scheduleबिहिवार माघ ९ गते, २०७६

लिबिया युद्धः सहमतिमा हस्ताक्षर नगरी फर्किए हप्तर, गतिलो पाठ सिकाउने टर्कीको चेतावनी

एजेन्सी, २९ पुस । लिबिया संकटको शान्तिपूर्ण समाधान निकाल्न भन्दै रुसी राजधानी मस्कोमा भइरहेको वार्ता भंग भएको छ । विद्रोही सेनाका कमाण्डर खलिफा हप्तरले मस्यौदा सहमतिमा हस्ताक्षर नगरी स्वदेश फर्किएपछि वार्ता भंग भएको हो ।

रुसको विदेशमन्त्रालयले हप्तरले सहमति पत्रमा हस्ताक्षर नगरी फर्किएको जानकारी दिएको छ ।  अनौपचारिक वार्तापछि तयार गरिएको प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर नगरी फर्किएको विदेशमन्त्रालयले जनाएको हो ।

वार्ता भंग भएपछि टर्कीका राष्ट्रपतिले विद्रोही सेनाका कमाण्डर खलिफा हप्तरलाई लिबियाको राजधानी त्रिपोलीमा आक्रमण नगर्न चेतावनी दिएका छन् । यदि हप्तरको सेनाले त्रिपोलीमा आक्रमण गरे टर्कीले उनलाई ‘गतिलो पाठ सिकाउने’ राष्ट्रपति एर्दोगानको चेतावनी छ ।

रुस र टर्कीको मध्यस्थतामा लिबियामा युद्ध विराम भएको १ दिनपछि मस्कोमा सरकार र विद्रोही सेनाबीच वार्ता भएको हो । वार्तामा संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका प्रमुख फायज अल सराज र विद्रोही कमाण्डर हप्तर सहभागी थिए ।

वार्तापछि तयार गरिएको सहमति पत्रमा सराजले हस्ताक्षर गरिसकेका थिए । उक्त सहमति पत्रमा हस्ताक्षर गर्न अनुरोध गरे पनि हप्तर हस्ताक्षर नगरिकन फर्किएका छन् ।

मस्यौदा सहमति पत्रमा आफ्नो सेनाले राखेका कैयौं मागलाई बेवास्ता गरिएको भन्दै हप्तरले हस्ताक्षर नगरेको समाचारमा बताइएको छ ।

यता सोमबार रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोभले युद्धविरामसम्बन्धी कागजातलाई हप्तरले सकरात्मक रुपमा लिएको बताएका थिए । तर मंगलबार नै टर्कीका राष्ट्रपति एर्दोगानले त्रिपोलीमा पुनः आक्रमण सुरु गरेमा हप्तरलाई गतिलो पाठ सिकाउने बताएका छन् ।

मस्कोमा भएको वार्ता भंग भएपछि आइतबार बर्लिनमा हुन लागेको शान्ति सम्मेलन प्रभावित हुने वा नहुने भनेर प्रस्ट भइसकेको छैन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय