scheduleआइतवार आश्विन ११ गते, २०७७

होटेलमा मृत फेला परे वडाध्यक्ष


राँझा, १ माघ । बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचस्थित एक होटलमा मृतावस्थामा फेला परेका छन् । भारतको बहराइचमा रहेको शङ्कर होटलमा वडाध्यक्ष खड्काको शव फेला परेको कोहलपुर नगरकार्यपालिका सदस्य डिलबहादुर परियारले जानकारी दिए ।

उनका अनुसार, घटनाबारे वडाध्यक्ष खड्काको घरमा बहराइचबाट जानकारी गराइएको थियो । वडाध्यक्ष खड्काको शव नेपाल ल्याउनका लागि पहल भइरहेको उनले जानकारी दिए ।

उनको शव नेपाल ल्याउनका लागि नेकपा बाँकेका सचिव अशोक कोइरालाको नेतृत्वमा नेकपाका नेता र परिवारका सदस्य भारत जाँदै छन् । तत्कालीन नेकपा एमालेको तर्फबाट उम्मेदवार भई वडाध्यक्ष जितेका खड्काको तीन छोरी र तीन छोरा रहेको नेकपा कोहलपुरकी अध्यक्ष वसन्ती अधिकारीले जानकारी दिइन् ।

वडाध्यक्ष खड्का मङ्गलबार भएको नगरसभामासमेत अनुपस्थित रहेको नगरपालिकाका सल्लाहकार कुलबहादुर भट्टराईले जानकारी दिए । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले घटनाबारे जानकारी आएको बताए ।

‘घटना भारतमा भएकोले भारतीय प्रहरीले अनुसन्धान गर्दैछ’, उनले भने, ‘यदि उहाँको हत्या भएको भए नेपाल प्रहरीले पनि अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने छ ।’ भारतीय प्रहरीको सहयोगमा अनुसन्धान शुरु गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वलीले जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय