scheduleबुधवार आश्विन ७ गते, २०७७

कमरेड मोहनविक्रमले नबुझेको लेनिनको थेसिस

विश्वदीप पाण्डे

नेकपा (मसाल) का महामन्त्री कमरेड एमबी अर्थात् मोहनबिक्रम सिंह ८४ बर्ष पुगे । उनी नेपालको कम्युनिष्ट आन्दोलनमा पहिलो पुस्ताका नेता पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, डा. केशरजंग रायमाझी र तुल्सीलाल अमात्यका समकालीन हुन् ।

२०१९ को तेस्रो महाधिवेशनपछि नेकपामा फुट आयो । नेतै पिच्छेका गुट र पार्टी बने । त्यसमध्ये कतिपय नेताका पार्टी नेताहरुको जीवनसंगै अस्तायो । शम्मुराम श्रेष्ठ, तुल्सीलाल अमात्य, कृष्णराज बर्मा, कृष्णदास श्रेष्ठ, बिष्णुबहादुर मानन्धरको पार्टी त्यतिकै सकिएर गयो । डा. रायममाझी त कम्युनिष्ट धार नै छोडेर राजावादी बने । सीपी मैनाली र नारायणमान बिजुक्छेको पार्टीको यही क्रममा छन् ।

तर, मोहनविक्रम सिंह भने यो उमेरमा पनि धर्म निर्वाह गरिरहेकै छन । बाग्लुङ, प्युठान र अर्घाखाँचीमा मसालको अझै सघन संगठन र जनमत छ । कसोकसो चुनावी तालमेल मिलाएर केही सीट हात पार्ने गर्दछ । नेकपा (मसाल) औपचारिक तबरले भूमिगत क्रान्तिकारी पार्टी हो । यो पार्टी निर्वाचन आयोगमा दर्ता छैन । यसको चुनावी मोर्चालाई ‘राष्ट्रिय जनमोर्चा’ भनिन्छ । चुनाव चिन्ह गिलास पाएका छन् । गिलास चिन्ह लिएर संघीय प्रतिनिधिसभामा जितेकी दुर्गा पौडेल कमरेड एमबी कि श्रीमती हुन् । ‘राष्ट्रिय जनमोर्चा’ का अध्यक्ष भने चित्रबहादुर केसी छन् । केसी सिंह कै उमेरका छन् ।

कमरेड एमबी मसाललाई क्रान्तिकारी पार्टी ठान्दछन् । उनको परिभाषामा उनी अझै भूमिगत छन् । व्यवहारमा भने सामान्य शान्तिपूर्ण जीवन बाँच्छन् । पुलिसले उनलाई खोज्दैन । भर्खरै उनको पार्टीले उनले टेलिभिजनमा अनुहार देखाएर अन्तर्वार्ता दिन पाउने निर्णय गर्‍यो । बाँकी दुनियाँलाई भने हाँसो भयो । मसाल सबैभन्दा धेरै टुटफुट हुने पार्टी मानिन्छ । यो पार्टी दर्जनभन्दा बढी पटक फुटिसकेको छ । प्रचण्ड, बाबुरामजस्ता नेताहरु यही पार्टीबाट निस्किएका थिए ।

२०४० को दशकसम्म कमरेड एमबीको पार्टी पश्चिम नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी थियो । पूर्वमा माले, पश्चिमा मसाल । २०४६ सालको जनआन्दोलनमा यो पार्टी संयुक्त वाममोर्चामा सामेल भएन । माले भने वाममोर्चाको सबैभन्दा ठूलो र प्रभावशाली घटक बन्यो । माले मनमोहन अधिकारीको मार्क्सवादीसंग मिलेर एमाले बन्यो । अर्कोतिर मसालबाटै फुटेका प्रचण्ड, बाबुराम, मोहन बैद्य, सीपी गजुरेललगायतले माओवादी बनाए । मसाल एमाले र माओवादीको चेपारोमा पर्दै गयो । अन्ततः लगभग ३ जिल्लामा सीमित हुन पुग्यो ।

मसाल समूहको राजनीतिक उद्देश्य के हो ? यो पार्टी कस्तो खालको राजनीतिक प्रणाली चाहन्छ ? कमैलाई थाहा छ । माओत्सेतुङ विचारधारा, नयाँ जनवादी क्रान्ति, सांस्कृतिक क्रान्तिलाई सिद्धान्तमा आदर्श मान्छ भनिन्छ । सिद्धान्तमा सर्वहारा राज्य निर्माण गर्न बल प्रयोग, सशस्त्र संघर्ष र जनयुद्ध अपरिहार्य मान्दछ । तर व्यवहारमा भीषण जनयुद्ध हुँदा त्यसले विरोध गरेको थियो । २०४६ सालमा यसले संविधानसभाको माग गरेको थियो, त्यतिखेर त्यो सम्भव थिएन । जतिखेर संविधानसभा सम्भव हुने अवस्था थियो, त्यतिखेर संविधानसभा कै विरोध गरेको थियो ।

अहिले यो पार्टीको मुख्य पहिचान संघीयताको विरोध गर्नु बनेको छ । मसालको एजेण्डा के हो ? अरु केही थाहा छैन कसैलाई । तर यसले संघीयताको विरोध गर्दछ, त्यो सबैलाई थाहा छ । अझ रोचक कुरा त यो पार्टीको जनधार मगर बहुल बस्तीहरुमा छ । एकातिर पहिचान, समावेशिता, आरक्षण र मगरातको मुद्दा छ तर बागलुङ, प्युठान र अर्घाखाँचीमा यसको विरोध गर्ने मसाल कार्यकर्ताहरु अधिकांश मगर समुदायकै हुन्छन् ।

कमरेड एमबी पढन्ते नेता मानिन्छन् । उनी लेख लेख्न रुचि राख्दछन् । कम्युनिष्ट आन्दोलन र राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिबारे उनले यतिधेरै लेखेका छन्, त्यसलाई संग्रह गर्ने हो भने दर्जनौं ठेली हुन्छन् । कतिपय ठेली त संग्रहित पनि छन् । कुनै समय उनले ‘गद्दार पुष्पलाल’ लेखेका थिए । त्यसले उनलाई राजनीतिक लेखनमा चर्चित बनाएको थियो ।

त्यो पुस्तिका लेनिनको ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ पुस्तकको संरचनामा थियो । शीर्षक लेनिनको किताबकै नक्कल थियो । त्यसो त मसाल अहिले पनि लेनिनवादी पार्टी हो । लेनिनवादको एउटा महत्वपूर्ण थेसिस ‘राष्ट्रहरुको आत्मनिर्णयको सवाल’ हो । लेनिनको पुस्तिकाको शीर्षकबाट आफ्नो पुस्तिकाको शीर्षक बनाउने, लेनिनवादलाई मार्गदर्शक मान्ने, पढन्ते/लेखन्ते कमरेड एमबीले लेनिनको उक्त थेसिस पढेका छैनन् भन्ने कसैले कल्पना गर्दैन ।

तर मोहन विक्रम सिंह र मसाल पार्टीको संघीयताबारे तर्क सुन्दा भने उनीहरुले त्यो थेसिस नपढेको वा पढेर पनि नबुझेको निष्कर्ष निकाल्नुपर्ने हुन्छ । लेनिनले आफ्नो थेसिसमा उत्पीडित राष्ट्रियताहरुको मुक्ति र संघवादको समर्थन गरेका छन् ।

विश्वदीप पाण्डे

सन् १९१४ पहिलोपटक लेखका रुपमा सन् १९१६मा किताबका रुपमा प्रकाशित लेनिनको उक्त थेसिसमा भनिएको छ– ‘समाजवादी क्रान्ति कुनै एउटा मोर्चाको लडाई हैन । यो सबै मोर्चाको संयृुक्त लडाईं हो । उत्पीडित राष्ट्रियताहरुको मुक्तिको मोर्चा सर्वहारा वर्गको मुक्तिको मोर्चा जस्तै महत्वपूर्ण छ । यसको अर्थ राष्ट्रहरुलाई स-साना राज्यहरुमा बाँड्नु हैन । राष्ट्रहरुको संघ निर्माण गर्दै मर्जरको प्रक्रियालाई अघि बढाउनु हो ।’ कमरेड मोहनविक्रम आफूलाई लेनिनवादी भन्न कहिल्यै छोड्दैनन, लेनिनको यो थेसिसको चर्चा पनि कहिल्यै गर्दैनन् ।

लेनिनवाद यथार्थमा सङ्घीयता र जातीय आत्मनिर्णयको पक्षधर सिद्धान्त हो । उनी भन्थे, ‘विजयी समाजवादले अनिवार्यतः पूर्ण प्रजातन्त्र स्थापित गर्नुपर्छ । फलतः उसले जातिहरूबीच पूर्ण समानता स्थापित गर्ने मात्र हैन, अपितु उत्पीडित जातिहरूलाई आत्मनिर्णायको अधिकारसमेत दिनुपर्छ ।’

लेनिनले अगाडि भनेका थिए, ‘संघवादको माग राष्ट्रको विभाजन, विखण्डन एवम् सानासाना राज्यहरूको स्थापनाको मागसँग समतुल्य छैन । यो सबै प्रकारका राष्ट्रिय उत्पीडनहरू विरुद्ध सङ्घर्षको एक सुसङ्गत अभिव्यक्ति मात्र हो । कुनै पनि जनवादी राज्य व्यवस्था विभाजनको पूर्ण स्वतन्त्रताको जति नजिक हुन्छ, व्यवहारमा विभाजनको अभिलाषा त्यतिकै कम र कमजोर हुन्छ ।’

उक्त थेसिसमा लेनिनले अझ अगाडि भनेका थिए, ‘जुन किसिमले मानवजाति उत्पीडित वर्गहरूको अधिनायकत्वको सङ्क्रमणकाल पार गरेर मात्र वर्ग–विलयनको स्थितिसम्म पुग्छ, त्यस्तै उत्पीडित जातिहरूको पूर्ण स्वतन्त्रताको सङ्क्रमणकाल पार गरेर मात्र जातिहरूको अवश्यम्भावी विलयनको स्थितिसम्म पुग्न सक्छ । विभाजनभन्दा संघ समाजवादीहरुका लागि सर्वोत्तम उपाय हो ।’

लेनिनको यही नीति अनतर्गत सोभियत संघ बनेको थियोे, जो एक संघीय राज्य थियो । लेनिनको मृत्युपछि स्टालिनले सत्ता र शक्तिको केन्द्रीकरण तीव्र बनाए । उनले रुसी वर्चश्वकरणमा जोड दिए । फलतः करिब ७२ वर्ष लामो संघीयतामा सामेल भएपछि पुनश्चः उनीहरु नयाँ राष्ट्रियताको खोजी गर्नतिर लागे । सोभियत संघ विघठन भयो ।

कमरेड मोहनविक्रम जस्तै नेपालका धेरै कम्युनिष्ट नेताहरु जस्तै सीपी मैनाली, नारायणमान बिजुक्छे, माधव नेपाल, केपी ओली आदि उत्पीडित राष्ट्रियताको मुक्ति र संघवादको सवाल आउने बित्तिकै तर्किन्छन् । अहिले त प्रचण्ड समेत त्यही धारमा पुगेका छन । तर, संघीयताको विरोध गर्ने जिम्मा भने कमरेड एमबी र मसाल पार्टीको भागमा परेको छ । लेनिनवादी नेताहरुले लेनिनको थेसिस पढेकै छैनन् भन्न सकिन्नँ । तर उनीहरुको सोचको आधार लेनिनवादी भन्दा बढी स्टालिनवादी हुनसक्दछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय