scheduleबुधवार आषाढ़ २४ गते, २०७७

बन्ला शेखर कोइराला–गगन थापा समीकरण ?

साझापोष्ट टिप्पणी/काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ सालभित्र हुनेछ । ‘हिङ नभएपनि हिङ बाँधेको टालो’ अनेक कमजोरीका बाबजुद नेपाली कांग्रेस देशको एक प्रभावशाली राजनीतिक दल हो । भर्खरै सम्पन्न उपनिर्वाचन परिणामले यही सिद्ध गरेको छ– विभिन्न कोणबाट कांग्रेसका कमजोरीहरुको चर्चा र आलोचना भए पनि यसको संगठनात्मक ताकत र जनमत अझ बलियो छ ।

अर्कोतिर कम्युनिष्टहरुले लामो समय लगाएर कांग्रेसबारे अनेक धारणा र स्कुलिङ निर्माण गरेका थिए । जस्तो– कि कांग्रेस संसदीय पुँजीवादी पार्टी हो । कांग्रेसले लिएको निजीकरण र उदारीकरणका कारण देशको अर्थतन्त्र बिग्रिएको हो । करिब दुई तिहाईको नेकपा सरकारले दुई वर्ष पुरा गर्दैगर्दा ‘कम्युनिष्ट न्यारेटिभ’हरु स्वूफूर्त खण्डन हुँदै गइरहेका छन् ।

कांग्रेसमाथि लगाएका आरोपहरुलाई पुष्टि गर्ने गरी उनीहरुले न कुनै नयाँ राजनीतिक प्रणाली स्थापना गर्न प्रयत्न गरेका छन् न अर्थनीतिमा कुनै परिवर्तन ल्याएका छन् । कांग्रेस र कम्युनिष्टबीचको सैद्धान्तिक र कार्यक्रमिक भिन्नता समाप्त हुँदै जाँदा कांग्रेसप्रति रिस र आक्रोश मत्थर हुँदै जानु स्वभाविक हुन्छ । ‘आखिर कम्युनिष्ट पनि उस्तै रैछन, कांग्रेसलाई मात्र कति दोष्नु’ प्रकारको मनोविज्ञान मतदातामा बढ्दै गइरहेको छ ।

मान्छेको मनमा यो प्रश्न खेल्न थालेको छ– कम्युनिष्टहरुको यही पारा हो भने अर्को चुनावमा फेरि कांग्रेस नै फर्किने त हैन ? सायद यही कारण हो– कांग्रेस चर्चा र जनरुचिको बिषय भन्दा बाहिर छैन । कांग्रेसको आगामी १४ औं महाधिवेशनको समीरकरणका सम्भावनाबारे बहस बढ्दै गइरहेका छन ।

नेपाली कांग्रेस जन्मिँदै अनेक गुटहरुको महासंघ जस्तो थियो । त्यहाँ वीपी र मातृकाको भिन्नाभिन्नै गुट थियो । सुवर्ण शमशेर र डिल्लीरमण रेग्मीको गुट थियो । गणेशमान र सूर्यप्रसाद उपाध्याय उपगुट जस्ता थिए । जन्मकालको यो विशेषता सबै कालखण्डमा धेरैथोर सर्दै आयो । २०४६ सालपछि गणेशमान–किसुनजी भर्सेज गिरिजाप्रसादको गुट निर्माण भयो ।

पञ्चायतको अन्त्यपछि अन्तरिम सरकारका लोकप्रिय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई अन्तर्घात गरी कोइराला गुटले हरायो । २०४८ को बहुमत प्राप्त कांग्रेस संसदीय दलमा कोइराला चुनौतिहीन नेता थिए । उनी प्रधानमन्त्री बने । तर गणेशमान सिंह कोइरालासँग निरन्तर असन्तुष्ट बने । अन्ततः कांग्रेसभित्र ‘३६ से’ र ‘७४ रे’ गुट बन्यो । बहुमत प्राप्त कांग्रेसको सरकार ढल्यो । कोइरालाले मध्यावधि निर्वाचनको घोषणा गरे ।

गणेशमान सिंहले कांग्रेस परित्याग गरे । २०५१ को मध्याबवधि निर्वाचनमा उनले राष्ट्रिय जनजागरण अभियानको नाममा कांग्रेसका बागी उम्मेद्वारहरुलाई सहयोग गरे । कांग्रेस दोस्रो पार्टीमा झर्‍यो । यहीनेरबाट कांग्रेसको शीर्ष नेतृत्ववृत्तमा शेरबहादुर देउबा उदाए– कांग्रेस संसदीय दलको नेता, संसदमा प्रतिपक्षी दलको नेता बनेर ।

देउवालाई कोइराला खेमाकै मान्छे मानिन्थ्यो त्यतिखेर । उनी पहिलो कोइराला सरकारका गृहमन्त्री थिए । तर घटनक्रमले देउबालाई कोइराला खेमाबाट टाढा मात्र बनाएन, कोइराला खेमासंग रुष्टहरुको नेता नै बनायो ।

२०५६ को आमनिर्वाचनमा कृष्ण प्रसाद भट्टराईलाई भावी प्रधानमन्त्री घोषणा गर्नु कोइराला गुटको विशिष्ट प्रकारको बाध्यता थियो । त्यो रणनीति उपयोगी भयो । कांग्रेसले किशुनजीको नाममा फेरि बहुमत ल्यायो । तर कोइराला भट्टराई पूर्ण कार्यकाल प्रधानमन्त्री हुन दिने मनस्थितिमा थिएनन् । कांग्रस संसदीय दलमा कोइरालाको बहुमत थियो । किसुनजी १० महिनाभित्रै रुँदै राजीनामा गर्न बाध्य भए ।

तर यो इरिटेशनले देउवा गुटलाई झनै शक्तिशाली बनायो । किसुनजीको ‘३६ से’ गुट त छँदै थियो, कोइरालाको निकट पात्रहरु भनिएका विजय गच्टदार र खुमबहादुर खड्का पनि देउवा गुटमा पुगे । कोइराला गुटमा अन्तविग्रहको मुख्य कारण थिए– सुशील कोइराला । कुनै खास क्षमता र व्यक्तित्व नभएका सुशील गिरिजाप्रसाद कोइरालाका साख्यै सानिमाका छोरा थिए । सुशीलमा निरन्तरता भने थियो । अनेक उतारचढाव र दुख्खसुख्खमा उनी गिरिजा प्रसादसंगै थिए । गिरिजाको छनौट सुशील हुन् भन्ने जब सबैले बुझे, गिरिजा नजिकका कयौं हस्तीहरु टाढा भए र गुट समीरकणले नयाँ मोड लियो ।

यही पृष्ठभूमिमा कांग्रेस फुट्यो । कांग्रेसको ठूलो हिस्सा लिएर शेरबहादुर देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । तर राष्ट्रिय राजनीतिका घटनाक्रममा कांग्रेसमात्र थिएन । माओवादी शक्तिशाली भएर आयो । दरबार हत्याकाण्ड भयो । नयाँ राजा ज्ञानेन्द्र आए । उनले ‘कु’ गरे । कांग्रेसीहरु फेरि एक हुन बाध्य भए । तर कांग्रेसी गुटबन्दीको केन्द्रमा सुशील कोइराला र शेरबहादुर देउवा स्थापित भए ।

त्यसैको सेरोफेरोमा १२ औं महाधिवेशन भयो । कोइराला परिवारको लिगेसी बोकेर सुशिलले सभापति जिते । देउवा निकटत्म प्रतिद्वन्द्वी भए । भीम बहादुर तामाङ र नरहरि आचार्यले तेस्रो धारको नेतृत्व गर्ने प्रयास गरे । तर तेस्रो धारप्रति कांग्रेसीहरुको खासै आकर्षण देखिएन ।

१३ औं महाधिवेशनमा कोइराला धारको विरासत रामचन्द्र पौडेल र शशांक कोइरालाले बोके । देउवाले कोइराला गुटकै व्यक्ति अर्जुन नरर्सिंह केसीलाई चुडेर आफ्नो गुट बनाए । कांग्रेसको महाधिवेशनमा पहिलो पटक कोइराला गुटको लिगेसी बोकेको प्यानेलको सभापति पराजित भयो । कांग्रेसको अन्तसंघर्षमा देउबाले प्राप्त गरेको यो निक्कै ठूलो उपलब्धि थियो ।

यही महाविधेशनमा कृष्ण प्रसाद सिटौला र गगनकुमार थापाको तेस्रो प्यानल उदायो । यसपटक तेस्रो धार निक्कै बलियो देखियो । कांग्रेस महाधिवेशनमा तेस्रो प्यानलले त्यतिधेरै भोट पाएको सायद यो पहिलो घटना थियो । सिटौला– थापाका समर्थहरु निक्कै उत्साहित थिए । उनीहरुले नारा बनाए– ‘गगन थापा–सिटौला, अर्कोपटक भेटौला ।’

उनीहरुले भनेको अर्को पटक १४ औं महाधिवेशन हो । तर यो महाधिवेशनको समीकरणमा थापा र सिटौला एउटै प्यानलमा रहने सम्भावना कमजोर हुँदै गएको छ । कोइराला परिवारको पहिलो पुस्तामा एक से एक प्रभावशाली नेता थिए । वीपी, मातृका, गिरिजा, केशब, तारणी आदि । सुशिलले पहिलो र दोस्रो पुस्ताबीच संक्रमणको काम गरे । दोस्रो पुस्तामा शशांक, सुजाता र शेखर छन् ।

शशांक वीपी पुत्र हुन् भने सुजाता गिरिजापुत्री । दुवैका पिता पार्टी अध्यक्ष र प्रधानमन्त्री भए । तर शेखरलाई त्यो सुविधा उपलब्ध थिएन । शेखरका मातापिता केशव–नोना न पार्टी सभापति भए न प्रधानमन्त्री । बरु सधैं बीपी र गिरिजाका सहयोगी रहे । दक्षिण एशियाली समाजको वंशवादी सोचका आधारमा शशांक र सुजातालाई ‘ग्लेमराइज’ गर्न खोजियो, तर उनीहरुसंग त्यो स्तरको क्षमता थिएन, जुन क्षमता शेखरसंग थियो ।

बीपीपुत्रमा रुपमा प्रकाश कोइरालाप्रति देखाएको मोह कांग्रेसजनलाई आत्मघाती सावित भएको थियो । २०४६ सालको जनान्दोलन उत्कर्षमा हुँदा प्रकाशले मरिचमान सिंहलाई सहयोग पुग्ने गरी वक्तव्यबाजी गरे । राजा ज्ञानेन्द्रको कूपछि राजाको मन्त्रीपद खाए । त्यसपछि राजनीतिबाटै हराए । बीपीपुत्रको सुविधा पाएका शशांकमा पनि दक्षिणपन्थी सोच र कार्यशैली नै हावी भयो ।

कांग्रेस महामन्त्री निर्वाचित भएसंगै उनले हिन्दूराष्ट्रको वकालत गर्न थाले । वीपी विचार छोडेको कारण कांग्रेस कमजोर भएको तर्क गरे । उनले भनेको वीपी विचार संसदीय लोकतन्त्र र संवैधानिक राजतन्त्र थियो, जसबाट देश धेरै अगाडि बढी सक्यो । कांग्रेस महासमिति बैठकमा हिन्दूवादीहरुको कोकोहोलो नै भयो, जसलाई रोक्न अन्ततः देउवा र बिमलेन्द्र निधी नै अगाडि सर्नु पर्‍यो ।

शशांकमा कुनै बिशिष्ट क्षमता पनि देखिएन । व्यक्तिगत रुपमा भ्रद र शालिन हुनु बाहेक उनी न राम्रा लेखक, नराम्रा वक्ता, न राम्रा संगठक, नराम्रा विचारक, न राम्रा परिचालक, न राम्रा व्यवस्थापक केही देखिएनन् । सुजातामा यी गुण झनै छैनन् । तर शेखरमा यी मध्ये धेरै गुणहरु छन । शेखर राम्रो लेख्छन, राम्रो बोल्न सक्दछन् । बेतुकका कुरा भन्दा उनका भाषण, लेख र अन्तर्वार्तामा निश्चित वैचारिक दृष्टिकोण हुन्छ । विचारले पनि उनी सापेक्षिक रुपमा अग्रगामी र प्रगतिशील लाग्दछन् । उनी पार्टी कार्यकर्तालाई उत्साहित गर्दै देशभरि घुमिहन्छन् ।

जतिखेर शेखर हिन्दूराष्ट्रको मुद्दा उचाल्दै थिए, शेखर मधेश आन्दोलनका असन्तुष्टिहरु पनि समेट्नु पर्ने तर्क गर्दै थिए । यो गम्भीर वैचारिक भिन्नता हो । बीपी र गिराजाको सन्तान हुन मात्र राजनीतिक उत्तरदायित्वको लागि पर्याप्त गुण हैन । यदि कांग्रेसभित्र कोइराला लिगेसीको एउटा केन्द्र बन्ने नै हो भने त्यो शेखर कोइरालाको नेतृत्वमा बन्नु धेरै हदसम्म उपयोगी हुन सक्दछ ।

महामन्त्री भइसकेका शशांकमा पार्टी सभापति हुने चस्को पक्का होला । सुजाताले सायद यो दौडबाट आफूलाई बाहिर निकालि सकिन् । स्वास्थ्यको हिसाबले पनि उनी कमजोर छिन भन्ने सुनिन्छ । स्वास्थ्य राम्रै भए पनि उनको बौद्धिक क्षमतास्तरले कांग्रेसजस्तो पार्टीको सभापति पद धान्न सक्दैन । शशांकले पनि अब लोभ नगर्नु नै राम्रो हुन्छ ।

कोइराला विरोधी खेमामा सायद फेरि एकपटक देउवा नै उभिने छन् । अन्यथा उनले उत्तराधिकार बिमलेन्द्र निधिमा सार्नुपर्ने हुन्छ । निधि कांग्रेसका लागि कमजोर पात्र पक्कै हैनन् । तर शेखरसंगको मुकाविला उनका लागि अहिल्यै सहज हुँदैन । यही बाध्यताका कारण अझै एकपटक देउवा आफै उभिनेछन् ।

१३ औं महाधिवेशनको तेस्रो धारको औचित्य अब बाँकी देखिन्न । कोइराला लिगेसीभन्दा बाहिर सिटौला व्यक्तित्वको कुनै चमक छैन । गिरिजाले क्रेन नलगाएका भए सायद सिटौला अहिले पनि झापाको जिल्ला सभापतितिरै हुन्थे । शालिन अभिव्यक्ति र कुटनीतिक क्षमता सिटौलाका सकारात्म पक्ष हुन् । तर गिरिजाप्रसादको शक्ति सिटौला–सुजाता समूहले अनेक कोणबाट दुरुपयोग गरेको याथर्थ पनि जगजाहेर छ । सिटौला त्यो क्षमता, बौद्धिकता र निस्कलंकता भएका व्यक्तित्व हैनन्, जुन स्तरमा तेस्रो धारले प्रोजेक्सनको कल्पना गर्दछ ।

गगनसंग भने अहिले पनि असीमित सम्भावना छन् । छिटो सभापति हुने हतारो गर्नु वा सिटौलाको तेस्रो धारमा कचिलो भएर उभिनुभन्दा उनले शेखर–गगन समीकरणका लागि योगदान गर्नु बान्छित हुन्छ । शेखर सभापति हुने गुटमा महामन्त्रीको उम्मेदवार हुन गगनले लाज मान्नु पर्ने कुनै कारण देखिँदैन । नत शेखरले छोटो चित्त गर्न जरुरी छ । गगनको साथ शेखरका लागि पनि हितकर हुनेछ । त्यो समूहले नयाँ पुस्तालाई अपिल गर्न सक्ने छ ।

शेखर–गगन समीकरण बने ३ बटा प्रष्ट फाइदा हुने देखिन्छ । कांग्रेसको आगामी १४ औं महाधिवेशनमा यो गुटले जित्ने संभावना धेरै हुन्छ । दोस्रो– कांग्रेस सापेक्षिक रुपमा प्रगतिशील सोच भएका व्यक्तिहरुको हातमा आउँछ । तेस्रो–कम्युनिष्टहरुसंग टकराउने नैतिक ताकत भएको कांग्रेसको नयाँ छवी पुन प्रकट हुनेछ ।

कांग्रेसको हित हेर्नेका लागि– यी भन्दा धेरै फाइदा के चाहिएको होला र ?

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय