scheduleबिहिवार माघ ९ गते, २०७६

उडिरहेको जहाजभित्रै बम पड्काइदिने धम्की दिएपछि…

एजेन्सी, २७ पुस । कोलकोत्ताबाट मुम्बई गइरहेको एयर एसियाको एक विमानलाई आपतकालीन अवतरण गरिएको छ ।

भारतको कोलकोत्ताबाट मुम्बईतर्फ गइरहेको उडान नं आई५३१६ को विमानलाई एक यात्रीका कारण बीच बाटैबाट फर्काएर आपतकाली अवतरण गराइएको हो ।

विमानमा सवार मोहिनी मण्डल नामक २५ वर्षीया यात्रुका कारण आपतकालीन अवतरण गरिएको अधिकारीहरूले जनाएका छन् । मण्डलले आफूसँग बम भएको र विस्फोट गराउने भनेपछि विमानलाई आपतकाली अवतरण गराइएको थियो ।

मण्डलले कोलकोत्ताबाट मुम्बई जाने क्रममा जहाजका चालकदलका कर्मचारीमार्फत् विमानका क्याप्टेनलाई एक नोट पठाएकी थिइन् । उनले उक्त नोटमा आफ्नो शरीरमा बम भएको र कुनै पनि बेला विस्फोट गराउने लेखेकी थिइन् ।

उक्त नोट पढेपछि क्याप्टेनले विमानलाई पुनः कोलकोत्तातर्फ फर्काउँदै आपतकालीन अवतरण गराएका थिए ।

उक्त विमान शनिबार राति स्थानीय समय अनुसार ९ः५७ बजे कोलकोत्ताबाट उडेको थियो । विमानका क्याप्टेनले उडान भरेको एक घण्टापछि कोलकोत्ताको एयर ट्राफिक कन्ट्रोलरलाई बम भएकाले आपतकालीन अवतरण गराउन लागेको जानकारी दिएका थिए ।

एयर ट्राफिक कन्ट्रोलरले राति ११ बजे विमानस्थलमा आपतकाल घोषणा गरेका थिए । अवतरण भएको विमानलाई ११ः ४६ बजे एकान्त स्थानमा लगिएको थियो । त्यसपछि विमानमा खोजतलास गरिएको थियो ।

प्रहरीले हाल मण्डललाई पक्राउ गरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय