scheduleबिहिवार माघ ९ गते, २०७६

‘राष्ट्रवाद’को एकांगी राग

मनिकर कार्की

आज पुस २७, अर्थात् पृथ्वीनारायण शाहको जन्म दिन, जुन दिनलाई ‘पृथ्वीजयन्ती/राष्ट्रिय एकता दिवस’ भनी मनाउने चलन छ। २०६२/०६३ को आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनसँगै यो दिनमा विगतमा दिईंदै आएको सार्वजनिक विदा भने कटौति गरिएको छ । यद्यपि अहिले कतिपयको माग यस दिनको सार्वजनिक विदा कायम गरियोस् भन्ने छ।

यो दिनलाई लिएर इतिहासका अध्येताहरुबीच पनि केही मतभिन्नताहरु छन् । अनि तीनै मत भिन्नताको श्रृंखला अहिले सार्वजनिक बहसमा ओर्लिएको छ । पक्ष र विपक्षमा बहस पैरवी सुरु भएको छ । यद्यपि लिखत मै सहि, अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सार्वभौम नागरिक भएका छौं । त्यसैले गणतन्त्र घोषणा कै दिन खासमा ‘राष्ट्रिय एकता दिवस’ हो नि, कुनै एक अमूक शासकको जन्मदिनलाई कसरी राष्ट्रिय एकता दिवस मान्ने ? माथिको बहसमा यो प्रश्न पनि सँगै जोडिएको छ ।

अनि लौ पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै उनलाई नै राष्ट्रिय एकताको आधार मान्दा पनि उनी व्यक्ति पृथ्वीनारायणलाई मान्ने कि उनको कामलाई ? यदि कामलाई मान्ने हो भने अहिलेको नेपालको भूगोल कायम हुने क्रममा गोर्खा राज्यले अन्तिम पटक विजयी प्राप्त गरेको दिनलाई ‘राष्ट्रिय एकता दिवस’ घोषणा गर्नुपर्‍यो । जहाँसम्म पुस २७ को कुरा छ, यो चैं बढी व्यक्तिपूजन नै हो । इतिहासमा खास शासकीय स्वार्थ पूर्ति गर्नका लागि चलाइएको प्रचलन हो भन्दा अत्युक्ति नहोला ।

यद्यपि यो आलेखमा राष्ट्रिय एकता दिवस मुख्य चर्चाको विषय भने होइन । यसमा खासगरी लेखिएका–लेखाइएका, पढिएका–पढाइएका इतिहासहरु कति पूर्ण हुन्छन् ? ती कति सत्यतथ्यको नजिक हुन्छन् ? तिनमा कत्तिको जनविश्वास गढेको हुन्छ ? तिनले कसरी शासकीय स्वार्थ पूरा गरेका हुन्छन् ? यस्तै विषयमा केही जिज्ञासा छाड्ने प्रयत्न मात्र हो ।

मनिकर कार्की

पृथ्वी नारायण शाह को थिए, को थिएनन् ? के हुन् के हैनन् ? यो विषयमाथिको बहस इतिहासकारहरुलाई नै छाडिदिउँ । यत्ति धक फुकाएर भन्न सकिन्छ कि उनी तत्कालीन समयका एक कुशल, रणनीतिकरुपले चार्तुय योद्धा र सूरा शासक थिए । सत्ताको उत्कट महत्वाकांक्षा बोकेका एक लडाकू शासक थिए । उनको गोर्खा राज्य त्यो बेला कमजोरहरुकै प्रतिनिधित्व गर्ने राज्य थियो । आफ्नो राज्यको त्यो बेलाको गरिबी र निम्न अवस्थाबाट माथि उक्सिने अनेकन उपाय मध्ये उनले गोर्खा साम्राज्यको विस्तारलाई अंगिकार गरे । अनि त्यो बेलाको आवश्यकता पनि भूगोल विस्तार गर्ने नै थियो । भूगोल जोडेर ठूलो राज्य हुँदा शक्ति बढ्ने हुँदा सबैले आफ्नो क्षमताले भ्याएसम्म राज्य विस्तारमै ध्यान दिन्थे । अनि राज्यहरुको निर्माण र विनिर्माण, विस्तार र संकुचन केवल युद्धबाटै हुन्थ्यो । यहाँमात्र हैन संसार भर त्यसैगरी राज्यहरु बन्थे र भत्कन्थे ।

नेपालमा पनि त्यही भयो । त्यही उपक्रममा पृथ्वीनारायण शाह अब्बल प्रमाणित भए । उनले तत्कालीन गोर्खा राज्य विस्तारमा सफलता हासिल गरे । न त उनको अभियान राष्ट्रिय एकताको भावनाले नै प्रेरित थियो, न त उनले त्यसरी तत्कालीन गोर्खा साम्राज्यमा गाभिएका स-साना राज्य र त्यहाँका ‘रैती’हरुलाई नै मानवोचित व्यवहार गरे । खासमा उनको अभियानसँगै भाषा, भेष, बोली, संस्कृति इत्यादिमा ‘गोर्खानाइजेसन’ सुरु भयो र कालान्तरमा त्यसैलाई ‘नेपालीकरण’ गरियो । खास कुरा चैं यत्ति हो ।

अब इतिहास लेखन र त्यसको बजारीकरणप्रति केही जिज्ञासु दृष्टि लगाऔं ।

१. जहिल्यै पनि समाज चलाउने शासक वर्गले नै हो । सामाजिक नियमहरु निर्माण गर्ने पनि सत्ता र शासक वर्ग नै हुन् । कुनै पनि सामाजिक नियम सत्ताको निर्देशक सिद्धान्तभन्दा अलग हुँदैन । किनकि यो समाज पनि त्यही सत्ताकै रंगले लत्पतिएको हुन्छ । यस मानेमा समाजका हामी बुद्धिजीवी र जान्नेसुन्ने पनि बहुमत समाजले के भन्छ त्यसैलाई अंगिकार गरिरहेका हुन्छौं र समाजमा चिजहरु जेजसरी चलिआएका छन्, त्यसलाई बिना कुनै जाँचपड्ताल हामी नतमस्तक भएर स्वीकार गर्छौं ।

२. अहिलेसम्मको हाम्रो नियति पनि यहि हो कि इतिहासमा हामीले कहिल्यै पनि प्रश्न गरेनौं । किनकि प्रश्न सोध्दा अनावश्यक झमेला हुन्छ । अनावश्यक मथिङ्गल खियाउनुपर्छ । त्यो लेठो कसले गरोस् ? जे चलेको छ, त्यसैलाई ठीक मान्यो बस् ।

३. हाम्रो परम्परा खासमा व्यक्ति पूजक हो । हामी कसै न कसैको प्रतिमान खडा नगरी बस्नै सक्दैनौं । किनकि आस्थाको विभ्रममा बाँच्ने बानी जो हामीलाई परेको छ । त्यसैले नायकहरुको निर्माण नेपाली समाजको चरित्र हो । अनि यो चरित्र हाम्रो विवेकले निर्माण भएको हैन । खासमा हामीलाई पत्तै छैन कि हामी के भन्दैछौं । किनकि हाम्रो मानसिकतामा सत्ताको राज चलेको हुन्छ । हामी सत्ताकै भाषा बोलिरहेका हुन्छौं । यो सत्ताले निर्माण गरेको सांस्कृतिक विरासत हो ।


४. इतिहास शासकहरुले नै लेख्छन् । खास उद्देश्य पूरा गर्नका लागि शासकहरुले नै इतिहास लेखाउँछन् । नेपालको इतिहासको सन्दर्भमा शाहवंशकेन्द्रित इतिहास लेखनको व्यवस्थित सुरुवात महेन्द्रले गराएका हुन् । त्यसैले त्यो इतिहास लेखनमा शासकीय स्वार्थ थियो नै । हामी त्यही इतिहास पढेर ‘जान्नेसुन्ने’ भएका पुस्ता हौं । अब हाम्रो बुझाई र ज्ञानमा सत्ताको नियन्त्रण नहुने कुरै भएन ।

५. अब पृथ्वीनारायण शाहको कुरा गरौं । पृथ्वीनारायण शाहको जसरी अहिले एकथरी मान्छेहरु महिमामण्डन गरिरहेका छन्, त्यो वीरताको व्याख्या र विश्लेषण उनको पालादेखि अर्थात् वि.सं. १८२५ देखि नै कायम थियो ? वा त्यो निकै पछि मा लेखियो ? इतिहासका अध्येताहरु भन्छन्– २००७ साल अघिका जनश्रुती, लेखौट, साहित्य, लोक कथाहरु इत्यादिमा उनका ‘दिव्योपदेश’ र ‘एकीकरण अभियान’बारे खासै उल्लेख छैन । त्यसो हो भने यी इतिहासका गाथाका आधिकारिक स्रोत के हो ? सम्भवतः सत्ता । सम्भवतः दरबार ।

६. इतिहासका अध्येताहरु भन्छन्– खासगरी १९९० को भुकम्पपश्चात् जसरी नेपालीकरणको प्रक्रिया आरम्भ भयो पृथ्वीनारायणसंगै भानुभक्त, अमरसिंह, बलभद्र, भीमसेन लगायतको योगदानबारे लिखत सुरु भयो । यसरी महानायकहरुको विम्ब पनि किन कुनै कालखण्डमा मिसनको रुपमा निर्माण गरियो ? किन त्यसलाई आमरुपमा स्वतन्त्र छाडिएन ? अनि त्यो तत्कालीन समयदेखि नै अघि बढाइएन ? किन हामीले ती वीर पुरुषहरुको गाथा सुन्न पञ्चायत नै कुर्नुपर्‍यो ? के त्यसअघि हाम्रा पुस्ताहरुलाई चैं नेपाल चाहिएको थिएन ? त्यसअघिका पुस्तालाई चैं आफ्नो इतिहास चाहिएको थिएन ? झन् मुलुक बनाउने र बचाउने पुस्ताहरुले चैं किन केही पनि लेख्नुपर्ने, भन्नुपर्ने, सिर्जना गर्नुपर्ने आवश्यकता महशुस गरेनन् ?

७. यी सबै इतिहास हेर्दा शाहवंशको इतिहासमा शासकीय मनोकांक्षा नै प्रदर्शित हुन्छ । त्यसैले यत्ति भन्न सकिन्छ कि– नेपालको इतिहास लेखिएको हैन, लेखाइएको हो । दरबारले इतिहास लेख्न केही इतिहासकारलाई खटाएको तथ्य कतैबाट लुकेको छैन । अनि सत्ताले लेखाएको इतिहासमा जहिल्यै शासकीय समुदायको महिमा मात्रै हुनु किमार्थ अनौठो हैन । नत्र किन राज्य निर्माणकै क्रममा लडेका भिडेका अन्य समुदायहरुको चर्चा छैन ?

८. पृथ्वीनारायणको तत्कालीन गोर्खा राज्य विस्तारलाई बिपीदेखि पुष्पलालसम्मले पनि ‘राष्ट्रिय एकीकरण’ भनेका छैनन् । अनि हामीलाई चैं त्यही पगरी गुथाउन किन हतारो ? यत्ति बुझौं पञ्चायतकालमा निर्माण गरिएका इतिहासका गाथा पढेर ‘राष्ट्रवादी’ कहलिएका हामीभन्दा अर्ग्यानिक इतिहास नै पढेका थिए होला, बिपी र पुष्पलालहरुले । के उनीहरु अराष्ट्रिय भएरै पृथ्वीनारायणको अभियानलाई एकीकरण नभनेका हुन् ?

९. पृथ्वीनारायण शाहको न त देवत्वकरण नै जरुरी छ, न त दानवीकरण नै उचित छ । बस् उनको पनि एउटा उद्देश्य थियो । उनी पक्कै पनि ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ स्थापनाका लागि हिंडेका थिएनन् । उनी आफ्नो राज्य विस्तार गरी ठूलो राज्यको सम्राट हुने मनोकांक्षा पालेर हिंडेका थिए । उनले आफ्नो अभियान सफल पार्ने अधिकतम् प्रयत्न गरे र उनकै पदाचाप पच्छ्याउंदै उनका पुस्ताहरुले पनि गोर्खा साम्राज्यको विस्तारमा भूमिका खेले ।

इतिहास लेखन र त्यसको बजारिकरणको फलकमा हेर्दा आधुनिक नेपालका ‘राष्ट्र निर्माता’ कहलाइएका पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरुले तत्कालीन गोर्खा साम्राज्यको विस्तारलाई नै मुख्य ध्येय बनाएका थिए । पृथ्वीनारायण शाहले युद्धमार्फत विभिन्न स्वतन्त्र अस्तित्वमा रहेका राज्यहरुमाथि सैन्य बलबाट बिजयी हासिल गरी गोर्खा साम्राज्यको निर्माण गरे । ठीक छ, त्यो बेलाको आवश्यकता त्यही थियो । अनि ती गोर्खा साम्राज्यमा गाभिएका ससाना राज्य, रजौटाहरुलाई त्यही गोर्खाली भाषा, भेष, संस्कार र संस्कृति जर्बजस्त रुपमा अंगिकार गराइयो । गोर्खा साम्राज्यमा गाभिनुपूर्व उनीहरुको छुट्टै भाषा, भेषभुषा, परम्परा, रितिरिवाज, संस्कृति इत्यादिले निर्माण गरेको छुट्टै राष्ट्रियता विशाल बन्दै गएको गोर्खा साम्राज्यमा अस्वीकृत भयो र कालान्तरमा गोर्खा राष्ट्रियताको निर्माण भयो र त्यसैको नेपालीकरणको रुपमा अहिलेको ‘नेपाली राष्ट्रियताको डिस्कोर्स’ निर्माण गरियो ।

अनि हामी आज तिनै शासकले निर्माण गरिदिएको एकल राष्ट्रियताको डिस्कार्सलाई बोकिरहेका छौं । अनि हामीलाई एउटै देशभित्र धेरै राष्ट्रियताहरु हुन्छन् भन्दा जिब्रो टोक्नु पर्ने अवस्था आइपरेको छ । किनकि हामीलाई हाम्रा इतिहासकारहरुले त्यसरी कहिल्यै सिकाएनन् । राष्ट्र र राष्ट्रियता भनेको एउटै कुरा हो, नेपाल राष्ट्र र नेपाली राष्ट्रियता भनाइयो र हामीले त्यही अनुशरण गर्दै आयौं । अहम् हामीलाई कहिल्यै पनि नेपाल बहुराष्ट्रियता भएको मुलुक हो भन्ने आभास नै भएन ।

एकथरी मानिसहरु आज पनि पञ्चायतकालीन राष्ट्रवादको स्वर्णिम वर्णन गर्न पछि पर्दैनन् । नेपालको राजनीतिक इतिहासमा पञ्चायत काल यस्तो कालखण्ड थियो जहाँ खस, आर्य एकल राष्ट्रियताको खुबै व्यापार भयो । यो अवधिमा मुलुकलाई नै एउटै भाषा, भेष, धर्म, संस्कार र संस्कृतिमा ढाल्ने चेष्टा गरियो । महेन्द्रले तिनका जिजुबाबुले पनि गर्न नसकेको काम गरेर देखाइदिए, त्यो हो भूगोलको एकतामा एकल सामुदायिक वर्चस्वको सांस्कृतिक हस्तक्षेप ।

के महेन्द्रीय राष्ट्रवादमा जनताको अधिकारको कुरा छ ? जनताको समृद्धिको कुरा छ ? जनताका मौलिक पहिचान, संस्कार, परम्परा, धर्म, संस्कृतिको जगेर्नाको कुरा छ ? मुलुकमा भएका विभिन्न जाति, भाषाभाषि, वर्ग र समुदायका मौलिक पहिचानको संरक्षण छ ? जनतालाई अधिकार सम्पन्न मालिक बनाउने विषयवस्तु छ ? जनतालाई उत्पीडनको चंगुलबाट मुक्त गराउने योजना छ ? अनि राष्ट्रियता भनेको शासकहरुले जनताका लागि खडा गरिदिएको ‘उपमा’ मात्रै हो ? जसलाई उनीहरुले जीवनभर बोक्नुपर्ने ।

राष्ट्रियताको परिभाषामा जनता पर्दैनन् ? जनताको अधिकार पर्दैन ? जनताको समृद्धि पर्दैन ? यदि पर्छ भने अहिले नेपाल र नेपालीको डिस्कोर्समा यी विषयहरु किन निषेध गरिए ? यसर्थ अबको नेपाली राष्ट्रियता विगतको निरन्तरता होइन । यसमा विभिन्न जाति, भाषा, धर्म, लिंग, वर्ण, क्षेत्र र समुदायका मानिसहरुले फरकफरक पहिचान झल्किने बहुराष्ट्रियताका विम्बहरुलाई स्वीकार गर्नुपर्छ । तबमात्र यो मुलुक साँच्चिकै राष्ट्र बन्नेछ ।

यी प्रश्नहरुले इतिहासमा कसैको योगदानको अवमूल्यन गर्दैन, बरु थप प्रश्न गर्छन्। पुस २७ कै उदाहरण हेर्दा, जसरी पृथ्वीनारायण शाहको महिमामण्डन गरिंदैछ, त्यो चैं बढी भयो । उनी उनको समयका एक कुशल लडाकु राजा थिए । अनि त्यो बेला त्यस्तै राजा चाहिन्थ्यो, किनकि त्यो राज्यहरुको निर्माणको बेला थिए । भूगोल बढाउने बेला थियो । त्यो आज पढाइने विषयजस्तो एकीकरणको महाअभियान भने कदापि थिएन ।

हामी इतिहासको निर्माण कसरी हुन्छ र कसरी गरिखाने वर्गलाई इतिहासले पाखा लगाउँछ ? त्यसबारे घोत्लिने चेष्टै गर्दैनौं । अनि भन्छौं– ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ । अझै पनि सयौं थुंगामै छौं, हामी अहँ ‘सयौं थरी’ फूलको मालाले मात्र सबैको अस्तित्व स्वीकार गर्छ भन्ने सोच्दै सोचेका छैनौं । त्यसैले यत्ति त भन्नै पर्छ, राष्ट्रियता फगत शासकवर्गले निर्माण गरिदिएको साँघुरो परिभाषा मात्र होइन । यो फगत भूगोल मात्र पनि होइन । यो एउटा सभ्यता अनि देश र जनताको समृद्धि पनि हो । साँच्चै भन्नुपर्दा राष्ट्रियता जनता हो । जनताको संस्कार र संस्कृति हो । जनताको स्वाभिमान र उनीहरुको पहिचान हो । अनि त्यही पहिचानले निर्माण गरेको साझा अर्थतन्त्र र समृद्धि हो । त्यसकारण यत्ति चैं बुझ्नैपर्छ कि, राष्ट्रवादको एकांगी रागले हाम्रो देश साँच्चिकै अर्थमा राष्ट्र बन्न सक्दैन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय