scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

नेकपामा अनिश्चित बन्दै माधव नेपाल समूहको भविष्य, कुन गुट कति शक्तिशाली ?

साझापोष्ट टिप्पणी/काठमाडौं, २५ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी गुटहरूको महासंघ बनेको छ । यो कुनै आरोप नभएर पार्टीकै शीर्ष नेताहरूले स्वीकारेको तथ्य हो । नेकपा यतिबेला देखिने गरी नै साना ठूला ५ वटा गुटको मोर्चा जस्तो बनेको छ ।

प्रथम गुट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गुट हो । जुन अहिले सबैभन्दा सुरक्षित र प्रभावशाली देखिन्छ । जनयुद्ध लडेका ‘क्रान्तिकारी’ नेताहरुको पनि मुख बन्द गराउन सक्ने गरी उक्त समूहको आतंक नेकपाभित्र छ भनेपछि यसको प्रभावको मात्रा सहजै अनुमान गर्न सकिन्छ । यो समूहमा रहेपछि भीम रावल स्तरको नेतालाई सूर्य थापाले कसरी थर्काउन र चुनौती दिन सक्छन् भन्ने घटनाले पनि एउटा सन्देश दिइरहेकै छ । पार्टीका धेरै जसोे संगठनात्मक तथा राजनीतिक निर्णयहरु ओली गुटले भने अनुसार हुने गरेको छ । पछिल्लो पटक राष्ट्रियसभा सदस्यको उम्मेद्वार तय गर्दा त्यो झनै प्रष्ट देखियो ।

त्यसो त, कतिपयले ओलीभन्दा पनि शक्तिशाली पछिल्लो समय राष्ट्रपति विद्या भण्डारीले चलाइरहेको गुट बनेको चर्चा नेकपाभित्र चल्ने गरेको छ । मुख्यमन्त्री छनौटदेखि पछिल्लो समय भण्डारीलाई केही कार्यकारी अधिकार थपेर स्वास्थ्य समस्याका कारण ओली प्रधानमन्त्रीबाट बाहिर सक्ने चर्चा बाक्लिएको नेकपाकै नेताहरु बताउँछन् । कतिपय भने भण्डारी समूह पनि ओली समूहकै अभिन्न अंग रहेको विश्वास गर्छन् ।

द्वितीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहालको गुट दोस्रो ठूलो गुट हो । उनले पूर्व माओवादी केन्द्रको समूहलाई नेतृत्व गर्दछन् । यो गुट प्रधानमन्त्री ओलीसँग भित्रभित्रै रुष्ट हुँदै गएको छ । यसको पछिल्लो सभामुख सभामुख छनौटमा देखिएको छ । कृष्ण बहादुर महरा प्रचण्ड गुटबाट सभामुख थिए । महरा यौन काण्डका कारण सभामुख पद पुनः पूर्वमाओवादी खेमाले नै पाउनु पर्ने यो गुटको धारणा छ । तर ओली गुटले यो माग सहजै स्वीकारेको छैन । ओली गुट पूर्वसभामुख सुवास नेम्वाङ सभामुख बनाउने पक्षमा छ ।

प्रचण्ड गुटले दुई पार्टी एकताको प्रक्रिया महाधिवेशन नभएसम्म पुरा नहुने हुँदा त्यतिन्जेल हरेक विषयमा पूर्वमाओवादीको भाग छुट्टिनु पर्ने माग गर्ने गर्दछ । तसर्थ, अधिकांश पार्टी र अवसर ओली र प्रचण्ड गुटले बाँडफाँड गर्दै आएका छन् । यसको सबैभन्दा नराम्रो असर भने तेस्रो ठूलो गुट माधव नेपाल गुटमाथि पर्ने गरेको छ । प्रचण्ड गुटले पूर्वमाओवादीको नाममा आफ्नो भाग नछोड्ने, पूर्वएमाले भागमा परेका पदहरु ओली गुटले खाइदिने हुँदा माधव नेपाल गुट बारम्बार जिल्लिदै आएको छ ।

एमाले–माओवादी एकता अघि यस्तो भागबण्डा ओली र माधव नेपाल गुटबीच हुने गर्दथ्यो । एकतापछि नेपाल गुटले थोरै र ससाना भूमिकामा चित्त बुझाउनु परेको छ । यस्तो स्थितिले माधव नेपाल बारम्बार भित्रभित्रै कुण्ठित र आक्रोशित हुने गरेका छन् । भीम रावल तथा रघुजी पन्तजस्ता नेताहरुले ओलीप्रति पोखिरहेको आक्रोश त्यसैको प्रतिक्रिया हो ।

वामदेव गौतम र नारायणकाजी श्रेष्ठको गुटलाई भने साना गुट मानिन्छन । वामदेव गौतमसँग माले- एमाले विभाजन कालको माले धारको लिगेसी छ । गुटका रुपमा वामदेव निरन्तर कमजोर हुँदैछन् । तर, व्यक्ति वामदेवले ओली र प्रचण्डमाथि निरन्तर दबाब सृजना गर्ने गर्दछन् । वामदेव गुटको दबावकै कारण दुई अध्यक्ष हुँदाहुँदै वामदेवका लागि उपाध्यक्ष पद सृजना गरिएको छ । बुढेसकालतिर पुगेका वामदेवले पार्टी संगठन विभागको जिम्मेवारी रडाको गरेर लिई छाडे ।

तर यतिले मात्र वामदेव सन्तुष्ट छैनन् । आफ्ना समकालीन सबै नेता प्रधानमन्त्री भइसकेको हुँदा आफू पनि जीवनमा एकपटक प्रधानमन्त्री हुन पाउनुपर्ने उनको माग छ । त्यसमा लागि उनले संविधान संशोधन गरी राष्ट्रिसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्न र आफूलाई राष्ट्रियसभा सदस्यमा लान माग गरे । तर ओली र प्रचण्ड दुवै गुटले वामदेवको यो मागप्रति रुचि देखाएनन् ।

अर्को सानो गुट नारायणकाजी श्रेष्ठको गुट हो । यो गुटले पूर्व एकताकेन्द्रको लिगेसी प्रयोग गर्दछ । गिरीराजमणि पोखरेल यो गुटमा छन् । यो गुटलाई सधैं एउटा मन्त्रालय दिएर चुप लगाउने गरिएको छ । यही गुटीय सुविधाका कारण गिरिराजमणी पोख्रेल बारम्बार मन्त्री हुने गरेका छन् । गिरिराजमणीमाथि पूर्व एकताकेन्द्र गुटलाई म्यानेज गर्नु पर्ने दायित्व पर्ने गरेको छ । प्रचण्ड निकटका स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईले यो गुटले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका छन् । प्रसाईसंग घुस मागेको भनिएका डा. कृष्ण गिरी गिरिराजमणी र नारायणकाजी श्रेष्ठ निकट व्यक्ति हुन् ।

अर्का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको भने कुनै गुट छैन । उनी गुट बनाउने ल्याकत नभएका नेता मानिन्छन् । कुनै समय उनको त्रिसदस्यीय गुट थियो । उनका अतिरिक्त सुरेन्द्र पाण्डे र भीम आचार्य उनको गुटमा थिए । खनाल एमाले अध्यक्ष तथा प्रधानमन्त्री रहँदा यी दुवै नेताको चुरीफुरी भिन्नै थियो । पाण्डे र आचार्य खनालका निकटस्थ नातेदार हुन् ।

जब अघिल्लो ओली सरकारको बेला खनालले आचार्यलाई पर्यटन तथा संस्कृति मन्त्रीबाट अचानक बर्खास्त गरेर आफ्ना निजी सचिव दीपक अमात्यलाई मन्त्री बनाए, आचार्यले ठूलो धोका र अपमानको अनुभूति गर्दै खनाल गुट छोडिदिए । पाण्डे पनि हिजोआज खनाल गुटको पक्षधर बताउन खासै रुचि राख्दैनन् । तर ओलीले पाण्डेलाई खनाल निकटस्थ नेताकै रुपमा हेर्दछन् । यसपटको मन्त्रीमण्डल पुनर्गठनमा पाण्डेको नाम अन्तिमतिर काटियो ।

एमालेमा मदन भण्डारीको मृत्युपछि माधव नेपाल एकछत्त संस्थापन पक्ष थियो । ओली गुटको यसरी उदय हुने माधव नेपाल गुटले कल्पना पनि गरेको थिएन । तर, पहिलो संविधानसभा निर्वाचनमा एमालेको हार र माओवादीको उदय माधव नेपाल गुटको ओरोलो यात्राको कारण बन्यो । नेपालले नैतिक संकटका कारण पार्टी महासचिवबाट राजीनामा दिए । ज्ञानेन्द्रलाई दाम चडाएको र दरबारको दक्षिण ढोकामा प्रधानमन्त्रीका लागि निवेदन दिएको घटनाले नेपालको छवी धुमिल भयो ।

त्यसको फाइदा खनाल र ओलीलाई भयो । कुनै गुट नभएका खनाल आठौं महाधिवेशनमा अध्यक्ष निर्वाचित भए । माधव नेपाल गुटले उनलाई सर्लक्क सहयोग गरेको थियो । यही अवसरलाई उपयोग गर्दै ओली गुटले आफूलाई बलियो बनायो । नवौं महाधिवेनमा ओलीले खनाललाई राष्ट्रपति बनाउने झुठो आश्वासन दिए । खनाल गुटले नेपाललाई भित्रभित्रै अन्तर्घात गर्‍यो । नेपाल ५४ मतको झिनो अन्तरले हारे । नेपालको यो हारपछि ओली गुट झनै शक्तिशाली भयो । ओलीले नेपाललाई संसदीय दलको नेतामा पनि पराजित गरे ।

नेपाल गुटको ओरालो यात्रा अहिले पनि जारी छ । अधिकांश निर्णय ओली र प्रचण्ड गुटको भागबण्डामा हुने गरेको छ । माधव नेपाल गुट हेरेकोहेरै हुने गरेको छ । यसले नेपाल गुटमा निरासा र बदलाको भावना बढ्दो छ । त्यसलाई मत्थर पार्न ओलीले नेपाल गुटबाट योगेश भट्टराई र घनश्याम भूसाललाई चुँडेका छन् । आउँदो महाधिशेनसम्म भट्टराई र भुसाललाई आफ्नो गुटमा सार्ने ओली गुटको रणनीति छ ।

पूर्व एमालेमा नेपाल गुट ओली गुटसँग हाराहारीको गुट थियो । नेपाल गुटले आफ्नो भावी रणनीति तयार नगरेको हुँदा यो छिन्नभिन्न हुन सम्भावान बढेको छ । तर नेपाल गुटका कार्यकर्ता सजिलै ओली गुटसँग मिल्न सक्ने मनोविज्ञानका छैनन् । भावी दिनमा नेपाल गुट कसरी अगाडि बढ्छ, त्यसले पनि नेकपाभित्रको शक्ति सन्तुलन निर्धारण गर्दछ । गौतम र नारायणकाजी भने निर्णायक गुट हैनन् । तथापि गुटीय द्वन्द्वमा हावी हुन यिनीहरुको बेलाबेला आवश्यकता पर्ने हुँदा ओली र प्रचण्ड दुवैले यी गुटलाई नजिक राख्ने प्रयत्न गर्ने गरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय