन्न ।

सबै ठाउँमा लेखिएको हुन्छ- खानाको हक, नानाको हक, छानाको हक सबै संविधानमा लेखिएको हुन्छ । सबै नेताहरुले यसको वाचा गरेका हुन्छन् । सबै राज्यले यसको सम्झौता गरेको हुन्छ । फरक यति मात्र हो- तपाईंले बोल्न पाउनुहुन्छ । तपाईंले प्रश्न गर्न पाउनुहुन्छ । तपाईंले प्रश्न गर्न पाउने हक खोसिएपछि अरु हकको केही पनि अर्थ रहँदैन । त्यसैले अघि बाबुरामजीले सुरुमा भन्नुभयो- वाक स्वतन्त्रता, विचार अभिव्यक्तिको स्वतन्त्रता हक भनेको सबै अरु अधिकार, मानव अधिकारको मूल हो । स्रोत हो । आधार हो । यो नै भत्कियो भने के बाँकी रहन्छ । यो भत्कियो भने केही पनि बाँकी रहँदैन ।

यो विधेयकको धारा धारामा, दफा दफामा छलफल गर्न तयार छु । माननीय मन्त्रीजीले भन्नुभएछ- विधेयक नपढीकन आयो । यो विधेयकमा कहाँ छलफल गर्ने मन्त्रीजी ? सिंहदरबारमा गर्ने हो ? संसदमा गर्ने हो ? माइतीघर मण्डलामा गर्ने हो कि तिम्रो कार्यालय धुम्बाराहीमा गर्ने हो ? प्रत्येक स्थानमा, दफादफामा, शब्द शब्दमा छलफल गर्न तयार छु ।

नपढीकन आएको होइन । पढेर बुझेर आएको हो । हेप्नी हामीलाई । नपढीकन आयो भन्ने । हामीले बुझेर आएको हो । पढेर आएको हो । यो विधेयकको दफादफामा म जान्नँ । लेखेर तपाईंहरुलाई भन्ने कोशिस गरेका छौं ।

प्रधानमन्त्री केपी ओली यति होल्डिङ्को सीईओ हो भनेर प्रदीपजीले भन्नुभयो । प्रदीपजीले यो बोल्न पाउनुहुन्छ कि पाउनुहुन्न ? हाम्रो संविधानले भन्छ- तपाईंलाई लागेको सबै कुरा गर्न पाउनुहुन्छ । तर, तपाईंले जातजातिका बीचमा खलल पुर्‍याउने कुरा बोल्न पाउनुहुन्न । कुनै पनि धार्मिक सम्प्रदायलाई भड्काउने कुरा बोल्न पाउनु हुन्न । तपाईंले गाली बेइज्जती पनि गर्न पाउनुहुन्न । यो प्रदीपजीले बोलेको कुरा गाली बेइज्जती हो भने माइतीघर मण्डलामा बोले पनि गाली बेइज्जती हो, तल रत्नपार्कमा गएर बोले पनि गाली बेइज्जती हो । बेलुका गएर सामाजिक सञ्जालमा लेखे पनि गाली बेइज्जती हो । गाली बेइज्जती के हो र के होइन भन्ने कुरा संविधानले पनि भनेको छ । कानुनले पनि भनेको छ । हामीले बकाइदा गाली बेइज्जती भयो भने सजायँ के दिने भन्ने कुराको लागि फौजदारी संहिता भनेर कानून बनाएका छौं । यदि यो गाली बेइज्जती हो भने त्यो कानूनले प्रदीपजीलाई गाली बेइज्जतीको मुद्दा लाग्छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो भने के गर्ने भन्ने कुरा पनि त्यहाँ प्रष्टसँग लेखिएको छ ।

त्यसैले सञ्चारमन्त्री वा सरकारका कसैले भनेजस्तो के बोल्न पाइन्छ र के बोल्न पाइँदैन भन्ने कुरा नबुझीकन विधेयकमा बहस गर्न आएको होइन । तर, यो सबै कुरालाई छाडेर अहिले विधेयकमा के लेखिएको छ ? तपाईले जिस्काउन पाउनुहुन्न भनेर लेखिएको छ । त्यसलाई अहिले सुधार गरेर के बनाइएको छ- तपाईंले निरन्तर जिस्काउन पाउनुहुन्न भनेर लेखिएको छ ।

त्यो भनेको के हो ? प्रदीप जीले आज बेलुकी गएर लेख्नुभयो सामाजिक सञ्जालमा । प्रधानमन्त्री जी तपाईं यति कम्पनीको सीईओ हो । एकपटक जिस्काउनु भयो । एकपटक छुट छ । फेरि लेख्नुभयो । तपाईंले निरन्तर जिस्काउनु भएको कारणले गर्दा तपाईंलाई पाँच वर्ष थुनिएको छ । यो कानूनले भनेको यही हो ।

तपाईंले बोल्न पाउनुहुन्न । तपाईंले लेख्न पाउनुहुन्न । अर्थात् तपाईं सोच्न पाउनुहुन्न । यो बोल्न पाउने, लेख्न पाउने, सोच्न पाउने हक कसलाई मात्रै रहन्छ ? सरकार संगठित अरिङ्गालहरुलाई मात्र रहन्छ । यो रातारात आएको होइन । प्रधानमन्त्री बलियो भएर आउनुभएको होइन् । प्रधानमन्त्री लुते भएर आएको हो । प्रधानमन्त्री कायर भएर आएकाे हो । अस्वस्थ प्रधानमन्त्री हुनुहुन्छ । म स्वास्थ्यलाभको कामना गर्छु । तर, तपाईं मलाई सबैलाई थाहा छ, प्रधानमन्त्री प्रत्येक दिन बेलुका दुई घण्टा, तीन घण्टा सामाजिक सञ्जाल पढ्नुहुन्छ । त्यो सामाजिक सञ्जाल पढ्दैगर्दा जब उहाँ देख्नुहुन्छ- उहाँको बारेमा बोलेको, उहाँको बारेमा टिप्पणी गरेको, उहाँलाई प्रश्न गरेको, उहाँलाई आलोचना गरेको । सहनसक्नुहुन्न । म काम गरेर उत्तर दिन्छु । आलोचना गर्नेहरुको मुखहरु म काम गरेर देखाएरै बन्द गरिदिन्छु भन्ने हिम्मत नेपालको प्रधानमन्त्रीसँग रहेन ।

त्यसैले पहिला आह्वान गर्नुभयो । अरिंगालहरु आऊ । झम्टिऊ भन्नुभयो । आएर झम्टिए । तर, स्वतन्त्र नागरिकहरु भागेनन् । डराएनन् । यो कानून आएको छ । यो कानून निर्माण गर्ने अवधारणादेखि लिएर कुनै पनि काम कसुर हो र कसुरदारले सजायँ प्राप्त गर्दछ भने त्यो दुईटाको बीचको सामञ्जस्यता के रहन्छ भन्ने अवधारणागत कुरादेखि लिएर फौजदारी कानुनसँग जोडिएका कुन कानूनको कुन ठाउँमा आउनुपर्छ भन्ने विषयदेखि लिएर विधेयक त्रुटि नै त्रुटिले भरिएको छ । तर यी सबै कुराहरुको पछाडिको नियत एउटै हो ।

गगन थापा

हामीलाई राम्रोसँग थाहा छ । तपाईंहरुले चलाउने फेसबुक, ट्वीटर, इन्टाग्राम कहीँ दर्ता गर्न जानुपर्दैन । तर, तपाईंहरु कसैले पनि कुनै कुरा लेख्नुभयो भने तपाईंले जहाँ बसेर इन्टरनेट चलाउनुभएको छ, इन्टरनेट सर्भिस प्रोभाइडरले जसलाई उहाँहरुले उत्पत्तिकर्ताको परिभाषाभित्र राख्नुभएको छ, उसलाई सिधा विभागले निर्देशन दिन सक्छ, फलोनाले लेखेको कुरा अहिले नै हटा । हटाएन भने त्यहीँबाट उठाएर ल्याउन सक्छ । हिजो उठाएको भए, गैरकानुनी भयो भन्थ्यौं हामी । तर, आज उठाउन पाउने कानून यो सरकाले बनाउँदैछ । यो सबैले के गर्छ ? यो सबैले भोलि यस्तै कार्यक्रमहरु आयोजक, सहभागी, वक्ता तपाईंहरुको सबै आस्थाले बाँधिनुभएका लडाकुहरु हुनुहुन्छ, तपाईंहरुसँग प्रेरणा छ । तपाईंहरु बोल्नुहोला तर मैले लेखेको आधारमा आज बेलुका कुनै पनि प्रहरी आएर मलाई उठाएर लिएर गएर पाँच वर्ष थुन्न सक्छ भन्ने कुरा भएपछि नागरिकले बोल्न छाड्छ । नागरिकले लेख्न छाड्छ । यो सबै जनतालाई तर्साउन खोजिएको हो । बिस्तारै बिस्तारै जनता तर्सिन थाल्छन् । बोल्न छाड्छन् । सरकारले अहिले यति होल्डिङ्सलाई गरेको जस्तो निर्णय गर्छ, गरिरहन्छ । तर, उसका विरुद्धमा बोल्ने मानिस बाँकी रहँदैनन् ।

किनकी सरकारका विरुद्ध बोल्न डराउँछन् । किनकी मैले बोलेँ भने पाँच वर्ष थुनिनुपर्छ भन्ने डर मात्रले पनि नागरिकलाई बोल्ने कुराबाट वञ्चित गराउँछ । यही गर्न खोजेको हो सरकारले । नागरिकलाई तर्साउन खोजेको हो । यो सरकार आफू कमजोर र कायर भएपछि नागरिकलाई तर्साउन खोज्दैछ । बहुमत के को लागि ? यतिधेरै अधिकार के को लागि ? नागरिकलाई बलियो बनाउनका लागि होइन । नागरिकलाई थप कमजोर बनाउनका लागि हो ।

नवजवान युवा साथीहरु, तपाईंले खोजेको देश कस्तो हो ? तपाईले खोजेको समाज र व्यवस्था कस्तो ? हामी जे गरिरहेका छौं, त्यसबाट सन्तुष्ट छैनौं । तर, सन्तुष्ट छैनौं भनेर भन्न पनि नपाउने व्यवस्था खोजेको हो ? म कांग्रेसलाई मात्रै भन्दिनँ । म नेविसंघलाई मात्रै भन्दिनँ । म अखिलका साथीहरुलाई पनि भन्छु । हामीले चाहेको व्यवस्थामा त तपाईंको केपी ओलीलाई मात्र होइन, शेरबहादुर देउवालाई पनि प्रश्न गर्न पाउने व्यवस्था हो । तपाईंले मेरो पनि आलोचना गर्न पाउने व्यवस्था हो । तपाईंले मलाई पनि प्रश्न गर्न पाउने हो । हामी सबैले सबैलाई प्रश्न गर्न पाउने, आलोचना र प्रसंशा गर्न पाउने व्यवस्था हो । आफ्नो मत राख्न पाउने व्यवस्था हो । सबैले स्वतन्त्रतापूर्वक, भयरहित वातावरणमा गर्न पाउने हो । यस्तो हक पाइन्छ कि पाइँदैन ? यो अधिकार पाइन्छ कि पाइदैन ?

म नेकपाका साथीहरुलाई पनि पटक पटक भन्दै आएको छु । तपाईं पनि सोच्नुहोला । आज यो विधेयक बन्यो भने कांग्रेसका साथीहरु थुनिएलान् भनिठान्नु भएको होला । थुनिने काम हाम्रो मात्रै होइन । भीम रावल र रामकुमारीहरु पनि थुनिन्छन् । याद गर्नुहोला- श्री ६ बडामहारानी भण्डारीकी जय, श्री ५ महाराजधिराज केपी ओलीकी जय र श्री ३ महाराजधिराज प्रचण्डकी जय भन्ने मान्छे बाँच्यो । बाँकी मान्छे गयो । यही हो गर्न खोजेको । बोल्ने हो कि होइन अहिले ? हिम्मत छ कि छैन अहिले ?

विषय यति मात्र होइन । एकपटक सरकारले ल्याएका विधेयकहरुलाई सरसर्ती हेरौं । कल्पना गर्नुहोस् । सरकारले ल्याएका विधेयक कानून बन्यो भने तपाईं आज यति धेरै प्रेसका साथीहरु आउनुभएको छ । तपाईंले के लेख्ने र के नलेख्ने तपाईंले निर्धारण गर्ने होइन, अस्ति (बालुवाटारमा) मुट्ठी कस्ने पत्रकार साथीहरुले निर्धारण गर्ने हो तपाईंले के लेख्ने कि नलेख्ने । सरकारले भनेको कानून बन्यो भने लोकसेवा आयोगले परीक्षा लिने होइन, अब सरकारले लिने हो परीक्षा । सरकारले तोक्ने हो को कर्मचारी हुने र को कर्मचारी नहुने भनेर । सदन त पहिलेदेखि थुरथुर बनाएको छ । सदनको सभामुख प्रधानमन्त्रीको छायाँ बनेर लामो समयसम्म बस्नुभयो । हेर्नुहोस् त अहिले संसदको सभामुख छान्ने विषय । अब आउने तिथीमितिमा पनि छान्नेवाला छैन । पार्टीको विभागको प्रमुख छान्नेजस्तो सदनलाई बनाइएको छ । संसदलाई यस्तो बनाइयो ।

अदालतलाई पनि डराएर थुरथुर बनाइएको छ । अख्तियारको नङ्ग्रा, हात, दाँत सबै निकाल्न खोजिएको छ । मानव अधिकार आयोगलाई पंगु बनाइएको छ । यो सबै कुरा गरेर सबैतिरका अधिकार जम्मा एउटा प्रधानमन्त्रीमा लिएर बस्ने, राजाजस्तो बन्ने र नागरिकको स्वतन्त्रताको हक छिनेर नागरिकले प्रश्न गर्न नपाउने बनाउने । नागरिकले विचार गर्न नपाउने बनाउने । मत राख्न नपाउने बनाउने । सबै कानून पास भयो भने बन्ने यही हो । अनि यो कानून रोक्ने कसले हो ? यो कानून रोक्नका लागि हामी संसदमा थोरै छौं । संसदीय व्यवस्था टाउको गनेरै चल्छ । सरकारले चाहँदै गर्दाखेरी यी सबै कानूनलाई संसदबाट पारित गर्न सक्छ । किनकी ऊसँग संख्याको तागत छ ।

संख्याको तागतले उसले पारित गर्न खोज्दै गर्दा हामी थोरै भए पनि लड्छौं । हाम्रो अधिकारका लागि लड्छौं । हाम्रो स्वतन्त्रता र भविष्यका लागि लड्छौं । हाम्रो लडाईंका लागि संख्या पुग्दैन । त्यो संख्यालाई तागत सडकबाट चाहिएको छ । अब संसदमा हाम्रो लडाईं हुँदै गर्दा यी सबै सवालहरुमा तपाईंहरु सडकमा आउने हिम्मत गर्नुपर्छ । अनि सडकको तागतले संसदमा केपी ओलीलाई घुँडा टेकाउने काम हाम्रो हो । हेपेर होइन, आडम्बर गरेर होइन, प्रधानमन्त्री के कुराको लागि लड्नुभयो, त्यही कुरालाई सम्झाएर ठीक ठाउँमा ल्याउने जिम्मा हामी पूरा गर्छौं । तर, संसदको तागतले मात्रै पुग्दैन यो । सडकको तागत हामीलाई चाहिन्छ । आम जनताको साथ हामीलाई चाहिन्छ ।

त्यसैले म के कांग्रेस, केम्युनिष्ट, के अरु पार्टी म केही भन्दिनँ । म तमाम सबै नवजवान साथीहरुलाई आग्रह गर्दछु । काठमाडौंबासीलाई आग्रह गर्दछु- तपाईं अस्ति भर्खर गुठी विधेयकको बेलाको आफ्नो अवस्था सम्झनुहोस् । त्यही गुठी विधेयकमा हामी संसदमा बोल्दै गर्दा हाम्रो संख्याले पुगेन । तपाईंहरु सडकमा आउनुभयो । तपाईंहरु बोल्नुभयो । त्यही तागतले सरकार झुक्यो । सरकारले पुनः त्यही विधेयक ल्याउँदै गर्दा त्यो भन्दा पहिला यो कानून बन्यो भने यसपछि तपाईंले त्यो तागत राख्न सक्नुहुन्न । किनकी त्यो बेला तपाईं बोल्न पाउनुहुन्न । त्यो बेलामा तपाईं लेख्न पाउनुहुन्न । त्यसैले प्रत्येकको कुरा जोडिएको छ यहाँ । प्रत्येकको हक र अधिकार जोडिएको छ । यो कुनै एउटा व्यक्ति वा पार्टीको मात्रै कुरा होइन । यो आधारभूत कुरा हो ।

त्यसैले म विद्यार्थीलाई, पत्रकारलाई, फरक पार्टीका साथीहरुलाई र आम जनतालाई अपिल गर्न चाहन्छु- आउनुहोस् एकपटक सडकमा आउनुहोस् । लेख्नुहोस् । बोल्नुहोस् । भन्नुस् आफ्नो ठाउँबाट । यो विधेयक मान्दैनौं भन्नुहोस् । केही दिनमा सदन सुरु हुन्छ । सदनमा हामी यसलाई रोक्नका लागि हामी आफूले गर्नुपर्ने काम गर्छौं । तर, हामीलाई तागत दिनुहोस् । हाम्रो तागतबाट ठिक ठाउँमा सरकारलाई लेराऊँ । ठिक ठाउँमा हाम्रो कानूनहरुलाई ठिक बन्ने अवस्था बनाऔं । यसका निम्ति यहाँहरु सबैलाई हार्दिक आग्रह गर्दछु ।

(सूचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा गरेको विरोध कार्यक्रमलाई थापाले गरेको सम्बोधनको सम्पादित अंश)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय