scheduleबिहिवार आश्विन ८ गते, २०७७

सुरु भयो १५ दिने त्रिवेणी मेला, यस्तो छ प्रचलन


गाईघाट, १ माघ । उदयपुरको कटारीस्थित कमला नदीको त्रिवेणीधाममा परम्पराकालदेखि हरेक वर्ष माघे सङ्क्रान्तिदेखि सञ्चालन हुने पन्ध्र दिने त्रिवेणी मेला यस वर्षको आज माघ १ गतेबाट औपचारिकरूपमा शुरु भएको छ ।

कटारीको कमला नदीस्थित त्रिवेणीधाममा आजबाट सुरु भएको मेला यही माघ १५ गतेसम्म लाग्ने मेला व्यवस्थापन समितिका अध्यक्ष केदार धमलाले बताए । मेलामा मुख्य गरेर त्रिवेणीधाममा दर्शन गर्न आउने र मेलाका लागि आउने आगन्तुकका लागि विभिन्न ४०० व्यापारिक कक्ष, होटल, सुरक्षा व्यवस्थासमेत प्रबन्ध गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

दर्शन गर्न आउने भक्तजनले मुख्य गरेर कमला नदीको त्रिवेणीधाममा मकर नुहाउने, पूजा तथा आरधना गर्ने, कमलेश्वर शिव महादेवको दर्शन गर्ने गरेका कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठ बताउँछन् ।

मनले चिताएको कुरा पूरा हुने र शरीरका विभिन्न रोगकष्ट तथा चर्मरोग अन्त्य हुने जनविश्वासका साथ त्रिवेणीधाममा मकर नुहाउने तथा कमला नदीमा पाठी, परेवा र हाँस बलि दिएर पूजा गर्ने र कमलेश्वर महादेव मन्दिरमा दूध चढाएर पूजा गर्ने प्रचलन रहँदै आएको त्रिवेणीका हेमप्रसाद दाहाल बताउँछन् ।

पन्ध्र दिनभित्र सात लाखभन्दा बढी भक्तजनले दर्शन तथा पूजा आरधना गर्ने गरेका मेला व्यवस्थापन समितिका पदाधिकारी बताउँछन् । त्रिवेणीधाममा उदयपुरबाहेक प्रदेश नं १ का झापा, मोरङ, सुनसरी, प्रदेश नं २ का सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन, काभ्रे, सिन्धुली, सोलखुम्बुु, ओखलढुङ्गासहित राजधानी काठमाडाँैबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका छन् ।

यस्तै भारतको बिहार, पश्चिमबङ्गाल, लार्जिलिङ, सिक्किम र कालिम्पोङबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका मेला व्यवस्थापन समितिले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय