scheduleसोमवार आश्विन १२ गते, २०७७

ट्रकले ठक्कर दिँदा बालिकाको मृत्यू, बाइस घाइतेको उपचार हुँदै


दमौली, २६ पुस । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृत्यु भएको छ । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

ट्रकको ठक्करबाट १३ वर्षीय सुमित परियार घाइते भएको र उनको भरतपुरमा उपचार भइरहेको छ । मृतक बालिकाको दाहिने खुट्टा र कम्मरमुनिको भाग ट्रकको चक्काले पेलिएको थियो । चालक र ट्रक प्रहरी नियन्त्रणमा छन् ।

उता, तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा शुक्रबार भएको बस दुर्घटनामा परी घाइते भएका २२ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ थानीमाईमा अनियन्त्रित भई सडकबाट ४० मिटर तल खस्दा बसमा सवार दुई जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा घिरिङ –१ बस्ने २० वर्षीया मुना थापा र घिरिङ–३ बस्ने ४२ वर्षीया नानीमाया गुरुङको मृत्यु भएको थियो प्रहरी नायब उपरीक्षक लामिछानेले घाइतेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय