scheduleबिहिवार माघ ९ गते, २०७६

‘अंग्रेजीले धोका दिँदा कलाकारिताले प्रेम गर्‍यो’

अग्लो कद, पातलो शरीर, लामो कपाल । यो हुलिया हो देवेन्द्रप्रसाद पाण्डे । ०४३ साउन १३ मा नुवाकोटमा जन्मिएका पाण्डे सानैदेखि चित्र कोर्थे । उमेरसँगै हुर्कँदै गयो उनको कलाप्रतिको मोह । व्यवस्थापन विषय छाडेर चित्रकला अध्ययनका उनको संघर्ष रोचक छ । छात्रवृत्तिमा चीनसम्म गएर विदेशी शिक्षा आर्जन गर्न कम तागतले भ्याउँदैन ।

त्यसो त, सिकेर कहिले सकिन्छ र जिन्दगीमा । जिन्दगी नै सिकाईको एउटा अनन्त प्रक्रिया हो । जब जीवन सकिन्छ, तब मात्र सकिन्छ सिकाईको साधना ।

अचम्म छ मानव जीवनको रूचि पनि । कलाकार पाण्डेको जीवनमा पनि त्यस्तै भएको छ । रूचिले रचेको नयाँ जिन्दगीबारे बताइरहँदा उनी गम्भीर र भावुक पनि बने । प्रस्तुत छ कलाकार पाण्डेसँग साझापोस्टले गरेको कुराकानीको अंश-

कलाप्रतिको मोह
कक्षा दुईमा पढ्दा पहिलोपटक मान्छेको जीवनचक्रको चित्र कोरेर चित्रप्रति आकर्षित भएँ । चित्र बनाउनमा निरन्तरता दिएँ । कालिमाटीको चरा र भगवानको मूर्ति बनाएँ । गाउँमा एकजना दिदीले रातो माटोमा ताराहरू राखेर मूर्ति बनाई रङरोगन पनि गर्नुहुन्थ्यो । म ३/४ कक्षामा हुँदा यो देखें ।

यसले गर्दा मलाई कलाप्रति झन उत्साहित बनायो । नुवाकोटको देवीघाटमा पृथ्वीनारायण शाहको मूर्ति छ । त्यो मूर्ति अमर चित्रकारले बनाउनु भएको हो । सानोबेला त्यो मूर्ति हेर्न खुब जान्थेँ । कसरी बनाउन सकिन्छ भनेर सोच्थें । पछि त्यहाँ जान सेनाले बन्द गर्‍यो । तै पनि लुकिलुकी मूर्ति हेर्न गयौं ।

स्कूलमा मलाई पढ्न मन लाग्थेन । कक्षाको अन्तिम बेञ्चमा बस्थें । कहिले गूलाफको चित्र त कहिले के-के बनाउँथेँ । सेतो कागज देख्यो कि चित्र बनाउन मन लाग्थ्यो । दशैं, तिहार आएपछि शुभकामना कार्ड बनाउन साथीकोरूको लाइन लाग्थे । चित्रमा मात्रै ध्यान दिंदा पढाई बिग्रियो । चक काटेर साना–साना बनाइथ्यो, चक्की औषधी जस्तो । चकमा पेनले कोतरेर शिवलिङ्ग पनि बनाएँ । रूखको चोप निकालेर, सेतो माटो मिसाएर कलर बनाउँथें । अंगारको कालो बनाएर कालो रङ बनाउँथेँ । कलर किन्ने पैसा हुन्थेन । घरेलु सामग्रीको रङ बनाएर चित्रमा प्रयोग गर्थें । यसरी नै चित्र बनाउ सिकेँ ।

पुरस्कारले उत्साहित
 नुवाकोटमा जापानीज स्कूलले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा म प्रथम भएँ । कलर र कापी पुरस्कार पाएँ । यसले मलाई चित्रकलाप्रति लाग्न थप उत्साहित बनायो । त्यो बेला मैले प्रकृति, मन्दिर, घरको चित्र बनाएको थिएँ । काठमाडौंबाट जानुभएको नातेदारले मेरो चित्र हेर्नुभयो । प्रोत्साहन स्वरूप पचास रूपैयाँ दिनुभयो ।

धेरै राम्रो चित्र छ, काठमाडौं आएर ललितकला क्याम्पसमा पढ्न सल्लाह दिनुभयो । मलाई ललितकलाबारे थाहा थिएन् । त्यसपछि दिमागमा फनफनी घुम्न थाल्यो ललितकला । यो २०५८ सालको कुरा हो ।

एसएलसी सेण्ड अप ‘टेस्ट’ परीक्षाको तयारी गर्दै थिएँ । राजा वीरेन्द्रको वंश नाश भएको सूचना जताततै फैलियो । एस.एल.सी. परीक्षा नै अब नहुने हल्ला चल्यो तर, पछि परीक्षा भयो । पास भएँ । त्यसपछि काठमाडौं आएँ । जहाँ पहिलोपटक आएँ ।

प्रवेश परीक्षामा फेल
आर्टिस्ले प्रयोग गर्ने पेपर, पेन्सिल कस्तो हुन्छ भनेर ललितकला क्याम्पस गएपछि थाहा पाएँ । ललितकलामा प्रवेश परीक्षामा फेल भएँ । धेरै नमज्जा लाग्यो । भाउन्न भएँ । आशा र भरको अन्तिम त्यान्द्रो पनि चटक्क चुडिएपछि जीवनमा आर्ट पढ्न सक्दिन कि भन्ने लाग्यो । तर, चित्र कसरी बनाउनुपर्ने भन्ने ज्ञान भने प्राप्त भयो । पास गर्ने तरीका पनि थाहा भयो ।

उता व्यवस्थापन विषय लिएर आइकम पढें । (अहिलेको ११/१२ कक्षा) पढ्दा दिमागमा चित्रकलामात्रै घुमिरहन्थ्यो । आइकम पास भएँ । पछि फेरि ललितकलामा पेन्टिङकै विषय लिएर पढ्न गएँ । त्यतिखेर भने प्रवेश परीक्षा पास गरेँ । भर्ना पनि गरेँ ।

घरबाट यो विषय नपढ्न भनेर चर्को दवाब आयो । काठमाडौंकबाट छुटाएर घर लगें । नुवाकोटमा एक महिना बसें । घरमा पनि चित्र बनाउन छाडिनँ । पुनः काठमाडौं फर्किएँ । घरबाट बीबीएस पढ् भनेर पठाए । तर मैले ललितकला नै पढें । यो कुरा थाहा भएपछि मलाई घरबाट पैसा आउन छाड्यो । परीवारले भनेको विषय पढ्न नमान्दा पैसा नपठाइएको हो ।

अंग्रेजी फेलले अवसरको ढोका

ललितकलामा पेन्टिङकला, संगीतकला मूर्तिकला विषय थिए । ति मध्ये मैले मूर्तिकला विषय लिएर पढें । ललितकला गएपछि यस्तो लाग्यो कि बल्ल म सही ठाउँमा आएँ । मलाई फ्रि भएर उड्न सक्छु झैं लाग्यो । ललितकलामा प्रविणता प्रमाणपत्र तह चार वर्ष पढें । त्यसपछि स्नातक पनि पढें । कोर्स अुनसार त्यतिबेलासम्म मैले ८/९ वटा मूर्ति बनाएँ ।

स्नातक पास गर्न सकेको थिइनँ । मलाई अंग्रेजी विषय ब्याक लाग्यो । त्यो बीचको समयमा मलाई पूर्ण वनिम भन्ने दाईले बोलाउनुभयो । स्टुडियोमा गएर उहाँलाई सहयोग गर्ने मौका पाएँ । उहाँले ठूल्ठूलो मूर्ति बनाउनुहुन्थ्यो ।

मलाई उहाँकै प्रोजेक्टमा मोरङ गएर पनि मूर्ति बनाउने ठूलो मौका मिल्यो । यसले मेरो जीवनमा ठूलो फड्को मार्‍यो । अंग्रेजीमा फेल हुनुले जीवनमा अवसरको ढोका खुल्ला गर्‍यो । त्यस्तै म निर्भाना आर्ट ग्यालरीकी दिदी बिआर श्रेष्ठलाई कहिल्लै बिर्सन्न । उहाँले गर्दा नै म कलामा अघि बढेन सकेको छु । नत्र अघि बढ्न सक्दैनथें होला ।

चीन अध्ययन यात्रा

कला विषयमा छात्रवृति अध्ययन गर्न जाने मौका मिल्यो । मैले चीन गएर अध्ययन गरूँला भन्ने सोचेकै थिइन् । जीवनमा नसोचेको हुन्छ भन्थे हो रहेछ । म ललितकला क्याम्पसमा अध्ययन गर्दै थिएँ । मेरो मिल्ने साथी सरोज श्रेष्ठले अन्य देशमा गएर पढ्न पर्छ पनि भने । सुरुमा अमेरिका ताकियो । सफल भइएन् ।

मेरो प्रेन्सिपल सर विपिन घिमिरेले मलाई चीन जान आग्रह गर्नुभयो । यसलाई मैले अवसर ठानेर म चार वर्षे फुल स्कलरसीपमा अध्ययन गर्न गएँ । चीन म केही सिक्न गएको हुँ ।

कलामा चीन अग्रस्थानमा
चीनले परम्परागत कलालाई जोगाएर राखेको छ । चीन कलामा पनि उत्तिकै अगाडि छ । जस्तो कि परालबाट बन्ने चीनको पुरानो कला अहिले पनि त्यही गुणस्तरमा छ । हजारौं वर्षदेखि चीनले कलामा प्रयोग गर्ने सामग्री छ । अहिले पनि त्यही प्रयोग गरेर संस्कृति जोगाएको छ । चीनबाट आफ्नो अस्तित्व कसरी जोगाउन सकिन्छ भन्ने शिक्षा सिक्न सकिन्छ ।

चीनले गरेको विकासमा उसले कला क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको छ । चीनले प्रत्येक वस्तुमा कलाले सजावट गर्छ । बाटोको बारमा समेत आर्ट खोपेर उसले मौलिकता झल्काएको छ । कलात्मक बनाएको छ । यसै कारण चीन आर्टका लागि राम्रो देश हो । त्यसपछि त्यहाँ पनि व्यवसायिक रूपमा मूर्ति बनाउन थालेँ । यसको सुरुवात नेपालमा हुँदा नै गरेको थिएँ । २०६८ सालदेखि व्यवसायिक रूपमा थालेँ । सरोज भन्ने साथीसँग मिलेर ठमेलको व्यापारीको बनाइयो । किराँती धर्म गुरु फाल्गुणान्दको पनि मूर्ति बनाइयो । किराँतकै यलम्बरको पनि बनाइयो । पोखरामा बुद्धको पनि बनाइयो । मोरङमा गएर उद्वृत मूर्ति बनाउने काम गरियो प्रोजेक्टमा तर यो प्रोजेक्ट सफल हुन सकेन ।

कलामा लाग्न लगनशील हुनुपर्छ
चित्रकला भनेको देखेको, मनमा लागेको कुराहरू लाइन, कलर मार्फत् क्यानभासमा देखाइन्छ भने त्यो चित्रकला हो । मूर्तिकला भनेको मूर्तिकलाका सामग्रीहरू प्रयोग गरेर कुनै पनि वस्तु वा मान्छेको दुरुस्त आकार कलात्मक रूपमा देखाइन्छ भने त्यो मूर्तिकला हो । मूर्ति ढुङ्गामा, माटोमा, मेटलमा, काठमा बनाइन्छ । चित्रकला बनाउन जान्नेले पनि मूर्ति बनाउन सक्छ तर गाह्रो हुन्छ ।

एउटा मूर्ति बनाउन यत्ति नै खर्च लाग्छ भन्ने कुरा त्यसको आकार र माध्यममा भर पर्छ । मलाई धेरैजसो अफरहरू चिनजानकै माध्यमबाट आउँछन् । मैले साना–ठूला थुर्पै चित्र तथा मूर्ति बनाएको छु । सबै कुरा सोचेर ल्याउँदा अहिले कला क्षेत्र उकृष्ट लाग्छ । अहिले म जे छु त्यो कलाले नै गर्दा हो । ललितकलामा म नगएको म कहाँ हुन्थें मलाई थाहा छ्रैन् । कलामा लाग्न ‘प्यासन’ हुनुपर्छ । लगनशील हुनुपर्छ । आफूलाई बुझ्न सक्नुपर्छ । ज्ञान हुनुपर्छ । एउटा सफल चित्रकारमा उसको मनमा लागेको कुरालाई प्रस्ट रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । गरेको चिजलाई मैले के गर्दै छु भनेर वर्णन गर्न पनि सक्नुपर्छ ।

नेपालमा नेताका मूर्ति धेरै
नेपालमा कलाको सम्भावना राम्रो छ । तर, महत्व भने बुझ्न नसकेको देखिन्छ । नेपालमका अधिकांश मानिसहरू मध्ययम वर्गीय छन् । जस कारण महंगो चित्र किन्न सक्दैनन् । त्यस्तै सौखिनहरूले मात्रै चित्र किन्छन् । उसमा कला सम्बन्धी केही न केही ज्ञान भएको हुन्छ । कलाको महत्व नबुझेको मान्छेले चित्र किन्दैनन् । कला भनेको एउटा सौन्दर्य हो । कलामा सौन्दर्य हुनुपर्छ ।

सौन्दर्य नभए कला, कला नै हुँदैन् । कलाको अध्ययन सौन्दर्यशास्त्रले गर्छ । त्यस्तै नेपालमा राजनीति तर्फबाट धेरै मूर्तिहरू बनेका छन् । जस्तै- पृथ्वीनारायण शाह देखि विपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी, मनमोहन अधिकारी आदि सम्मका बनेका छन् । नेपालमा परम्परागत मूर्तिकलामा चैं पाटनमा मात्रै टिकेको छ । नेपालमा मूर्तिकलाको धेरै प्रगति हुन बाँकी छ । नेपालमा धरै राम्रा मूर्तिकारहरू छन् ।

कलाबाट संस्कृति जोगाऔं
कलाकारका लागि पाकृतिक चित्र पेपरमा उतार्न गाह्रो हुँदैन् । तर धैर्यता भने चाहिन्छ । चित्र बनाउनका लागि विभिन्न सामग्रीहरूको आवश्यकता पर्दछ । जस्तै- ओइल कलरको माध्यम, वाटर कलरको माध्यम, एकर्लिक कलरको माध्यम आवश्यक पर्छ । उकृष्ट कलर चैं वाटर कलर हो तर गर्न भने गाह्रो हुन्छ । चित्र बनाई सकेपछि रमाइलो लाग्छ । आफ्नो सन्तान कसलाई मन नपर्ला र ? चीनमा अध्ययन सक्न एकवर्ष बाँकी छ ।

कलामा स्नातक सकेर म नेपालमै आउँछु । यहीं केही गर्ने योजना छ । तर, नेपालमा टिक्न भने निकै गाह्रो छ । मेहनत गर्दै गएपछि भविष्य पनि उज्वल छ । चीनमा मूतिकलाका लागि पूर्ण रूपमा सरकारले सहयोग पुर्‍याउँछ । नेपालमा भने त्यो छैन । सरकारले सहयोग गरेको देखिदैन ।

अब योजना बनाएर अघि बढ्नुपर्छ । ठाउँठाउँमा नेपालको संस्कृति, प्रकृति, विभिन्न जातजातिको पहिचान झल्कने किसिमका कलाहरू राख्न सकिन्छ । प्रत्येक जातिको संस्कृति लोक हुँदै गएको यस अवस्थामा कलाको माध्यमबाट संरक्षण गर्न सकिन्छ । जस्तै- काठमाडौंमा ठाउँठाउँमा पार्कहरू छन् । चित्र बनाएर राख्न सकिन्छ । नेपालमा कलाको विकास भएको छैन्, केवल व्यक्तिगत मूर्ति बनाउने काम मात्रै भएको छ । यसलाई कलाको विकास भएको भन्न सकिँदैन् । नेपालमा भएका कला सम्बन्धी कामहरू मल्ल कालमा भएको हो ।

काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा अवस्थित मन्दिरहरूमा मल्लकालिन कला देख्न सकिन्छ । राणाकालिन समयमा पनि कलाको विकास भएको देखिन्छ । विभिन्न दरबारहरू यसका उदाहरण हुन् । हामीले सिमेन्ट प्रयोग गरेर घरहरू बनाउने बाहेक अरू केही गर्न सकेनौं ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय