scheduleआइतवार आषाढ़ २१ गते, २०७७

प्रदेश २ का मन्त्रीलाई तीनवटासम्म गाडी, मूल्य कति ?

काठमाडौं, २६ पुस । प्रदेश २ सरकारले २२ महिनामा उपलब्धिमुलक काम खासै गर्न सकेको छैन। मन्त्रीहरूले सेवासुविधा र सुखसयलमा भने कुनै कमी राखेका छैनन् । उनीहरूले तीनवटासम्म सरकारी गाडी उपभोग गरिरहेका छन् ।

केही मन्त्रालयले नयाँ गाडी खरिद प्रक्रियासमेत अघि बढाएका छन् । नयाँ गाडी प्रयोगमा ल्याएपछि पुरानो चाहिँ प्रशासनलाई बुझाउनुपर्ने हुन्छ। तर, उनीहरूले पुराना गाडी पनि छाडेका छैनन् ।

मुख्यमन्त्री लालबाबु राउतले मात्रै नयाँ किनिएको ज १ झ ४५६ नम्बरको एउटा गाडी प्रयोग गर्छन् । आर्थिक मामिलामन्त्री विजय यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दुवै गाडी चलाउँदै आएका छन् ।

उनीहरूले पुरानो गाडी आफन्त, परिवार र कार्यकर्ताको प्रयोगमा दिएको खुलेको छ। मन्त्री साहले नयाँ गाडी ज १ झ ४४६ र एउटा अर्को प्रयोग गरिरहेका छन्। कानुनमन्त्री यादवले ज १ झ ४४२ नम्बरको गाडी प्रयोग गरिरहेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ४ करोड ५२ लाख ३० हजार, आर्थिक मामिला तथा योजना मन्त्रालयले ३ करोड ८५ लाख ४४ हजार रुपैयाँ गाडी खरिदमा खर्च गरेका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २ करोड ८४ लाख ४० हजार, उद्योग पर्यटनले २ करोड ४० लाख ७५ हजार, कृषिले २ करोड ५२ लाख २३ हजार, भौतिक पूर्वाधारले २ करोड ४४ लाख ९२ हजार, सामाजिक विकासले २ करोड १७ लाख ६४ हजार रुपैयाँ गाडी किन्न खर्च गरेका थिए ।

प्रदेशसभाले ९ करोड ७७ लाख ७७ हजार, प्रदेश नीति आयोगले २ करोड ७१ लाख ४८ हजार, मुख्य न्यायाधिवक्ता कार्यालयले १ करोड ४ लाख ८२ हजार, प्रदेश प्रहरी कार्यालयले ४२ लाख ७५ हजार, वन अनुसन्धान केन्द्रले २ लाख ९८ हजार र पशुपन्छी निर्देशनालयले २ लाख ५० हजार रुपैयाँ खर्चिएको तथ्यांक प्रदेश लेखानियन्त्रकको कार्यालयसँग छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय