scheduleबिहिवार फाल्गुन ८ गते, २०७६

व्यापार युद्धलाई शिथिल बनाउन भन्दै चीन र अमेरिकाबीच नयाँ व्यापार सम्झौता

एजेन्सी, २ माघ । संयुक्त राज्य अमेरिका र चीनले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

जारी व्यापार युद्धलाई केही खुकुलो बनाउने उद्देश्यसहित एक सम्झौतामा हस्ताक्षर गरिएको हो । दुबै मुलुकबीचको व्यापार युद्धले विश्व अर्थतन्त्रलाई नै प्रभावित तुल्याएको र बजारहरूमा उथलपुथल ल्याइदिएपछि उक्त सम्झौता भएको हो ।

सम्झौतापछि वाशिङ्टनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सम्झौता अमेरिकी अर्थतन्त्रका लागि “परिवर्तनकारी” हुने बताएका छन् । वाशिङ्गटनमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै राष्ट्रपति ट्रम्पले भने- यो नयाँ सम्झौताले अमेरिका र चीनबीच अझ बलियो सम्बन्ध स्थापना गर्ने अवसर उपलब्ध गराएको छ।

चिनियाँ नेताहरूले नयाँ सम्झौतालाई ‘सबैको जित हुने” सम्झौता भनेका छन् । यसले दुई देश बीचको सम्बन्धमा सुधार ल्याउन सघाउ पुर्‍याउने उनीहरुको भनाइ छ ।

चीनको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका चिनियाँ उपप्रधानमन्त्री लिउ हेले उक्त सम्झौता “समानता र आपसी सम्मान” को सिद्धान्तमा आधारित रहेको भन्दै यसले उनको देशको आर्थिक संरचनाको प्रतिरक्षा गर्ने टिप्पणी गरेका थिए। ‌

सम्झौतामा चीनले अमेरिकाबाट गरिने आयातलाई सन् २०१७ को अवस्थाभन्दा बढी २०० अर्ब डलर बराबर हुने गरी बढाउने र बौद्धिक सम्पत्ति अधिकारका नियमहरूमा कडाइ गरिने प्रतिबद्धता जनाएको छ। साथै अमेरिकाले चिनियाँ उत्पादनहरूमा लगाएको केही नयाँ करहरूलाई आधाले घटाउन सहमति जनाएको छ।

तर धेरैजसो सीमासँग सम्बन्धित करहरू भने कायमै छन्, त्यसकारणले केही व्यापारिक समूहहरूले दुई देशबीच थप वार्ताहरू हुनु पर्ने माग गरेका छन्।

अमेरिका र चीनबीच सन् २०१८ देखि नै व्यापारिक उत्पादनहरूमा कर लगाउने द्वन्द्व चलिरहेको छ, त्यसले गर्दा ४५० अर्ब डलर भन्दा बढीको व्यपारिक उत्पादनमा थप निर्यात कर लगाइएको छ।

जारी विवादले व्यापारिक कारोबारमा अवरोध खडा गर्नुका साथै विश्वव्यापी आर्थिक वृद्धिलाई नै सुस्त तुल्याइदिएको छ भने लगानीकर्ताहरूलाई बेचैन बनाइदिएको छ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय